Skip to content

कविता खोज्नु पर्दैन


कविता खोज्न
भीर पहरामा जानु पर्दैन,
शीतल छहारीमुनि बस्नु पर्दैन
प्रेयसीलाई पर्खिनु पर्दैन,
एकान्त ठाउँ रोज्नु पर्दैन,
गफ गर्दागर्दै
टोलाउँदा टोलाउँदै
हेर्दाहेर्दै
होहल्लामा पनि लेखिन्दो रहेछ कविता,
सपनामा पनि देखिन्दो रहेछ, कविता,
मस्तिष्कमा छाल बनेर उर्लदो रहेछ, कविता
जुन, ताराको प्रकाशमा देखापर्दो रहेछ कविता,
शीतको थोपा भएर
मानेको पातमा पनि अडिने रहेछ, कविता

कविता खोज्नु कहीँ कतै जान पर्दैन,
कविताको लागि कसैलाई बोलाउनु पर्दैन,
चियाबारीमा हरियो मुना भएर
उम्रिँदो रहेछ, कविता
मजदुरको हत्केलामा
ठेला भएर जम्दो रहेछ कविता,
टुहुरा टुहुरीको सपनामा
भविष्य बनेर देखापर्दो रहेछ, कविता,
कहिलेकाहीँ विधवाको सिउँदोमा
सिन्दुर भएर सज्दो रहेछ कविता,
शहीदको लाशमा
देशभक्तिको धुन भएर बज्दो रहेछ कविता ।

कवितालाई
फूलको बगैँचामा खोज्नु पर्दैन,
प्रेयसीको प्रेममा रोज्नु पर्दैन,
पैसाले किन्नु पर्दैन,
वैँशले चिन्नु पर्दैन,
कविता खोज्न
कविता खोज्नु कतै जान पर्दैन ।
घर घरमा पाउन सकिन्छ कविता,
आमाबाबाको मायामा पाउन सकिन्छ कविता,
वेवास्ता भएर लम्पसार परेका
असहायको आँखामा सहानुभूतिको
शब्दहरूले सिँगारिने रहेछ सकिन्छ कविता,

कविता खोज्नु कतै जानै पर्दैन
साउनमा साउने झरी भएर
निधारमा टीका भएर
वैंशमा फूल भएर रमाउँदो रहेछ कविता,
झण्डा बोक्नेहरूको हातमा
एउटा झिनो आशा भएर
फर्फराउँदो रहेछ कविता,
बेकारी युवाहरूको मनमा
अन्धकार भविष्य भएर
जमेको हुन्छ कविता,

कविता खोज्नु कतै जानै पर्दैन,
कसैलाई सलाम ठोक्न पर्दैन,
एउटा कविता तिमीसँग,
अर्को कविता मसँग,
अनाम अनाम कविताहरू
अनाम अनाम व्यक्तिहरूसँग
लाम लागेर
आफ्नो पालो पर्खिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *