Skip to content

विषकन्या


त्यो कुन दिन हो, मलाई याद छैन । सधैंझैँ त्यसदिन पनि स्कूलबाट फर्की टोलकै एउटा गफाडीहरूको जमघट हुने पसलमा बसिरहेको थिएँ । गफाडीहरूको बीचमा बस्दा रमाइलो त हुन्छ नै साथमा नयाँ कुरा पनि थाहा पाइने र समय पनि कटिने भएकोले म पनि प्रायः त्यो समूहमा बस्ने गर्दथेँ । त्यहाँ वरिष्ठदेखि कनिष्ठ अनि साधारणदेखि लिएर विशिष्ट कुराहरू बारे छलफल हुन्थ्यो । कुरैकुरामा एउटा साथीले मलाई भन्यो, “तिमीले एउटा कुरा सुन्यौ ? त्यो तिम्रो साथी उर्मिला त रेष्टुरेण्ट (क्याविन) मा काम गर्छे नि !” म छाँगाबाट खसेझैँ भएँ, “होइन होला” मैले सकिनसकी जवाफ फर्काएँ । फेरि उसले भन्यो “यसमा कुनै सन्देह छैन ।”

म त्यहाँ बस्न नसक्ने भएँ । युद्ध हारेको सिपाहीझैँ लुरुलुरु घर गएँ । मलाई उर्मिलाको अनुहारको झझल्को आउन थाल्यो । मेरो मनमा त्यो कुरो साँचो हो वा होइन भन्ने अन्तद्र्वन्द्व चलिरह्यो ।

उर्मिला, कति निर्दोष अनुहार थियो उसको । उसँग मेरो परिचय चार बर्षअघि भएको थियो भने करिब एक वर्षमात्र सङ्गत गर्न पाएको थिएँ । त्यसपछिका दिनदेखि भेटै भएको थिएन । विगत तीन बर्षदेखि मेरो आँखाबाट ओझेल थिई ऊ । त्यसबेला मैले सुनेको थिएँ, “ऊ पोइल गएकी रे !”

जे जस्तो भए पनि त्यो एक बर्ष मेरो लागि उसलाई चिन्ने पर्याप्त समय बन्यो । अरूले जे भने तापनि त्यो समयको दौरान म ऊसित धैरै नजिक थिएँ । एक हिसाबले म ऊप्रति आकर्षित थिएँ । सायद मेरो मन सधंै उसलाई खोजिरहेको हुन्थ्यो र भेटाउँथ्यो पनि । साथीको घरमा जाँदा बीच बाटोमा पथ्र्यो उसको घर । त्यसैले पनि हाम्रो भेट भइरहन्थ्यो । म घण्टौं सँगै बसी गफ गर्थें । उसको हाउभाउ हेर्थेँ । उसलाई बुझ्ने प्रयास गर्थेँ । सायद, ऊ त्यही थिई जो कहिलेकाही मेरो सपनामा आउँथी, जसको बारेमा सोच्दा मात्र पनि आनन्द आउँछ । आफ्नो जीवनमा कोही आउँदा सम्पूर्ण कुराहरू कसरी परिवर्तन हुन्छ भन्ने कुरा मैले त्यसबेला मात्र थाहा पाएँ । सुत्दा, जाग्दा, बस्दा, उठ्दा ऊ मसँगै हुन्थी । पहिला भीडमा पनि म आफूलाई एक्लो अनुभव गर्थेँ भने उसलाई भेटेदेखि एक्लो हुँदा पनि साथ पाएको महसुस हुन थाल्यो ।

सानैमा आफ्नो बाबुलाई गुमाउन पुगेकी अनि ५,६ जना दिदीबहिनी र एउटा दाइसँगै आमाको रेखदेखमा हुर्किएकी काइँली छोरी ऊ । मध्यम वर्गीय परिवारमा जन्मेकी हुनाले कुनै कुराको अभाव थिएन । टोलमै नाम अनि शान थियो उसको परिवारको । अझ उसको रुप त वर्णन नै गर्न नसकिने थियो । सायद, त्यसैले पनि मेरो मन ऊप्रति आशक्त भएको हुनुपर्छ । ठूला-ठूला लेखक, कविहरुले सुन्दरताका बारेमा वर्णन गरेको मैले नपढेको होइन । तर, मैले उसको रुपको बारेमा वर्णन गर्नै सकिनँ र सक्दिनँ पनि । मलाई लाग्छ, म जस्तो तुच्छ व्यक्तिले उसको रुपको वर्णन गर्नु अक्षम्य हुनेछ । छोटोमा भन्नुपर्दा उसको सुन्दरता अवर्णनीय थियो । त्यति राम्री अझ आफ्नो मनले खाएकी “पोइल गई रे” भनेर सुन्नु पर्दा मन त एकदमै रोएको थियो मेरो । तर, त्यो दिन ऊ रेष्टुरेण्ट (क्याविन) मा काम गर्छे भनेर सुन्दा मरेतुल्य भएँ । मलाई पत्याउनै मुस्किल पर्यो । अबेर रातसम्म पनि निद्रा लागेन ।

वास्तविकता के हो ? त्यो कुरा थाहा पाउन ममा निकै कौतुहलता जाग्यो । त्यसका लागि मैले त्यही रेष्टुरेण्टमा पुग्नुपथ्र्यो । भोलिपल्टै म त्यहाँ पुगेँ ।

वातावरण एकदम गरम अनि उत्तेजित थियो । वरिपरि १४,१५ वटा क्याविन, बीचमा ३,४ वटा खुल्ला टेबल अनि कोठाभरि धुवैधुवाँ । प्रत्येक ग्राहकहरू आ-आफ्नै धुनमा मस्त थिए भने वेट्रेस भनाउँदाहरू सकेसम्म ग्राहकहरुको ध्यान आफूतर्फ तान्न व्यस्त थिए । म सरासर गएर बीचको एउटा मेचमा बसेँ । म मेचमा बसेको मात्र के थिएँ, एउटी केटी मेनु टेबलमा राख्दै मेरो काखैमा बस्न आइपुगी । त्यसो त मलाई अति रीस उठ्यो । तर, देश अनुसार को भेष भन्ने कुरालाई आत्मसात गर्न पुगेँ म । र, नम्र भई छुट्टै बस्न आग्रह गरेँ । “क्या हो दाइ ! यही उषासँग अरु कति रमाउँछन्, तपाईं भने… ।” मेरो अनुरोधको प्रतिक्रिया थियो त्यो । उसको प्रतिक्रियामा पनि मादक मुस्कान थियो । तर, मैले उसको त्यो मुस्कान वास्तविक, कपटपूर्ण या बाध्यता कुन हो, छुट्याउन सकिनँ । दिमागलाई बोझ नदिई एउटा चिसो र एक प्लेट चाउमिनको अर्डर दिएँ । अर्डर देखेर ऊ खिन्न भई र सोधी, “किन दाइ बियर लिनु हुन्न ?” “किन बियर नखाने मान्छे यो रेष्टुरेण्टमा पस्नु हुन्न ? फेरि यस्तो दिउँसै कसले बियर खान्छ र ?” मैले प्रतिप्रश्न गरेँ । त्यसो होइन भन्ने सङ्केत गर्दै ऊ गई ।

चारैतिरबाट मात्तेका पुरुष आवाज र मिश्रित हाँसोका आवाजहरू निरन्तर रुपमा आइरहेका थिए । नशामा लट्ठ ग्राहकहरू वेट्रेसहरूसँग मस्त थिए । अझ कोही त एउटा नारी र एउटा पुरुषको सम्बन्ध जहाँसम्म पुग्न सक्थ्यो त्यहीँ पुग्न हतारिरहेका थिए । अर्धनग्न अवस्थामा रहेका ती कृत्रिम जोडीहरुको चर्तिकला हेर्दा म झुक्किएर कुनै कोठीमा त पुगिनँ भन्ने लागेको थियो ।

“दाइ तपाईंको चिसो र चाउमिन ।” वेट्रेसको आवाजले म झस्केँ । मनमा अनेक कुरा खेलाउँदै म चाउमिन खान थालेँ । सँगैको वेट्रेस भने मेरो हातको औंठीमा खेल्दै थिई । म उसको कुनै क्रियाकलापमा सहभागी भइनँ, उसलाई अति दिक्क लागेछ क्यारे उठेर जान खोजी । मैले चट्ट उसको हात समाएँ र आफ्नो उद्देश्यतर्फ अगाडि बढ्दै सोधेँ, “तिमीहरू यहाँ कति जना छौ ?” “१२,१३ जना” मुस्कुराउँदै जवाफ दिई । सायद, मैले गफ दिएकोले खुसी भएकी हुनुपर्छ । “तिम्रो नाम के हो नि ?” थाहा हुँदाहुँदै मैले जिस्किंदै सोधेँ । “अघि नै मैले भन्या होइन उषा भनेर ।” उसले पनि उही पारामा भनी । “अनि घर नि ?” मैले फेरि सोधेँ । “घर, हाम्रो घर…., हामी जस्ताको कहीं घर हुँदैन । हामी जहाँ जान्छौँ, जहाँ काम गर्छौँ, त्यही हाम्रो घर हो ।” उसले लामो सास तान्दै भावुक भएर भनी । “कसरी ?” मैले अचम्म मान्दै सोधेँ । “के तपाइँको प्रत्येक प्रश्नको उत्तर मैले दिनै पर्छ भन्ने छ र ?” उसले नकारात्मक उत्तर दिई । सायद, ऊ रिसाई । “अहँ छैन… छैन… कदापि छैन” अकमकिंदै जवाफ दिएँ । हामी दुईमा शून्यता छायो, यद्यपि त्यहाँ पर्याप्त कोलाहल थियो ।

सूर्यले त्यो दिनको कर्म सम्पन्न प्रायः गरिसकेको थियो । चम्किरहेका बत्तीहरूले होला त्यो बन्द कोठामा त्यसको कुनै प्रभाव परेको थिएन । साँझ छिपिँदै थियो । ग्राहकहरूको चाप झनझन बढ्दै थियो । साथमा, त्यहाँको वातावरण अझ मादक बन्दै गइरहेको थियो । मैले केही नगरेमा त्यो वेट्रेस उठेर जाने डर थियो । त्यसैले असजिलो मान्दै फेरि सोधेँ, “यहाँ उर्मिला पनि काम गर्छे रे होइन ? वास्तवमा उसैका लागि म आज यहाँ आएको हँु ।” अचम्म मान्दै उल्टो मलाई प्रश्न गरी, “को उर्मिला ! यो नामको कोही केटी यहाँ काम गर्दैन ।” म पनि कस्तो बुद्धू थिएँ । आफ्नो असली नाम त त्यस्तो ठाउँमा कसले पो राख्ला र ? त्यसपछि मैले उर्मिलाको हुलिया र ठेगाना बताएँ । “ए…, तपाईंले ‘सबि’ भन्नुभा होला । म त अचम्म छु बा…. सबै सबिलाई मात्र किन खोज्न आउँछन् ? तपाईं पनि उसैलाई खोज्न आउनु भएको छ । ‘सबि’ नै किन चाहियो र…, म भए हुन्न ?” उसले रोमान्टिक हुँदै एक सासमा भनी । त्यसपछि उर्मिलासितको मेरो सम्बन्ध र वास्तविकता बताउन म बाध्य भएँ । सम्पूर्ण कुरा सुनिसकेपछि उसले मलाई माथिल्लो तल्लामा लगी र बोलाई, उर्मिला उर्फ सबिलाई ।

मलाई देख्नासाथ उर्मिला फर्कन खोजी तर मैले उसलाई त्यो मौका नै दिइनँ । म उसका आँखामा लाज र डरका भावनाहरू प्रस्ट देखिरहेको थिएँ । उसले मलाई सिधा नजरले हेर्न पनि सकिन । वर्षौपछिको भेट थियो त्यो । त्यसैले, म उसको रूपको बारेमा जोडघटाउ गर्न थालेँ । वास्तवमा उसको सुन्दरतामा कुनै कमी आएको थिएन तर पहिलाको भन्दा केही दुब्ली अवश्य भएकी थिई ।

हामी सँगैको बार्दलीमा बस्यौँ । ऊ मौन थिई । मौनता मैले नै भङ्ग गरेँ । ऊसँग अनेक कुरा सोधेँ । तर, उसले प्रस्ट जवाफ दिइन । आफ्नो विवाह भइसकेको र समयले आज ऊ त्यस ठाउँमा आइपुगेको कुरा बताई । विगत तीन वर्षदेखि घर नगएकी ऊ घरको बारेमा सुन्न पनि नचाहने भइसकेकी थिई । मैले ऊ गलत बाटोमा रहेको कुरा राम्ररी सम्झाएँ तर उसले गर्वकासाथ आफूलाई कुनै पश्चाताप नलागेको कुरा बताई । उसले जे भने तापनि त्यो उसको बनावटी कुरा मात्र थियो । उसका आँखा रसाइसकेका थिए । अनुहार मलिन थियो । मुखले एउटा कुरा भने पनि मनमा अर्कै कुरा थियो ।

अन्तमा, हार खाएर नारीको जिन्दगीलाई एउटा सुन्दर फूलसँग तुलना गरेर सम्झाएँ । “जसरी फूल फुलेपछि त्यसले ओइलाउनु पर्छ त्यसरी नै नारीको सुन्दरतामा पनि एकदिन अवश्य पूर्णविराम लाग्छ, त्यसबेला…।” यस्तै-यस्तै धेरै कुरा ऊसमक्ष राखेँ । सायद, यसले उसको मनमा असर गरेछ । भविष्यको कहाली लाग्दो अवस्था उसको दिमागमा तरङ्गित भएछ क्यार मेरो अङ्गालोमा टाउको लुकाउँदै क्वाँक्वाँ रुन थाली ।

ऊ गलत बाटोमा हिँडी तर उसको कारणले अरू कति गलत बाटोमा हिँडे वा हिँड्न वाध्य भए, कुरो सोचनीय छ । आज उर्मिलाको अङ्गालोमा सबै रमाउँछन् । एउटा बालक पनि उसकै अङ्गालोमा हराउँछ । कति युवाहरू उसको तातो सामीप्यमा रमाएका छन् । कति श्रीमतीका लोग्नेहरूले उसको मुस्कानमा आफ्नो घरको बाटो भुलेका छन् । कति बूढाहरूले उसको जवानीमा आफ्नो वैश खोजिरहेका छन् ।

जसले सुन्दरतामा रुमलिएर आफ्नो लक्ष्य बिर्सन्छ, उसले जीवनमा केही गर्न सक्दैन । साँच्चै, उर्मिलाले गर्दा कति पुरुषहरूले आफ्नो कर्तव्य भुलेका छन्, जीवनमा सुरा र सुन्दरी बाहेक अरु सोच्नै नसक्ने भइसकेका छन् । अझ कतिलाई त्यस्तो बनाउने हो, सोच्दामात्र पनि आङ नै सिरिङ्ग हुन्छ । वास्तवमा आज ऊ विषकन्या भएकी छ, एउटी खतरनाक विषकन्या ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *