Skip to content

छोरीको दाँत उम्रनु कता हो कता घरमा देउसी भैलो खेल्नेहरुको जस्तै लावालस्कर लाग्न थाल्यो छोरी माग्नेहरुको । उहिलेको बेलामा भए ता बिहेकै लागि केटी माग्नेहरु आएका भन्न सकिन्थ्यो होला तर अहिले यसरी मेरी छोरी माग्न आउनेहरु आफ्नो बालक वा जवान छोराका लागि बुहारी माग्न आएका भने थिएनन् । अलिक जमाना फेरिएको छ । तर पनि भान हुन्थ्यो यी सबै कन्यार्थी वरहरुका आफन्त नै हुन् । एउटा टोली घरबाट निस्कन पाएको छैन, अर्काे टोली थपक्क घरमा आइपुग्छ, अर्काे निस्कन पाएको छैन, अर्काे लगत्तै आइपुग्छ । कस्तो कचेडा हो यो, अनि कस्तो घनचक्करको लफडा हो यो ! म आजित हुन लागिसकें । आमाको दूध छुटाएकै छैन उसलाई भर्ना गर्नुको तानातान देखेर विरक्तिन थालिसकी छोरीकी आमा पनि । उसलाई किन्नर गार्डेनमा भर्ना गरिहाल्नु अरे । मेरी छोरीलाई किन्नर गार्डेनमा भर्ना गरिमाग्न आएका मगन्तेहरु पो रहेछन् यिनीहरु ता ।
टोलीका टोली आएको छ आएको छ । बालकलाई आमाको दूध खान पनि दिएनन् यिनले । यिनीहरुका आँखाबाट यो नानीलाई लुकाउनै पर्ने भयो मैले । बजियाहरुको के रिन खाएको रहेछु कोनि आफ्नो घरभित्रै आफ्नै छोरी लुकाउनु पर्यो । केही सिप नलागेर लुकाएँ पनि । मानौं म छोरीलाई दाँतै नउम्रिई गुफा बसाउँदै छु । खुला सास फेर्न दिने भएनन् पापीहरुले, मलाई आफ्नो खुसीले केही गर्न दिने भएनन् असतीहरुले । यिनका अघि नानीहरुलाई पार्नु भनेको शिकारीहरुले शिकार पाउनु जस्तो हुन्छ भनेर नै यिनका आँखाबाट छोरी र उसकी आमालाई अलग्गै राखें तर के गर्नु र छोराछोरी घरमा थुन्नु पनि ता भएन । अलिक खुकुलो ता गर्नु पनि प¥यो । प्रजातन्त्र पछिको गाणतन्त्र समेत आइसकेका बेलामा आफ्नो घरमा आफ्नै सन्ततिलाई के कैदी र बन्दी जस्तो बनाउनु ? छ्या है ।
छोरी र उसकी आमालाई देखे कि यिनका तिन नेत्र ताता हुन थाले । कसैले छोरीको रुपको, कसैले उसको आकारप्रकारको, कसैले उसका अनुहारको र कसैले ता उसका बाँकी इन्द्रियहरुको पनि गुणगान गर्न छालिसके । एउटी गार्डेनकी मेडमले ता हैन कति राम्रो कपाल रहेछ भनेर पनि भनिन् जबकि मेरी छोरीको कपाल राम्रोसँग पलाइसकेकै थिएन । अर्कीले छोरीको कपाल कम पलाएको देखेर लौ नानीको कपाल उमारिदिने काम हाम्रो भो, हामी कपाल उमारिदिन्छौं, हाम्रोमा भर्ना गरिहाल्नुहोस् सम्म पनि भनिन् । सबैले देख्ने गरी छोरी राख्नु होभने कुनै कुनै मगन्ते टोलीले ता लौ यसका दाँत उमारिदिने काम मेरो भो भन्न पनि बेर नलाउलान् जस्तो भइसक्यो । यस्तो आतंक जस्तै भएपछिलाई मैले आमाचैंका साथ छोरीलाई घरभित्र गुम्स्याउनु परेको छ ।
सारै लामो समयसम्म पनि यो लफडा चलिरहँदो रहेछ । यिनको भर्ना प्रक्रिया अहोरात्रको रहेछ । कहिल्यै कम हुने होइन । कुनै नारीको शरीर अलिक हृष्टपुष्ट देखे कि यिनीहरु हुनेवाला नानीको रिजर्भेसनका लागि खनिन थाल्छन् । मेरोमा यो छोरी गर्भमै छँदादेखि यो लफडा चलिरहेको छ र अहिले पनि त्यही हालत छ । अर्काे छोराछोरी पाउनु कि नपाउनु भएको छ । मानौं सबैका घरघरमा मेरैमा जसरी यी आए भने स्वतः परिवारनियोजन हुन्छ, गरिरहनै पर्दैन । कसले यिनको सिकार जन्माइरहोस् ।
यिनको के रिन खाइदिएको छ र आफ्ना छोराछोरीलाई घरमा गुम्स्याऊँ हँ भन्ने लागेर अलिक खुकुला गरिदिएको झन् लफडा कचेडा बढ्न थाल्यो । अलिक हलुका गरेको पनि यिनले आँखा गाडिसके भनेर आमाचैं रिसले चूरचूर भइसकी । “केही दिनलाई बरु म माइत जान्छु है” भनेर उसले भन्न थालिसकी ।
छोरी माग्न दुईचार टोली दैनिक जसो आइरहेकोले आजित भइसकियो । “के जानु माइतमा ? उता पनि उही हो नि !” भनेर भनेपछि चित्त बुझाएर घरमै छन् आमाछोरी । कुन बेला कतिखेर छोरी माग्ने कुन टोली आउने हो भनेर म घरको गेटकिपर जस्तो भएर बसेको छु ।
एक दिन बिहान उज्यालो हुनै नपाई ढोका ढक्ढक्यायो एक टोलीले । भित्रैबाट कराएँ— ‘मेरी छोरीको भर्खर पास्नी मात्र भएको छ । यसो दाँत ता पलाउँन दिनुहोस् न, दाँत आएपछि तपाईंकैमा आएर भर्ना गर्छु, प्रोसपेक्टसहरु के के छन् सबै कुरा छाडेर अहिलेलाई जानुहोस् है ।”
सबैले देशका एक एक भाग दाबी गरेर पनि आफ्नो कित्ता नछुटिएकोमा पछि परिने भयो भनेर आन्दोलनको तयारीमा फलानो जातकाहरुको भेलाका लागि आमन्त्रण गर्न पो आएका रहेछन् ती ता । मेरो अनुमानले अलिक बितुर खाएछ ।
“जा है !” कुरा मिलेनछ भन्ने लाग्यो र कुरा मिलाएँ ।
“हुन्छ हुन्छ । हाम्रो जातिको लागि पनि अलिकति देश ता चाहियो नि, सबैलाई देश बाँडिरहेको बेला हामीलाई मात्र अन्याय गर्न पाइन्छ ? यसैले म तपाईंहरुको आन्दोलनको समर्थन गर्छु, टायर बाल्नु परे टायर बालुँला, राँको बाल्नु परे राँको बालुँला, हडताल भने हडता, जे भन्यो त्यही नि । सबैको भागमा देश परिसक्यो हाम्रो जातकाहरुलाई पनि ता देश बाँडचुँड गर्दा अकिलति छुट्याउनु पर्यो नि । त्यसरी अन्याय गर्न पाइन्छ !” भनेर साँखुल्ले भएर उनीहरुलाई बिदा गरें ।
फेरि पनि मैले छोरी माग्नेहरुकै लफडामा लाग्नु परिरह्यो । केही दिनसम्म ता मैले आपंैंm यिनका अघि डिल पनि गरिहेरें । यिनले नानाभाँतीका अफर पनि गरे । त्यसबाट मैले के बुझेें भने यिनले पढाइलाई भन्दा पनि विद्यालयको सुविधा, विद्यालयको ड्रेस, विद्यालयको भवन, त्यसका कोठा, त्यहाँ प्रयोग गरिने कम्प्युटर, खेलकुदको मैदान, पार्किङको व्यवस्था, स्वीमिङ पुल, यातायातमा कार भए कार, वस भए बस, अर्थात् जे चाह्यो त्यसको सुविधा प्रोभाइड गर्नेहरु हुन् यी । त्यसैको विज्ञापन गर्न आएका हुन् । एउटा टोलीले ता आफ्नो विद्यालयको बढाइँ गर्दा कक्षा कोठाहरु एस्सी, नन एसी भएका र एट्याच बाथरुमहरु समेत भएको बताउन पनि पछि परेनन् । मैले ठानें मानौं यी पाँच तारे होटेलहरु हुन् ।
सोधें पनि “अँ यो मेरो छोरी जन्मदै मात्र छ, दूध पनि छुटेको छैन, यसलाई एट्याज बाथरुम र खेलकुद मैनादको के अर्थ ?!”
उनीहरुमध्ये एक जना मिसले उनीहरुकै बिचमा खासखुस भाषामा भनेको सुनियो “यो कुरा ता अलिक ठुलाठुला नानीहरुलाई माग्नु पर्दा पो भन्ने हो त । तपाईं पनि कस्तो फसाद पार्ने होउ, ठाउँ हेरेर कुरा भन्नु है । यो कुरा यहाँ भन्ने होइन । बुझ्नु भएन ?!”
उनीहरुका साउतीबाट मैले के बुझें भने उनीहरुमा कुन ठाउँमा के कुरा भन्नु पर्ने हो त्यो पनि थाहा नपाएका मिस मेडमहरु रहेछन् । गिदीमा जे भरिदियो त्यही भन्ने यन्त्रहरु मात्र रहेछन् ।
मेरा घरमा यस्तैहरुको लावालस्कर लाग्यो छोरी जन्मदैदेखि । धेरैले आधाउधी नेपाली मिसिएको कच्याककुचुक्क परेको अङ्ग्रेजी नै बोले । कसैले नास्ता पाइने, कसैले ड्रेस पाइने, कसैले औषधि उपचार गरिदिने, कसैले जुत्ता हालिदिने, कसैले गुडिया किनिदिने जस्ता कुरा गरेर मलाई अचम्मै पारिसके । सबैले नानाभाँतीका ललिपप देखाएर घरमा सुत्न बस्न नपाउने स्थिति भइसक्यो । मलाई सजिलैसँग भन्न अप्ठेरो पर्ने कुराहरु आमाचैंलाई भनियो । उसकी आमा पनि आजित भइसकी । एउटी मिसले मेरी छोरीकी आमा र्चैंलाई छोरीका लागि प्रत्येक महिनामा आवश्यकता अनुसार स्यानिटेरी प्याड पनि उपलब्ध गराइदिने कुरा सुनाइछिन् । अनि आमाचैंलाई तिन नेत्र तातेछन् र “तेरी दुध खाने छोरीलाई स्यानिटेरी प्याड चाइन्छ जखमली मोरी” भनेर सातो खाइछिन् । तत्कालै त्यसै डफ्फामा आएकी अर्की मिसले प्याडको सट्टा “हगी पो त” भनेपछि कुरा अलिक मिलेछ ।
अब ता झन् कम होला भन्यो झन् छोरी देखाउनै भएको छैन । अपहरण नै पो गरेर लाने हुन् कि भन्ने भइसक्यो । न भोक, न निद्रा भइयो । यस्तो हुन थालेकोमा छोरीकी आमाचैैलाई अझै नयाँ नयाँ प्रलोभन पनि आइरहेका छन् । हेरौं न त यिनीहरुको अफर भनेर उनी अहिले अलिक स्वाद लिंदैछिन् ।
एउटा विद्यालयबाट उनीहरुकोमा छोरी भर्ना गर्ने हो भने एक महिनाका लागि घरको रासन पानी पनि विद्यालयबाट बेहोरिने अफर पनि आएछ । अर्काबाट विजुली पानीको बिल बुझाइदिने कुरा आएछ । आएका डफ्फाहरुले एकान्तमा पारेर यस्ता नौला नौला अफरहरु गरेछन् । आमाचैंलाई फकाएपछि भैहाल्छ भन्ने सिद्धान्त बोक्नेहरुले उसलाई महिलाहरुकै डफ्फा लगाई फकाएछन् । साथै छोरीलाई हगी लगाइदिने, धाईको दूध चुसाउने, मालिस गरिदिने, लगायतका नाना अफरहरु भएछन् । छोरीलाई जस्तो ड्रेस लगादिनु भन्नुहुन्छ उस्तै लगाइदिन्छौ पनि भनेछन् । जे माग्नुहुन्छ त्यही कुरा पाइन्छ भनेछन् । एउटा विद्यालयबाट ता तपाईंकी छोरी ठुली भएपछि जस्तो लुगा चाहियो भन्छे त्यस्तै हालिदिन्छौसम्म पनि भनेछन् । छोरी भर्ना हुनु ता परै जाओस् अहिले कोक्रोमा पनि हालिएको छैन । अनि कहाँकाट यो सबै लफडा आएको होला भनेर मलाई टाउको भारी भइसक्यो ।
दिक्क भएर छोरीकी आमाले नै एक जुक्ती झिकिन्— “आ लगेर एउटा स्कुलमा भर्ना गरिहाल्नुपर्छ, अनि मात्र यिनको मेख मर्छ । नत्र यिनले यत्तिकै हो, कसैले के दिने, कसैले के दिने भन्छन् । अकास र पत्तालको कुरा देखाएर चौपट ! दिँदा दिँदा उनका विद्यालयमा भर्ना गर्ने हो भने उनीहरुकोमा भर्ना भई मात्र दिनुपर्छ हाम्री छोरीले पढ्नु पर्ने कुरा पनि उनीहरुले नै पढिदेलान् जस्तो गरिसके । परीक्षा पनि उनीहरुले नै लेखिदेलान् भनेजस्तै भइसक्यो । लौ छोरीलाई भर्ना गर्ने विद्यालयको निरीक्षण गर्नुहोस् । अनेकका कचेडा र लफडामा नफस्नुहोस् !”
“हो त नि !” भनेर म पनि भोलिपल्टै छोरीलाई पढाउनु पर्ने स्कुलबारे बुझ्न हिंडे । कोठा कोठा खोलिएका बोर्डिग छन् । चोकचोकमा छन् । टोलटोलमा छन् । वास्तवमा यिनले घरमा बस्न दिएनन्, मार्ने भए भन्ने ठानेर शहरका तिनै बोर्डिंगतिर धाइफल तोडें । बाटोको घरैपिछे दायाँबायाँ सबैतिर विद्यालय भएपछि पो समस्या पर्ने भयो । कता र कुनमा भर्ना गर्ने हो भन्ने कुरामा म रनभुल्लमा परें । बाटैमा पहिले देखियो पेन्टागन, अलिक पछि गएको त्यहाँ आइन्सटाइन रहेछ । त्यसपछि चहार्दैैजाँदा कतै गोल्डेन गेट, कतै फ्लोरिडा, कतै वासिङटन, कतै नासा, कतै म्याड्रिड, कतै चेल्सी, कतै वार्सिलोना, कतै पाइथागोरस, कतै क्याराभान, कतै चर्चिल, कतै वार्सा, क्लियोप्याट्रा, कतै क्रिस्ट, कतै जाभियर हरे म ता निकै फसादमा पो परें ! के यी सबै किन्नर गार्डेन नै हुन् त भनेर मनमा प्रश्न आयो । अब कुन विद्यालयमा भर्ना गर्ने होला भनेर मलाई रिंगटै चल्यो, छोरीलाई हुर्कने अवसर पनि दिन पाइने भएन । भर्ना नगरे बासउठ्ठा गर्लान् जस्तो छ । नेपाली नाम भएको विद्यालय एउटा पनि पाइएन । विद्यालयका नामैले मलाई छक्का छुटाए । कुनै भन्दा कुनै कम देखिएनन् । धेरैतिर खोज्न जान पनि सकिनँ । खोज्दै जाँदा सायद कार्गिल, पेसावर, रावलपिन्डी, आणविक भट्टी, हिरोसिमा, नागासाकी, चेर्नाेभिल, भोपाल आणविक दुर्घटना, बंकर जस्ता विद्यालयहरु पनि पाइन्थे होला, तर कोसिस गरिनँ । जति भेटिए ती सबैै काफी थिए ।
पढाइ भन्दा पनि नाम र दाममा उत्तम लाग्ने खालका यी विद्यालयहरुले मेरो सातो उडाए । एउटा विद्यालयमा लुसुक्क पसेर छोरीको भर्ना गर्नु प¥यो भनेको ता लोकसेवा आयोगको मौखिक परीक्षामा जस्तो गरी मलाई पो सोधियो— “कति वर्षकी छोरी छे, कस्ती छे, के कस्तो लुगा लगाउन रुचाउँछे, कुन वर्णकी छे, कति उचाइकी छे, उसका केटा साथी छन् छैनन्” आदि इत्यादि । छोरीका बारेमा लामो मौखिक अन्तर्वार्ता सकियो । सोध्दासोध्दा हुने पनि नहुने पनि सोधिसकेपछि अनि पालो आयो छोरीका आमाबाबुको विषयमा बुझ्ने ।
“किन यस्तो सास्ती गर्नुहुन्छ ? एकैचोटि भर्ना गरे हुँदैन ?” मैले अलिक रिसाएर सोधें ।
“काँ त्यसरी हुन्छ ? तपाई छोरीको शुल्क तिर्न सक्नुहुन्छ हुन्न ? तपाईंको स्टाटस कस्तो छ ? काँ त्यसै हुन्छ लौ यी सबै कृुरा पनि ता बुझ्नु प¥यो नि ! त्यसैले सोधेको ।” उत्तर पाएँ । सायद मेरो योग्यताले र मेरो आयले नै यिनले मेरी छोरीलाई भर्ना गर्ने रहेछन् भन्ने लाग्यो । अनि झनक्क रिस उठेर आयो ।
“म पनि तपाईंहरुको स्टाटस बुझ्न सक्छु ?” भनेर सोध्रे ।
“हुन्छ सोध्नुहोस् न !” भन्ने जवाफ पाएपछि मैले उनीहरुलाई सोधें—“तपाईंहका यी मिस्त्रीहरु किन भित्तो टालिरहेका छन् ? कताकता टालटुल गरेको छ तपार्इंहरुले ? भूकम्प आयो भने भाग्ने ठाउँ खोइ ? अनि भूकम्पप्रतिरोधी भवन छ तपाईंहरुको ? यो भित्तो केका लागि टालेको ? किन टालेको ? कक्षा कोठाहरु कति टालटुल पार्नु भएको छ ? लौ देखाउनुहोस् । ”
मैले जंगिएर भनेपछि प्रिन्सिपल अलिक हच्किएका देखिए । “तपाईंहरुको विद्यालय कहिले लड्ने हो केही ठेगान रैनछ, म मेरी छोरी तपाईंहरुकोमा किचाउन र मार्न अहिले भर्ना गर्दिनँ है” भन्दै त्यहाँबाट बाहिर निस्किएँ । बरु अरु अरुका स्टाटस पनि केही दिनसम्मलाई बुझ्नुप¥यो र भर्ना गर्नु पर्ला भन्दै मनभरि बोझ बोके जस्तो भयो बाहिर निस्कँदा ।
बाहिर ता आएँ, अहिले म बिलखबन्दमा परेको छु । अब कता लगेर यो छोरीलाई भर्ना गर्नु पर्ने हो, दशैंको भेडाच्याङ्ग्राहरुको जस्तो मेरो स्टाटस हेरेर मोलतोल गरेर मात्र छोरी भर्ना गर्ने रहेछन् । विद्यार्थीहरुको योग्यता भन्दा पनि बाबुआमाको आमदानीलाई नै यिनले मूल विषयवस्तु बनाएका हुँदा रहेछन् । बरु होस् एकै चिहान बनाउने खालको बहिर रँगाएको र भित्र टालेको विद्यालयमा पढाउन भर्ना गर्नु भन्दा कुनै मान्द्रोहरुले बेरबार गरेका विद्यालय छन् कि छैनन् बुझ्नु पो पर्ने भो भन्दै लुसुलुसु घरतिर लागें ।
हेरौं के हुन्छ अब…..

मेची क्याम्पस, भद्रपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *