Skip to content
DeepakRajSubedi


सामुद्रिक आँधी २४० कि.मि प्रतिघण्टाको वेगमा न्यू-ओर्लियन्समा बहेको वेला प्रकृतिको मनमा कहिल्यै नबिर्सने घट्ना घट्यो । प्रकृति आँफू बाँचेकोमा पिडित थिइन् । “सूर्य अस्तायो भनेर रुने हो भने ताराहरू पनि गुमाउने छौ ।” उनका नयनबाट बगिरहेको आँशु पुछ्न मलाई घण्टौं लाग्यो । अघिपछि मेरा लघु स्पर्शहरूले उनको मुहारमा खुशी ल्याउँथ्यो । तर यो पल मेरा सूर्य र ताराहरूको कथाले कुन्नि किन हो उनलाई प्रभाव नै पारेनन् । म दोधारमा थिएँ – मेरो असल साथीको, मेरो मायाको पारिवारिक वियोगको पीडाको अनुभव एकातिर थियो भने मेरो अनुसन्धानको विषय माथिको स्पष्टता अर्कोतिर ।

————

इमेलमा आउने असाइनमेन्ट डाउनलोड गर्न म बानेश्वरको एउटा गुप्त साइबर छिरेको थिएँ । प्रविधि नमौलाएको भए हामी चिनिने थिएनौं । साइबरको कम्प्युटरमा इमेल चेक गरेर च्याटमा म छिरेको थिएँ ।

“एएलएस प्लिज,” नयाँ विन्डोमा राचेलको पहिलो जिज्ञासा थियो ।

“मानिस र पृथ्वी,” मेरो जवाफ थियो ।

“के ?” उनले प्रति प्रश्न गरिन् ।

“म एकचोटी जन्मिन्छु, मेरो उमेर त्यही हो ।”

“अनि मानिस?”

“मेरो लिङ्ग मानिस हो । पुरुष र महिलाले गर्ने छुट्टाछुट्टै धेरै काम गर्न सक्छु म।”

“तिम्रो बारेमा बताउन मिल्छ ?” मैले सोधें ।

“२६, केटी, अमेरिका।”

“पृथ्वी तिम्रो घर हो ?” उनले फेरि सोधिन् ।

मलाई अमेरीकी केटीसँग आज त्यहाँको चुनावको कुरा गर्न मन लागेको थियो । मेरो अर्को विन्डोमा राष्ट्रपतीय निर्वाचनको १०/१० मिनेटमा अपडेट आइरहेको थियो, खाली ‘रिफ्रेस’ ल्किक गर्नुपर्थ्यो ।

“तिमीले मताधिकार प्रयोग गर्यौ त?” मैले सोधें ।

तर प्रतिउत्तर धेरै समयसम्म आएन । मैले सोचे मेरो नरमाइलो प्रश्नले उनलाई आकर्षण गर्न सकेन । अत मैले उनको डाइलग बिन्डो बन्द गरिदिएँ ।

“हो त मैले बुसको लागि मतदान गरें ।” डाइलग बक्स फेरि प्रादुर्भाव भयो ।

“मैले सुनेको, वैदेशिक नीति त उस्तै हुन्छ रे जसले जिते पनि ।”

“आतंकवादको कुरामा होला,” उनले भनिन् ।

“अनि तिमीले क्योटो प्रोटोकल सुनेकी छ्यौ ?” मेरो तत्कालको प्रश्न थियो ।

“म त्यसलाई पनि मूल्याङ्कन गरेकी छु अहिले । तिमी वातावरणको विज्ञानको विद्यार्थी हो ?” उनले सोधिन ।

“हो त । तिमीले क्योटो प्रोटोकल किन मूल्याङ्कन गर्न खोजेको?”

“अचम्म म पनि वातावरणको विद्यार्थी हुँ ।”

“अमेरिकामा अनुसन्धान गछ्यौ ?”

“हो, म पिएचडी थेसीस तयारी गर्दैछु । अनि तिमी नि ?”

“म मास्टर्सको थेसिस तयारीमा छु ।”

“विषय के छ नि ? ”

“धनी देशका कारण वातावरणीय न्यायको असन्तुलनमा ।”

“अलि बुझिएन ।”

मैले लामो उत्तर दिएँ, “तिम्रा जस्ता केही देशहरूले प्रदुषण गर्दा हाम्रो हिमाल पग्लेको छ । गत वर्ष ठूलो वाढी आयो । हाम्रा छिमेकी राष्ट्रहरू डुवानमा छन् । मौसमको व्यापक परिवर्तन छ।”

“म मान्दिन । हामीले निकालेको कार्वनडाइअक्साइडले तिम्रो हिउँ पग्ल्यो भनेर । तिमीहरू धान खान्छौ । धान लगाउँदाको एनएरोविक वातावरणले मिथेन निस्कन्छ । तिमीहरूको फल त्यसैमा छ।” राचेलको सहज जवाफ थियो ।

एकातिर मलाई तुक विनाको कुरा लम्ब्याउन मन त लागेको थिएन । तर जो चोर उसैको ठूलो स्वर सुनेर मैले बातचित बन्द गर्न मुनासिब ठानिन । यद्यपि त्यो दिन साइवरमा मैले १०० रुपियाँ बुझाएको थिएँ । बिस्तारै हामी अनलाइनमा नियमित भेट्न थाल्यौं । हामी दुइटै एउटा विषयका विद्यार्थी । तर हाम्रो अनुसन्धानको अग्रिम रिजल्टमा हामी प्रतिबद्ध थियौं ।

“यदि ममा अनुसन्धानको प्रतिफल स्वीकार्न खुबी छ भने मैले तिम्रो अनुसन्धानको प्रतिफल स्वीकार्छु । पछि तिमी पनि त्यसै गर ।” एक दिन मैले उनलाई भनेको थियो ।

“तिमी नेपालमा आएर अध्ययन गर, म सहयोग गर्छु । म अमेरिका आउँछु अनुसन्धानको लागि । अमेरिका देख्ने मेरो पनि सपना छ, तिमी मलाई त्यहाँ सहयोग गर ।” बिस्तारै हाम्रो अनेकतामा एकता हुँदै गयो । हाम्रो अनुसन्धानसँगसँगै गर्ने निर्णय भयो ।

म मख्ख थिएँ । एकातिर अमेरिकी साथी पाउँदा, अर्को तिर विषयगत अनुसन्धानले ब्यापकता पाउँछ भनेर । उनी आउने समय अझ चार महिना थियो । तर मेरो सोचाई धेरै गहिरिएको थियो । मनभरि बिचारका अजस्र तरेलीहरू लहरमाथि लहर लागेर अन्तर्गुजुञ्जित थिए । बिचार, दर्शन र अध्ययनको साटासाट गर्न पाउने अवसरले लालित्वपूर्ण भावना ममा सिर्जित भएको थियो । मैले प्रत्येक दिन प्लानिङ् गर्थे मेरो र उनको एकेडेमिक सम्बन्धलाई मौलाउन । प्रत्येक दिनका मेरा रणनितिक योजनाहरू भोलिपल्ट मलाई खस्रो लाग्थ्यो । धेरै दिन लगाएर मैले उनको र मेरो सामूहिक अध्ययन योजना बनाएको थिएँ । राजधानीका केही विज्ञान प्रयोगशालाहरूमा पनि मैले आफ्नो योजना सुनाएको थिएँ । सबै मलाई सहयोग गर्न राजी थिए । अनि म त्यसैमा नतमस्तक ।

“आमा घरका सबै कुराहरू मिलाउनु है ।”

“तँ त बुहारी नै आउने जस्तो गरिस् नि ? ”आमाको उत्तर थियो ।

“हैन आमा, यो छोराको लागि गर्ने र देखाउने समय हो । तपाई पनि शिर उडाएर हिड्न सक्नुहुन्छ ।”

मेरो जवाफ सुनेर आमा पनि दंग । अब ४ दिन बाँकी । भित्तामा टाँसिएका सबै संस्थाका क्यालेण्डर उहि ड्याडका रहेछन् । कुनैले पनि ४ दिनभन्दा कम समय देखाएनन् ।

आज आउँदै थिइन उनी । १२ वजे दिउँसै उनको ल्याण्डिड टाइम थियो । म अन्तराष्ट्रिय विमानस्थल बाहिर उनको व्यग्र प्रतिक्षामा थिएँ । एउटा फूल उनलाई स्वागत गर्न साथमा लिएको थिएँ । १२.१५ भैसक्दा पनि उनको कुनै उपस्थिति देखिन । उनले बताएको हुलियासँग मिल्ने कोही देखिन । उनका दर्जनौ फोटोहरूले पनि मैले उनलाई चिन्न सक्थें । त्यहीं फ्लाइटबाट आउने मान्छे कुरेर बसेका एकजना भद्रबाट थाहा भयो कि उनी चढेको जहाज काठमाण्डौंको आकाशमा छ । तर मौसमविदले अनुमान नगरेको त्यो दिनको हुस्सुले वातावरणको भिजिवालिटि घटाएको थियो । त्यही कारणले जहाजलाई कन्ट्रोल रुमबाट अवतरण गर्न दिइएको रहेनछ । मात्र दुई बजे जहाज अवतरण भएको खबर आयो । मैले सोचे जस्तै राचेल आफ्नो सुन्दर शरीर लिएर आइन । मिनिस्कर्ट कालो चश्मा र गुलाबी सर्ट अनि सुटकेश ।

“मान्छे? ” उनले सोधिन् ।

“राचेल?” म एकदम खूशी भएँ ।

“म यही प्रतिक्षामा थिएँ,” मैले भनें ।

“तिमी साह्रै युवा रहेछौ,” उनले मलाई हेर्दे छक्क परिन् ।

“तिमी त के बढी छौ र?” हाम्रो शुरुमा उभिएरै कुरा भैरहेको थियो ।

उनले भनिन्, “जाउँ अब होटलमा ।”

“तिमीलाई अप्ठ्यारो हुन्न भने म एउटा रिक्वेष्ट गर्छु,” मैले भनें ।

“हुन्छ ।”

“म काठमाण्डौमा कोठा लिएर बसेको छु । त्यहीं जाउँ । त्यहाँ मेरा दाजुभाइ छन् । तिमीलाई कुनै अप्ठ्यारौ हुँदैन ।”

उनको सहमति पछि हामीले ट्याक्सी समात्यौं । ट्याक्सी मै मैले प्रश्न गरें “किन ढिलो भयो त?”

उनको छोटो उत्तर थियो “मौसम सफा नभएर।”

“हाम्रो अनुसन्धानको विषय नै यही हो ।” मैले बाँकी नराखी भनें ।

उनको अघिल्लो प्रश्न थियो “सँधै यस्तै हो?”

“३ दशकअघि महिनामा दुई दिन यस्तो हुन्थ्यो । अहिले २४ दिन यस्तो हुन्छ ।”

“कसरी?” उनले फेरि सोधिन् ।

“हामी ४ महिना नेपालमा नै यसको अनुसन्धान गर्छौ । पछि कुरा गरौंला ।”

बानेश्वरको शान्तिनगरमा रहेको मेरो कोठामा हामी पुग्यौं । दाजुभाइ पनि खुशी नै देखिन्थे ।

“यु राचेल?” मेरो भाइले सोध्यो ।

“या” उनको उत्तर थियो ।

केही समय हामी कुशनमा बसेर त्यसै गफ गर्यौ । एकछिनपछि मेरो दाइले सोध्नुभयो “तिमीहरू दुवै जनाको अनुसन्धानको एउटै विषय हो?”

मैले भनें “हो दाई, यसमा सामुद्रिक छलफल गर्दै गरौंला, तर आजभोलि हामी यो कुरा गर्दैनौ।” उनले तत्काल मुस्कानपूर्ण समर्थन गरिन् ।

“तिमी फ्रेस हुने हो?”

“हुन्छ।” उनले भनिन् ।

“तर आज धारामा पानी छैन।” भाइले तत्काल जानाकारी दियो ।

म अवाक भएँ, “यो पाली वाटर टेवलले सतह छोएन । मूलहरू सुकेका छन् । त्यसैले पानी नियमित रुपमा धारामा आउँदैन,” मैले प्रतिरक्षा गर्नै क्रममा भने, “तिमीहरू धान उब्जाउन बढी पानी प्रयोग गर्छौ, त्यसैले होला।” राचेलको जवाफ थियो ।

“हैन, अहिले झन् खेती कम हुन्छ । जमिनभर शहर बसेको छ । कारण त्यो होइन।”

“के होला त?” उनको प्रश्न थियो जसको जवाफमा मैले भनें “फेरि हामी हाम्रो पुरानो द्धन्द्धमा नफर्कौं।”

काडमाण्डौंको एक हप्ता बसाइपछि हामी पोखरा लाग्यौं । उनले मलाई पोखराको बारेमा सुनेको बताइन् । “म यहाँ १० वर्ष बसेको छु । मेरो स्कूलिड यहीं भएको हो।” मैले उनलाई पोखरासितको मेरो सम्बन्धको बारेमा बताएँ ।

मेरो ८ वर्षे उमेरदेखि १८ वर्षको उमेरमा मैले भोगेका पोखरेली अनुभवहरू सुनाएँ । “मेरो जीवनमा पोखराले दश वर्ष कैद गर्यों । म स्वर्गको कैदी थिएँ । प्रत्येक वर्षमा मैले यहाँ जीवन भरेको छु।”

“मेरो देशमा पुगेपछि मैले पनि तिमीलाई मेरा स्कूले अनुभवहरू सुनाउने छु।” उनले प्रतिक्रिया दिइन् ।

मैले पोखराबाट देखिने सबै हिमालहरू देखाएँ । उनी नतमस्तक थिइन् । स्कूलमा भूगोलको विद्यार्थी रहँदाको ज्ञान मैले प्रस्फुटन गर्दै भनेेंं “तिमीहरूको रक्की हिमशृंखलामा यदि अग्ला हिमालहरू छैनन्।”

“हा” राचेल सुस्तरी बोलिन् ।

“यी पहाडहरू अझ प्रेमयोग्य हुन्थे । हेर त कति ठाउँमा हिउँ नै देखिंदैन।” मैले उनलाई भनें ।

“यो पनि मौसम परिवर्तनले भएको होला,” उनी जिस्किइन् ।

मैले भने पाएको ठाउँमा मौसम परिवर्तनका असरहरू बारे सुनाउँदै गएँ ।

पोखराको चारदिनको बसाइपछि हामी मेरो गाऊँ पर्वतमा पुग्यौं । आमाको माया सबैतिर एउटै हुँदो हो । तर मेरी आमाको मायाले राचेल दंग थिइन् । पर्वतको बसाइमा हामी गाउँहरू गयौं । कालीगण्डकीको किनारमा घण्टौ बस्यौं । मोदी खोलाका माछा खान हामी दैनिक मोदीको किनारमा रहेका खाजा पसलहरूमा पुग्यौ । उकालो ओरालो, चिप्लो बाटो सबैको अनुभव गर्यौ । अप्ठ्याराहरूमा उनलाई साथ दिने मेरा हातहरू थिए । त्यो भन्दा बढी एउटा पाहुना साथीको लागि मन थियो । हामीबिच मस्तिष्क पनि थियो, हृदय पनि थियो । साँझमा घर फर्केपछि परिवारका सबै सदस्यसँगै बसेर खाना खान्थ्यौं । गाउँमा पाइने धेरै पैकारका फलफूल र तरकारीको उनले स्वाद लिइन् । खानापछि सबै घरको छतमा गएर बस्थ्यौं । उनले भनेका कुराहरू मैले आमालाई उल्था गरेर सुनाउँथे । एक अर्थमा म दोभाषे थिएँ ।

हामीले अझसम्म अनुसन्धानका विषयहरूबारे छलफल औपचारिक रुपमा शुरु गरेका थिएनौं । यद्यपि बिचबिचमा मैले उनलाई कथाहरू सुनाएको थिएँ । घटनाहरू जोडेको थिएँ ।

“आमाले तिम्रो नेपाली नाम राख्न चाहनुहुन्छ रे,” मैले राचेललाई एकदिन सुनाएँ ।

“कस्तो राम्रो!” उनले भनिन् ।

“आमाले तिम्रो नाम पनि जुराउनु भएको छ । शायद उहाँले हाम्रो विषयलाई जोडेर नाम राख्नु भएको छ,” मैले जानकारी दिएँ ।

“के राख्नु भएको छ?”

“प्रकृति।”

मैले उनलाई यो नामको अंग्रेजी अर्थ नेचर हुन्छ भनेर पनि जानकारी दिएँ । राचेल एकदम खुशी भइन् । “म यो नाम सहर्ष स्वीकार्छु । अब म नेपालमा रहँदा सबैले मलाई प्रकृति भन्नुपर्छ,” उनले भनिन् ।

“हुन्छ प्रकृति । हामी यहाँ रहँदा तिमीलाई यही नामले पुकार्छौं । मैले त अमेरिकामा पनि त्यही नामले पुकार्नेछु।”

घरबाट काठमाण्डौं फर्कने दिन आमाले हामी दुबैलाई टिका लगाइदिनु भयो । उनी अचम्म मानिरहेकी थिइन् । उनी हाम्रो प्यारो संस्कृतिप्रति मोहित बनेकी थिइन् ।

उनकै सल्लाह अनुसार मैले उनलाई ठमेलको एउटा होटलमा नियमित बस्ने गरेर राखें ।

“दीपक, तिमी पनि यहीं बस्दा हुँदैन?” उनले शुरुको दिनमा नै प्रस्ताव राखिन् ।

“हैन प्रकृति, म मेरो परिवारका सदस्यसँग बस्नुपर्छ । एकै ठाउँमा रहँदा परिवारका सदस्यलाई छोडेर अरु स्थानमा बस्ने हाम्रो संस्कृति छैन । म जान्छु । म तिमीलाई भोलि बिहान लिन आउँछु,” मेरो जवाफ सुनेर उनी अवाक् भइन् ।

म फर्कें । भोलिपल्ट बिहान उनलाई ९ बजे लिन पुग्नुपर्थ्यो । बर्षा हुने समय नभए पनि रातिदेखिनै मुसलधारे पानी परिरहेको थियो । उनलाई लिन नजाउँ त उनी आत्तिइलिन भन्ने चिन्ता, गए पनि वर्षाले आज होटलबाट बाहिर निस्कने दिने छैन भन्ने चिन्ता । बानेश्वरबाट म ट्याक्सी चढेर ठमेल पुगें । ट्याक्सीबाट झरेर होटलसम्म पुग्दा म निथ्रुक्क भिजेको थिएँ ।

“तिमी त बेस्सरी भिजेछौ,” उनले मलाई देख्नासाथ भनिन् ।

“तिमीले एक महिनामा नै मेरो अनुसन्धानको विषयमा धेरै पत्ता लगायौ,” मैले भनें ।

“मैले बुझिन,” उनी बोलिन् ।

“यो वर्षा हुने समय हैन । यो बेला यसरी वर्षा भएको मैले भोगेको थिइन । गत साल पनि नसोचेको बेलामा ठूलो वर्षा भएको थियो । अहिले फेरि….।”

उनले सोधिन्, “किन यस्तो भैरहेको हो त?”

“म तिमीलाई असल अनि प्रोफेसनल साथी ठान्छु । तिमी नरिसाऊ । तर हामीले तिम्रा कामको नकरात्मक प्रतिफल भोगेका छौं । अहिलेको वर्षालाई म रेनफल प्याटर्नमा आएको परिवर्तनसँग जोडेर हेर्छु।”

“तर दीपक, म तिमीलाई समर्थन गर्न सक्दिन । यसको कारण हामी हैनौं । त्यसो भए हाम्रो देशमा पनि मौसम परिवर्तनका कुनै लक्षण देखिनुपर्ने थियो।” उनले प्रतिक्रिया दिइन् ।

“मौसम परिवर्तन गर्ने तत्वलाई विश्वव्यापी रुपमा फैलन कुनै भिसा चाहिंदैन,” मैले सुनाएँ ।

“त्यसो भए, तिम्रो देशमा झैं हाम्रोमा मौसम परिवर्तनले ल्याउने घटना किन घट्दैनन् ? तिमीले यसको उत्तर दिन सक्दैनौ र म तिमीलाई समर्थन गर्न सक्दिन ।” जवाफ मसँग थियो, तर मैले फर्काइन ।

हाम्रो साथीत्व सानो मुस्कान, मीठा शब्द र राम्रो बुझाइबाट मौलाउँदै गयो । समयले हाम्रो साथीत्वलाई आत्मीय बनाउँदै गयो । हामीबीच अनुसन्धानका विषयमा विवाद यथावत रहेपनि हामीबिचको आत्मीयता एक किसिमको फूल झैं थियो, जसलाई पूजा गरेर राखिनुपर्थ्यो, संगालेर राखिनुपर्थ्यो, यसको सुन्दर र आकर्षक डिजाइनको लागि । जुनबेला म उनीसँग होटलबाट छुट्टििएर घरमा आउँथे, त्यो बेला उनको सुन्दर स्मरणले मेरो अनुहारमा मुस्कान ल्याउँथ्यो । जुनबेला म उनीसँग हुन्थें, त्यो बेला उनलाई मेरो वरिपरि पाउँदा म घरमा नै भएको अनुभव गर्थें, मेरो जीवन खुशी नै खशीले भरिपूर्ण मान्थें । अनुसन्धानको लागि धेरै टाढा आएकी प्रकृतिसँगका प्रत्येक पलहरू मनोरञ्जनपूर्ण र संझनायोग्य थिए ।

“मलाई हिजो इमेल भाएको थियो । मेरो घाइते साथीको मृत्यु भएछ,” एकदिन उनले भनिन् ।

उनलाई सान्त्वना दिंदै मैले सोधें, “कसरी?”

“ऊ इन्डोनेशियामा आएको सामुद्रिक आँधीमा घाइते भएकी थिई । अमेरिकामा नै उपचार हुँदाहुँदै उसको मृत्यु भयो । सन् २००४ को डिसेम्वरमा भएको घटनापछि ऊ बोल्न सक्दैनथी।”

त्यसपछि मैले उनलाई सोधें, “२००४ को डिसेम्वरमा त सुनामी पो आएको थियो । हैन र?”

“हो,” उनले भनिन् ।

“प्रकृति, तिमी बुझ, विषय यही हो यहीं नै छ । इन्डोनेशिया पनि आर्थिक विकासमा अग्रज राष्ट्र हो । यस्तो देशमा कसरी त्यस्तो घटना घट्यो त?” मैले सोधें ।

“यो त प्राकृतिक प्रकोप हो । मानवीय क्रियाकलापसँग यसको केही सम्बन्ध छैन।”

“हैन प्रकृति । मैले त यसलाई मानिसले बनाएको प्रकोप मान्छु।”

“होला दीपक, म तिमीलाई सम्मान गर्छु । तर तिम्रो यी अवैज्ञानिक लजिकहरूमा म समर्थन गर्न सक्दिन,” प्रकृतिले भनिन् ।

दिनहुँ हामीबिच यस्तै छलफल हुन्थे । मैले उनलाई बिस्तारै नेपाली सिकाउँदै थिएँ । दुई महिना नबित्दै उनी नेपालीमा संचार गर्न सक्ने भएकी थिइन् । अनुसन्धान शुरु भैसकेको हुनुपर्ने थियो । तर हामी साथीत्व र भावनामा रमाएका थियौं । दिनभर हामी एक अर्काको छायाँको रुपमा हुन्थ्यौं ।

“आज राति तिमी होटलमा नै बस न,” एकदिन उनले आग्रह गरिन् ।

“हैन म जानुपर्छ“ मैले भनें । “बाहिर हेर त, हावा र हुरी । तिमीलाई दुःख हुन्छ । अनि यहीं रातको ९ बजेको छ । बानेश्वर पुग्दा तिम्रो घरको मूलढोका बन्द हुन्छ” उनले सम्झाइन् ।

आज हाम्रो साँझ वियर गार्डेनमा बितेको थियो । हामीले पिउन पनि धेरै नै पिएका थियौं । एकातिर पिएको अवस्थामा घर जानु राम्रो पनि थिएन । अर्कोतिर ठूलो हूरी बतासले काठमाण्डौंको शहरमा कोलाहल प्रतिध्वनि निस्किएका थिए ।

“ल ठीक छ । म यहाँ बस्छु । तल गएर म अर्को कोठा बुक गरेर आउँछु” मैले भने ।

“किन अर्को कोठा बुक गर्न आवश्यक छ र । यहीं नै एक्स्ट्रा बेड छ । हामीले कोठा शेयर गर्न सक्छौ।”

“हेर प्रकृति, आजसम्म मैले तिमीलाई सम्मान गर्दैआएको छु । हामी एउटै कोठामा नसुतेको राम्रो” म उम्किन खोजें ।

“यदि मलाई साथ दिंदा तिमीले मलाई नै असम्मान गरेको ठहरिन्छ भने अर्को कोठा बुक गर्न जाऊ । तर मैले बल्ल तिमीले मलाई गर्ने खोक्रो सम्मान महशुस गर्नेछु,” आज उनी अलि बढी रिसाइन् ।

“त्यसो नभन । म यहीं बस्न राजी भएँ । त्यसो भने केही पेयपदार्थ थपौं न त,” मेरो यो जवाफ सुनेपछि उनी धेरै खुशी भइन् ।

हामीहरू कोठामा बसेर वियर पिउन थाल्यौं । आजैहोला हामी एक अर्का प्रति यसरी खुलेका । शायद त्यही दिन होला हामीसँगै रहेको र यसरी पिएको ।

बिस्तारै हामीले एक अर्कालाई सम्मान गर्न सिक्यौं, विश्वास गर्न सिक्यौं, एक अर्कामा भर पर्न पनि सिक्यौ र आफूलाई एक अर्काबीच भावनाहरू साटासाट गर्न खुल्ला पनि बनाउन सिक्यौं । बिस्तारै सबै पलहरूमा सँगै हुन थाल्यौं, बिस्तारै अनुसन्धानलाई चाहिने सामाग्रीहरू विभिन्न संस्था, कलेजबाट जम्मा गर्यौ । त्यो समय हामी खुशी बाँड्यौं । आशा बाँड्यौ ।

“दीपक, म अब थप अनुसन्धान यहाँ नियमित गर्न सक्दिन । मैले मेरो मनमा भएको कुरा प्रमाणित गर्नुपर्छ । मेरो सुपरभाइजरसँग छलफल नगरी अघि बढ्न गाह्रो हुन्छ । अब हामी फर्कनुपर्छ।” एकदिन उनले दुःख मनाऊँ गर्दै भनिन् ।

“तर प्रकृति, हाम्रो वास्तविक अनुसन्धान त बल्ल सुरु हुँदैछ । हामीले केही सामाग्री संकलन बाहेक केही गरेका छैनौ।” मलाई पनि दुःख लाग्यो ।

“तर म फर्कन चाहन्छु । तिमीले दिएको माया र सम्मानभित्र पढाई मेरो गौंण कुरा हो,” उनी बोलिन् ।

“म त्यो मान्न सक्दिन । मेरो तिम्रो सम्बन्धले त्यो गर्न सक्दैन । म तिमीलाई अनुसन्धानको निम्ति स्वतन्त्र छाडिदिन्छु” मैले भावुक हुँदै भने ।

“मैले त्यो मात्र भन्न खोजेकी हैन । मेरो सुपरभाइजरसँग पनि सोध्नुपर्छ।”

उनको कुरा सुनेपछि मैले भनें, “तर मैले मेरो काम नसकी फर्कन्न प्रकृति । म केही समयपछि आउँछु । बरु तिमीले डकुमेन्ट तयार गर्न सहयोग गर्नु।”

मेरा कुराहरूले उनीलाई निकै भावुक बनाएको मैले अनुभव गरेको थिएँ । “म तिमीसँग छुट्टिन चाहन्न दिपक । मलाई तिम्रो साथको जरुरत भएको छ । तिमी र म सँगै फर्कौ । हामी लुसियानाको सामुद्रिक किनारमा भयङ्कर रमाइलो गर्नेछौं,” उनले चिन्तित स्वरमा भनिन् ।

“त्यो समयको लागि म आउने छु,” मैले उनलाई खुशी पार्न खोजें ।

प्रकृति मलाई साथीत्व मानवीय संरचनाको बहुमुल्य पक्ष हो भन्ने यथार्य सिकाउने पहिली केटी साथी भइन् । हामीसँग संवेदना थियो, भावना र भावुकता थिए, सोचाइ थियो र अनुभवहरू थिए एकअर्काका बीच बाँड्नको लागि । प्रकृति अमेरिका फर्किइन् । फर्किनु अघि फेरि पोखरा र पर्वत पुगियो । आमाले भनेको कुरा अहिले उनले बुझिन् । उनले हुन्छ आमा म फेरि फर्केर आउने छु भन्दा सवै खुशीले दंग थिए । उनी अमेरिका फर्केपछि मेरा दिनहरू निरस बन्न थाले । म नितान्त एक्लो थिएँ । खुशीहरू बाँड्ने अर्को कोही थिएन । सबै काममा ब्यस्त थिए ।

उनीसँग च्याटमा भने भेट भै राख्थ्यो । उनी सँधै मलाई छिटै अमेरिका आउन आग्रह गर्थिन् । मैले सक्दो उनलाई परिवर्तन गर्नसकेको म सन्तुष्ट थिएँ । उनी आफ्नो अनुसन्धानको विषयमा नै पुनर्बिचार गर्दै थिइन् । बिस्तारै उनमा सामन्यता, माधुयर्ता र जीवनको लागि आशा जोडिंदै गएका थिए । उनीमा रहेको विषयगत ज्ञान, सफा हृदय मलाई मनपर्थ्यौ । च्याटले हाम्रो सम्बन्धलाई गहिरो बनाएको थियो ।

“मलाई तिम्रो अनुपस्थितिले निराश बनाएको छ । मलाई तिम्रो साथ महसुस भएको छ । बिछोडिदा मैले तिम्रो महत्व बुझ्न थालेकी छु,” च्याटमा उनले भनिन् ।

“म पनि परिवर्तन भएको छु प्रकृति । मलाई पनि तिम्रौ साथ रहन मन लागेको छ,” मैले भनें ।

“म फर्केपछि तिमीले अर्को साथी बनायौ होला?” उनले प्रश्न गरिन् ।

“तिम्रो र हाम्रो संस्कृतिमा फरक छ । तिम्रो अनुपस्थितिले अपूर्ण बनेको मेरो हृदयमा अरु कसैको लागि पनि ठाउँ हुने छैन ” मेरो गहिरो अभिव्यक्ति थियो त्यो ।

“म तिमीलाई मन पराउँछु दीपक।”

“मैले पनि तिमीलाई मन पराउँछु प्रकृति।”

“म तिमीलाई वास्तवमा नै माया गर्छु दीपक।”

“प्रकृति म तिम्रो अनुसन्धानलाई माया गर्दिन । तर तिम्रो साथीत्वलाई म सम्मान गर्छु।”

“के तिमीले मलाई माया गर्छौ त दीपक?”

“प्रकृति, यो सोध्ने प्रश्न हैन । म तिमीसँग मायामा परिसकेको छु।”

मेरो यो कुरा सुनेपछि उनले भनिन्, “दीपक आज म धेरै खुसी छु।”

“तिमीलाई एउटा कुराको याद छ प्रकृति?” अर्कोदिनको च्याटमा मैले उनलाई सोधें ।

“कुन कुरा?” उनले प्रश्न गरिन् ।

“ठमेलमा हामी पहिलो दिन कोठा शेयर गर्दा मैले तिमीलाई भनेको कुरा । अहिले पनि म त्यो पल सम्झिन्छु, त्यो सुखदायी पल, जुनवेला तिम्रा आँखाले मेरो आँखामा हेरेकी थियौ र मैले सोचेको थिए कि मेरो जीवन तिमीसँग बाँड्न नपाए अपूर्ण हुन्छ भनेर।”

“म पनि तिमीसँग आकर्षीत भएकी थिएँ दीपक, तिमी मसँग भागेका थियौ । अव कसम खाऊ कि हामी एक अर्काको लागि बनेका हौ । म पनि कसम खान्छु,” मेरो कुरापछि उनले पहिला भएको घटनाको स्मरण गरिन् ।

“प्रकृति, तिमी पनि मलाई मैले तिमीलाई गरे जस्तै स्वच्छ माया गर । तर कसम नखाऊ यदि तिमी आफ्ना शब्दहरू राख्न सक्दिनै भने । मेरो लागि आफ्नो भन्दा तिम्रो सफलता बढी बहुमूल्य छ” यो मेरो भावुकता थियो ।

“तिमी सार्है असल छौ दिपक।”

उनको यो जवाफ आएपछि मैले गर्वकासाथ भनेको थिएँ, “यो मेरो सम्मानित संस्कृतिको प्रतिफल हो।”

“म दोहोर्याउँछु दीपक । तिमी मेरो सबभन्दा नजिकैको मित्र भएका छौ । अमेरीकी मित्रभन्दा पनि नजिक । तिमी मेरो मनभित्रको फूल हौ । नेपालमा रहँदाको ती सम्पूर्ण क्षणहरू बाँडेका खुशीहरू र खुशीयाली समयहरू मेरो जीवनको लम्बाइसम्म रहने छन् । तिम्रो साथीत्व र आत्मीयताले मेरो लागि धेरै अर्थ र महत्व राख्छ । तिमीले मेरो मनलाई मीठासपूर्ण बनाएका छौ जसरी वासनाले ह्दयलाई खुशी तुल्याउँछ । म तिमीसँगको भावी जीवनको परिकल्पना गर्छु।”

प्रकृतिका यी कुराहरू सुनेर म उनलाई देख्ने दिनको परिकल्पनामा हराउन थालेको थिएँ ।
———
दशै पछि जान सबैले सल्लाह दिए पनि अगस्टको पहिलो हप्ता म अमेरिका पुगें । एयरपोर्टमा प्रकृति मलाई लिन आइन् । हामी उनको घरमा पुग्यौं ।

“कस्तो लाग्दैछ अमेरिका?” उनले घर पुगेर सोधिन् ।

“भर्खर त आएको छु । तिमीले जहाँ जहाँ घमाउँछौ, ती स्थानहरूको भ्रमणपछि मात्र भन्नेछु अमेरिका कस्तो लाग्यो भनेर । तर अमेरिका आउने सपना पूरा भएको छ । त्यो भन्दा ठूलो यहाँ मैले मेरो छायाँ पाएको छु । तिमी पाएकोमा म खुशी छु।”

हामी न्यू ओरलियन्सका धेरै ठाउँहरू घुम्यौं । सामुद्रिक किनारमा पुग्यौं, छालहरूसँगै खेल्यौं, नाच्यौं, रेष्टुरेन्ट गयौं । मलाई नौलो अनुभव भएको थियो । उनी आमाबाबुभन्दा अलि पर बस्दिरहिछन् । हामी उनका बावुआमा भेट्न गयौं, आफन्तहरू भेट्यौं र साथीहरूसँग पनि भेट्यौं। मिसिसिपी नदी र पोन्टचाट्रेन ताल पनि घुम्यौ । दुई हप्तामा हाम्रो हार्दिकता बढ्यो । हामी बेड शेयर गर्ने अवस्थामा पुग्यौं । रातभर स्पर्श र चुम्बनहरू साट्न थाल्यौं । एक अर्काप्रति पूर्ण विश्वस्त र समर्पित बन्न थाल्यौं । अमेरीकी संस्कृतिमा म पनि डुबेको थिएँ । उनले आफ्नो अनुसन्धान अमेरिकामा नै सक्न थालेको बताइन् ।

“तर हामीले कम्प्यारेटिभ स्टडी गर्न पाएनौं नि त,” मैले भनें ।

“मेरो अनुसन्धानको समय सकिन थालेको हुँदा मेरो सुपरभाइजरले छिटो सकाउन निर्देशन दिनुभयो । मलाई अनुसन्धानमा सरकारी फण्डिङ हुँदा मेरो प्रतिवेदन जसरी पनि सक्नु थियो,” उनले भनिन् ।

त्यसपछि मेरो शंका शब्दमा देखाइदिएँ र भनें, “त्यसो भए म आंकलन गर्न सक्छु तिम्रो अनुसन्धानको निष्कर्ष । अमेरीकी क्रियाकलाप मौसम परिवर्तनको लागि जिम्मेवार छैन।”

“पक्का हो र आखिर मैले त्यही प्रमाणित गर्नुथियो,” उनले भनिन् ।

“एकदिन तिमीले हार्ने छौ पकृति,” मैले न्यास्रो हुँदै भनेपछि उनको जवाफ थियो “म नहारेसम्म हार स्वीकार गर्न सक्दिन दिपक।”

अगस्टको २५ तारीख । हामी टेलिभिजन हेर्दै थियौं । उनी मेरो काखमा थिइन् । हामी विस्तारामा बसेर आराम गर्दै रिमोट घुमाउँदै थियौं । टेलिभिजनमा एउटा भयंकर घटना चित्रित हुँदै थियो । बहामासमा ठूलो आँधी आएको रहेछ । अर्कोदिन सबेरै यो लुसियानामा आउन सक्ने खतरा संप्रेशित भयो । २७ अगस्टका दिन न्यू ओलियन्सका मेयरले शहर छोड्न निर्देशन दिए । हामी पोन्टचाट्रेन तालतिर लाग्यौ । अर्को दुई दिन आँधीले पुरा शहर पस्यो । हामीलाई लागेको थियो शहर जीवित छ । तर खबर अनुसार चार वटा ठूला बा“धहरू भत्किए । ८० प्रतिशत शहर डुवानमा पर्यो । क्याट्रिना नाम दिइएको हामीलाई प्रत्यक्ष असर पुर्याउने उक्त आँधी अत्यन्त प्रभावशाली रह्यो ।

उनको बुवाआमा बसेको ठाउँको कल्पना गर्यौं । छ दिन भैसकेको थियो सम्पर्कबिहिन भएको । हामी न्यू ओलियन्स फकर्ने तयारीमा थियौं । तर विकसित राष्ट्रमा ठूलो राक्षसपन पैदा भएको थियो । माधुर्यता, संगीत र सुन्दरताको शहर कानुनविहिनतामा परिणत भयो । समाचारहरूले जनाए अनुसार एक लाख मानिस अस्तव्यस्त थिए कुनै खाना बिना, पानी, संचार र विद्युत बिना । अमेरीकी आकस्मिक व्यबस्थापन प्रणाली निस्कृय भएको थियो । हुलदंगा मच्चिएको थियो । शसस्त्र समूहले शहरमा आतंक मच्चाएको खवर आएको थियो । प्रहरीले कानुन आफ्नो नियन्त्रणमा राख्न नसकी कार्यलय छोडेर भागेका थिए । बलात्कार, डकैति, गोली हानाहानको समाचारले व्यापकता पाएको थियो । समृद्ध राष्ट्रको लुकेको यथार्थता झल्किएको देखेर म अचम्मित थिए ।

प्रकृतिले आमा बुवा र आफन्तको चिन्ता लिएकी थिइन् । मैले सम्झिएको थिएँ । घटनाको दुई हप्तापछि पनि हामी न्यू ओलियन्यस फर्केका थिएनौ । दुई हप्ता भित्र चार लाख मानिस शरणार्थी बनेका थिए । हामीलाई प्राप्त खवरले प्रकृतिका आमाबुवा र आफन्तको मृत्यु भएको थियो । तीन हप्तापछिको आँकडा अनुसार मृत ११०० जना मध्ये राचेलका बुवाआमा पनि परेका थिए । हामी महिना दिनपछि न्यूओर्लियन्स फर्कंदा आधा शहर अँझ डुबानमा थियो ।

“सूर्य अस्तायो भनेर रुने हो भने ताराहरू पनि गुमाउने छौ,” उनका नयनबाट निस्किएका आँशु पुछ्न मलाई घण्टौ लाग्यो ।

अघिपछि मेरा लधु स्पर्शहरूले उनको मुहारमा खुसी ल्याउँदथ्यो । यो पल मेरा सूर्य र ताराहरूको कथाले कुन्नि किन हो उनलाई प्रभाव नै पारेन । म दोधारमा थिएँ मेरो असल साथीको मेरो मायाको पारिवारीक बियोगको पिडाको अनुभव एकातिर थियो भने मेरो अनुसन्धानको विषयमाथिको स्पष्टता अर्कोतिर ।

“प्रकृति तिमी एक्ली छैनौ । तिमी मसँग थियौ, छौ र रहिरहने छौ,” मैले सान्त्वना दिएको थिएँ ।

उनले बल्ल भनिन् “आजदेखि मैले हार स्वीकार गर्छु । जे तिमी भन्थ्यौ, त्यो भएर छोड्यो । म त्यसको प्रत्यक्ष प्रभावित बने । मलाई मेरो अनुसन्धानको अन्तिम प्रतिवेदन बुझउन मन छैन । म उपाधी लिन्न । मेरो अनुसन्धान सफल छैन भन्ने थाहा हुँदा हुँदै अब त्यो अध्ययन आफ्नै किसिमले गर्न चाहन्छु । मौसम परिवर्तन सबै अमेरीकीले थाहा पाए । म तिमीसँग हजार विन्ती गर्छु तिमी मेरो साथ नछोड।”

“म क्याट्रिनालाई नेपालमै पठाउन चाहान्छु।” दुई वर्ष पछि छोरीको चिन्ता गर्दै उनले भनिन् ।

“तिमीले खोजेजस्तो पढाई नहुन पनि सक्छ । तर हामीले उनलाई नेपाली धेरै सिकाउनु पर्छ” मैले भनेको थिएँ ।

अझसम्म प्रकृतिलाई मैले सम्मान गरेको छु । माया गरेको छु । हामी नेपाल र अमेरिकामा बारम्बार घुमफिर गर्छौं । कहिलेकाहीं मैले उनको अनुसन्धानको कुरा उठाउँछु । उनी एकछिन रिसाउँछिन् र फेरि मस्किन्छिन् । अझ पनि हामी तीन जना टाँसिएर बस्छौं । उनी कहिलेकाहीं अलि भावुक हुन्छिन् मानौ उनीसँग अमेरीकी मुटु छैन, नेपाली मुटु छ । हामी त्यती धेरै सुखी छैनौं तर हामी अत्यन्त खुशी छौं । मौसम परिवर्तनले हाम्रो जीवनमा खुशी ल्याएको सत्य हो । तर हामीलाई यसले ल्याएको तथा ल्याउन सक्ने खतरावारे पूर्ण ज्ञान छ । हामी हाम्रा अनुभवहरू अरुलाई सिकाउन तयार छौं, गरेका पनि छौं ।

परिवर्तन अवश्यम्भावी छ, तर परिवर्तले खुशी ल्याउन सक्दैन भने हामी त्यो परिवर्तनप्रति कृतज्ञ हुन सक्दैनौं । हामीले अरु कसैलाई टुक्रा टुक्रा पारेर सग्लो रहन नसकिने कुरा सिकेका छौं ।

अनेसास जापानको प्रकाशोन्मुख “छहारी” कथा संग्रहबाट

5 thoughts on “परिवर्तन”

  1. कथा बहुआयामिक छ : रोचक छ,
    कथा बहुआयामिक छ : रोचक छ, नाटकीय छ, ज्ञानबर्धक छ, सरल छ, अनि घटनाक्रम पनि मिलाइएर लेखिएको छ। आजको पर्यावरणसम्बन्धी चासो र चिन्ता बढिरहेको परिप्रेक्ष्यमा यस कथा बिभिन्न दृष्टिकोणले अमूल्य हुन्छ भन्ने मलाई लागेको छ।

    कट्रिना मानवले नै निम्त्याएको होला? यो कुरामा मैले त्यति गहिरिएर सोचेको थिइन। तर पनि, त्यो क्यारेबियन खाडीतिर सधैं हरिकेनहरू भइरहने हुनाले नियमित प्रकोपको रुपमा सोचेको थिएँ। वातावरणबिदका हैसियतले लेखकले अलि प्रष्ट पारिदिए राम्रो हुने थियो कि! यो कुरा छलफलको विषय हुन सक्छ भन्ने मेरो धारणा छ।

    विज्ञान र साहित्य मिलाएर एउटा शक्तिशाली मेसेज सृजना गर्नुभएको कुरामा दुईमत नहोला!

  2. साह्रै अकर्सक र बगेको लेखन
    साह्रै अकर्सक र बगेको लेखन सैलीले कथाको मिठासमा पूर्णता अनुभव भयो ।
    बातावरण परिबर्तनमा मनब दोश त् पक्कै छ । तर महाप्रलयका घटनालाई न्युनगर्न कसरी सम्भब होला र ?
    कुमारजीको जिज्ञासामा मेरो पनि कौतुहल्ता छ ।
    आलोक

  3. Ddhera Ramro Lekh ho yo ra
    Ddhera Ramro Lekh ho yo ra sachhainai bahuaayamik ra sandesh mulak lekh chha harek deska sarkar pramukh le padhnu parne khal ko chha..
    God job

  4. Confluence
    The story seems to be a wonderful confluence between literature and environment and sounds like fiction based on fact. Sophisticated characterization with the complete thoughts over the natural calamities and environmental degradation provoked by the filthy noise, action and reaction practiced by the human beings, it compels everyone to contemplate over the future of the earth, and warns for the darker prospect if so-called developmental works are not brought with complete raison d’être appended with rational perspectives.

Leave a Reply

Your email address will not be published. Required fields are marked *