Skip to content

साहित्यिक पुरस्कार र पद्मश्रीको शाख

  • by


बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना भएपछि भाषासाहित्यको क्षेत्रमा दिइने पुरस्कार र सम्मानको सङ्ख्या अकल्पनीय रूपमा बढेका छन् । व्यक्तिगत रूपमा पुरस्कार दिने परम्परा निकै अघिदेखि चल्दै आएको भए पनि संस्थागत रूपमा भने वि.सं. २०१० बाट सुरु भएको पाइन्छ । नेपाल भाषाका साहित्यकारहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले पाटनका उद्योगपति एवं समाजसेवी स्वयम्भूलाल श्रेष्ठले स्थापना गरेको ‘श्रेष्ठ सिरपा’ पुरस्कार नै नेपालको पहिलो पुरस्कार हो ।

नेपाली पुरस्कारहरूका बारेमा अनुसन्धानरत अध्येता डिल्लीराम मिश्रका अनुसार अहिले भाषासाहित्य क्षेत्रका साना ठूला सबै गरेर एक सय पचासका हाराहारीमा पुरस्कारहरू स्थापना भइसकेका छन् । लाखौंदेखि करोडौं रुपियाँको लागत भएका पुरस्कार गुठीहरूसमेत स्थापित छन् । यस्ता पुरस्कारहरू नेपालभित्र मात्र नभएर विदेशमा पनि नेपालीभाषा साहित्यका कृतिहरूका लागि पुरस्कारहरू स्थापना हुने क्रम बढ्दो छ । विगत केही समयदेखि अमेरिकाको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले दर्जनौं साहित्यिक पुरस्कार प्रदान गर्दै आइरहेको छ । हालै अमेरिकाकै भर्जिनियामा गठित नेपाली साहित्य प्रतिष्ठानले अन्तर्राष्ट्रिय कविता प्रतियोगिता गरेर प्रथम हुनेलाई एक हजार अमेरिकी डलरको पुरस्कार प्रदान गरेको छ । यो पुरस्कार अहिलेसम्मको सबैभन्दा ठूलो राशिको प्रतियोगिताको पुरस्कार हो ।

पुरस्कार र सम्मानको अर्थ प्रतिभाहरूलाई प्रोत्साहित गर्नु नै हो । प्रायश सबै संस्थाहरूको उद्देश्य पनि यस्तैयस्तै हुने गरेका छन् तर कतिपय पुरस्कारहरू समाजमा बदनाम कमाएका भ्रष्ट व्यक्तिहरूबाट बेइमान रकमको केही अंशको पुरस्कार गुठी स्थापना गरेर आफूलाई चोख्याउन खोज्ने प्रवृत्ति रहेको पनि टिप्पणी हुने गरेका छन् । यस्ता केही पुरस्कारहरूले पुरस्कारको अबमूल्यन भएको चर्चा पनि बेलाबेला चल्ने गरेका छन् ।

यस्तो समयमा गैर आवासीय नेपाली सङ्घका उपाध्यक्ष जीवा लामिछानेले आफ्ना बाबुआमाको नाममा खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानबाट स्थापना गरेका छन् ।

जीवा लामिछानेले पुरस्कार गुठीको स्थापना गरेर मात्र नेपाली साहित्यिक क्षेत्रमा परिचित भएका होइनन् । उनी धेरै अघिदेखि नेपाली साहित्य र स्रष्टालाई सहृदय सम्मान गर्दथे । उनले यस अघि प्रतिनिधि नेपाली कविता र निबन्धको अङ्ग्रेजी अनुवाद कृति प्रकाशित गरेका छन् । नेपाली साहित्यलाई विश्व साहित्यमा परिचित गराउने उनको पवित्र उद्देश्य स्तुत्य छ । त्यसैगरी उनले महाकवि देवकोटा शतवाषिर्की समारोहले आयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा दस लाख बराबरको देवकोटासम्बन्धी कृति प्रकाशित गर्न सहयोग गरेका थिए । त्यस्तै साहित्यिक पत्रिका ‘अभिव्यक्ति’को अक्षय कोष स्थापना गर्न एक लाख सहयोग गरेका छन् । कवयित्री वानिरा गिरीको ‘कारागारको जून’ कवितासङ्ग्रहको पनि अङ्ग्रेजी अनुवाद प्रकाशित गरेका छन् । यसरी प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साहित्य र स्रष्टालाई सहयोग गरिरहेका उदाहरणीय दानवीरका रूपमा परिचित व्यक्ति हुन् जीवा लामिछाने ।

नेपाली समाजमा समाजसेवीका रूपमा परिचय कमाएका जीवाले उक्त प्रतिष्ठानबाट पद्मश्री पुरस्कार प्रदान गर्ने गरेको छ वि.सं. २०६३ बाट । चितवनको पद्मपुर गाउँ जहाँ उनी जन्मेका थिए, त्यो गाउँ पछि राष्ट्रिय निकुञ्ज विस्तारमा परेर गाभियो । त्यही गाउँको सम्झनामा पद्मश्री पुरस्कारको नामाकरण गरे उनले सुरुमा यो पुरस्कार राजधानी बाहेकका जिल्लामा बसेर सिर्जनारत स्रष्टाहरूलाई मात्र प्रदान गर्ने उद्देश्य रहेको थियो । मोफसलका स्रष्टालाई सम्मान गर्न स्थापित यस पुरस्कारको राशि पचास हजारको थियो । अहिले बढेर एक लाख पचास हजारको भएको छ । यो पुरस्कारबाट वि.सं. २०६३ मा इलामका गशेण रसिकलाई ‘दस गजामा उभिएर’ (संस्मरण) का लागि, वि.सं. २०६४ मा मोरङका भानुभक्त पोखरेललाई ‘हिमवत्’ (खण्डकाव्य) का लागि र वि.सं. २०६५ मा झापाका कृष्ण बराललाई ‘समय हराएको बेला’ उपन्यासका लागि प्रदान गरिएको थियो । यस वर्षदेखि भने पुरस्कारले मोफसलको सीमालाई तोडेर राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय स्तर बनेको छ । विश्वभरिका जुनसुकै देशबाट निस्केका नेपाली भाषाका साहित्यिक कृति पनि यस पुरस्कारका लागि योग्य हुने भएका छन् । यही निर्णयअनुरूप वि.सं. २०६६ को पद्मश्री पुरस्कारबाट वरिष्ठ आख्यानकार ध्रुव सापकोटाको ‘अकल्पनीय’ र नवप्रतिभा अमर न्यौपानेको ‘पानीको घाम’ उपन्यास संयुक्त रूपमा पुरस्कृत भएको छ ।

पद्मश्री पुरस्कार मोफसलबाट स्थापना भएको सबैभन्दा ठूलो राशिको पुरस्कार हो । यस्तो पुरस्कारलाई मोफसलमा मात्र सीमित गर्दा पुरस्कार र प्रतिष्ठान दुबै सङ्कुचित भएको भन्नेहरू पनि थिए । ठूलो पुरस्कारलाई सानो घेरामा सीमित गरिएकै कारण तेस्रो पटकको पुरस्कृत कृतिमाथि टिप्पणी भएको नहोला भन्न सकिँदैन । त्यसो त पुरस्कारहरू स्थानीय, जिल्ला, अञ्चल स्तरीय पनि नभएका होइनन् तर ती पुरस्कारका संस्थापकहरूको व्यक्तित्व वा कर्म क्षेत्र पनि त्यही अनुरूप भएको हुन सक्छन् तर जीवा लामिछाने भने राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा नै चर्चा पाइसकेका व्यक्तित्व हुन् ।

यस पटकको पुरस्कार चयनका लागि वरिष्ठ साहित्यकार पत्रकार नगेन्द्रराज शर्माको संयोजकत्वमा प्रा.डा. चूडामणि बन्धु र प्रा. कृष्ण गौतमको स्वतन्त्र निणर्ायक समिति बनेको थियो । प्रत्येक वर्ष कोजाग्रत पूणिर्माको दिन प्रदान गर्दै आएको यो पुरस्कार यस पटक पनि कात्तिक ४ गते चितवनको रत्न नगरमा प्रदान गरिएको थियो । कार्यक्रममा निणर्ायकहरूले पारदर्शी रूपमा निर्णयका आधार स्पष्ट पारिएका थिए ।

प्रमुख अतिथि खगेन्द्र सङ्ग्रौलाले पनि पुरस्कारको पारदर्शिताको प्रशंसा गर्दै भनेका थिए -”अहिले कुसम्पतिको माध्यमबाट प्रचार र प्रशंसा कमाउने पुरस्कार बढिरहेको बेला पद्मश्रीको पारदर्शी प्रक्रिया जति प्रशंसनीय छ त्यति नै अन्यका लागि चुनौती बनेको छ ।” आफूलाई जन्म दिने आमाबाबु र आफू जन्मेको स्थानको सम्मानमा स्थापना गरिएको प्रतिष्ठान र पुरस्कारको शाख बढाउँदै जानका लागि जति निरन्तरताको आवश्यक हुन्छ त्यति नै निष्पक्षताको पनि आवश्यक हुनेतर्फ संरक्षक तथा सञ्चालकहरु सदा गम्भीर हुनु जरुरी देखिन्छ ।

मधुपर्क २०६७ मंसिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *