Skip to content


पूर्व ४ नम्बर भोजपुरबाट खाजा-सामलको पोको बोकेर म्याट्रिकको परीक्षा दिने सिलसिलामा वि.सं.२०१४ सालमा उहाँ काठमाडौँ छिर्नुभएथ्यो । त्यतिबेलासम्म म्याट्रिकको परीक्षा दिन काठमाडौँ नै आउनुपर्ने बाध्यता थियो । परीक्षा दिएर गाउँ फर्किएपछि गाउँकै विद्यालयमा सहयोगी मास्टर भएर जागिरको पहिलो खुड्किलो टेक्नुभयो चौधै वर्षको उमेरमै । त्यसो त परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण कलमकापी खर्च जुटाउन उहाँले वि.सं.२०१० सालबाटै बिहान-बेलुका स्थानीय पुस्तकालयको हेरचाहको जागिर थालिसक्नुभएको थियो र त्यसवापत मासिक साढे दुई रुपियाँ पाउनुहुन्थ्यो । सम्भवतः पुस्तकालयमा भएका साहित्यिक पुस्तक, पत्रपत्रिका र साहित्यकारहरूको आउजाउले पनि प्रभाव पारेको हुनुपर्छ उहाँलाई । खासमा चाहिँ स्कुलमा शिक्षकको अभाव भएपछि काठमाडौँबाट एक जना असल शिक्षक लगिएको थियो-शरदचन्द्र शर्मा भट्टराई । उहाँको अग्रसरतामा विद्यालयमा हुने साहित्यिक गतिविधिहरूमा तानिँदै जाँदा सुरुमा उहाँ कवि हुनुभएथ्यो । पछि क्रमशः कवितालाई छोडेर उहाँ आख्यानतिर लाग्नुभयो र यसैमा सफल सावित पनि हुनुभयो ।

वि.सं. २००० साल माघ ३० गते भोजपुर जिल्लामा पिता रामबहादुर श्रेष्ठ र माता इन्दिराबाट जन्मिनुभएका परशुराम श्रेष्ठ यतिबेला नेपाली साहित्यको आख्यान विधाबाट उहाँको नाम झिकिदियो भने त्यो अधूरो ठहरिने गरी परशु प्रधानबाट जोडिनुभएको छ । आफ्नो थातथलोका बारेमा उहाँ भन्नुहुन्छ-हुलाकीको जागिरका कारण सात पुस्ताअघि काठमाडौँबाट भोजपुर हान्निएको श्रेष्ठ परिवार उतै रत्तिएर भोजपुरे भएथ्यो । नत्र त म काठमाडौँकै नेवार हुँ नि । अहिले त नेवारी बोल्न पनि जान्दिन ।

उहाँमा अग्रज साहित्यकारहरूको प्रशस्तै प्रभाव परेको छ । दार्जिलिङका त्यो समयका चर्चित साहित्यकारहरू पारसमणि प्रधान, नगेन्द्रमणि प्रधानहरूको अनुसरण गर्दै नेवारले प्रधान लेख्दा हुनेरहेछ भनेर ‘प्रधान’ लेख्न थाल्नुभएको हो । वि.सं. २०१६ सालमा विराटनगरबाट प्रकाशित पत्रिका ‘छहारी’ मा ‘हाँसेकी ती चन्द्रमा’ शीर्षकमा कविता प्रकाशित गरेर साहित्यको मूलधारमा प्रवेश गर्नुभएका प्रधानले उसै साल ‘जीवनपथ’ नामक कवितासङ्ग्रह प्रकाशित गर्नुभएर दर्विलो उपस्थिति देखाई सक्नुभएको थियो । अनि कथा चाहिँ कहिलेबाट आउन थाले त ?

‘म वि.सं. २०१९ सालमा दोस्रोपल्ट काठमाडौँ आएँ । अब काठमाडौँमै बसेर केही गरौँ भन्ने उद्देश्यसाथ आएको थिएँ । नपढी केही गर्न सकिँदैन भन्ने सोचाई चाहिँ बनिसकेकै थियो र मास्टर छँदै नै प्राइभेट आइ.ए.को फारम भरिसकेको थिएँ । उता वि.सं. २०१८ सालमा राष्ट्रिय समाचार समितिको भोजपुरको संवाददाता पनि भएको थिएँ । यी सबै कामलाई पोको पारेर काठमाडौँ आएँ । काठमाडौँमा आउनासाथै दौलतविक्रम विष्ट, पोषण पाण्डे, शङ्कर लामिछानेहरूसँग राम्रै सम्बन्ध भएपछि साहित्यप्रति झनै आकषिर्त भएँ । दौलतविक्रमले कथा लेख्न प्रेरित गर्नुभयो । २०२० सालमा रूपरेखाको कथा विशेषाङ्कमा उहाँकै पहलमा मेरो पहिलो कथा छापिएपछि कवितातिर फर्किइनँ ।’

वि.सं. २०२३ सालमा झापाको चन्द्रगढीमा बृहत् साहित्यिक सम्मेलन भएथ्यो । त्यो सम्मेलनमा त्यतिबेलाका यातायातमन्त्री केदारमान व्यथित पनि पुगेका थिए । उनीसँग चिनजान भएपछि साझा यातायातमा जागिर नै खुवाइदिए परशुलाई । काठमाडौँमा थिगिरीथिगिरी गर्दैगर्दा अब चाहिँ दहि्रनुभयो र प्राइभेटै भए पनि पढाइले निरन्तरता पाइरह्यो । वि.सं. २०२६ सालमा आयोग भिडेर ‘सेक्सन अफिसर’ को परीक्षा पास गरेपछि त ढुक्कै भइहाल्यो । सङ्गत बढेकै थियो, लेखेजति छापिइहाल्थे । खासमा रूपरेखा र रचनाले मलाई उठाएका हुन् भन्नुहुन्छ उहाँ ।

उहाँले पछिल्लो समयमा एउटै शीर्षकमा शृङ्खलाबद्ध कथाहरू लेखिरहनुभएको छ । ‘सीताहरू’लाई सङ्गृहीत गरिसकेपछि अहिले ‘घर’ तिर लागि रहनुभएको छ । सन्दर्भहरू, कथावस्तुको तालमेल कसरी सम्भव हुन्छ भन्दा उहाँ भन्नुहुन्छ-यसमा गजबको कुरा छ । कवितामा मञ्जुल, वियोगीहरूले लेख्दै आएका थिए-सिद्धिचरणहरू, गोपाल र गोपालहरू भनेर । कथामा पनि लेख्न सकिन्छ कि भन्ने लाग्यो र ‘सीताहरू’ मा प्रयोग गरेँ । पहिले अमेरिकामा यस्तो प्रयोग भएको रहेछ । सीता भनेको प्रतीक विम्ब हो । उहिलेकी सीता र अहिलेका सीतामा तुलनात्मकरूपमा लेख्ने प्रयास गरेँ । हो, अहिलेका सीताहरूमा उबेलाकी सीताको कुनै तृणअंश पनि छैन । सीताको आदर्श अहिलेका नारीमा शून्य भएकाले त्यतातिर केलाएको हुँ । अहिले भट्टीमा, कोठीमा, अरबमा खोज्नुपर्छ सीताहरू । घर पनि यस्तै हो । घर भनेको समाज हो, व्यवहार र चरित्र हो । त्यो सबै विकृत छ अहिले ।

उहाँलाई यौनमूलक विषयवस्तुमा केन्द्रित साहित्यकार भनिन्छ । यसलाई उहाँ स्वयं पनि स्वीकार्नुहुन्छ-‘हो, मैले यौनमा बढी केन्द्रित भएर लेखेको छु । हुन त सबैको झुकाव यसैमा छ र कुण्ठित भएर गुम्सिनेहरू धेरै छन् । मैले चाहिँ स्वीकार गरेर लेखेको हुँ । यसमा म अलिक उदार पनि छु । मैले वि.सं. २०१९ सालमै खोटाङकी रेग्मी बाहुनकी छोरीलाई भगाइल्याएथेँ । यथार्थमा हामी यौनका दास छौँ । यसमा नखुल्नु भनेको झनै गुम्सिनु हो ।

आख्यान, त्यसमा पनि यौनमूलक कथावस्तुमा ज्यादा कलम चलाउने साहित्यकार भएर पनि वालसाहित्यका क्षेत्रमा पनि उत्तिकै चर्चित नाम बनेको छ परशु प्रधान । यो भिन्न लेखनमा पनि कसरी सफल हुनुभयो तपाईँ ? भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ-मेरो बालसाहित्यतिरको कुरा वेग्लै छ । साझा यातायातमा जागिर खाँदा साझा प्रकाशनतिर पनि सम्पर्क बढ्यो । त्यतिबेलाका साझा प्रकाशनका हर्ताकर्ता नरेन्द्रविक्रम पन्तले लेख्न लगाएर लेखेको थिएँ । पछि बालसाहित्यको माग बढ्दै गयो र आफैँ पनि उत्प्रेरित भएँ । जीवनसङ्गिनी कल्पना प्रधानले बालसाहित्यमा राम्रैसँग कलम चलाउन थालेपछि मैले त्यो क्षेत्र छोडिदिएँ ।

परशु प्रधानले धेरै लेख्नुभयो मात्रै होइन, पढाइ पनि धेरै नै पार गर्नुभयो । क्याम्पसै नगई नेपाली र राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नु ठूलै उपलब्धि हो । जागिरमा पनि निरन्तर २५ वर्ष सेवारत रही सूचना विभागको महानिर्देशकसम्म हुनुभयो र आफू खुसी राजीनामा दिनुभयो । पदीय जिम्मेवारीमा रहँदाको समयमा फाइदा-बेफाइदा-चलखेल र दाउपेचको चेपोका भोगाईहरू के कस्ता छन् त स्मरणमा ?

‘मैले जागिरमा हुँदा खिर खाएँ, गुहु खाइँन भनेर लेखेकै छु । सजिलै आउने सानातिना कमिसनका भागवण्डा खाएँ तर बदनाम हुने गरी कसैलाई रुवाएर खाइनँ । सीडीओ भएर जिल्लामा बस्दा पनि सबैले रुचाउने भएरै बसेँ । जागिरे अवस्थामै रहँदा एक वर्ष अमेरिका र एक वर्ष जापान बस्ने अवसर पाएँ । त्यतिबेलै केही जोगाएँ र काठमाडौँमा जग्गा किनेँ, घर बनाएँ । वि.सं. २०२९ सालमा पाँच सय रुपियाँ आनाले दस हजारको जग्गा किनेको थिएँ, त्यसैले मनग्य भयो । लाभको कुरा गर्दा त्यतिबेला अहिलेको जस्तो खुलमखुल्ला जस्तै घुस्याहाले पनि खान सक्दैनथे । डर हुन्थ्यो । सूचना विभागमा हुँदा पदीयरूपमा असाध्य गाह्रो थियो । धेरै मन्त्रीहरू भोगेँ तर पनि देखेका-भोगेका कुराहरू लेख्न छोडिनँ । पञ्चायतको कालोपक्षलाई देखाएर ‘विसर्ग’ शीर्षक दिई उपन्यास लेख्न थालेथेँ । त्यसलाई पूरा गर्नै सकिनँ । खै अब पूरा गर्छु कि ।

आफ्नो लेखनका सम्बन्धमा आफैँले मूल्याङ्कन गरेर राम्रो-नराम्रो छुट्याउन सकिन्छ कि सकिँदैन ? किन नसक्नु, सकिन्छ नि । आफूले लेखेकै पनि सबैका सबै राम्रा लाग्दैनन् भन्दै आफूलाई ज्यादै राम्रा लागेका सिर्जनाहरू केलाउँदै उहाँ भन्नुहुन्छ-मेरा कथाहरूमा मलाई ज्यादै मनपर्नेमा म रोएर लेखेको कथा ‘उत्तरार्द्ध’ हो । एउटा जागिरेको जागिरबाट छुटेपछिको भोगाईको तीतो यथार्थ यसमा छ । पहिलेको अवस्था र घरमा त्यसै बस्दाको अवस्थाको बेवास्तामा मरौँमरौँ लाग्ने, साथीभाइले अब के गर्छस् भनेर सोध्नेलगायतका कुराले ज्यादै पिरोल्छ । आज मर्छु भन्छ, मर्दैन । भोलि भन्छ फेरि परिवार सम्झन्छ, मेरो कथामा अन्त्य हुँदैन । पाठककै जिम्मामा छोडिदिएको हुन्छु । त्यस्तै, यौनकथामा-‘आखिर म तिम्रो लोग्ने हुँ निर्मला’ औधि मनपर्छ । भ्रष्टाचार कथामा -डल्लेखोला, भोकमरी-गरिबीमा-एउटा गाउँको कथा । यसमा विदेशी दाताहरूसँग अनुदान होइन, हामीलाई सिस्नोको लाईकीरा मार्ने औषधि देऊ भनेको छ । त्यस्तै, ‘टोकियोमा सानो बुद्ध’ कथा विदेशी सन्दर्भमा लेखेको हुँ । यो कथा पनि निकै राम्रो लाग्छ । स्नातकको पाठ्यक्रममा पनि छ र बेलायती साहित्यकार माइकल हटले अङ्ग्रेजीमा अनुवाद पनि गरेका छन् । उता पश्चिम बङ्गालमा पनि त्यहाँको पाठ्यक्रममा राखिएको छ । कितावकै हकमा चाहिँ ‘कथा र रचनागर्भ’ मेरो ज्यादा प्रिय छ ।

रचनागर्भको कुरा गर्दा सिर्जनाको कथावस्तुका सन्दर्भमा प्रेरकभूमि, व्यक्ति, स्रोत अथवा बीजका रूपमा आउने कुराहरू रचनाका गर्भ हुन् । भारतीय साहित्यमा र विश्वसाहित्यमै पनि साहित्यकारहरूले लेखेका छन् र नयाँ विधाकै रूपमा स्थापित गराएका छन् । मैले पनि आफ्ना कथाहरूको रचनागर्भ उल्लेख गरेर वि.सं. २०५७ सालमा पुस्तक निकालेँ । मैले पहिले ‘गरिमा’ मा ‘कथाको कथा’ भनेर लेख पठाएथेँ । छाप्नेबेलामा विश्वम्भर चञ्चल र गोपाल पराजुलीले ‘रचनागर्भ’ शीर्षक दिएका हुन् । पछि केही विवाद गरेर पहिलो, दोस्रोको कुरा पनि उठाइयो । यसलाई धेरैले मन पराए र मदनमणि, भागीरथीहरूले लेखे पनि । मेरा प्रत्येक सिर्जनाका रचनागर्भ म लेख्न सक्छु । मेरा आँखामा झलझली छन् तर केहीले त वनावटी पनि लेखेको पाइयो । यो नयाँ विधाका रूपमा मैले ल्याएको हुँ र एक किसिमले भन्नुपर्दा आफ्नै सिर्जनाको पुनर्लेखन पनि हो यो भन्नुहुन्छ प्रधान ।

लेख्ने ऊर्जा प्राप्त गर्नका लागि अध्ययन गनर्ैपर्छ । आफू लेख्नेले अरूले कसरी लेखिरहेका छन् भन्ने पनि सूक्ष्मरूपमा हेर्नैपर्छ । एउटा आख्यानकारका नाताले अहिलेका आख्यानकारलाई कसरी हेर्नुभएको छ त उहाँले ?

नयाँपुस्तालाई पढ्न मधुपर्क, गरिमा र केही अन्य साहित्यिक पत्रपत्रिकाहरू नियमित पढ्नैपर्छ । म पढिरहेकै छु । आख्यानसम्बन्धी कितावहरू प्रायः पढ्छु नै । अहिलेको पुस्ताले निक्कै राम्रो लेखिरहेका छन् । हामी त पुराना भयौँ, अहिले सशक्तपुस्ता आएको छ । नवीन प्रविधिमा पोख्त छन् तर पनि नेपालीमा लेख्छु भन्ने अनि आधाजसो अङ्ग्रेजी शब्दहरू राख्ने गर्नु राम्रो होइन । ज्यादा बौद्धिक देखाउने प्रयोगहरू गर्दा बुझ्न गाह्रो भइरहेछ । समकालीन विश्वको परिस्थितिमा बुझेर-भिजेर लेख्नेहरू सफल हुन्छन् ।

उहाँले आफू साहित्यकार भएर साहित्यिक क्षेत्रमा राम्रो काम गर्ने सोचले विराटनगरमा राष्ट्रका धेरै लेखक-साहित्यकारहरूको सहभागितामा सहकारी गठन गरेर वाणी प्रकाशन नामक संस्था नै स्थापित गर्नुभयो । त्यस्तै, लेखकहरूको बसोवासको साझाथलो ‘लेखकग्राम’को परिकल्पना गरेर जग्गा प्लटिङ पनि गराउनुभयो । यसमा परशु प्रधानले डुबाइदियो भन्नेहरू पनि निस्किए । उहाँको सोचाई के थियो र भयो के ? अथवा आरोप सही नै हो ?

उहाँ चाहिँ वाणी प्रकाशनले धेरै महत्त्वपूर्ण काम गरेको ठान्नुहुन्छ जम्मा ३५० जनाको शेयरमा स्थापित वाणीलाई उहाँले दस वर्ष त आफैँ रहेर चलाउनुभएथ्यो । करिव ४० लाख रुपियाँ रहेको संस्थाले पुरस्कार कोष, वचत कोष गर्दै साढेदुई करोडको पूँजी पुर्‍याएर दस वर्षमा १५० विभिन्न शीर्षकका पुस्तकहरू प्रकाशित गरिएथ्यो ।

अंशियारहरूलाई लाभांश दिन चाहेको भए सकिन्थ्यो तर पठन संस्कृतिको विकास गर्नकै लागि पनि पुस्तकहरू दिइयो । त्यो एउटा मिसन हो । पछि एउटा समूह बनेर संस्थालाई फुटाउन खोजियो । त्यसैले उहाँले छोडिदिनुभयो । अहिले कृष्णभूषण बलले एकाधिकार लिए पनि राम्रोसँग चल्न सकेको छैन । उहाँकै विरुद्धमा पर्चाहरू पनि निकालिए । २०६२ सालमा प्रज्ञाप्रतिष्ठान गठन हुँदा उहाँ पनि प्राज्ञसभामा हुनुहुन्थ्यो र सदस्यसचिव बनाइने पक्कापक्की भएपछि हुन नदिनलाई त्यस्तो गरियो । ठूलै समूह लागेर त्यसो गरेका थिए उहाँको विचारमा ।

‘जहाँसम्म लेखकग्रामको कुरा छ, २०५२ सालमा ३०/३० हजार रुपियाँ लिएर यो काम थालिएथ्यो । सबै लेखक-साहित्यकारहरू एकै ठाउँमा घर बनाएर बस्ने योजना बनाइएथ्यो । यसमा कसैको केही डुबेको छैन । अहिले बेच्नेहरूले अढाई/तीन लाखमा बेचिरहेका छन् भन्ने सुनेको छु । यसमा परशु प्रधानलाई गाली गर्नुपर्ने ठाउँ र कारण देख्दिनँ ।’

उहाँका लेखन, सङ्कलन, अनुवाद, साहित्येतर, सबै गरेर तीन दर्जनको हाराहारीमा कृतिहरू प्रकाशित भइसकेका छन् । साहित्यकारको हैसियतले एक दर्जन पुरस्कार/सम्मान पनि प्राप्त गर्नुभएको छ । अहिले मधुपर्क सम्मानअन्तर्गत गद्यतर्फ उहाँको नाम चयन भएको छ र समर्पण कार्यक्रम हुन बाँकी छ ।

वि.सं. २०२५ मा मधुपर्क प्रकाशित हुँदाका प्रारम्भिक अङ्कहरूमा रचना छापिएका र निरन्तर लेखिरहेकाहरूबाट मधुपर्क सम्मानका लागि स्रष्टाको चयन गरिन्छ । यो सम्मानका सम्बन्धमा उहाँ भन्नुहुन्छ-मैले लेख्न थालेको ५० वर्ष भयो । लेखन भनेको नसाजस्तै हुँदोरहेछ, अझै छोड्न सकिँदैन । मधुपर्कले इतिहास कोट्याएर वर्तमानमा जोड्दै सम्मान गरेकोले मेरो लेखनको वास्तविक सम्मान चाहिँ बल्ल भएकोझैँ अनुभव गराएको छ । नेपाली साहित्यमा केही गरेको रहेँछु भन्ने लागेको छ । पुरस्कार त धेरै छन् तर यो लेखनको सम्मानको पुरस्कार हो । म खुसी छु ।

मधुपर्क २०६८ असार

Leave a Reply

Your email address will not be published. Required fields are marked *