Skip to content

ठुलो शहरमा मान्छे

  • by


राम्रो लगाउन
मिठो पकाउन
केही कमाउन
केही रमाउन
जिन्दगी समाउन
भाग्य जमाउन
ठुलो शहर छिरेको
आज बर्षौ भईसकेछ ।

न धन कमाइयो
न मन रमाइयो
न मिठो खाइयो
न सुख पाइयो
मुखिया बाले जस्तो
बरु आफूलाई
ठुलो शहरले
कजाउनु कजायो
कमाउनु कमायो
केही नखाए पनि
केही नलाए पनि
उल्टो शहरले
ऋणको तमसुक थमायो
साउको उधारो तिर्दा
श्रीमतीको तिलहरी गुमायो
महंगी थेग्न
घरभाडा छेक्न
श्रीमतीको कानबाली गुमायो ।

र पनि मान्छे
गाउँ जस्तो अँधेरो
धुँवा धुलोको पँधेरो
यो ठुलो शहरमा
भित्र भित्र भासिदैछ ।

र पनि
मिठो सपनामा आसिंदैछ
भाग्य सप्रियो भने
कसो गोरु नब्याउला
अझ टासिंदैछ
ठुलो शहरमा मान्छे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *