Skip to content

ह्वास्स ह्वासी गनाएको तिम्रो शरीर


साथी,
हिजआज तिमी धेरै गन्हाउन थालेछौ,
तिमी गन्हाएको देखेर
यहाँका वन-जंगलमा
चरा-चुरुङ्गीहरूले तिम्रो साउती गर्न थालेका छन्
तिमी गन्हाएको देखेर
यहाँका पाखा पखेरो र चियाबारीले पनि
तिमीलाई छि: छि: दूर दुर गर्दै छन्
बत्ती बलेका घरहरू पनि
तिमी गन्हाएको देखेर
चुक घोप्टाए झैं अँध्यारो हुन् थालेको छ,
साँच्चै साथी,
तिम्रो शरीरमा, सिनो झै
ह्वास्स कुनी के गन्हाउन थालेको छ ।

यो जाडो याममा
उपहारस्वरुप पाएको ज्याकेट, ब्रिफकेश,
फरेनको व्हिस्की र ब्रान्डीसँगै
मधेशको न्यानो घाम पाएर
मझेरीमा तापेको अगेना बिर्स्यौ,
राढ़ी, रायो र गाउँ खाने कथा बिर्स्यौ,
दाजु-भाइ, छरछिमेकी र आफ्नोपन बिर्स्यौ,
जातिमा जात नमिलेको जस्तो
पातीमा पात नमिलेको जस्तो
अरु धेरै थोक नमिलेर होला
तिम्रो शरीरमा ह्वास्स
खै कुनी के गन्हाउन थालेको छ ।

युरोपदेखि दार्जीलिङसम्म फैलिएको चिसोले
ननुहाएर हो कि,
तिम्रो शरीरमा
पहाडे राजनीति गन्हाउन थालेको छ,
तिम्रो शरीरमा
बंगालको कुटनीति गन्हाउन थालेको छ,
दुर्योधनको पासादेखि लिएर
तिम्रो शरीरमा हुगलीको माछा गन्हाउन थालेको छ,

साथी,
तिम्रो शरीरमा ह्वास्स खै के गन्हाउन थालेको छ,
तिमी हिडेका बाटा-घाटाहरूमा
शहीदहरूको रगत गन्हाउन थालेका छन् ।
तिमीले बोलेका शब्दहरूमा
कमारोपनको दुर्गन्ध गन्हाउन थालेको छ,
तिमीले लगाएका लुगाहरूमा
धोती, चप्पल र जडौरी कुर्ता गन्हाउन थालेको छ ।

हिजोआज तिम्रो मुखमा
झुसिलो डकार,
शरीरमा सडे, गलेको विचार
शकुनीको चाल, चरित्र सबैथोक गन्हाउन थालेको छ ।
नाक छोपेर हिडन पर्ने तिम्रो शरीर
हिजोआज ह्वास्स ह्वासी गनाउन थालेको छ ।

बी बी ठकुरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *