Skip to content


काभ्रेको नालामा हरेक वर्ष मनाइने प्रसिद्ध सृष्टिकान्त लोकेश्वरजात्रा यसै साता सकिएको छ । त्यसो त यसै साता उपत्यकाका धेरै स्थानमा विभिन्न किसिमका जात्राहरू भव्य उत्सवका साथ सम्पन्न भएका छन् । प्राचीनता र ऐतिहासिक पृष्ठभूमि तथा धार्मिक महत्वको थलो मानिने नालामा करूणामय (सृष्टिकान्त लोकेश्वर) र उग्रचण्डी भगवती यहाँका प्रसिद्ध मन्दिर हुन् । यिनलाई स्थानीयवासीले आराध्यदेवका रूपमा हार्दिक श्रद्धा प्रकट गर्नै गर्दछन् । यहाँ नाला करूणामय र महालक्ष्मीको भव्य उत्सवका साथ बर्सेनि जात्रा हुने परम्परा छ । करूणामयलाई अवलोकितेश्वर, आर्यावलोकितेश्वर आदि नामले पनि पुकारिने गरिन्छ । संसारका सबै प्राणीहरूको उद्धारमा गर्ने कार्यमा यी भगवानको नाम लिइन्छ । यो जात्रा प्रत्येक वर्ष फाल्गुण पूणिर्मा तिथिदेखि प्रारम्भ हुन्छ । खट्जात्रा अर्थात् मुख्य जात्रा तृतीयाका दिन हुन्छ । यस दिन विहानैदेखि करूणामयको मन्दिरक्षेत्र मच्छिन्द्रबहालमा पुजारी, गुठियार, भक्तजनहरूको भीड लाग्दछ । यस किसिमको सांस्कृतिक चहलपहलले नाला क्षेत्रमा प्राचीन जात्रा-संस्कृतिको पुर्नजीवन सुरू भएको महसुस गर्न सकिन्छ । सहरी घुँइचो र घचारोबाट अलग्ग प्रवृतिको सुन्दर स्थल नालामा जात्रा अवधिभर धर्मधामको चहलपहलले वातावरण नै रमाइलो पारिदिन्छ । यस अवसरमा नालावासीका साथै छिमेकी, आफन्त, नलनाताको समेत उत्साहपूर्वक उपस्थिति रहेको हुन्छ । त्यस्तै जात्रा हेर्न आउनेहरूको पनि उस्तै भीड लाग्दछ । त्यसैले यस जात्रालाई चेलीबटी, दाजुभाइ, माइती-मावली र सम्पूर्ण आफन्तजनको मिलन-पर्वका रूपमा पनि नालावासीले लिने गरेको पाइन्छ ।

नालाका स्थानीय वासी तथा संस्कृतिविद् सिद्धलाल कर्माचार्यका अनुसार यस करूणामयको जात्रालाई सृष्टिकान्त लोकेश्वरजात्राका नामले चिनिन्छ । हिन्दु र बौद्ध दुवै धर्मका साझा देवता मानी यी लोकेश्वरलाई हिन्दु धर्मावलम्वीहरू नारायण र बौद्धधर्मका मानिस सृष्टिकान्त लोकेश्वरका रूपमा श्रद्धाभक्ति प्रकट गर्ने गर्दछन् । यसप्रकार दुवै धर्मका अनुयायीहरूले समान आस्था र आराधनाका साथ यी करूणामय भगवानप्रति सम्मान दर्शाइने गरिन्छ । जात्रा प्रारम्भ हुनु अगाडि अर्थात् होली पूणिर्माका दिन मन्दिरमा अवस्थित करूणामयको मूर्तिलाई जीवनन्यास साधना गरी आसनबाट बाहिर निकालिन्छ । मूर्ति रहेको स्थानमा कलश स्थापना गरी त्यहाँ जीवनन्यास राखिन्छ । त्यसैगरी प्रतिपदाका दिन करूणामय सृष्टिकान्तलाई महास्नान गराइने परम्परा छ । त्यसका लागि पूण्यमाता नदीबाट पवित्र जल ल्याइन्छ । मन्दिर सामुन्नेको शिलामण्डप जुन सानो पोखरीको बीचमा छ, त्यहाँ सृष्टिकान्त लोकेश्वरलाई पद्माशनमा विराजमान गराइ पञ्चामृतद्वारा महास्नान गरिन्छ । महास्थान कार्यका लागि पाँजुले घडामा जल ल्याउने परम्परा छ । यो महास्नान कार्यलाई दूग्धस्नान गरिने संस्कारका रूपमा पनि लिइने प्रचलन रहेको पाइन्छ । यी लोकेश्वरलाई पुजारीबाहेक अरू कसैले पनि छुनु हुँदैन र कसैले अञ्जानवश छोएको भए सो पाप पखाल्न पनि यो स्नान कार्य गरिएको हो भन्ने भनाई रहेको कुरा सिद्धिलाल कर्माचार्य बताउछन् । यही विधि पूरा गर्न हरेक वर्ष पाटनस्थित बुङ्मतीका पाँजुहरू नालामा आउने परम्परा रहेको बताउँदै तिनै पाँजु अर्थात् पुरेत वर्गले लोकेश्वरको सम्पूर्ण कर्मकाण्ड गर्ने चलन रहेको पनि उनी जानकारी दिन्छन् ।

यस अवसरमा बाजागाजाको साङ्गीतिक उत्सव तथा महास्नान हेर्नेहरूको भीडले जात्राकै स्वरूप लिन खोज्दछ । स्नान कार्यपछि आगन्तुकहरूलाई पुजारीका तर्फबाट जलप्रसाद ग्रहण गरिने चलन पनि रहेको छ ।

द्वितीयाका दिन लोकेश्वरलाई रङरोगन गराउने कार्य हुन्छ । त्यसका लागि पहिले पाटनका चित्रकार आएर विधिअनुसार रङरोगन गरिने परम्परा थियो तर हिजोआज स्थानीय पुजारीबाटै सो कार्य हँुदै आएको पाइन्छ । त्यसपछि पाँजुहरूलेे दुशलकर्म क्रियाका निम्ति पूजाका सम्पूर्ण सामग्री मन्दिर प्रवेशको सामु प्रतिष्ठापनार्थ राख्दछन्. । रङरोगन कार्यपछि दुशलकर्म पूजा प्रारम्भ गरिन्छ । यसमा विधिअनुसार पकाएको भात खुवाउने गरिन्छ । तृतीयाका दिन करूणामय सृष्टिकान्त लोकेश्वरको जात्राको प्रमुख तिथि हो । यसदिन प्रतिष्ठा सम्बन्धी कार्य, दशकार्य विधि आदि सबै पूरा गरिन्छ । यसैदिन मन्दिरसँगैको भवनमा बेलविवाह गर्ने कन्याहरूलाई लस्करै राखी विधिपूर्वक बेलविहेको संस्कार नेवार ब्राहृमणबाट हुन्छ ।

यता करूणामयको मन्दिर अगाडि पञ्चदान कार्य भइरहेको हुन्छ । यी सबै कार्य सकिएपछि पाँजुले जात्राको पालो परेका गुठियारल्ााई जात्रा सञ्चालनको अनुमति स्वरूप भगवान बुद्धका विभिन्न मूर्तिहरू हस्तान्तरण गर्दछन् । यी सबै परम्परागत विधिको समाप्तिसँगै जात्रा प्रस्थान कार्य प्रारम्भ हुन्छ । सजाइएको खटमा सृष्टिकान्त लोकेश्वरलाई विराजमान गराइएपछि परम्परागत छत्र ओढाइ जात्रा सुरू गरिन्छ । यस अवसरमा अविर बषर्ा र बाजागाजा तथा भजन टोलीको बेग्लाबेल्लै सांस्कृतिक दृश्य देख्न सकिन्छ । त्यस्तै जात्रा हेर्न आएका र जात्रामा सहभागीहरूको उत्साह एवम् उत्सुकताले जात्राको वातावरण नै रमाइलो उत्सवका रूपमा परिणत हुन्छ । लोकेश्वरको खटजात्राका साथ पछिपछि दिपङ्कर बुद्धको मूर्तिलाई पनि समावेश गरिन्छ । जात्रामा धूपको सुगन्ध, चिराग बत्तीको मधुरो प्रकाश र भक्ति सङ्गीतको संसारमा नालावासी निस्पिmक्री नगर परिक्रमा गर्दै अगाडि बढ्दछन् । त्यस नगर परिक्रमामा सभक्ति शान्ति प्रार्थनाको कामना सबैकोे हुन्छ । एक चित्त, एक ध्यानबाहेक उनीहरूका मनमा सायद अरू केही कुरा पनि बाँकी हुँदैन ।

देश र जनताको सधैँ भलो चाहने, शान्ति र समृद्धिका प्रतीक मानिने यस्ता देवता नालामा विराजमान भएको खुसियालीमा स्थानीयवासीले ती भगवानको जात्रा गरी श्रद्धा प्रकट गर्ने तथा आफ्नो टोलछिमेक र सिमानाको दर्शन गराउने प्रचलन सुरू भएको पाइन्छ । यिनै परम्परागत प्रचलनको निरन्तरता आजका पुस्तासम्म उत्तिकै मर्यादित र व्यवस्थित रूपमा हुँदै आएको पाइन्छ । वर्षको एकपटक यसरी जात्रा गरिँदा उनीप्रति भक्तजनको भक्तिभाव प्रदर्शित भएको प्रत्यक्ष देखिन्छ । करूणामयको दर्शन र पूजाआजा गरेमा देश र जनता तथा आफ्नो र परिवारको सुखशान्ति हुने, अन्नबाली उब्जाउ राम्रो हुने आदि जनविश्वास पनि रहेकाले जात्रामा सबैको समान सहभागिता रहँदै आएको छ । जात्राको व्यवस्थापन र निरन्तरताका लागि ‘करूणामय सेवा खल’ को स्थापना गरिएको छ ।

यस समितिभित्रका गुठियारहरूले हरेक वर्ष पालो लिएर परम्परागत जात्रा चलाउँदै आइरहेका छन् । यसरी पालो लिएका गुठियारहरूले त्यो वर्षको जात्राको सबै व्यवस्थाको जिम्मेवारी पूरा गर्नु पर्दछ । यो जात्रा सञ्चालनका लागि विशेषतः स्थानीयवासीबीच छलफल गरी जनमतसमेत लिइएको थियो । सोही जनमतको सकारात्मक परिणाम स्वरूप ‘जात्रा गर्ने’ पक्षमा सर्वसम्मति भयो । यस किसिमको सर्वसम्मत निर्णयका कारण पनि यस जात्राप्रति आस्था, आराधना र अत्यधिक श्रद्धा रहेको पाइन्छ । त्यसैअनुसार बर्षेनि फाल्गुण पूणिर्मा तिथिदेखि यो जात्राको चहलपहल सुरू हुन थाल्दछ । यस जात्राको निरन्तरताका निम्ति नालाका विन्द्रलाल श्रेष्ठ, हरिलाल श्रेष्ठ, इन्द्र बज्राचार्य आदिको सक्रियतामा गुठी व्यवस्था गरिएको पनि स्थानीय सिद्धलाल बताउछन् । त्यही गुठी व्यवस्थाद्वारा नै खटजात्राको व्यवस्थापन हुँदै आएको छ । यसरी नयाँदेखि पुराना पुस्तासमेतको सहभागितामा यस जात्राले आफ्नो पुर्ख्यौली गौरवमय परम्परालाई अक्षुण्ण राख्दै आएको छ ।

करूणामय सृष्टिकान्त लोकेश्वरको जात्रा हरेक वर्ष करूणामयको मन्दिरस्थल मच्छिन्द्रबहालबाट सुरू हुन्छ । त्यसपछि स्थानीय गणेश मन्दिरबाट इटलाछेँ, गँसटोल, लागनटोल, वलाछेँ, इपाटोल र मेछेँटोल भई पुनः मच्छिन्द्रबहालमै खट ल्याएर टुङ्गिन्छ । जात्रालाई नगर वा टोल परिक्रमका क्रममा नाला र अन्यत्रबाट आएका श्रद्धालुहरूले पूजाआजा गर्ने, धूपबत्ती बाल्ने, भाकल पूजा गर्ने तथा आफ्ना मनोकाङ्क्षा व्यक्त गर्ने चलन रहेको छ । जात्रापश्चात् ‘लसकुश’ गरी करूणामय भगवान्लाई मन्दिरमा प्रतिष्ठापन गराइन्छ । यसरी जात्रा एक वर्षका लागि समापन हुने परम्परा रहेको छ ।

चैत्र १२, २०६७
शनिबार, गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *