Skip to content


म नेपाली लोकगीत सङ्गीतलाई माया गर्ने एक व्यक्ति । लोकगीत हाम्रो पहिचान बचाउने गीत हो । यसको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन हुनु पर्छ भनेर त्यसैको अध्ययनमा लागेको एक विद्यार्थी । म गीत गाउँछु । कार्यक्रमको सिलसिलामा कम बहुत ठाउँमा पुग्ने मौका पाएको छु । कलाकारहरूलाई सबै माया गर्छन् । हामी आभार व्यक्त गर्छौं । सबैजना राम्रै हुन्छन् भन्न चाहिँ गाह्रो हुँदो रहेछ । कहिले काहिँ सबैको सामु आधुनिक देखाउन वा राम्रो बनिटोपल्न त्यस्तो क्षणलाई देखेर पनि नदेखे झैँ गरी बस्नु पर्दो रहेछ । त्यस्तो बेला केही बोल्दा आफैँ नराम्रो भएको तीतो अनुभव मैले भोगेकी छु ।

वि.स. २०६८ असारको कुरो हो । कार्यक्रम राम्रो भएकोले सम्पूर्ण कलाकारहरूलाई भेटघाटसहित डिनरको व्यवस्था गरिएको रहेछ । डिनरबारे मलगायत प्रायःलाई थाहा थिएन । हामी ४ बजे तोकेको स्थानमा पुग्यौं । सबै राम्रोसँग हुँदै थियो । सबै खुसी थियौं । बीचमा एकजना साथी आउनु भयो । उहाँले वाइनको साथमा चुरोट पनि तान्न थाल्नुभयो । उहाँको व्यवहारले अरूलाई के भयो थाहा भएन, मलाई त्यहाँ बस्न धेरै मुस्किल भयो । अनि बीचबीचमा उहाँले बोलेका शब्द झनै अपच । राम्रै बोलेको हुन सक्छ तर किन हो, मलाई मन परेन । त्यसबेला त्यो स्थल नेपाली गीत सङ्गीतलाई समृद्ध बनाउन लागिपरेका अग्रजका साथमा नयाँ ऊर्जा थप्ने जोश जाँगर भएका युवाको सङ्गमस्थल भएको थियो । अग्रज र युवा पुस्ता रमाइरहेको त्यो क्षणमा चुरोटको धुँवाले खल्बली मचाइदियो । म त्यो दिन अलिक काम भएको कारणले साँझको ७.३० भन्दा अगाडि नै जानुपर्ने भएकोले म र एकजना साथी अलिक अघि नै निस्क्यौं । एक हिसाबले ठीकै भयो जस्तो लाग्यो तर निस्कने बेलामा देखेँ, हाम्रो एकजना साथीले पनि त्यो व्यक्तिलाई त्यहीं बसेर चुरोट तान्नमा साथ दिइरहेको । साथी त्यस्तो चुरोट खाने मान्छे पनि थिएन । अचम्म लाग्यो ! त्यो मान्छेलाई त मैले केही भन्न सकिरहेको थिइनँ । मैले झ्वाट्ट छोरी कुटी बुहारी तर्साउने नेपाली उखान सम्झैं । विस्तारै पनि भन्नसक्थे तर सबैले सुन्ने गरेरै त्यो भाइलाई ‘आफूभन्दा ठूलाको अलिकति मान राख्ने गर न !’ भनेर गाली गरें । अनि सबैसँग बिदाबारी भएर निस्केँ । त्यसपछि कुरा हुँदा, मेरा साथीभाइ भन्ने गर्छन्- तिमीले ठिक गरेनौं । चुप लागेर बसेको भए के जान्थ्यो र तिम्रो ? साथीहरू आफ्नो स्थानमा ठिकै थिए । किन छुच्ची हुनुपरेको थियो र मलाई ? के नै पाउनु छ र ? तर मलाई लाग्छ, प्रस्तुति गलत भए पनि कुरा गलत थिएन मेरो । हाम्रो मानव अधिकारको ख्यालै नगरी आफ्नो अधिकार प्रयोग गर्नेको सामु मैले मेरो अधिकार प्रयोग गरेर बोल्दा कुनै गल्ती गरंे जस्तो लाग्दैन मलाई । कहिलेकाहिँ त्यो क्षणलाई सम्झँदा मलाई अति नमीठो अनुभूति हुन्छ ।

हामी कलाकार । हाम्रो दायित्व बन्छ, राम्रो गीत सङ्गीतको माध्यमबाट सक्दो सबैलाई खुसी पार्ने । यसको मतलव यो होइन, हामी जे गर्न पनि तयार हुन्छौं । हाम्रो पनि आफ्नो नियम छ । दायरा छ । सामाजिक मर्यादालाई बुझ्छौं । सही के हो, गलत के हो त्यो छुट्याउन सक्ने क्षमता छ । सबैको आ-आफ्नो मान्यता हुन्छ । काम गर्ने तरिका फरक हुन्छ । काम सबैको एउटै हो । सबैले खोजेको हुन्छ नाम, दाम, इज्जत । अनि त्यही इज्जत कमाउन किन बेइज्जत हुने ? अनि आफूलाई सबैले इज्जत गरोस् भन्नेले अरूको पनि इज्जत गर्न सिक्नुुपर्छ । कुरा यति हो ।

थाहा छैन, म आधुनिक सभ्य मानिने समाजमा घुल्मिल हुन नसकेको हो वा मैले नै व्यवहार गर्न नजानेको । एक दिन भेटिएको मान्छेको कुरामा होमो हो मिलाइदिए के नै बिगि्रन्थ्यो र ? तर मेरो विवेकलाई यसलाई पचाउन अहिलेसम्म पनि सकेको छैन ।

गीत सङ्गीत पूजा हो । एक आराधना हो । सरस्वतीको बास हुन्छ भनेर गाउनु अघि हामी वन्दना गछौँ । झन् लोकगीतमा प्रत्येक अवस्था, प्रकृति, धर्म, संस्कार, संस्कृति जोडिएर आएको हुन्छ । लोक भनेको मानव समाज । मानव समाजसँग जोडिएका प्रत्येक गीत गाउने व्यक्तिलाई हेर्ने, गर्ने व्यवहारमा राम्रो होस् भन्ने हो । मलाई मात्र यस्तो लागेको हो कि ? त्यो पनि हुन सक्छ । सबैको हेर्ने दृष्टिकोण एउटै हुँदैन तर जसले यस्तो सोचेर व्यवहार गर्छ, गर्‍यो उसका लागि हो ।

समयको माग भन्दै हामीले हाम्रो संस्कार संस्कृतिलाई लात मारेर आधुनिकताको नाममा दिन प्रतिदिन नाङ्गिदै छौँ । आफ्नो संस्कार संस्कृति, सामाजिक मर्यादा, नैतिकता गुमाएर आफ्नै नजरमा गिरेर अरूको सामु आधुनिक बन्नु कतिको उचित होला ? अनि जीवन जिउनका लागि जे पेसा अपनाए पनि नारी र पुरुषमा हेर्ने दृष्टिकोणमा एकै हुन नसक्नु २१ औं शताब्दीको लक्षण हो त ? यी सबै कुरालाई मनन गर्न कोसँग समय छ र यो व्यस्त सहरी जीवनमा ? सबै होडबाजीमा छन्, असल होइन ठूलो मान्छे को बन्ने भनेर । २१ औं शताब्दी अनि होडबाजीको यो सहरमा, कत्तै कसैले बोलायो भने पहिले त्यो क्षणकै झलझली याद आउँछ । त्यो क्षण म सधैँ सम्झन्छु अनि त्यो क्षणले मलाई ब्यँझाइरहन्छ ।

युवामञ्च २०६८ असोज

Leave a Reply

Your email address will not be published. Required fields are marked *