Skip to content


‘डाक्टर, हेर्नुस् त ! पाँच नम्बरको ब्लड-ग्यासको रिपोर्ट र अरु प्यारामिटर्स । भेन्टिलेटर अफ गर्न अझै मिल्दैन कि ?’

‘लौ, छिट्छिटो १०१ लाई लेबर-रुम कुदाउँ ! ऊ त सेकेण्ड स्टेजमा पुगेजस्तो छ, बल गर्न थालिसक्यो ।’

‘सिस्टर ! नाइटमा सात नम्बरलाई “थम्” दिनु’भो रे हैन ? वेल डन् ।’

‘चार नम्बरको तुरुन्त इसीजी, अनि अक्सिजन सुरू गरिहाल्नु पर्यो ।’

‘अहो ! एघारले भररात हात धोएर हैरान ! अझ रातभरि पखाल्दा पनि हातको मैलो गएन रे ।’

माथि उल्लेखित संवादहरू प्रायजसो सबै अस्पतालका चौघेराभित्र गुञ्जने शब्द-त्रासदी हुन् । कस्को कुुरा हुँदैछ भनेर लाक्षणिक अर्थमा बुझ्नुपर्छ । उपचारार्थ भर्ना भएका बिरामीको नाउँको सट्टामा ‘एक्टिङ’ भएर काम गर्न उस्को बेडको नम्बर, बिना कुनै लेखापढी वा बिना कुनै नियम-विनियम चलन-चल्तीमा आइान्छ । सुपाच्य त हैन, जबर्जस्ती पाच्य बन्छ ।

कस्तो उदेक ! के कुनै बेडले कन्ने बेथा लागेर बच्चा जन्माउँछ होला ? के एउटा बेडको रगत झिकेर जाँच्न सकिन्छ र ? अथवा कुनै बेडको मुटुको इसीजी लिंदै उस्लाई नाकबाट अक्सिजन दिन मिल्छ त ? वा कुनै बेड आफै जुरुक्क उठेर गई धारामा रात-रातभर हात धोइरहन सक्छ ? हृदयको धडकन मन्द हुँदै जाँदा ऐन मौकामा कुनै बेडलाई ‘थबम्’ (छातीमा मुड्कीले हलका ढ्याप्प हान्ने विधि) दिएर कसो-कसो फेरि सामान्य गतिमा मुटुलाई फर्काउने सम्भावना छ के ? अँह, कुनै हालतमा सम्भव छैन । एनिमेटेड चलचित्र वा तिलस्मी किस्सा-कहानीमा बाहेक कदापि सम्भव छैन ।

तर के गर्ने ! बिडम्बना यस्तै छ । अस्पताल भर्ना हुनासाथ बिरामीले ‘बेड नम्बर’ मा फेरिएको पाउँछ आफूलाई । उसको शाब्दिक कायाकल्प हुनलाई ओभर-नाईट कुर्नै पर्दैन । त्यो अनुष्ठान एक झिमिक्कमा सहजतासाथ सम्पन्न हुन्छ, र त्यो नयाँ न्वारान कर्ममा अस्पतालका धेरैजसो प्रोफेसरदेखि पियनसम्मको बराबरी योगदान रहन्छ । अस्पतालमा रहँदा-बस्दा, बिरामीको खास नाउँ चाँही कता कता सुनेकोजस्तो भएर विस्मृतिको अँध्यारोमा ओझेल पर्छ, बदलामा उ सुत्ने-बस्ने बेडको नम्बर सबैमाझ सुपरिचित हुन्छ, प्यारो बन्छ । घर फिर्दा पनि ऊ फगत् एउटा बेड नम्बर कै रुपमा बाहिरिन्छ, ‘विचरा बेड नम्बर ५०७, बल्ल आज डिस्चार्ज भएर गयो !’

अस्पतालेहरू भाषाशास्त्रका माम्लोमा धुरन्धर हुन्छन् । त्यसैले प्रायः सबै बिरामीका लागि उभयङ्िगी शब्द प्रयोग गर्छन्, मध्यम मार्ग अपनाउँछन् । उनीहरूलाई राम्रै थाहा छ, मान्छेको पो लिङ्ग छुट्टन्िछ त ! नेपालमा हालसम्म बेडको कुनै लिङ्ग छुट्याइएको छैन क्यारे ! त्यसैले स्त्रीलिङ्गी-पुलिङ्गी-तेस्रोलिङ्गी-समलिङ्गी भन्ने कुरै छैन । सबैलाई ‘भयो-गर्यो, उठ्यो-बस्यो, रिसायो-झोक्कियो, रोयो-हाँस्यो, राम्रो हुँदैछ-सिरियस हुँदैछ’ भनिन्छ । समानुपातिक-समावेशी भाषिक ब्यवहार । कालान्तरमा कुनै बिरामीसँग भेट भएको कुरा यसरी सम्झन्छन् अस्पतालेहरू, ‘त्यो थियो नि ? लिभर सिरोसिस, बेड नम्बर पन्ध्र क्या त ? आज उसलाई न्यूरोडको घडी-दोकानमा भेटेको, घडी बेच्दो’रैछ ।’

यो बेड नम्बरको धङ्धङीले बिरामी स्वयंलाई पनि वर्षौंसम्म छाड्दैन । यहाँसम्म कि, साँझको कुनै बुफेटमा जम्काभेट हुँदा बिरामीले आफूलाई त्यही बेड नम्बरको मद्दतले मात्र चिनाउन सक्छ । ‘डाक्टर सा’बले चिन्नुभएन ? म क्या त ? बेड नम्बर ३०२ !’ निधारमा बत्तीस मुजा पारेर सम्झने प्रक्रियामा तल्लीन डाक्टर सा’ब त्यसपछि बल्ल खुल्छन्, ‘ए ! हो-हो । अनि, कस्तो छ अहिले ?’ तत्पश्चात् मात्र भलाकुसारीले दुई नम्बर गियर समात्छ । तर गफ-गाफको गियर जति माथि उकाले पनि डाक्टर सा’बको जेहनमा बेड नक्बर ३०२ बाहेक अरु केही घुसेको भए त के र !

अस्पतालकर्मीका लागि बेड अथवा बेड नम्बर भन्नु कतै एउटा रेलवे-स्टेशन जस्तो पो हो कि ! अनि बिरामी भनेका त्यो स्टेशनका यात्रु ? त्यसैले स्टेशनको सेरोफेरो त अनन्य सहयात्री बनेको हुन्छ तिनका निम्ति ‘तिमी तारेभीर म त लहरा, तिमीमै म लहराउँछु तिमी सहारा !’ भनेजस्तो, तर यात्रुका बारेका भने कुनै ठोकुवा गर्न सकिंदैन । यसै सन्दर्भमा, एकजना डाक्टर भन्ने गर्नुहुन्थ्यो “हृया ! क्या र्याक भो नि आज ! अस्पतालमा सिस्टर-सिस्टर भन्ने बानीले बसमा कण्डक्टरलाई पैसा दिँदा पनि ‘महाराजगञ्जसम्म सिस्टर’ भनि पठाएछु” मेरी हाजिरजबावी साथी पनि के कम ! भनिहाल्थिन् “अनि, हामी पनि त झुक्किएर कतिपटक दोकानेलाई डाक्टर भन्छौ नि ! जस्तै-चाउचाउ दिनुस् डाक्टर, प्राउन महँगो भएन डाक्टर ? पैसा लिनुस् डाक्टर आदि”

लौ न त, काम गर्ने थलो एकै भएपछि बोल्दा कहिलेकाँही कण्डक्टरलाई ‘सिस्टर’ र दोकानेलाई ‘डाक्टर’ भनेर झुक्किन मजाले पाइन्छ । भुल-चुक लिने दिने तर राम सुन्दरलाई रामसुन्दर नभनेर पाँच नम्बर, अनि बिमलाको साटो १०१ भन्नु त हदै भो नि !

के भएको यस्तो ? के संसार साँच्चै मशिनी युगमा प्रवेश गरेको सङ्केत हो यो ? अब मानवीय संवेदना र भावनाका संवेगहरू मान्छेमा हैन, कुनै अदृश्य नम्बरमा खोज्नपर्ने भो त ? एउटा सिङ्गो-सग्लो नाउँ सहित हाड-मासुले बनेको प्रकृतिको अद्वितिय सिर्जना मान्छेलाई निर्जीव बेडनम्बरमा परिणत गर्न किन अलिकति पनि धक मान्दैनौँ हामी अस्पतालकर्मी ? आफू स्वयंको नाउँबाट सम्बोधित हुन पाउने बिरामीको नैसर्गिक अधिकारलाई कुल्चने हक कस्ले दियो हामीलाई ? के हामी आफ्ना स्वजन र चिनारुहरू अस्पताल भर्ना हुँदा पनि ‘बेड नम्बर फलानो’ भनेर बोलाउन सक्छौं ? यो काखा र पाखाको औचित्यलाई प्रष्ट्याउने गतिलो तर्क छँदैछैन हामीसंग ।

केही मनकारीहरू चाँही यतिसम्म भन्छन् है ! ‘फलानो बेडकी बुढी आमा अथवा बुढा बाजे । वा फलानो बेडको त्यो फुच्चे भाइ !’ त्यो पनि लाख हुन्छ ‘बेड नम्बर चार को भिजिटरले फलानो शाखामा तुरुन्त आउनु होला’ भन्दा त ! -बेडको पनि कहिं भिजिटर हुन्छ ? मानौं, बेडलाई भेट्न(बेडलाई कुर्न भनेर कोही आउनेजस्तो !)

‘आ ! सबै पेसेन्टको नाउँ कण्ठ पारेर कहाँ साध्य चल्छ र !’ भन्ने हो भने पनि अस्पतालभरि सबैले सबैको नाउँ घोक्नु पर्ने आवश्यकतै छैन । डल्लै विश्व एउटा गाउँमा साँघुरिँदै आइरहेको बेलामा हाम्रा अस्पतालहरू भने एकाइहरूमा टुक्रँदैछन् । कम से कम आफ्नो वार्ड-युनिटकोे बिरामीको नाउँ त सम्बन्धित् सबैले थाहा पाउने कोशिश गर्नु पर्यो नि ! तराईतिरको कहावत ‘खसी-बकरी एकै धोकरी’ जस्तो गर्न त राम्रो भएन । सबै बिरामी-बेड नम्बर, सबै बेड नम्बर-बिरामी जस्तो !

सबै जान्ने-जान्ने, नजान्ने कोही नभएको यो समयमा, प्रत्येक बिरामीले यथोचित आदरसहित नाउँद्वारा सम्बोधित हुन पाउनुपर्छ भन्ने कुरो को चूरो बुझाउनु मेरो वशको बात त हैन । तरपनि, झ्यालखानाका कैदीलाई नम्बर काडेर बोलाएजस्तो, अथवा विद्यालय-महाविद्यालयहुँदी गुरुबा-गुरुमाले ‘रोल नम्बर थर्टी-वान’ भन्दै विद्यार्थीको हाजिरी लिएजस्तो गरी बेड नम्बर फलाना, बेड नम्बर ढिस्काना भनेको सुन्न नपरे हुन्थ्यो जस्तो लाग्छ ।

यसरी नाउँको ठाउँमा नम्बरले आधिपत्य जमाउँदै गयो भने के थाह ! प्रहरीका-सेनाका जवानहरुलाई ‘रोल-कल’ मा उभ्याएर आ-आफ्नो नम्बर फट्कार्ने उर्दी दिएजस्तै कुनै दिन बिरामीलाई पनि लहरै राखेर अस्पतालले प्रत्येक साँझ-बिहान बेड नम्बरको आधारमा उनिहरुको अटेण्डेन्स चेक गर्ने दिन पनि चिताईराख्नु पर्ने पो हो कि ? के भन्न सकिन्छ र, यो अजब दुनियाँको गजब चाला, छिनमा मासा-छिनमा तोला !

शनिबार, गोरखापत्र
फाल्गुन २९, २०६६

Leave a Reply

Your email address will not be published. Required fields are marked *