Skip to content


रामलाल अधिकारी नेपाली साहित्यका बहुमुखी प्रतिभाका रूपमा सुपरिचित छन् । उनले साहित्यका धेरै विधामा कलम चलाएका छन् । रामलालको जन्म वि.सं. २००३ साल असोज २८ गते भारतको दार्जिलिङमा भएको थियो । उनका बुबाको नाम भक्तिप्रसाद शर्मा अधिकारी र उनकी आमाको नाम मनमाया शर्मा अधिकारी हो । उनका बुबाआमाका छ जना छोरा र चारवटी छोरीमध्ये उनी जेठा छोरा हुन् ।

रामलालले घरैमा बुबाबाट अक्षर चिने । उनले बाल्यकालमा संस्कृत र कर्मकाण्ड अध्ययन गर्ने क्रममा चण्डी र रुद्रीको अध्ययन गरे । त्यसपछि उनले दार्जिलिङको तकभर चियाबारीस्थित बेटेन जुनियर हाइस्कुलमा ८ कक्षासम्म पढे तर पछि दार्जिलिङको सन्त रोबर्टस् उच्च विद्यालयमा भर्ना भई त्यही विद्यालयबाट १० कक्षा उत्तीर्ण गरे । उच्च शिक्षा अध्ययन गर्दा उनले दार्जिलिङ गभरमेन्ट कलेजबाट बीए र त्रिभुवन विश्वविद्यालयबाट एमए उत्तीर्ण गरी दार्जिलिङको रामकृष्ण बीटी कलेजबाट बीटी परीक्षा उत्तीर्ण गरेका थिए ।

त्यसपछि रामलालले केही महिना सन्त रोबर्टस् उच्च विद्यालयमा शिक्षक भई पढाए । अनि सिलिगुढीस्थित कृष्णमाया स्मारक उच्च विद्यालयमा नेपाली पढाए । पछि दार्जिलिङ गभरमेन्ट कलेजमा लेक्चररका रूपमा नियुक्त भई पढाउन थाले । मृत्यु हुनुभन्दा पहिलेसम्म उनी त्यहीँ रिडर पदमा रही पढारहेका थिए ।

रामलाललाई सानैदेखि साहित्यमा रुचि थियो । उनको पहिलो रचनाका रूपमा बनारसबाट प्रकाशित हुने मासिक पत्रिका ‘दीपक’ को वि.सं. २०१६ साल असोजको अङ्कमा ‘लेडेनला रोडनेरै’ शीर्षकको कविता प्रकाशित भएको थियो । उनी १० कक्षामा पढ्दा उनको पहिलो पुस्तक ‘भोकाएको कुकुर के भन्छ ?’ निबन्ध सङ्ग्रह २०१९ सालमा र दोस्रो पुस्तक ‘चियाबारी’ (कवितासङ्ग्रह) २०३१ सालमा प्रकाशित भएको थियो ।

उनले सिलिगुढीमा रहेको देवकोटा सङ्घ नामक संस्थाको मुखपत्रका रूपमा साहित्यिक पत्रिका ‘बाडुली’ को प्रकाशन सुरु गरेका थिए । उनी त्यस पत्रिकाका सम्पादक थिए ।

रामलाल वि.सं. २०२९ सालमा सिलिगुढीबाट दार्जिलिङ फर्के । त्यसपछि २०३१ सालदेखि उनले ‘नेपाली साहित्य सम्मेलन’ नामक संस्थाको मुखपत्र ‘दियालो’ को सम्पादक मण्डलमा रही काम गरे । उनको सम्पादनकालमा ‘दियालो’ मा सूर्यविक्रम ज्ञवाली विशेषाङ्क, रामकृष्ण शर्मा विशेषाङ्क, विश्वेश्वरप्रसाद कोइराला विशेषाङ्क आदि विशेषाङ्क निकाली भाषा र साहित्यको ठूलो सेवा गरेका थिए ।

रामलालले दार्जिलिङ, उत्तरबङ्गाल विश्वविद्यालय, बनारस हिन्दु विश्वविद्यालय, राष्ट्रिय पुस्तकालय, कलकत्ता, विराटनगर बीपी कोइराला फाउन्डेसन ट्रस्ट आदि संस्था र स्थानमा आयोजित गोष्ठीमा आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए । ती कार्यपत्रहरू ‘विषय परिक्रमा’ नामक उनको पुस्तकमा समेटिएका छन् ।

रामलाल दार्जिलिङको ‘नेपाली साहित्य सम्मेलन’ मा उनी मूलसचिव र अध्यक्ष पनि बनेका थिए । आफू, मूलसचिव भएको समयदेखि नै उनले नेपाली साहित्यका साधकलाई बर्सेनि नेपाली साहित्य सम्मेलन पुरस्कारको सुरुआत पनि गराएका थिए । यसबाहेक उनले उत्तरपूर्वीय पार्वत्य विश्वविद्यालय र उत्तरवङ्गाल विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर अध्ययन परिषद्मा सदस्य रही शिक्षाको क्षेत्रमा धेरै योगदान गरेका थिए । उनले दार्जिलिङको विधि अनुवाद एकाइका सदस्य र भाषा विशेषज्ञका रूपमा तथा दार्जिलिङकै न्यायिक सहायता विभागमा शिक्षाविद् सदस्यका रूपमा पनि काम गरेका थिए ।

रामलाल नेपाली साहित्यको क्षेत्रमा विशेष गरी निबन्धकारका रूपमा सुपरिचित छन् । ‘निःसंस्मरण’ नामको उनको निबन्ध सङ्ग्रहका कारणले उनले साहित्य अकादमी पुरस्कार पाएका थिए । निबन्धबाहेक उनले कविता, कथा, उपन्यास, नाटक, समीक्षा आदि विधामा पनि कलम चलाएका छन्् । केही पुस्तकको उनले सम्पादन पनि गरेका छन् ।

फुटकर रूपमा प्रकाशित उनका थुप्रै साहित्यिक रचनाहरूलाई सङ्ग्रह गरी छाप्न बाँकी नै छ ।

रामलालले रत्नश्री स्वर्णपदक, प्रतिभा परिचय पुरस्कार, देवकोटा स्मृति अभिनन्दन, साहित्य अकादमी पुरस्कार, अन्तर्राष्ट्रिय नागरिक स्वर्णसम्मान, रसिक साहित्य प्रतिष्ठानद्वारा अभिनन्दन, भाइ सङ्घ समाजद्वारा अभिनन्दन, उत्तरबङ्ग नाट्यजगत् सम्मान, निर्माण प्रकाशनद्वारा अभिनन्दन, सिक्किम सरकारको सांस्कृतिक तथा हेरिटेज विभागद्वारा सम्मान अपराजित समूहद्वारा सम्मान आदिजस्ता थुप्रै सम्मान, अभिनन्दन र पुरस्कार पाइसकेका छन् । रामलालको मृत्यु वि.सं. २०६२ साल साउन ४ गते सिलिगुडीमा भयो । उनको मृत्युपछि उनका विषयमा विद्यार्थीहरूले शोधकार्य गरेका छन् । उनका विषयमा पत्रपत्रिकामा पनि धेरै लेख लेखिएका छन् । उनीजस्ता राम्रा साहित्यकारको मृत्युले नेपाली साहित्यमा ठूलो क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *