Skip to content


अपहरित यो सडकमा
पहिलो कुरो त
गुड्नलाई पेट्रोल छैन
छैन इन्धन गाडीमा, छैन कहिले पेटमा
कहिलेसडकजाम छ, कहिले चक्काजाम
यस्तै खाल्डाखुल्टी छन् सडक र छातीमा

अरुसित कहिले आफैसित छेलिएर
अनगिन्ति खाडलहरू छिचोल्दै हिँड्नु छ यात्रामा
आइपुगियो आज यहाँ
सायद पर्खदै होलान् कसैले मलाई कतै
मुख्य कुरो भोक निभाउनु छ घरको
अनि धेरैको आँखा लागेको यो स्वतन्त्रताको यौवन
बचाइ हिँड्नुको पीडा सुनाउनु छ सबैलाई
आज अचानक म र मेरो घरबीच बाटोमा
कˆर्यूको फणा फिँजाएर निर्लज्ज बसेको
यो सडक कसको हो ?

जीवनलाई सडक बनाएरै हिँडियो यतिन्जेल
तर गन्तव्य सर्दै गयो क्षितिजसँगै परपर
यो यात्रा, पङ्चर टाल्दै जानुपर्ने चक्का अनि
घरिघरि बन्द भइरहने इञ्जिन चलाएर
घिसार्दैछु म यता जीवन
टायरको धूँवामा निस्सासिएका आशा निल्दै
सिकारीझैं यात्री ढुकेर बसेको छ उता सडक
जो अमिलो, अपच, सन्त्रासका फाल्साहरू
बाटाभरि छताछुल्ल बमन गरेर
बेमौसम लम्पसार छ आज
जहाँ यात्रीले बिना अपराध
जरिबाना तिर्दै हिँड्नु छ
म त साँच्चै अल्मलिए !
यसरी मन माड्दै हिड्ने
यो सडक कसको हो ?
मनहरू भाँड्दै हिड्ने
यो सडक कसको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *