Skip to content

एकपल्ट हारेँ तर जित्छु


प्यारा नानीबाबुहरू !

यस वर्षे भेलमा न्यानो अभिवादन ।

प्यारा नानीबाबुहरू ! अरू कुरा जोड्नु अघि तलको माँ दिव्या अर्थात् आश्माजीका गीतिशब्द गुनगुनाउँदै कलम दगुराएँ है त !

फूल किन फुल्छ बाबै फूल किन फुल्छ
थाहा नै छ उसलाई भरे मर्नुपर्छ ।

विहानीको मय उसले यत्ति मिठो लिन्छ
सिंगो जीवन फुरेजस्तो यत्ति फुरिदिन्छ ।
मर्ने कहिले मर्छ रहे बाँच्ने नै त मर्छ

फूल भन्छ आउने जाने दुइटै मेरो होइन
तर विन्ती नखोसी द्यौ मेरो बाँच्ने चैन ।
बाँचुञ्जेल त हाँसीहाँसी मैले बाँच्नैपर्छ ।

जीवनमा सुन्नुपर्ने, गुन्नुपर्ने र सही लागेका कुराहरू व्यवहारमा लागू गर्नुपर्ने कुराहरू अनगिन्ती छन् । यद्यपि म यत्तिखेर सुन्न हैन सुनाउन उपस्थित छु । किनभने आफूले बुझेका र मनले खाएका कुरा अरूलाई सुनाउँदा सिकाइ दिगो हुन्छ । मन आनन्दले पुलकित हुन्छ । बेहोसीपन कम हुँदै जान्छ, मनमस्तिष्कमा होसीपन बढ्दै जान्छ ।

प्यारा नानीबाबुहरू ! म एक दिनको गन्थन सुनाउँछु है त !

सधैँ झैँ ०८ असोज, २०७५मा विहान ३:०० बजे नै आँखा खुले । शरीर कक्रेकै थियो । सायद नशा रोगी भएकाले नशा सक्रिय भएका थिएनन् । जसोतसो लर्बबराउँदै सकसले उठेँ । पाइला सार्न मुस्किल पर्यो । शौचकर्म सिद्धयाएँ ।

ओछ्यानमा पल्टिएँ । सुतिरहन मन लागेन । ध्यान मुद्रामा बसेँ र बुद्ध भजन सुन्न थालेँ । ७२ मिनेटको भजन अवधिभर त्यसमै हराएँ । अपूर्व आनन्दानुभूति भयो ।

अघिल्लो दिन डा. ओम मूर्ति अनिलको ‘उच्च रक्तचापमा औधषीको विकल्प’ शीर्षकको लेख पढेको थिएँ । लेखमा विरामीको अनुशासन र आत्मविश्वास साथ भए उच्च रक्तचापमा औधषी खाइरहनु जरुरी छैन भनिएको थियो ।

लेखको मुख्य आशय थियो– उच्च रक्तचाप नियन्त्रण राख्न दैनिक ३० देखि ६० मिनेटसम्म (३ देखि ६ किलोमीटरसम्म) साँझ–विहान शरीरमा पसिना आउने गरी र स्वाँस्वाँ हुने गरी पैदल यात्रा गर्नुपर्छ । स्वस्थ आहारको सेवन गर्ने, मोटोपना घटाउने, मदिरा र चुरोट सेवनबाट टाढै हुने, मानसिक तनाव नलिने जस्ता कुराहरू उल्लेख थिए ।

त्यसबेला तन र मन दुवै शान्त भए पनि मनको एक कुनामा एउटा प्रसङ्गले घोचिरहन्थ्यो । कुरा के थियो भने– २ दिन अगाडिसम्म चालकहरूले गाडी हडताल गरेका थिए । तीजको दर खान गएका आफ्ना मान्छे उत्तै रोकिएका थिए । त्यसमा मेरी गृहलक्ष्मी पनि परेकी थिइन् । दर खान आएकी आफ्नी चेली रोजिना पनि गोलबजारमै थुनिएकी थिइन् । उनीहरूको शिक्षा आयोगको परीक्षा मुखैमा आएको थियो । तयारीमा बाधा अवरोध भइरहेको थियो । त्यसै कारण मेरो मन भुट्भुटिइरहेको थियो ।

मेरो प्रेसर बढेर माथि १९५ तल १२५ पुगेछ । चेली डरले काँप्न थालिन् । गाडी चल्दैन एम्बुलेन्स बोलाऔँ भन्न थालिन् । म भने हाँस्न थालेँ । आफ्नो जीवनसँग ख्यालठट्टा नगर्न सुझाव दिइरहिन् । म भने बाहिरी रूपले हँसीमजाकमा मस्त थिएँ, भित्री रूपले भने गम्भीर थिएँ ।

भनेँ, “धैर्य गर, कन्ट्रोलमा आउँछ । जति तनाव लियो उति बढ्ने त हो नि ! मनका घैलामैला फाल्न देऊ, प्रेसर काबुमा आउँछ । अढाई घण्टा पर्ख । अनि जाँची हेर, नियन्त्रणमा नआए, जे भन्छ्यौ त्यही गरौँला ।”

लगातार ४५ मिनेट अनुलोमविलोम गर्न समय दिएँ । ४५ मिनेट कपालभाँती, भस्त्रीका र उच्चाइ प्राणायामलाई खर्चिएँ । र, केही समय मोर्निङ वाकमा बिताएँ ।

नभन्दै प्रेसर जाँच्दा माथि १४५ र तल ९२मा झरेको रहेछ । चेली पनि खुशी म पनि खुशी ! यसबाट उच्च रक्तचाप नियन्त्रण गर्न आफैँले सकिँदो रहेछ भन्ने बुझ्न सकेँ ।

यद्यपि मान्छेको मन न हो । आफ्नो नियन्त्रणमा राख्दा पनि सधैँ राख्न सकिन्न । चेतन मनलाई लगाम लगाउन सकिएला अवचेतन मन त नियन्त्रण बाहिर हुन्छ । एकपटक नियन्त्रणमा आएको उच्च रक्तचाप सधैँ आउँछ भन्ने छैन । मनमा अनेक कुरा खेले । शान्त पार्न खोजेँ तैपनि खेली नै रहे ।

त्यसैले असोज ०८ गते विहान ५:३४ बजे मोर्निङ वाक प्रारम्भ गरेँ । स्वामी रामदेवले मजस्ता उच्च रक्तचाप र पक्षाघातका बिरामीलाई लक्षित गर्दै भनेका कुरा सम्झेँ, “हाम्रा दुवै हातका हत्केला र खुट्टाका पैतालामा एक्युपङ्चरका प्वाइन्ट हुन्छन् । तिनलाई विहान–बेलुका दबाउने हो भने सबै खाले रोगीका लागि विशेष लाभ मिल्दछ ।” बिराटनगरका अर्जुन गौतमले पनि खाली खुट्टामा गिट्टीमा हिँड्न सके लाभ मिल्छ भनेको कुरा सम्झेँ । सडकभरि गिट्टी ओछ्याइएका थिए । तिनले खाली खुट्टामा घोच्दा एक्युपङ्चरका प्वाइन्ट स्वत: दाबिने हुँदा म पनि खाली खुट्टै हिँड्न थालेँ ।

बाटाभरि मोर्निङ वाकमा निस्केका मान्छे लावालस्कर थियो । मेरो शिर निहुरिएको र ध्यान मोवाइलमा बजिरहेको श्रुतिसंवेग कार्यक्रमको अडियोमा थियो । आँखा भने मान्छेका पाउ जाँच्नमा मग्न थियो । करिब सयको हाराहारीमा मान्छेहरू ओहोरदोहोर गरिरहेका हुँदा हुन् । सबैले जुत्ता–चप्पल लगाएको अवस्थामा फेला परे । सिर्फ म एक्लो खाली खुट्टाले यात्रा तय गर्दौ थिएँ ।

केही मान्छेहरूले भने फर्किफर्की मतिर हेरिरहेको पाएँ । सायद तिनीहरू मेरै विद्यार्थीहरूका अभिभावक होलान् । माष्टरी पेशा समातेको कारण प्रत्येक्ष नचिने पनि अप्रत्क्षयरूपले मलाई चिन्ने थुप्रै होलान् भन्ने लाग्यो । किनभने तिनका विद्यार्थीहरूले मेरो हालतको अवगत गराउँदै यसो भनेका हुन सक्छन्, “हमर स्कुलमे एकटा लवका माष्टर आयल छै । लेकिन निक सँ बाजैला आ लरैला नही सकैछै । पढवैला निक रहे, दिनदशा लागले विचाराके !”

सबै विचार पन्छाएर श्रुतिसंवेगमा अच्युत घिमिरेको आवाजसँग डुब्दै गएँ । उनी शंकर लामिछानेको ‘एब्स्याक्ट चिन्तन प्याज’ निबन्ध सङ्ग्रहका निबन्धहरू बाचन गरिरहेका थिए । आत्मपरक शैलीका मनोहारी निबन्धहरू सुन्दै गिट्टीको बाटो हिँड्दै गर्दा खुट्टामा तीखा गिट्टीले दिएको पीडा पनि भुसुक्कै भुलेको थिएँ ।

जनता माविको चौरमा ५० जना जति मान्छेहरू थिए । कोही कराँते खेल्दै थिए । कोही हात उचालेर दगुर्दै थिए । कोही भने फुटबल खेल्नमा मग्नमस्त थिए । मलाई पनि त्यही हुलमा मिसिन मन लाग्यो । यद्यपि मजस्तो अर्ध–अपाङ्ग त्यहाँ कोही थिएन । श्रुतिसंवेगको मधुर आवाज सुन्ने वातावरण थिएन । सबैभन्दा बढता त मलाई चाहिएका तीखा गिट्टीहरू थिएनन् ।

म सोझै पश्चिमतिर लागेँ । त्यो बाटो कहिल्यै हिँडेको थिइनँ । सायद पुरानो चोहर्वातिर जाँदो हो । बलराम यादव सरको घर पनि चोहर्वा नै हो भन्ने सुनेको थिएँ । उत्तै पुगे पुग्छु । नयाँ ठाउँ पनि हेर्छु । डा. ओम मूर्ति अनिलका अनुसार धेरै हिँडेर धेरै रक्तचाप घटाउँछु ।

हिँड्दा हिँड्दै एउटा काठ मिल सामुन्नेमा देखियो । मेरा घरमालिक सुवर्ण दाहालको मिलकोभन्दा बढता दाउराको रास देखेर छक्क परेँ । दाउरा त के काठै कुहेर जान्छन् तर बिक्री हुँदैहुँदैनन् । यहाँका काठमिलको मालिकको समस्या बुझेर एकक्षण टोहोलाउन वाध्य भएँ ।

काठको साटो फलामको प्रयोग बढ्यो । दाउराको साटो ग्याँस र बिजुलीको चलन चल्यो । अनि मिल बन्द गरे भइगयो नि ! भन्ने आशाराम मण्डल मिस्त्रीका कुरा सार्थक भएको अनुभूत भयो ।

गाउँघरतिर पनि मान्छेले दाउरामा खाना पकाउन छाडेछन् । मान्छे सुविधाका भोगी भएछन् । श्रीमान्/छोराहरूलाई विदेश पठायो, परिवारको आम्दानी बढायो । र, सुविधाको लत बसाल्यो । सुहाउँदिलो खर्च गरेर दुई/चार पैसा बचत गर्न सके पो नेपालीहरूको दरिद्रता हट्थ्यो । राष्ट्रिय आम्दानी बढ्थ्यो । एक त विभिन्न नाममा नेताहरूले नै नेपालीहरूलाई गरीब पारे । अर्कातिर जेल बाहिर बसेर र जेलभित्र रहेर अपराधीले दरिद्र बनाए । सबैभन्दा बढ्ता त नबुझेर हैन बढी जान्ने भएर नेपालीहरू स्वय म गरीबीको दलदलमा फँसेँ । मनमा यस्तै विचार आए, गए ।

हिँड्दै जाँदा सुमित्रा योञ्जन म्याडमले किनेको घडेरी नजिक पुगिएछ । त्यहाँबाट लोकमार्ग उक्लने बाटो गएको रहेछ । उत्तै लागेँ । भर्खर रोपेका बैगन र गोलभेडाका बिरुवाहरू भएको करेसाबारी देखियो । ती कलिला बिरुवाले पानी खान मागेजस्तो लाग्यो । दयालु नजरले मतिर हेरिरहेजस्तो लाग्यो । मुन्तिरपट्टी बोरिङले पानी फ्याकिरहेको थियो । यद्यपि त्यसको कुलो तल्तिर धानबारीमा लगेको थियो । मलाई कुलो फर्काएर करेसाबारी सिँचाइ गर्न मन लाग्यो । मनले चाहेको गर्न मिल्दैन भनेर मनलाई बुझाएँ । नत्र त्यता डुल्न पनि मनाही हुन्छ भनेर सम्झाएँ ।

लोकमार्ग उक्लँदा त हटिया छिर्ने पश्चिमी मार्गमा पो पुगियो । छक्क परेँ । कहाँ न कहाँ पुगेँ भनेको त घुम्दैफिदै रुम्जाटार भनेझैं पो भयो । तल्तिर उपेन्द्र अधिकारीको घरमा कल्पनाथ नामको बिरुवा रोपेको रहेछ । अधिकारी बाजे सधैँ बिहान–बिहान आएर ३/३ वटा पात टिपेर चपाउनु र निल्नु उच्च रक्तचाप त के डाइबिटिजको समेत दोहोलो काड्छ, अरू ओखती खानै पर्दैन भन्थे । अर्का माष्टरजी चाहिँ संसारकै सबैभन्दा तीतो बनस्पति भनेकै कल्पनाथ नै हो भन्थे ।

मैले पनि ३ वटा पात टिपेँ र चवाएँ । तीतो, अति नै तीतो निल्न त के चपाउनै नसकिने तीतो रहेछ । साँच्चै संसारकै तीतो चीज रहेछ भन्ने विश्वास भयो । उच्च रक्तचाप काबुमा आउने आशले आँखा चिम्लेर चपाएँ र निलेँ । आफ्नो डेरामा आउँदा ठ्याक्कै विहानको ६:३४ बजेको रहेछ । एक घण्टा मोर्निङ बाकमा बितेछ ।

लक्ष्मीले एक गिलास मन तातो गाईको दूध टक्र्याइन् । मैले सुरुप्प–सुरुप्प पारेर सिद्धयाएँ । काँचो लसुन र भिजाएको मेथी पनि खुवाइन् । र, थकाइ मरेपछि उनले मेरो बीपी चेक गरिन् । मेरो बीपी माथि १३५ र तल १८८मा सीमित भएछ ।

मन शान्त भयो । दैनिक आहारविहारमा ख्याल गरे चाँडै उच्च रक्तचाप र पक्षाघातबाट छुटकारा पाउन सकिने आशा पलायो । मलाई परोक्ष शुद्धिबुद्धि दिने दार्शनिक ओशो, स्वामी रामदेव, राजीव दीक्षित, अर्जुन गौतम, डा. ओम मूर्ति अनिलहरूलाई हृदयदेखि नै नमन गर्दै लेखपढमा व्यस्त भएँ ।

व्यस्त, व्यस्त तनाव नहुने व्यस्तताले फाइदै गर्छ । किनभने जन्मनासाथ व्यस्तता पक्रेको अँझै व्यस्तताबाट छुटकारा पाएको हैन । सायद सास फेरिञ्जेल व्यस्तता मिल्छ । र, सास रोकिए पछि व्यस्तता सकिन्छ । अवश्य बिन्दास फुर्सद मिल्छ ।

यस प्रकार म उमेरले आधा शताव्दी र पेशाले अढाई दशक चक–डस्टर समातेर कक्षाकोठा धाएको कृष्णगर्तको आलोकाँचो व्यक्ति हुँ । जीवनको बेहोसीपन सुनाउन र थोरै भए पनि प्यारा नानीबाबुहरूलाई होस दिलाउन सकेँछु भने आफूलाई सौभाग्यशाली ठान्ने छु । किनभने आजको युगमा अभिभावकका लागि भरपर्दो सूचनाका संवाहक आजका बालबच्चा नै हुन् । हरेक बालबच्चाका कुरा अभिभावकले सुन्नुपर्छ । जायज कुरा व्यवहारमा लागू गर्नुपर्छ । यस्तै सोचले हातपाउ नचल्दा पनि आफ्ना कुरा देब्रे हातले भए पनि सकसले लेख्न खोज्दै छु ।

म सिरहा जिल्लास्थित श्रीजनता मा. वि., गोलबजार–४मा पढाउँदै थिएँ । मलाई २०७४ कात्तिक १० गते अपरान्ह शिरदर्द भयो । कम हुन्छ कि भनी चिसो पानीले स्नान गरेँ । क्षणिक आराम भए पनि कुसमयमा गरेको कृत्यको फलस्वरूप शिरदर्द जोडतोडले भयो । घरपट्टी सुवर्ण दाहालले अस्पताल पुर्याउनुभयो । रक्तचाप २९०/१५० पुगेको रहेछ । स्वास्थ्यकर्मी डराए र एउटा क्याप्सुल जिब्रोको जरामा राखीदिएर विराटनगर रिफर गरे । त्यत्तिञ्जेल मेरो दाहिने हात र ख्ट्टा लगायत आधा शरीरमै पक्षाघात भइसकेको रहेछ । चेतना सद्दे भए पनि मेरो बोली नबुझिने भइसकेछ । वरपर उभिएका लक्ष्मी, आमाबुबा, सुवर्ण दाइ, तुलसा म्याडमलगायतका आफन्तजन र शुभचिन्तकहरू अक्क न बक्क पर्नु भएछ । म अर्धचेतन अवस्थामा थिएँ ।

ल, फेरि लहरो गाँसियो । म रातारात विराटनगरको विराट अस्पताल भर्ना गरिएँ । जेठा मामा अशोक र माहिला मामा वेदनाथ तिम्सिना मेरा हात र खुट्टाका नङ दाब्न र मलाई जागै राख्न तनमनका साथ लागिपर्नुभएको थियो । त्यत्तिखेर मेरो खाना निमपत्ती थियो । गोलबजारमै कसैले आचार्य सर ! के खानुहुन्छ ? भनेर सोधेको थियो । मैले केवल ‘निमपत्ती’ मात्र भनेर जवाफ फर्काएको थिएँ । कसैले एम्बुलेन्समै एक मुठो निमपत्ती ल्याइदिएछ । कर्यामकर्याम चपाउन थालेँ । तीतोले उच्च रक्तचाप कम हुन्छ, मस्तिष्कघात हुने सम्भावना कम हुन्छ भन्ने सुनेको थिएँ । जति चवाए पनि तीतो हुन्नथ्यो । करिब दुई किलो पत्ता खाँदा पेट त भरियो तर मन भरिएको थिएन । तीतो अति खाए मात्र बाँच्छु नत्र परमधाम पुग्छु भन्ने सोच्न पुगेँछु । यद्यपि अति तीतो सेवन आँखाको ज्योतिका लागि घातक हो भन्ने कुरा भुसुक्कै भुलेँछु । फलस्वरूप अहिले आँखाको शक्ति मधुरो हुँदै गएको अनुभूत हुँदै छ ।

प्यारा नानीबाबुहरू ! उच्च रक्तचाप हुनबाट बच्ने र पक्षाघात भइसकेपछि पनि न्यूनिकरण गर्दै सहज स्थितिमा कसरी आउने भन्ने सन्दर्भमा धेरैतिर सोधखोज, अध्ययन, मनन र चिन्तन गरेँ । यसबाट मनग्यै तथ्यहरू पत्ता लागे । उच्च रक्तचापका रोगीले धेरै मोटाउनु नहुने रहेछ । मादकपदार्थ, धुम्रपान सेवन गर्न त सख्त मनाहिरहेछ । असन्तुलित जीवनशैली, खानपिनमा गडबड र तनावपूर्ण दिनचर्या भएका मान्छेहरू नै उच्च रक्तचापबाट पीडित हुने रहेछन् । यत्तिखेर म पनि त्यसकै शिकार भएर अपाङ्ग जीवन भोग्न वाध्य छु ।

उच्च रक्तचाप रोगीले के खाने र के नखाने भनेर एक हप्ता जति माड मात्र पिएर प्राण बचाएँ । पाइपबाट पानी पिएर सास राखेँ । अहिले आएर थाहा पाएँ– फाइबरयुक्त अर्थात् रेशादार र पोटासियम बढी र सोडियम कम भएका खानेकुरा खाँदा हुने रहेछ । कोलस्ट्रोल घटाउने खानेकुरा उच्च रक्तचापवाला मान्छेलाई जरुरत पर्ने रहेछ । यसको कहिरन त लामै रहेछ । केही कुरा अघि सार्नु यहाँ आवश्यक देख्तछु ।

अदुवा, गाँजर, कागति, तुलसी, लसुन, फ्याट निकालेको दुध–दही, प्याज, मह, मेवा, मरिच, करेला, पाकेको खोर्सानी, चोकरसहितको गहुँको रोटी, मेथी खानु जरुरी हुन्छ । सौम्प–जिरा–सख्खरको चूर्ण, सर्पगन्धाको जराको चूर्ण, अनार, स्याउ, अङ्गुर, नास्पति खानुपर्छ । कमल फूलको रस, नरिवल दानाभित्रको पानी, कटहर, हिंग सेवन गर्दा फाइदा पुग्छ । ब्रोकाउली, कोबी, टमाटर, फर्सी, लौका, हरिया सागसब्जी, मसरूम, चुकुन्दर, खरबुजा, तरबुजा, केरा, बदाम, माछा र त्यसको तेल, सोयाबिन जस्ता खानेकुराले लाभ पुर्याउँछ ।

उच्च रक्तचाप र त्यसले भएको पक्षाघातको बिमारीले कम भोजन खानुपर्छ । नियमित व्यायाम गर्नुपर्छ । प्रत्येक दिन विहान नाङ्गो खुट्टाले दुबो वा घाँसमा १०/१५ मिनेट हिँड्नुपर्छ । प्रत्येक दिन पक्षाघात भएका अङ्गको मसाज गराउनुपर्छ । स्वयम्ले पनि कोशिस गरिरहनुपर्छ ।

नानीबाबुहरू ! मैले आफ्ना अनुभूति रिट्ठो नबिराई समेटेँ । उच्च रक्तचाप वंशानुगत गुणका रूपमा पनि पुस्तौम्पुस्ता हस्तातरण हुनेरहेछ । त्यस बीचमा मेरो जीवनशैली केही तनाव पूर्ण पनि थियो । मेरी मुमा स्वय म रक्तचापले पीडित हुनुहुन्छ । बेलाबेलामा परीक्षण गराएर आहारविहार सन्तुलन गर्न सकेको भए अहिले अपाङ्ग जीवन भोग्नुपर्ने थिएन भन्ने लाग्दै छ ।

खासमा म हाल उपचाररत् छु । अचल शरीरको दाहिने पाटो सुधार हुँदै छ । दर्जन जति डाक्टरलाई देखाएँ । अनुभवको कमीले गर्दा कसो गर्दा ठिक हुन्छ भनेर चारैतिर भौतारिँएँ । अहिले भने निश्चिन्त भएर ओखती सेवन गर्ने र घरेलु उपाय अपनाउने काम गरिरहेको छु ।

उच्च रक्तचाप साह्रै घातक र छुपारूस्तम बिमार रहेछ । आत्मविश्वासका साथ अघि बढ्न सके मृत्यु पनि पराजीत हुने रहेछ । सहयोगी आफन्तजन भेट्नसके रोगीलाई रोगसँग लड्ने क्षमता आउने रहेछ । दुनियातिर हेर्न धेरै समय बिताए पनि प्रत्येक दिन एकाध घण्टा सिर्फ आफ्ना बाँच्न सके जीवन सुखमय बन्ने रहेछ । स्वास्थ्यविनाको जीवन नरकको घर रहेछ । मेरा यिनै अनुभूतिलाई नानीबाबुले केही पाउन सक्नुभएमा मेरो यस प्रयत्नले सार्थकता पाएको ठान्ने छु ।

धन्यवाद !!!
–नन्दलाल आचार्य
शिक्षक, श्रीजनता मावि, गोलबजार–४, सिरहा ।
मो.नं. ९८४२८२९२०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *