Skip to content

एउटा नाटकले खोतल्यो टोरोन्टोको आतङ्ककारीको कथा

  • by
20101031_GovindaSinghRawat


साहित्य र समाज एक अर्काका पूरक हुन् । त्यसैले साहित्यलाई समाजको दर्पण पनि भनिन्छ । संसारका जुनसुकै भाषामा पनि साहित्य र समाजबीच घनिष्ठ सम्बन्ध रहेको हुन्छ । समाजबिना साहित्यको कल्पना गर्न सकिंदैन र साहित्यबिना पनि समाज अधुरो हुन्छ । समाजमा साहित्यले निकै ठूलो प्रभाव पारेको हुन्छ । साहित्यका कथा, कविता, उपन्यास, निबन्धजस्तै नाटक विधाले समाजमा बेग्लै प्रकारको प्रभाव छोडेको पाइन्छ । नाटक साहित्यका अरु विधाभन्दा बेग्लै स्वरूपको हुन्छ । नाटक एक वर्णनात्मक कला हो, यसमा कथाको वर्णन हुन्छ, घटनाको वर्णन हुन्छ, परिवेशको वर्णन हुन्छ अनि यसमा पात्रको सम्पूर्ण जीवनको वर्णन हुने गर्दछ । नाटकको प्रभाव समाजमा चाडै नै पर्ने भएको हुनाले यसलाई साहित्यको सशक्त माध्यमका रूपमा पनि लिने गरिन्छ । साहित्यका अरुविधा पठनीयमात्र हुन्छन्, हिजोआज तिनलाई पनि मञ्चनीय रूपमा प्रस्तुत गर्न सकिन्छ, तर नाटक पठनीय सँगसँगै मञ्चनीय पनि हुने गर्दछ । त्यसैले नाटकलाई श्रव्य र दृश्य दुवै काव्यका रूपमा लिईन्छ ।

सामाजिक जागरणकालागि होस् वा राजनैतिक विरोधका लागि, नाटकले राजनैतिक विषयवस्तुलाई समातेको हुन्छ । रुसको क्रान्तिसँगै राजनैतिक नाटकले गतिलिन थालेको देखिन्छ । राजनैतिक नाटक दलहरूकालागि जनमानस समक्ष सजिलै पुग्न सक्ने सशक्त माध्यम भएकोले यसलाई दलहरूको सांस्कृतिक हतियार पनि भनिन्छ । विरोधका लागि जनसभामा प्रस्तुत हुने राजनैतिक नाटककले रुसमा राम्रो छाप छोडेपछि यसको प्रभाव युरोप अमेरिकामा पनि पर्न थाल्यो । अनि बिस्तारै बिस्तारै सम्पूर्ण विश्वमा राजनैतिक नाटकको विभिन्न रूपहरू देखापर्न थालेको पाइन्छ । राजनैतिक नाटकले समाजको अतीतका विसंगतिपूर्ण पाटाहरुलाई वर्तमानको खुला र व्यक्ति स्वतन्त्रताबीच भिन्नता देखाएर मानवीय अधिकारबाट बञ्चित समुदायलाई आफ्नो हकका लागि मुठ्ठी कस्न प्रेरित पनि गराउछ । राजनैतिक नाटककै रूपमा सडक नाटकको पनि जन्म भएको मानिन्छ । सडक नाटक भन्नुनै राजनैतिक नाटक हो र सडक नाटकले राजनैतिक विचारलाई मुखारित गरिरहेको हुन्छ ।

माथिको प्रसङ्गले तलको विवरणलाई टेवा दिने भएकोले चर्चा मात्र गरिएको हो । यही राजनैतिक नाटकले समाजमा घटेका चर्चित घटनालाई विषयबस्तु बनाएर समाजको ध्यानाकर्षण गराउन मञ्च पाउने गर्छ जसलाई अतियथार्थवादी प्रस्तुति भन्न सकिन्छ । त्यस्तो सामाजिक अतिविसंगतिपूर्ण घटनालाई विषयवस्तु बनाएर एकाथरीका रंगकर्मीहरु घटनालाई मञ्चमा ल्याएर त्यसको वास्तविकता खोतल्ने प्रयत्न गर्न थाल्छन् । पात्रको जीवनशैलीमा आएका उतरचढाउहरुका माध्यमबाट उक्त घटनाको कारण समात्ने प्रयास गर्छन् र वास्तविकताबाट दर्शक (समाज) लाई अवगत गराउन चाहन्छन् । अपराध गरेपछि सजाय दिनु सामाजिक कानून हो । तर अतियथार्थवादी नाटककारले अपराधी हुनुको कारण खोतल्दै वास्तविकतामाथि प्रकाश पार्ने प्रयास गरेको हुन्छ । यहाँ चर्चा गरिएको नाटकका नाटककारले पनि सम्भवतः यही प्रयास गरेको हुनुपर्छ । यस्तो द्विविधापूर्ण र विवादास्पद विषयवस्तुलाई निडरताका साथ प्रस्तुत गरेकोमा नाटककार क्याथरिनप्रति आभार प्रकट गर्न चाहन्छु ।

जुन २००६ मा क्यानाडाकै इतिहासमा सबै भन्दा ठूलो आतंककारी घटना घटेको थियो । जुन टोरोन्टो १८ को नामले परिचित हुन पुग्यो । टोरोन्टोको विभिन्न ठाउँमा बम हमला गराउने १८ जना आतंकारी समुहलाई प्रहरीले समातेको थियो र अहिलेसम्म पनि तिनिहरुको मुद्दा अदालतमा विचारधिन अवस्थामा सुनवाईको मिति कुरेर बसेको छ । ती १८ जना आतंकारी घोषित समूह मध्येका एक शरिफ अबदेल्हालिमलाई विषयवस्तु बनाएर टोरोन्टोका नाटककार क्याथरिन फ्रिडले एउटा नाटक तयार गरिन । जसलाई रङ्गकर्मी ब्याट्रिज पिजानोको निर्देशनमा ल्वाम गेब्रेहारिएटको शीर्ष भूमिकामा गत विहिबार अगस्त ५ का दिन सफलता पूर्वक मञ्चन गरिएको थियो । अतियथार्थवादी कथामा आधारित होमग्राउन शीर्षकको यस नाटकको लेखनका लागि यसका लेखिका क्याथरिन लगभग १८ महिनासम्म शरिफ अबदेल्हालिमलाई भेट्न र कुरा गर्न विशेष स्वीकृति लिएर जेलमा जाने गर्थिन । ७० मिनटको यस नाटकलाई हेर्न टोरोन्टोको रङ्गमञ्चमा लगभग १५० जना नाट्यप्रेमी दर्शकको उपस्थिति रहेको थियो । टोरोन्टो गृष्मकालिन नाट्य उत्सवका लागि तयार पारिएको होमग्राउनको अन्तिम मञ्चन गत अगस्त १४ का दिन भएको थियो । नाटकका मुल पात्र शरिफ अबदेल्हालिमलाई अदालतले गत जनवरी २००९मा अपराधी घोषणा गरेपछि हाल उनी जेलमा आफुले पाउने सजायको समयावधि कुरेर बसेका छन् ।


यस नाटकमा नाटककारले यसका मूल पात्रलाई आफुले गर्ने आतंकवादी बम प्रहारको खतरा बारे जानकारी भए पनि ऊ विगार गर्न नचाहने व्यक्तिको रुपमा देखाइएको छ । मुलपात्रप्रति नाककारको दयामाया रहेको र उनलाई असल तर अरुको कुरामा लागेर फसाइएको भन्ने देखाउन खोजिएको छ । तर वास्तविकता भने त्यसको विपरित रहेको अदालतको बयानले बताएको छ । शरिफ अबदेल्हालिमले आफैले टोरोन्टोको स्टक एक्चेन्जमा भन्दा कुनै ठुलो सपिङ्ग सेन्टर (मल) र कुनै खाद्यान्न बनाउने फेक्टेरीमा विष हालेर खादान्न पदार्थलाई विषयुक्त बनाउने सल्लाह दिएकोबारे खुल्ल आएको कुरा अदालती बयानमा रहेको छ । उनलेनै बम बनाउन चाहिने फर्टिलाईजर किनेका थिए जुन बमको शक्ति सन् १९९५ मा ओक्लाहोमा शहरमा गरिएको बम प्रहारभन्दा तीनगुणा ठूलो थियो । यस्ता तथ्यलाई नाटककारले नाटकभन्दा टाढै राखेर मुलपात्रको जीवन कथालाई अघि सारेकी छिन् । यसलाई लेखकको अधिकार पनि मानिन्छ । लेखकले कुनै पनि यथार्थपरक वा ऐतिहासिक कथामा कलम चलाउँदा आफ्नो परिकल्पनाबाट कथालाई गतिमयता दिनेकाम गर्ने गरिन्छ । यस नाटकमा पनि नाटककारले यस्तै परिकल्पनालाई अगाडि सारेर नायकको वास्तविक चाहना आतंकारी बन्ने नरेको देखाउन खोजिएको छ । त्यसैले नाटकले आजको युगमा मानिसलाई अझ विशेष गरेर युवाहरुलाई (यस आतंककारी समूहमा युवाहरुको संख्या बढी रहेको थियो) कसरी धर्मको आस्था र भविष्यको सपना देखाएर गलत मार्गमा लगाउने गरिन्छ भन्ने वास्तविकतालाई देखाउन खोजिएको छ । उनलाई एउटा भिन्नै प्रकारबाट आतंककारीका रुपमा प्रस्तुत गरिएको छ । नाटककारले शरिफ अबदेल्हालिमलाई अभियुक्तका रुपमा नभएर एउटा पीडित र सहानुभूति पात्रका रुपमा उपस्थित गराएकी छिन् । उनलाई पनि स्टेभेन ट्रस्कोट वा डोनाल्ड मार्सल जस्ता क्यानाडाका दुईजना गलत रुपमा अपराधी बनाइएका पीडितका रुपमा प्रस्तुत गरिएको छ । दर्शकले यस नाटकमा एक पीडित नागरिकले भोग्नु परेको पीडाको कथाव्यथा हेर्न पाउने छन् । जसलाई यसका निर्देशकले यथार्थपरक द्दष्टिकोणबाट निर्देशन गरेका छन् भने अभिनयमा पनि यसका नायकले गथार्थतालाई कतै खस्कन दिएका छैनन् । एउटा जीवन्त अभिनय गरेर नायक ल्यामले दर्शकको वाहावही लुट्न सफल भएका छन् भने नाटकका अर्का पात्रले पनि नाटकका पात्रको चरित्रलाई जीवन्नता दिएर अभिनय गरेका छन् । नाटकपछिको पत्रकार भेटघाटमा केही दर्शकले कलात्मक र जीवन्त प्रस्तुतिका लागि सबै रङ्गकर्मीलाई बधाई दिई रहेका थिए भने सेप्टेम्बर ११ मा आफ्ना बुवा गुमाएकी इरिका बास्निकीले चाही आतंककारी जस्ता अमानुसका लागि आफुमा कुनै प्रकारको सहानुभूति नरहेकोले नाटकको विपक्षमा बोल्दै थिइन् ।

टोरोन्टो गृष्मकालिन नाटक महोत्सवका लागि तयार पारिएको प्रस्तुत नाटकले सरकारबाट पनि राम्रो आर्थिक सहयोग पाएको छ । तर नाटक प्रस्तुत हुनअघि हार्पर सरकारका एकजना प्रवक्ताले जनताको करको पैसालाई आतंककारी जस्तो विषयवस्तुमा आधारित नाटकलाई सहयोग गर्नु आतंकवादलाई प्रोत्साहन दिनुसरह भएको टिप्पणी गरेका थिए । यस पटकको गृष्मकालिन नाटक महोत्सवका लागि सरकारबाट लगभग ९५ हजार डलरको अनुदान पाएको थियो ।

गोबिन्दसिंह रावत, टोरोन्टो

(लेखक नेपालमा सडक नाटकका प्रयोक्ता, रंगकर्मी र सडक नाटकमा विद्यावारिधी गर्दै हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *