Skip to content

महाकवि विरुद्ध उभिँदा

  • by


(१)

कविजी !
सुन्दर, शान्त, विशाल
त्यत्तिखेरको तिमो आँखाको नेपाल
र, आज छटपटाइरहेको
हाम्रो आँखाको वास्तविक नेपाल
तुलना गर्ने हिम्मत गर्दै छु,
कविजीका विरुद्ध उभिँदै छु ।
-हीरा सानो हुन्छ,
-मोती सानो हुन्छ,
अनि, मिष्टभाषी निर्मल शिशु सानो हुन्छ,
शरीर चलाउने मुटु सानो नै हुन्छ ।
हो, कविजी !
माटोको परिमाणभन्दा
माटोको गुण र उब्जनी नै ठूलो हुन्छ,
हो, हात्तीभन्दा मान्छे नै ठूलो हो,
नेपालभित्र विश्व देख्ने
तिम्रा आँखा ठूला हुन्,
नेपालका
वाग्नर, सेक्सपियर, टिसियन, टर्नरहरू
सबै नै एकसाथ ठूला हुन् ।
तर, कविजी ! तिमीले भनेझैँ
नेपाली वाग्नरहरू
कोदाली खनिरहे त !
नेपाली सेक्सपियरहरू
हलो जोतिरहे त !
नेपाली टिसियन, टर्नरहरू
भेडा-बाख्रा चराइरहे त !
भनेजस्तो छैन कविजी !
ती सबै, सबै एकनासे छैनन्
ती सबैसबै एकसाथ छैनन् ।
नेपाल भने ठूलाको ठूलै छ
भलै, नेपाली मन ठूलै छ,
तर, काम भने सानो छ
किनभने कविजी !
दक्षिणले च्याप्दै छ
उत्तरले थिच्दै छ
दुई ढुङ्गाहरू बढ्दा छन्
त्यसैले त कविजी !
दशगजा उत्तर सर्दै छ
कपिलवस्तु राजीनामा दिँदै छ,
सगरमाथा बसाइँ सर्दै छ
र, प्रतिपक्ष आवाज उठाउँदै छ
सत्तापक्ष कानमा तेल हाल्दै छ ।
बस्, सत्ता उल्टन्छ
फेरि दोहोरो खेल सुरू हुन्छ ।
नेपालका
वाग्नर, सेक्सपियर, टिसियन, टर्नरहरू
सबका सब
सत्ता बचाउन कपिलवस्तु बेच्न तयार छन्,
सत्ता जोगाउन सगरमाथा मास्न तयार छन् ।
यहाँ, बुद्ध रोइरहेछन्,
यहाँ पृथ्वीनारायणहरू,
कालापानी सुस्तासँगै सयौँ ठाउँ
खिइँदै जाँदा, खिन्न हुँदै छन् ।

(२)

कविजी !
-सानो, मीठो, शान्त,
सुगन्धी, अनुपम- बस् !
तिमी भन्छौ
नेपाली कालिदासहरू गीत गाइरहेछन्,
नेपाली साण्डोहरू दाउरा बोकिरहेछन्,
तर, हेर कविजी !
नेपाली हेलेन केलरहरू,
नेपाली सावित्रीहरू,
अनि, नेपाली अमृताहरू
सधैँसधैँ अलमलिरहेछन् ,
पितृसतात्मक अहङ्कारको अग्निमा
भुट्भुटिरहेछन्, जलिरहेछन् ।
जे भए पनि कविजी !
तिनीहरूका कथा संसारले सुनेको छैन
नेपाली खोलानालामा
कत्ति मधुर सङ्गीत छ !
त्यो एकरत्ति सुनिएको छैन
बस्, कविजी, बस् !
तिम्रा शब्दशब्द पर्गेल्न
म बबुरोको हिम्मत छैन
तर नेपाली सावित्रीहरू,
दक्षिणको कोठीमा बेचिँदै छैन
अब भने कविजी !
उत्तरतिर समेत सर्दै छन् ।
पैसाको खोलो बगाएर
मनुष्य, मनुष्य नभई हिंस्रक जन्तु भो
देखासिकीले मन कलुषित पार्ने भो ।

(३)

-हाइ ! हाइ !! नेपाली हृदय
तँभन्दा सुन्दर, शान्त र सजीव
संसारमा के कुरा होला ?
तिमीले यसो किन भन्यौ होला !
धेरै दिन गम खाएर
मैले पत्ता लगाएँ
तिम्रो आँखाले
यहीँ मानव संसारको सम्पूर्णता देख्दछ,
यहीँ बेबिलोनका झुलन-बाग देख्दछ,
यहीँ तीन सय नायगरा फल्स देख्दछ,
यहीँ चाँदीको गौरीशंकर महल देख्दछ,
यत्ति मात्र कहाँ हो र !
यहीँ माथि स्वर्ग देख्दछ,
यहीँ तल नर्क देख्दछ,
यहीँ पृथ्वीको परिपूर्णता देख्दछ,
र, यहीँ स्वर्गको चमत्कार देख्दछ !
त्यहाँ एक पहाडमा नै सजीव दुनियाँ छ,
त्यहाँ चरा, मृग र बाघहरूले परिपूर्ण संसार छ,
त्यहाँ पुग्ने हो भने मानव मुटु विचित्रताले फुल्दछ ।
त्यहाँ ढुङ्गामा चाँदीजिभ्रा छन् ,
झ्याउका मोती छरिएका छन्,
जहाँ नालामा दिव्य भाषण छ
जहाँ पत्रहरू सजीव दुनियाँ बोलिरहेछन्,
जहाँ प्रकृतिले रङ्गीविरङ्गी रोशनी छरिरहेछन्
लहराहरू राष्ट्रिय ध्वजा बनेर फहराइरहेछन्
अनगिन्ती फूलहरूले सुशोभित बनेर
सर्वोच्च हिमाल शासन गरिरहेको छ,
एक पहाडमा नै सजीव दुनियाँ सलबलाइरहेको छ ।
हो, कविजी ! रिठ्ठो नविराईकनै हो,
यत्तिखेर भने कविजी !
तिम्रा विरुद्ध खलनायक बनेर गर्जंदै छु
तर, मात्र सत्य बकिरहेछु,
-यहाँ ‘जय नेपाल’ हरू
-यहाँ ‘लालसलाम’ हरू
-यहाँ ‘जय मातृभूमि’ हरू
-यहाँ ‘जय मधेस’ हरू
एक स्वरमा छन्, एक साथमा छन्
एक थालमा छन्, एक ठाममा छन्,
जब स्वार्थको घैला नजिकनजिक देख्छन् ,
त्यसबेला,
गाउँ विकास समिति पनि बेच्छन्,
नगर विकास समिति पनि बेच्छन्,
जिल्ला विकास समिति पनि बेच्छन्,
बेच्न मात्र जान्दछन्, किन्न जान्दैनन्
लिन मात्र जान्दछन्, दिन जान्दैनन् ।
पत्यार लागेन कविजी !
आऊ, आऊ, आऊ, कविजी आऊ !
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा आऊ,
तिम्रो सर्वोच्च हिमाल चीनको नक्सामा परिसक्यो,
तिम्रो बुद्ध जन्मस्थल भारतमा गाभिइसक्यो
र, सच्चा नेपालीको आँखामा आँसु सुकिसक्यो ।
आऊ, कविजी आऊ !
आएर तिम्रो विचार फैलाऊ,
मृत्युशैयामा छटपटाइरहेकी आमालाई
मृत्युसञ्जीविनी बुट्टी पिलाऊ,
कलुषित दिमाखमा अमृतधारा बर्साऊ ।
आऊ, कविजी आऊ !
सुन्दर, शान्त, विशाल
तिम्रै मनको नेपाल बनाऊ- २

०६८.०७.०६ (लक्ष्मीपूजाको पूर्वसन्ध्यामा महाकवि देवकोटाको सम्झनामा रचित कविता)

Leave a Reply

Your email address will not be published. Required fields are marked *