तास फिटेझैँ
फटाफट
सुदूर यात्रामा
हिँडिरहेका
यी मतलबी दिनहरू ।
खजाञ्ची भएरै
अभावलाई जिस्क्याउँदै
टाउको उठाइरहेको
यो वर्तमान ।
विषय अभावमा
रमानापत्र बोकेर
विकासे अड्डामा जागिर खान
दुर्गम हान्निएको
एउटा अधबैँसे कवि ।
र, गुँडमा
चिउला नआएका चल्लाहरू छोडेर
सप्तकोसीका बगर बगर
कीटपतंग खोजिरहेका
एकजोडी प्रवासी सारस
सबै उस्तै उस्तै हुन् ।
लाग्छ-
अब मानिस तास भएको छ
नियन्त्रित ढंगमा
फिट्ने, काट्ने र बाँढ्ने ।
वर्तमान अभावको
पर्याय बनेको छ
कविहरू
सजिला विषय फुत्क्याएर
अरू जटिल विषय खोजिरहेछन् ।
नेपाल साप्ताहिक ४२७