Skip to content


कान्छा कान्छा भनेर एकोहोरो बुवाले एकाबिहानै बोलाउनुहुन्छ । म न्यानो बिस्ताराबाट आँखा मिच्दै हत्पति बाहिर निस्कन्छु । बुवाको आवाज रोकिन्छ । मैले बाहिर हेर्छु, भर्खर दिशा फाट्न लागेको हुन्छ, पूर्वमा बिहानीको रातो लाली निशानी बसेको छ । पारी वनमा कल्चौंडाले गीत गउँदैछ । शिशिर यामको चिसो हावाले मेरो ज्यानमा जिरिङ्ग काँडा उठे ।

म बुवा सुत्ने कोठाको ढोकामै पुग्छु । बुवालाई प्रणाम गर्छु । बुवाले आर्शिवाद दिनुहुन्छ “ठुलो नेता भएस दीनदुखीको सेवा गरेस ।”

बुवा उठेर खाटको डिलमा बसेर मलाई अह्राउनुहुन्छ,”जा त्यो खन्युको बुटो काट, ढलाइदे । त्यो बुटो अब काम लागेन, न घाँस न दाउरा हुने भो, आधा हरियै छ आधा कमिला र धमिराले खाइसके । त्यो बुटाको जुन महत्व थियो अब छैन त्यसलाई काट् ।”

म बुवासँग गुनासो पोख्छु, “बुवा कसरी ढलाउने त्यो बुटो ? तलपट्टि लाँकुरीको सुरिलो बुटो छ, यता उता छिमेकीका घर, बाली छ अरुको घरबाली नासियो भने भनाई आउँछ, डण्ड तिर्नु पर्छ । तलतिर हुर्कदो सुरीलो लाँकुरीको बोट मास्न पनि भएन । कसरी ढाल्ने त्यो बुढो बुटो बुवा ? कति अप्ठेरोमा छ बुटो हजुरलाई थाहै छ ।”

मेरो प्रश्नले बुवा सोच्न बाध्य हुनुहुन्छ । बुवाले निधार खुम्च्याउनु भयो । कतै डोरी लगाएर तानेर ढल्काउन पनि नसकिने, राखेर पनि त्यो अर्धसुकेको उजाड बुढो बुटाको कुनै काम छैन, गएको फागुनको हुरीवतासमा पनि ढलेन । ढलिहाल्यो भने पनि बिचरी पल्लाघरे साइँलीको घर भत्काउला भन्ने पिर, वालीनाली बिग्रने डर बढो घाँडो भयो त यो खन्युको बुटो । अब दाउरा सिवाय यस बुटाको कुनै काम छैन ।

“ढाल्न पाए दुई बिहे उम्काउने दाउरा त हुन्थे होला, धमिरा र कमिलाले खाइसके कान्छ, जा कुनै उपाए निकालेर ढला,” बुवाले बुटो ढलाउने जिम्मा मलाई दिनु भयो ।

दुई साल पहिला यो बुटो कति हरियो थियो । कस्तो झ्वाम्म परेर घाँस र शीतल दिन्थ्यो । बुवा त्यही खन्युको बुटामुनी दिन बिताउनु हुन्थ्यो । त्यही पाकेको खन्यु गाउँभरिका मानिसलाई बाँड्नु हुन्थ्यो । गाउँका बुढापाका केटाकेटी यही खन्युका बुटावरिपरि झुम्मिन्थे । बाङ्गे खन्यु भनेपछि गाउँमा निकैचर्चा थियो । कति मिठो थियो भने केटाकेटीले त नधोइकन कपडामा पुछेर खन्यु खान्थे, बिहान उज्यालो हुन नपाउदै खन्युको बुटो वरिपरि केटाकेटी भरिन्थे । हिउँदभरि भैंसीलाई घाँस हुन्थ्यो ।

सुनसान रातमा त्यही खन्युको बुटामा बसेर नयाँ वसन्तको गीत गाउने कोइली चरी पनि आजभोलि ऊ लाँकुरीको बुटामा बसेर कराउँछ। गाउँछ । झ्याउँ झ्याउँती झुम्मिने चराचुरुङगीहरू आजकल कहाँ गए होलान् ? आजभोलि केवल लाटोकोसेरो धुम्धुम्ती त्यो उजाड खन्युको रुखमा बसेर सिकार खेलिरहन्छ । बारीका कान्लाहरुमा खेलिरहेका मुसा, किराकिरी टपक्कै टिपेर त्यही बुटामा बसेर खान्छ । टुहुराको एकपटक पालो आउँछ ।

काली पनि बैंसमा राम्री हुन्छे भने जस्तै त्यो बुटाको कुनै बेला निकै चर्चा थियो, बाङ्गे खन्युको गुणगान नगाउने कोही थिएनन् । टोलभरि तर अहिले बुटो टाटपल्टेको छ, न घाँस, न खन्यु न दाउरा केवल धमिरा र कमिला लागेको बुटो अब नढाली सुखै छैन ।

त्यो बुटो काट्दा लाँकुरीको बोट हरलक्कै हुर्किन्छ भने, बुटाका दाउराले दुई विहा उम्काउँछ भने कमिला र धमिराले नसक्दै बुटो काट काट भन्नुहुन्छ बुवा, म निकै घोरिन्छु, टक्क अडिन्छु जुक्ति र बुद्धि प्रयोग गर्ने चेष्टा गर्छु । बुटामा चढेर निर्धक्क हाँगा काटुभने पनि कमिला र धमीराले बस्न दिन्दैनन्, कतै ठाडै बुटाबाट झार्ने हुन कि भन्ने पिर, फेदबाट काटुँ भने अरुहरुलाई असर गर्ला कि भन्ने डर, त्यसै छाडौं भने बुटो त हाम्रै हो तर प्रयोग विहीन हुने भयो भन्ने मत्रै पिर । सबै डर त्रास पिरबाट जोगिएर मैले बुटो काट्नु छ ।

म मनभरि कुरा खेलाउँछु, यो संसारको रीत नै बढो अनौठो छ । कुनै पनि वस्तुको जन्मसँगसँगै मृत्यु आएको हुन्छ । एउट विरुवा पनि कति सानोबाट हुर्कँदै जान्छ र एक पटक लोर्के बन्छ, फुल्छ फल्छ कैयैं पटक यो प्रकृया दोहोरीन्छ र अन्तमा मर्छ । एउट विरुवाले आफ्नो जीवनकालमा के दिन सक्यो ? त्यो कुरा निकै महत्वपूर्ण हुन्छ त्यसै गरी मानिसले पनि जीवनमा जन्मेर नमरुञ्जेलसम्म मानव समुदायलाई केही दिन सक्नु पर्छ । यो खन्युको बुटाले घाँस दियो, कति मिठा मिठा फल दियो, छहारी दियो, अक्सीजन दियो र कार्बन लियो । तर हामीले एउटा रुखले जति पनि काम गर्न सकेका छैनौं ।

हामीले दिने होइन कि लिनेमात्र काम गरेकाछौं । हामीले सेवा गर्ने होइन कि दुःख दिने मात्र काम गरिरहेका छौं । कुनै दिन हामीलाई पनि काट्नु पर्ने हुनसक्छ । ढलाउनु पर्ने हुन सक्छ । हामीले महिला मुक्ति, दलित मुक्ति, जनजाति मुक्ति, दुखी गरीब सबैको मुक्तिकोलागि थुप्रै थुप्रै पैसा उठाएर दोसल्ला ओढाएर फूलमाला पैह्राएर उधुम गरेका छौं तर मुक्ति कहाँ कति भयो ?

बुवा पुनः बोलाउनुहुन्छ,”कान्छा ।”

“बुवा, म आएँ,” म पुनः बुवाकोसामु पुग्छु ।

बुवा भन्नुहुन्छ,”हिँड गाउँमा गएर एक-दुई जना सहयोगी लिएर बुटो त ढाल्नै पर्छ । हामीले बुटो ढालेनौं भने बुटोमा लागेको रोग ऊ त्यो लाँकुरीमा पनि सर्ने छ । ती कमिला धमिराहरू हाम्रा घरहरुमा पनि पस्नेछन र हाम्रो सारा गाउँनै कमिला र धमिरामय हुने छ । हामीले बुनेका समाजवाद र साम्यवादका सपना केवल सपना मात्रै हुनेछन् । त्यसैले पनि कान्छा बुटो ढाल्नै पर्छ ।”

-देवेन्द्र बस्याल

Leave a Reply

Your email address will not be published. Required fields are marked *