Skip to content


डा. लक्ष्मणप्रसाद गौतमको सम्पादनमा देखापरेको ‘सनत रेग्मी ः सिर्जनसंवाद’ अन्तर्वार्तासङ्ग्रहको क्षेत्रमा एउटा गहकिलो कदम हो । सर्जक सनत रेग्मी नेपाली कथाजगत्का महत्त्वपूर्ण हस्ताक्षर हो । उनीसँग विभिन्न समयमा विभिन्न अन्तर्वार्ताकारहरूले लिएका अन्तर्वार्ताहरूलाई पुस्तकमा प्रस्तुत गरिएको छ ।

सर्जक सनत रेग्मीको सिर्जना-सन्दर्भ, कथाप्रति एवम् समकालीन लेखनप्रतिको दृष्टिकोणलाई प्रस्ट्याउने उद्देश्यले नयनराज पाण्डे, धु्रव मधिकर्मी, ज्ञानुवाकर पौडेल, भोजराज शर्मा ‘नादिर’, नारायण शर्मा गैरै, सीमाङ्कन प्रतिनिधि, हरिहर पौडेल, गोपाल अश्क, श्रीराम श्रेष्ठ, रेशम विरही, वासुदेव अधिकारी, राजनविक्रम थापा, खगेन्द्र गिरी ‘कोपिला’, लक्ष्मणप्रसाद गौतम, रोशन थापा ‘नीरव’ जस्ता अन्तर्वार्ताकारहरूले भिन्नाभिन्नै समय र सन्दर्भमा लिएका अन्तर्वार्ताहरूलाई यहाँ समेटिएको छ ।

सनत रेग्मी २०२२ देखि नेपाली कथाजगत्मा उदाएका कथाकार हुन् । हालसम्म पनि उनी सिर्जनरत छन् । यति लामो यात्रामा कथाको प्रकाशनका लागि पत्रिकाको प्रकाशन, विभिन्न गोष्ठी सञ्चालन गर्ने गतिविधिबाट कथाप्रतिको उनको प्रतिबद्धता स्पष्ट हुन्छ । यसै भएर ‘मैनाली कथा पुरस्कार’ लगायत थुप्रै पुरस्कार उनलाई प्राप्त भएको छ । लामो समयदेखि कथाविधाको विकास प्रक्रियालाई निरन्तर प्रवाहमान भएको देख्न चाहने सर्जक रेग्मीसँगको अन्तर्वार्तामा अभिव्यक्त धारणा वैयक्तिक अनुभवजस्ता भए तापनि तिनले नेपाली कथाको सिर्जन-सन्दर्भमा आफ्नै प्रकारको महत्ता राख्दछन् । नयनराज पाण्डेद्वारा लिइएको अप्रत्यक्ष कथनको अन्तर्वार्ता, रोशन थापा ‘नीरव’ द्वारा लिइएको एसएमएस अन्तर्वार्तादेखि अनेक किसिमका अन्तर्वार्ताहरू यसमा समाविष्ट छन् । यी अन्तर्वार्ताहरूले सर्जक रेग्मीका परिवेश, सामाजिक व्यक्तित्वको सन्दर्भ आञ्चलिक लेखनप्रतिको दृष्टिकोण, साहित्य र राजनीतिबीचको सम्बन्धबारे धारणा, कथामा स्थानीयताको प्रस्तुति, समकालीन लेखनप्रतिको धारणाजस्ता महत्त्वपूर्ण पक्षहरूप्रति प्रकाश पारेको पाइन्छ ।

अन्तर्वार्ताका केही चोटिला उत्तरहरू यस्ता छन्:

१. ‘हामीले आफ्ना रचनाबाहेक अर्काको रचना प्रायः कमै पढ्छौँ । राम्रा रचनाबारे बहस हुँदैन । रचना राम्रो नराम्रो जस्तोसुकै होस्, बहस हुनुपर्छ । बहसले लेखकलाई खारिने मौका दिन्छ । कुनै कुनै लेखक आलोचना गरिदिँदा रिसाउँछन् । पाठक र लेखकबीच संवाद छैन । संवाद त लेखक र लेखकबीच पनि हुनुपर्ने तर हुँदैन ।’

२. ‘हामी उत्तरआधुनिक सामाजिक परिवेशको चापमा छौँ तर हामी अझै पनि सामन्ती चिन्तन र व्यवहारबाट मुक्त हुन सकेका छैनौँ । हामी एकैसाथ सामन्तवाद र उत्तरआधुनिक दुवै चिन्तनको चेपुवामा परेका छौँ ।’

३. ‘प्रत्येक जागरुक स्रष्टाले अरूको कृति पढ्नु नै पर्ने हुन्छ, किनकि विना अध्ययन स्रष्टाहरूमाझ आफू कहाँ छु भन्ने थाहा पाइन्न । आफ्नो लेखनको सीमा नपहिल्याइ रचनामा नौलोपन र परिमार्जनका माध्यमले सुधार गर्न सकिन्न ।’

यस प्रकार पुस्तकमा सङ्गृहीत अन्तर्वार्ताहरू सर्जक सनत रेग्मीका वैयक्तिक अनुभूतिहरूमार्फत् समकालीन नेपाली कथालाई मोड र प्रवृत्तिका माध्यमबाट अभिव्यक्त गर्न सक्षम रहेको देखिन्छ । उनका धारणा र अनुभवहरू कथा सिर्जनारत नवपुस्ताका लागि मार्गनिर्देश गर्न समर्थ देखिन्छन् ।

कृतिः सनत रेग्मीः सिर्जनसंवाद
सम्पादकः डा. लक्ष्मणप्रसाद गौतम
प्रकाशकः चूडा-गोपाल प्राज्ञिक निधि
प्रकाशनः पहिलो, फागुन २०६३
पृष्ठः १२८+८
मूल्यः रु. १४०।-

मधुपर्क २०६८ असार

Leave a Reply

Your email address will not be published. Required fields are marked *