Skip to content


असोज १ गते साँझको भूकम्प आउनु केही समयअघि नै नेपाली सङ्गीत जगत्मा वाङ्मय क्षेत्रमा भूकम्प गइसकेको थियो । निरन्तर साढे चार दशकदेखिको लेखन, पाँच दशकदेखिको सङ्गीत साधना गर्दागर्दै असोज १ गतेको साँझ रामशरण दर्नालको निधन भएपछि यी क्षेत्रलाई माया गर्ने, उहाँका आफन्त, परिवारजनले भूकम्प गएको अनुभूत गरे । सङ्गीतमै समर्पित भएर निरन्तर यसैमा केन्द्रित भएर लेखिरहने रामशरण दर्नालको निधनपछि पक्कै पनि सङ्गीत क्षेत्रले रिक्तता महसुस गरेको होला ।

जिनतिन बनाएको आफू बास बस्ने घर २०२५ सालको वर्षाले गर्लम्म ढलेपछि जन्मदिने आमा त्यही घरले पुरिएर बितेको दृश्य हेर्नुपर्‍यो रामशरण दर्नालले । ‘२०२५ को अविरल वर्षाको डरलाग्दो र कहालिलाग्दो सङ्गीतले मेरो जीवनमा बज्रपात मात्र पारेन मभित्रको स्वाभिमानलाई जोडले हल्लाइदियो । दुःख, सुख, हाँसो, आँसु जे भने पनि सङ्गीत आखिर सङ्गीत नै हो । म यसैमा लागिपरेको छु र यसलाई छाड्न सक्दिनँ …।’ दुई वर्षअघि गोरखापत्रमा उहाँले भनेजस्तै बाँचुन्जेल उहाँले सङ्गीतलाई छाड्नु भएन । सात दशकको उमेर बिरामी शरीर लिएर पनि म्युजिक नेपालमा उहाँ जागिरे बनेर सङ्गीत साधनामै लागिरहनुभयो । उहाँले कैयौँ कृति लेखिरहनुभयो ।

दयनीय जीवन, बास बस्ने घर त्यो पनि भत्कनु र त्यही घरले पुरिएर आमा गुमाउनुपर्दाको पीडा भोग्नुभयो उहाँले । छाप्रोमै बसेर चारवटा किताब लेख्नुभयो । भनौँ, रामशरण दर्नालले जीवनमा दुःख धेरै गर्नुभयो । सङ्घर्ष धेरै गर्नुपर्‍यो । छँदाखाँदाको जागिर पनि कहिले कसको सनकमा त कहिले कसैको कृपाले खोसुवा र पुनः नियुक्ति भइरह्यो । रामशरण दर्नालको साधना र लेखन भने कहिल्यै रोकिएन । यसैले होला उहाँले भन्नुभएकै थियो, ‘मलाई लाग्छ- साँचो अर्थमा लेखक त्यही हो, जो प्रतिकूल परिस्थिति र कठिन अवस्थामा पनि आफ्नो लेखनलाई निरन्तरता प्रदान गरिरहन्छ । आफ्नो साधनाबाट कहिल्यै विमुख हुँदैन ।’

विसं २०२५ सालको गोरखापत्रमा पहिलो रचना छापिएपछि थालिएको उहाँको लेखन यात्राले विराम लिएको पाइएन । अविच्छिन्न साढे चार दशक लेखनमा त्यो पनि एउटै विषयमा (सङ्गीत) केन्द्रित भएर लेख्नु चानचुने कुरो होइन । जीवनको पछिल्लो समय उहाँले लेख्नुभएको ‘काठमाडौँ उपत्यकाका प्राचीन समसामयिक गीतहरू’ विमोचन गर्ने तारतम्य मिलाउँदै हुनुहुन्थ्यो उहाँ । बाह्रौँ कृतिका रूपमा प्रकाशित उक्त कृतिबाहेक रामशरण दर्नालका देश-विदेशका सङ्गीत साधकहरूको जीवनी, गीत-सङ्गीत र बाजामै केन्द्रित ११ वटा कृति प्रकाशित छन् । विसं २०३८ मा साझा प्रकाशनबाट प्रकाशित सङ्गीत परिक्रमापछि नेपाली सङ्गीत साधक (२०३८), प्रज्ञा पुरस्कारद्वारा पुरस्कृत प्रतिभाहरू (२०३९), सङ्गीत विस्तृत अवलोकन (२०४१), विश्वविख्यात सङ्गीतकार (२०४१), नेपाली सङ्गीत संस्कृति (२०४५), सङ्गीतको विस्तृत अवलोकन (संस्करण) (२०५६), सङ्गीत सौरभ (२०५८), नेपाली वागीना र कला (२०६०), नेपाली बाजा (२०६१) र गायन शैली (२०६१) प्रकाशित भइसके । आरबाजो, शास्त्रीय र आधुनिक सङ्गीतमा प्रचलित केही वाद्ययन्त्र नामक दुई कृति प्रकाशोन्मुख छन् ।

सत्यकुमार दर्नाल र दिलकुमारी दर्नालका सुपुत्रका रूपमा विसं १९९४ असार २७ गते कालधारा काठमाडौँमा जन्मिनुभएका रामशरण दर्नालको प्रारम्भिक शिक्षा दरबार हाइस्कुल र सेन्ट रोबर्ट हाइस्कुल दार्जिलिङ (भारत)मा भयो । सङ्गीत शिरोमणि यज्ञराज शर्माले महिनाको एक सय ५० रुपियाँ तलब खानेगरी कला विभागमा जागिर खुवाएपछि प्रज्ञाप्रतिष्ठान छिर्नुभएका रामशरण दर्नालले ५० वर्ष त्यहीँ बिताउनुभयो २०६५ सम्म । २०६० देखि २०६५ सम्म उहाँ प्राज्ञ सभा सदस्य हुनुभयो । त्रिभुवन विश्वविद्यालय सङ्गीत विषय समिति, लूनकरणदास गङ्गादेवी चौधरी साहित्य कला मन्दिर, नारायणगोपाल युवा सङ्गीत कोष र नेपाली शिक्षा परिषद्का सदस्य रामशरण दर्नाल नेपाली लोकबाजा सङ्ग्रहालय, बिसे नगर्ची प्रतिष्ठान, नेपाल शास्त्रीय सङ्गीत समाज, नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, कलानिधि इन्दिरा सङ्गीत महाविद्यालय आदिमा संरक्षक र सल्लाहकार रहनुभयो ।

अविरल वर्षाको चपेटामा परेर त्यसैलाई डरलाग्दो र कहालिलाग्दो सङ्गीत ठान्ने रामशरण दर्नालले २०६८ सालको असोज १ गते साँझ यो संसार छाड्दा यस्तै कहालिलाग्दो सङ्गीत (वर्षा) थियो । सङ्गीत साधकको घरपरिवार, वातावरण पाएर त्यसैमा रम्ने रामशरण दर्नालले जीवनमा ‘सङ्गीत’ बाहेक अर्थोक सोच्नु भएन । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, म्युजिक नेपालजस्ता संस्थामा जागिरे जीवन बिताउने उहाँले सङ्गीतमै अनेकौँ सिर्जना गर्नुभयो । आधुनिक वाद्यवादनको संस्थापक, नेपालमा डान्स ब्यान्डहरूको सञ्चालक, नेपाली बाजा सङ्ग्रहालयको संस्थापकमध्ये एक उहाँ सङ्गीतका ज्ञाता हुनुहुन्थ्यो । उहाँको यही योगदानको कदर गरेर २०६० को इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०६० को झपट पुरस्कार, २०५३ को राष्ट्रिय पुरस्कार, २०६६ मा जगदम्बाश्री, नूरगङ्गा स्मृति पुरस्कार, नारायणगोपाल सङ्गीत सम्मान पाउनुभयो । यस्तै, महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति सम्मान, नेपाल सांस्कृतिक सङ्घद्वारा सम्मान, नयराज पन्त शोध सम्मान, साधना सम्मान, मधुरिमा सङ्गीत सम्मान, डा. अम्बेडकर फेलोसिप (नयाँ दिल्ली), गोरखा दक्षिणबाहु आदिबाट उहाँ सम्मानित हुनुहुन्छ । अझ वाङ्मय जगत् सङ्गीत क्षेत्रमा एउटा समर्पित स्रष्टा र साधकका रूपमा सुपरिचित भएर सम्मानको जीवन बाँच्नुभयो उहाँले । उमेरले धेरै वर्ष बाँच्न नदिए पनि, रोग (पार्किन्सस)ले शरीरलाई दुःख दिए पनि रामशरण दर्नालले बाँच्नुन्जेल साधनामै बिताउनुभयो आफ्नो जीवन । उहाँले भनेजस्तै उहाँले सङ्गीतलाई बाँचुन्जेल छाड्नुभएन ।

असोज १४, २०६८
शनिबार, गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *