Skip to content

बुबाको मुख हेर्ने दिन

कोरोनाको बन्दाबन्दीले अन्य वर्षको झै यसपाली मिठाई पसलमा मान्छेको भिड पटक्कै थिएन । फाट्टफुट्ट मात्र खोलेका मिठाई पसलमा सँधैको जस्तो खालखालका मिठाईहरूको चाङ् पनि थिएन । पसलेहरू समय कटाउन पनि मोबाइल मै ब्यस्त हुनुपर्ने बाध्यता थियो । बिहानै देखि मान्छेको चहलपहलले रङ्गिएको देखिने सडकमा कुनै रौनकता थिएन । सडक एकोहोरो रुपमा लगभग एक्लै सुस्ताइ रहेको थियो । सडकमा टाँसिएका घरहरूका धेरै जसो सटरहरू बन्द थिए ।

बुबाको मुख हेर्ने दिन अर्थात् कुशे औशीको दिन थियो । फेसबुकका भित्ताहरूमा एकदिनका लागि भएपनि बुबाहरूको फोटोले सजाउने दिन थियो । सबैका आफ्ना बुबाहरूले फेसबुक मार्फत छोराछोरीले गरिएको मायाको महसुस गर्न त के सक्थे होला र तर पनि बिहानै देखि फेसबुकमा मायाको ओइरोपहिरो नै खनिइरहेको थियो । कोही बनावटी भएपनि यथेष्ट प्रेम पोखेर असल सन्तान कहलिने सुरमा त कोही समय र परिस्थितिले गर्दा आफ्नो बुबा आमालाई भेट्न नसक्दा फेसबुकमार्फत नै मनको भावना पोखिरहेका थिए । जे होस् सबैले आआफ्नो तवरले बुबाप्रतिको माया, प्रेम, सम्मान र जिम्मेवारी फेसबुकमार्फत नै बहन गरिरहेका थिए ।

सन्तान प्राप्तिको खुसीको कुरालाई ब्यक्त गर्न सक्ने कुनै पनि शब्दकोशमा शब्द नै छैन । त्यही खुसीलाई कायम राख्न जीवन भर हाडछाला घोटेर लागि पर्छन् उनीहरु । मनको चाहलाई बन्दकी राखेर सन्तानको खुसीको लागि जस्तो सुकै कष्टकर जीवन भोग्न तयार हुने आफ्नो बुबाआमा जब अशक्त हुन्छन् र कुनै पनि सहयोग गर्न नसक्ने अवस्था पुग्छन् तब उनीहरूलाई घाँडोको रुपमा हेर्ने छोराछोरीले बृद्ध आश्रममा पुर्याउने गरेको पनि देखिन्छ तर साधुरामका पाँच भाइ छोरा मध्येको कान्छो छोरा जो पेशागत हिसाबले भन्नु पर्दा वकिल थियो जसले बुबा आमालाई आफूसँग नै राखेको थियो । हुन त आफ्नी श्रीमतीको इसारामा चल्ने नै भएपनि साधुरामको कान्छो छोरोले बुबा आमाप्रतिको जिम्मेवारीबहन गरिरहेकै थियो । साधुरामका पाँच भाइ छोरा र दुई बहिनी छोरी सबै नै बौद्धिक हिसाबले कोही भन्दा कोही पनि कम थिएनन् । सबै सरकारी जागिरे, समाजमा सबैले साधुरामको खुलेरै तारिफ गर्थे । आफूले दुःख गरेर भएपनि सन्तानलाई शिक्षा दिने कुरामा साधुराम कहिल्यै पनि पछि नहटेकोले उसका सबै सन्तानले सुखसँग जीवन चलाइरहेका थिए ।

अन्य दिन आआफ्नो दैनिकीमा ब्यस्त हुनेहरू पनि चाडपर्वमा सबै परिवार भेला भएर रमाइलो गर्ने चलन छ । साधुरामका पाँचै भाइ छोराहरूको सम्बन्ध एक आपसमा सामान्य नै भएपनि बुहारीहरू भने एक«अर्काको डाहा गर्न कोही भन्दा कोही पनि कम थिएनन् । सबै भन्दा बढी सम्पत्ति कमाएको जेठाजु र जेठानी दिदीको डाहाले पोलेको थियो कान्छो बुहारीलाई धेरै । सँधै जसो कान्छी बुहारीले आफ्ना अन्य छोरा बुहारीको नराम्रो कुरा काटेको सुनेर दिक्क भै सकेका साधुरामका दुबै बूढाबूढी कुरा काटेको सुनेर पनि नसुनेको जस्तो गर्न बानी परेका थिए । आफ्नो सबै सन्तान बराबर थिए उनीहरूको लागि । केही न भन्दा पनि छोरालाई नभएका कुरा लगाएर बेला बेलामा झगडा गराउने कान्छी बुहारीको आँखाको कसिङ्गर भएर बसेका थिए । छोराछोरी मात्र हुर्काई धर पाएनन् नातिनातिना सबैका पालैपालो हुर्काइ दिने अभिभारा तिनै बूढाबूढीको काँधमा आइलाग्यो किन कि छोराबुहारी नै जागिर खाने भएपछि उनीहरूका बच्चा हुर्काइ दिनै पर्यो । सावाँको भन्दा व्याज को बढी माया भने जस्तो नातिनातिनाहरू भने पछि हुरूक्क हुने बूढाबूढीलाई कहिल्यै जस नै नदिने बुहारीले कहिल्यै राम्रो व्यवहार नगर्दा चित्त दुखेको थियो ।

आज बुबाको मुख हेर्ने दिन मिष्ठान्न भोजन, फलफूलले घरै मगमगाएको थियो । सबै छोराछोरी नजिकनजिक भएको हुनाले सबै भेला भएका थिए । नातिनातिनाहरू सबै मिलेर खेलिरहेका थिए । मुख हेर्ने चलनअनुसार सबैले पालैपालो उपहार दिए , साथमा मीठामीठा परिकार पनि । एक दिनका लागि भएपनि सबै परिवार भेला भएर रमाइलो गर्न पाउने आशाले दङ्ग परेका थिए बूढाबूढी । उपहार दिइसकेपछि खानापिना नै नगरीकनै आआफ्नो घर जान लागेको देखेर बूढाबूढीले निकै कर गर्दा पनि कोही छोराछोरी बस्न मानेनन् । सबैले आफ्नो व्यस्तता देखाएर बिदा भए । खल्लो मन लिएर बूढाबूढी टोलाई रहे । उनीहरू गएको परसम्म नियाली रहे । सानो छउञ्जेल कुनै दिन पनि आमाबुबाको साथ छोड्न नसक्ने भन्दै वरिपरि झुम्मिने छोराछोरी अहिले एक छाक सँगै खाना खान पनि समय छैन भन्दै आफ्नो अनुरोध लत्याएर हिडेको देखेर दुवै बूढाबूढीको आँखा रसाएर आयो । जब कान्छी बुहारीले कर्कश आवाजमा खाना खान बोलाई । रसिला आँखा पुछ्दै बूढाबूढी भान्साकोठा पसे । उनीहरूलाई सबै छोराछोरीले घरबाटै बनाएर ल्याएको चौरासी व्यञ्जन पस्केर बुहारीले बोलाएकी थिई । उनिहरूले नातिनातिनालाई पनि खान बोलाएको देखेर बुहारीले खानु पर्दैन भनेर नानीहरूलाई गाली गरेको सुने । आज उनिहरूले जीवनमा कहिल्यै अनुभव नगरेको दुःखको अनुभव गरे ।

दुबै जना बूढाबूढीलाई आफ्नो कोठामा पस्दा उपहारले र चौरासी ब्यञ्जनको परिकारले कोठा भरिएको देख्दा अचम्म लाग्यो । फ्रिजमा राख्न पर्ने परिकार आफ्नो ओछयानमा राखेर कान्छी बुहारीले निहुँ खोज्न लागेको थाहा पाएर चूपचाप सुते । भोलिपल्ट बिहानै छोरो जङ्गिदै आएर भन्यो “खान कहिल्यै नपाएको जस्तो, यी साना बच्चाहरूलाई अलिअलि खानेकुरा दिन पनि लोभ लागेर सबै आफ्नो कोठामा लुकाउन हतार भयो हैन । कसैको नभाका असल छोराछोरीले ल्याएको सामान । यत्रो बर्ष मैले पालेको मतलब छैन । खानले बितेका हाम्रा बाबुआमा । झुम्रामा बिकेकाहरूलाई अब म पाल्न सक्दिन !” भन्दै गर्जियो । हिजो औशीको दिन खुट्टामा ढोगेर आशीर्वाद माग्ने छोरो आज एकाएक बुहारीको कुरा सुनेर वचन वाणले मर्माहत हुने गरी प्रहार गरिरहेको थियो । आफ्ना कुरा राख्न नै दिइरहेको थिएन छोराले । एकोहोरो गाली गरेर छोरो गयो ।

कान्छो छोरो बढीनै माया दिएर हुर्काइएको थियो । जो अन्यायमा परेकाहरूको लागि न्याय दिन वकिल बनेको थियो तर आफ्नै बुबा आमाहरूको लागि समेत यति धेरै अपशब्द ले गाली गर्दै भाँडिएको देखेर दुबै जना भक्कानिएर केही बोल्न सकेनन् । धेरै बेर रोईरहे । छोराबुहारी जागिरमा व्यस्त हुँदा पनि नानीहरू हुर्काइ दिने आमा ! केराबारीमा सागसब्जी लगाएर ताजा तरकारी फलाएर खुवाउने बुबा ! बुबाले आफ्नो मेहनतले जोडेको खेतीको धान, बारीमा लगाइदिएका फलफूल, सागसब्जी खाएर आनन्दले बसेको छोरोले आफूहरूलाई केही श्रम नै नगरिकन सित्तैमा पालिएको कुरा गरेको सुनेर दुबै जना बूढाबूढीले साह्रै चित्त दुखाए । आखिर छोराछोरी जति नै भए पनि उनीहरूको भावनाको कदर गर्ने एक जना पनि नहुँदा उनीहरूको मुटु टुक्रिएको थियो । कलिला नातिनातिनाहरू अगाडि आएर निश्चल प्यारले लुटुपुटु गरिदिने अनि मीठो बोलीमा सम्बोधन गरेर बोलाउँदा टुटेको मुटु जोडेर बाँच्ने सामथ्र्य पाएका थिए साधुरामका बूढाबूढीले । नातिनीले “हजुरबुबा ! हिजो बुबाको मुख हेर्ने दिनका केही रमाइला झलकहरू !” भनेर देखाई । फेसबुकका भित्ताहरूमा आफूहरूलाई सजाइएका थियो । आफ्ना मायालु सन्तानहरुले गरेको अपार सम्मान र प्रेम लत्पतिएका तस्बिरहरू हेरेर भएपनि साधुरामको बूढाबूढीले चित्त बुझाए । अरूबेला कहिल्यै उज्यालो अनुहार नगर्ने बुहारीहरू पनि तस्विरमा बडो खुसीको साथ मुस्कुराइरहेका थिए । कस्तो मिलाप थियो परिवारका सदस्यहरूको तस्विरमा मात्र भएपनि । साधुरामले फोटोमा प्रतिकृया लेख्यो “परिवार होस् त यस्तो होस्” ।

२०७७ भाद्र १३ शनिवार
टीका खरेल सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *