Skip to content



टन्न स्तनपान गराएर
न्यानो कपडाले बेरेर
रुन्दै तिमीहरुले भेट्ने गरी
बाकसमा सुरक्षित राखिदिएको
ममता नजागेर होला?
ए मान्छेहरू हो!
बिचरीको विवशतालाई पनि बुझिदेऊ
आमा हुन जन्ती जानैपर्छ भन्ने छैन
नत कर्मकाण्डको ढोंग जरुरी छ
यो प्राकृतिक कुरा हो।
महोदय !
हाम्रो हेर्ने तरिका चै बदल्ने हो कि?


जबसम्म एउटा भ्रुण पैदा हुदैन
समाजका लागि सब ठिकठाक हुन्छ
अबोध जब जन्मन्छ
आमा कलंकित हुन्छे
सन्तान बदनाम हुन्छ
अनि
बेपत्ता हुन्छ बाउ
आलो घाउहरुलाई बेवारिस पारेर
समाजलाई त्यही घाउमा
नून र खुर्सानी छर्किन मौका दिएर
ऊ गुमनाम हुन्छ।


जन्ती जान नपाएकाहरू
राता रात दुराचारमा लिप्त भएकाहरू
पाप र पुन्यको
महाकाव्य रचना गर्न थाल्छ्न
एउटी अबलालाई
आत्महत्याको लागि खुलेआम प्रेरित गर्न
तछाड मछाड चल्छ
सदाचारी देखिने होड चल्न थाल्छ।
त्यो समाज बुझ्दैन/बुझ्न चाहन्न
एउटी महिला आमा हुनु
कुनै दुष्कर्म होइन
कुनै महापाप होइन
यो त स्वभाविक क्रिया हो।
यो त उनको स्वतन्त्रता हो।


त्यही विवशताले
उनी बञ्चित छिन
आफ्नै सन्तानलाई स्वीकार गर्नबाट
सन्धै भरी छातीमा टाँसेर माया गर्नबाट
विवश छिन
आफ्नो मुटु र कलेजोलाई
झाडीमा फाल्न
कोही बुझ्दैनन
उनले
भ्रुण हत्या गर्न किन सकिनन
जन्मदिएर छातीमा टाँसेर
कसैले उठाएर लगिदेला
कसैले संरक्षण गरिदेला
कसैले उसलाई जीवन देला
भन्ने आसमा
बेवारिस छोड्न।
महोदय
हामीले आफूलाई नबदल्दासम्म
यो परिबन्धबाट
एउटी कुमारी आमा कसरी मुक्त हुन सक्छिन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *