Skip to content

कप्तानको रिसले ‘माओवादी’ बन्दा


मान्छेको जीवनमा बिर्सनै नसकिने कुनै न कुनै भयङ्कर घटना, दुर्घटनाहरू घटिनै रहेका हुन्छन् । त्यस्तै यो पङ्क्तिकारको जीवनमा पनि एकपटक यस्तै दुर्घटना घट्यो । कुरो ०५८ साल मङ्सिर-पुस महिनाको हो । १७ जना अष्ट्रेलियन खैरे (पर्यटक)हरूसँग चुलु स्थानीय भाषामा ‘जुलु’ वेस्ट पिक चढ्न कास्की जिल्लाको वेगनास ताल हुँदै लमजुङ जिल्लाको खुदी निक्लिएर भुलुभुले हुँदै मनाङ गएका थियौँ । हाम्रो यात्रा तालिका २९ दिनको थियो । हाम्रो ग्रुप लमजुङको खुदी निक्लिएपछि चिरपरिचित ट्रेकिङ रुट बेशीसहर-मनाङको बाटो लाग्यौँ । ङादीमा क्याप्प गरेको दिन हाम्रो ग्रुप सोमरसको शक्तिले मातेर झल्लु भएको थियो । खैरेहरू कतिसम्म मातेछन् भने हामी सधैँ ८ बजे हिँड्थ्यौँ, त्यो दिन ९.३० मा मात्र हिँड्न सक्यौँ । धारापानीबाट मैले मेरी प्राणप्यारी बिनुलाई टेलीफोन गरेँ ।

मौसमका कारण र्फकंदा मनाङको हुम्डेमा धेरै दिनको बसाईं भयो । जहाज आउने निश्चित नहुँदो रहेछ । तत्कालीन शानेवानी त आएन नै । यति एरलाइन्स पनि आएन, तीन-चार दिनसम्म । अन्तमा केही सीप नलागेपछि हेलिकप्टरबाट आए खैरेहरू । हामी नेपालीहरूचाहिँ ११ नम्बरको सहायताले पैदल हिँड्यौँ । धेरै दिनपछि फुर्सद पाएकाले हामीले केही क्षण २१ पत्ती अर्थात् ‘म्यारिज’ खेल्न बस्यौँ । चार दिनको बसाईंकै क्रममा एक दिन खैरेहरूले स्पोन्सर गरेर अङ्ग्रेजी सिनेमा ‘मास्क अफ जोरो’ हेर्न लगे । निकै राम्रो र कलात्मक सिनेमा रहेछ, जुन मैले काठमाडौँमा पनि हेर्ने विचार गरेको थिएँ । खैरेहरू उडेपछि हामी नेपालीहरू रात-साँझ गरेर ताल आइपुग्यौँ । हिँड्न सक्नेहरू अगाडि गए । हिँड्न नसकेकोले पेम्बा दाइ र म पछि पर्यौँ । पेम्बा दाइले ‘सिम्पल ठाउँमा बसौँ ल भाइ’ भने, मैँले पनि सहमति जनाएँ । त्यसपछि उहाँ सधँै बस्ने गरेको साधारण होटलमा गएर बस्यौँ । त्यहाँ अर्कै घरका र भारतीय सेनाबाट अवकाश प्राप्त गुरुङ थरका एकजना कप्तान पनि दारूपानी लिँदै बसिरहेका रहेछन् । साथै उनी भर्खर बेशीसहरबाट आइपुगेका रहेछन् ।

उनले ताजा घटना क्रम सुनाउन थाले । उनले भने- “साला माओवादीहरूको समुल नष्ट गर्न लागेको छ सरकारले । धरै पाउने छैनन् यी माओवादीहरूले । सारा देश आतङ्ककारीको विरोधमा छ रुस, चीन, भारत, अमेरिका आदि देशहरूले नेपाललाई सहयोग गर्ने भएका छन् । यो मनाङ जिल्लामा त माओवादी भन्नेहरू छैनन् । आए भने पनि गाउँका गाउँ मिलेर मस्र्याङ्दीमा फालिदन्छौँ । ठाउँठाउँमा मान्छे राखेका छौँ । फेरि उनीहरू आए पनि भाग्ने ठाउँ छैन । साला जो आए पनि बाहुन-क्षेत्रीको राज छ ।” त्यतिबेला मलाई के लाग्यो भने माओवादी नेता देव गुरुङ त मनाङकै हुन् । कप्तानको कुरा सुन्ने पेम्बा दाइ, म, तीनजना भारी बोक्ने भरिया साथीहरू, स्थानीय केही केटाहरू र घरधनीहरू थिए । साथमा ती क्याप्टेनले ‘खुकुरी रम’ पिउँदै नानाथरीको राजनीतिक गफ निकाल्दै थिए । म पनि राजनीतिमा रुचि भएको मान्छे भएकोले उसको अगाडि मुख नखोली टुलुटुलु हेरिरहन सकिन । सोचेँ- “कप्तान निक्कै बाठा रहेछन् । यिनीसँग राजनीतिको गफ गर्न बडो मज्जा आउँने भो” तर मेरो सोच उल्टो भयो । मैंले कप्तानसँग गफ गर्ने मनसायले “माओवादीहरू त्यति सजिलैसँग निखि्रँदैनन् । न त सरकारले प्रचण्ड र बाबुरामहरूलाई सजिलै पक्राउ गर्न सक्छ ?” भनी नसक्दै कप्तानले प्याच्च बोले, “ए, तँ पनि माओवादी

होस् ?” भनेर प्रश्न गरे ।  मैँले- “होइन, संसारको इतिहास नै त्यस्तै छ । भारतमा पनि त्यतिका विद्रोहीहरू ज्यूँका त्यँू छन् ।” भनी थाहा भएका सङ्गठनको नामहरू बताएँ । उनैले फेरि भने- “तँजस्तै अबुझहरूले गर्दा त यस्तो हुन्छ देशको हालत ।” कप्तानले भने । मैँले फेरि कुरा मोड्न “भारतमा बाले कुन-कुन युद्ध लड्नुभयो ?” भनी प्रश्न गरेँ । उनले त मैले उनलाई च्यालेञ्ज गरे जस्तो लागेछ क्यार ?। “ए केटा हो ?! पुलिस बोलाओ त । पुलिस ….” भन्न थाले । “होइन बा, म माओवादी होइन । नपत्याए हेर्नुस् मेरा परिचयपत्रहरू” भनी मसँग भएभरको परिचयपत्रहरू देखाएँ । वास्तवमा उनका साक्खै दाजुको छोरीज्वाइँ पनि बाग्लुङमा माओवादीको आक्रमणमा परी मरेका रहेछन् । त्यसैले उनलाई बढी नै माओवादीप्रति रिसको पारो चढेको रहेछ । त्यसमाथि खुकुरी रमको रन्कोले झ्याप्प जस्तै पारेको थियो ।

 उनले मेरो परिचयपत्र हेर्ने बहानामा मसँग भएको नगदमध्ये एकसय झिकेर अर्को केटालाई राख्न लगाए र भनेँ- “यो पैसाले रक्सी खानुपर्छ ।” त्यो पैसा राख्न ती स्थानीय साथीले मानिरहेका थिएनन् । उनले गुरुङ भाषामा केही भन्दै थिए । जे होस्, मेरो डायरीमा “सरकार-माओवादीबीच वार्ता” भएको मिति, वार्तामा बसेका दुवैतर्फका सदस्यहरू र सहजकर्ताहरूको नाम टिपेर राखेको थिएँ । त्यो पनि बीबीसी नेपाली सेवा सुनेर तर ‘के खोज्छस् कानो आँखा’ भनेझैँ उनले कृष्णबहादुर महराको नामलाई मात्रै कोड गरेर ‘ए, केटा हो सुन्दैनौ ? यो साँच्चै माओवादी रहेछ, जाओ, छिटो पुलिस बोलाऔ’ पो भन्न थाले । छेउमा भएका साथीहरू गुरुङ भाषामा अझै पनि केही भन्दै पुलिस लिन जान मानिरहेका थिएनन् । उता कप्तानले मलाई ‘ल तँ माओवादी होइनस् भने आगो छोएर माओवादी होइन भन् त’ भन्न थाले । मैले त्यसै गरेँ । तैपनि ‘पुलिस बोला, तिमीहरू बोलाउँदैनौ भने म आफैँ बोलाउँछु, के हेरिरहेका छन् यी पुलिसहरू ?’ भनेर कप्तान कराइरहे । त्यतिखेर तालमा हवल्दार मात्र रहेछ, सई-असईहरू चामेमा गएका रहेछन् ।

हुन पनि पुलिस मात्रै होइन, त्यहाँको ढुङ्गोमाटो, पातपतिङ्गरसमेत कप्तानको इशारामा चल्ने रहेछन् । विचरा निरीह पुलिसहरू झन् के गरुन् । त्यसैले पाँच-छजना पुलिसहरू आएर मलाई केरकार गरे । नेपालको पुलिस न हुन्, अपशब्द प्रयोग गर्दै मलाई झाप्पु पनि हान्दै गरे । कोही पुलिस ‘साला माओवादी, तेरो कृष्णबहादुर महरा मरिसक्यो’ भन्छन् । अर्को भन्छ- ‘साला मा… र … को छोरा कहाँ-कहाँको आक्रमणमा भाग लिइस् ?’ मैले- ‘होइन, म माओवादी नै होइन भनेँ । नभए मेरा त्यत्रा परिचयपत्रहरू छन् हेर्नोस्’ भनेँ । फेरि उनीहरूले ‘बर्ता बोल्छस् ?’ भन्दै मुक्का प्रहार गरे । अन्ततः मलाई रातभर मेरो हात-खुट्टा बाँधेर उनीहरूको चौकीमा राखे । तै राति मलाई कुर्न बसेको पुलिस अलि बढी नै दयालु रहेछन् ?। कहाँ भर्खरै मलाई आमाचकारी गाली गर्दै कुट्ने पुलिस, कहाँ उनीको न्यानो टोपीसमेत खोजेर ओढाइदिने पुलिस ? तर, आफूलाई रातभर चलमल गर्न नभएर बर्बाद नै भयो । त्यसमाथि हातको नलीहाडमै डोरी पर्ने गरी बाँधेछन् । राति आएर केही पुलिसले भन्दै थिए- “अब तँ भोलि बिहान चामे जान्छस् । साला माओवादी !?”

मलाई वास्तवमै दुःख लाग्यो । मेरी बूढी र छोरीलाई सम्झिएँ । त्यत्तिकैमा क्वाँरक्वाँर्ती रोएछु ।  मेरो सुरक्षाको लागि ड्युटी बसेको त्यही भगवानरूपी दयालु पुलिस दाइले ‘नरो भाइ नरो, भोलि बिहान छाड्छ भने र उनले छुट्ने तरिका पनि सिकाउँदै भने, हवल्दार सा’बलाई रक्सी खाएको सुरमा के-के बोलेछु, के के ? माफ पाउँ भन, हवल्दार सा’बलाई अनि छोडिदिन्छ’ भन्दै मलाई छुट्ने उपाय सिकाए । मैले पनि त्यही सोचिरहेको थिएँ । ‘रातभर हात दुखेर सहनै सकिन, खोल्दिनोस् न दाइ भन्छु’, विचरा ती पुलिस दाइले पनि के गरुन् र ?। उल्टै रिसाउँदै भन्छन्, ‘नकरा है नकरा, मैले तिम्रो लागि गर्न मिल्ने जति सबै गरिसकेँ’ भन्छ ।

 जसोतसो बिहान भयो । मैले मुत्न (पिसाब फेर्न) जान्छु, प्लिज खोल्दिनु न दाइ भनेँ । अर्कोचाहिँले खोल्दे भनेर आदेश दिएपछि मात्रै उनले बल्ल मेरो हातखुट्टाको डोरी खोलेँ । पुलिसहरूका साथै गाउँका सबै बिहानै भेला भए । पुलिस र कप्तानले फेरि पनि मेरो डायरी र परिचयपत्र चेक गरे जस्तो गरे र त्यो कृष्णबहादुर महराको नाम किन ? लेखेको भनी पुनः सोधे । मैले बीबीसीले हरेक हप्ता सोध्ने प्रश्नमा सोधेको थियो त्यसैले … मात्र के भनेको थिएँ- ‘साला ! भन्दै फेरि एक थप्पड हान्यो हवल्दारले ।’ (हाल के गर्छ थाहा छैन । त्यसबेला हरेक हप्ता एकजानलाई पुरस्कार दिने गरी बीबीसी नेपाली सेवाले आफ्ना स्रोताहरूमाझ तीनवटा प्रश्न सोध्ने गर्थ्यो) ।

जे होस्, त्यसपछि हवल्दारले कप्तानलाई बाहिर लिएर गए । भित्र आएपछि हवल्दारले पाँच सय रुपियाँ क्लबलाई दिने गरी कागज गरेर छाड्नु, साला माओवादीलाई । भनी घोषणा गरे । बूढो कप्तानले पनि लोलीमा बोली मिलाउँदै भन्यो-

‘मैले त नागरिकले सरकारलाई गर्ने सहयोग गरेको हुँ तर, यसको साथमा माओवादी भएको प्रमाण रहेनछ । नत्र त चामे होइन, बोरामा हालेर मस्र्याङ्दीमा हालिदिन्थेँ ।’ त्यसपछि मैले रक्सी खाएर होहल्ला गरेकाले अनुसन्धान गरी छाडिएको आदि-आदि भन्ने व्यहोराको पत्र लेखी सही गराएर छाडे पुलिसहरूले ।

त्यही बेला मेरो साथी पेम्बा दाइले ‘कहाँ यो जस्तो राम्रो मान्छे छैन, जाँड-रक्सी नै खाँदैन’ पो भन्न थाले । मैले हत्तपत्त आँखा झिम्क्याएर ‘त्यही हिजो तपाइँ अगाडि हिँड्दा मालिङ्गोघारीमा दुई गिलास खाएको थिएँ’ भनेर चलाखी गर्न खोजेँ । यदि यस्तो ‘टि्रक’ नखेलेको भए यो त वास्तवमै माओवादी रहेछ भनेर नछाड्न सक्थ्यो । जुन कुरा मैले पेम्बा दाइलाई पछि बाटोमा बताएँ । यसरी एकजना कप्तानले खोयाबिर्के खाएको सनकले गर्दा एकरात अवास्तविक माओवादी भएर कष्टप्रद ढङ्गले रात बिताउनुपर्यो ।

1 thought on “कप्तानको रिसले ‘माओवादी’ बन्दा”

  1. केडी रेम्नीसीङ

    दाइले निरन्तरता दिनुपराे
    दाइकाे लेखहरु विचारहरु अति नै राम्रा छन् तर मझेरीमा निरन्तर अाउनु पराे

Leave a Reply

Your email address will not be published. Required fields are marked *