हामी नाँच्नुमा सिपालु छौँ,
हामी मादले गीतमा नाँच्छौ,
मारुनी भएर पनि नाँच्छौ,
तामाङ सेलोदेखि लिएर
खैँजडी र च्याब्रुङको तालमा पनि नाँच्छौ,
नाँच्न हामीलाई सिकाउनु पर्दैन
हामी जन्मजात नाँच्ने जाति हौँ।
गाई जात्रामा पनि हामी नाँच्छौ
जन्ती जाँदा पनि हामी नाँच्छौ,
लुतो फ्याँक्दा पनि नाँचेकै छौं,
मसान खेलाउँदा पनि
हामी मसाने भएर नाँचेकै छौं,
भूत भगाउँदा पनि
हामी दोबाटोमा गएर हामी नाँच्छौ,
मुहर्रममा पनि हामी नै नाँचिरहेका हुन्छौ,
होलीमा भाँग खाएर
हामी नै नाँचिरहेका हुन्छौ,
सडकमा गति देखाएर नाँच्ने
हामी नै हुन्छौ,
राजतन्त्र हटाउँनकोलागि पनि हामी नाँच्यौ,
माओवादीको विरोधमा पनि हामी नाँच्यौ,
मेला लाग्दा पनि हामी नाँच्छौ,
जनभेला गराउँदा पनि हामी नाँचिरहेका हुन्छौ,
हामी दिनको उज्यालोमा पनि नाँच्छौ,
अँध्यारो रातमा पनि नाँच्छौ,
हामी होशमा पनि नाँच्छौ
बेहोशीमा पनि नाँच्छौ,
हामी पिउँदा पनि नाँच्छौ,
नपिउँदा पनि नाँच्छौ ।
हामी कतिबेर नाँच्छौ,
त्यसको कुनै ठेकानै छैन,
त्यसको कुनै सीमा छैन,
हामी नाँचेको सबैले देखेको छ,
हाम्रो किन नाँच्छौ
त्यो सबैले जानेकै छ ।
जब पहाड र मधेशको मानचित्र कोरिन्छ,
जब मेची र महाकालीको कुरा आउँछ
जब सुविधा र सहुलियतको भागवन्डा लाग्छ,
त्यतिखेर
कसैले हामीलाई गिज्याइरहेको हुन्छ
कसैले लहै लहै र थैथै पारेर
हामीलाई नँचाइरहेको हुन्छ,
त्यो थाहा पाएर पनि
थाहा नपाए जस्तो
हामी अनन्तकाल गाइरहेका हुन्छौ,
हामी अनन्तकाल नाँचिरहेका हुन्छौ,
यसरी नै
हामी अनन्तकाल बाँचिरहका छौ।
बी बी ठकुरी
मिल्टन, कनाडा