इच्छाहरूको पसिना बगाएर
रहरहरूमा तुषारो पारेर
महेनतका पानी-फोकाहरू
सेप्टिक भै उप्किञ्जेल
जिएकै हो जिन्दगी
अब फेरि कुन जिन्दगी जिउनु?
परिस्थितिका धारिला ब्लेडले
चिरा-चिरा टिट्नसग्रस्थ सपनाहरू
दरिद्र वेवारिस चिहानमाथि
ताजमहल झैं सजाएर
विश्वासहरू उम्काएर
आशा भरोसा सबै थन्काएर
जिएकै हो जिन्दगी
अब फेरि कुन जिन्दगी जिउनु?
आत्माविश्वास र मनोबल लुटिएको
यो भिखारि मुलुकमा
मुखको ढोकामा चुरोट दरवान उभ्याएर
कहालीलाग्दो यो पोलियोग्रस्थ
प्यारालाइज मुलुकमा
रगत र पीपका पसिना बगाएर
अन्तरकथा सुनाएर सारङ्गी रेट्दै
जिएकै हो जिन्दगी,
अब फेरि कुन जिन्दगी जिउनु ?