Skip to content


झण्डासँग सबैको नाता आत्मीय हुनुपर्छ । त्यो नाता बराबरी र पुरानो पनि हुनुपर्छ । झण्डासँग मेरो नाता निकै पुरानो छ । त्यो नाता जन्मसँगै प्रारम्भ भएको हो । मैले तोते बोल्न नसक्दै । मैले ताते हिँड्न नजान्दै । त्यो नाता मेरी आमाले मलाई झण्डारूपी रुमालले हम्किँदै शीतलता प्रदान गरिदिएको आज पनि सम्झन्छु । अहिले पनि गर्मी याममा शीतल पार्न पफ्ारूपी झण्डाले हम्किने गर्छु । झण्डाको काम हेर्दा यस्तो लाग्छ, झण्डा नभए त केही कामै पो नहुने रहेछ ।

विगततिर पुगेर हेर्दा त्यतिबेलै मलाई झण्डासँगको मेरो नाता अत्यन्त प्रगाढ रहेर आएको सम्झना हुन्छ । मेरो जस्तै यस्तै प्रभाव अरू सबैलाई परेको हुनुपर्छ । यसरी बाल्यकालमै झण्डा नचाउँदै खेलाएको र आफूले खेलेका सम्झना ताजै छन् । अलि ठूलो भएपछि स्कुलमा झण्डा बोकेर राष्ट्रिय गान गाएको रमाइला याद पनि आलै छन् । अनि स्कुलद्वारा आयोजित विभिन्न समारोहहरूमा झण्डा बोकेर उत्सव मनाएको । आधा झण्डा झुकाएर कसैको शोकमा श्रद्धाञ्जलि अर्पण गरिएको । अन्ततः यी सबै कार्य झण्डाकै अगुवाइ र उपस्थितिमा भएका थिए । ती कुरा आज झल्यास्स पछाडि फर्किएर हेर्दा आनन्द लाग्दोरहेछ । आनन्द भन्नु जीवनको यौटा प्राप्ति पनि हो । जीवनको अर्को सन्तुष्टि पनि हो । झण्डाले त्यो सौजन्य सौभाग्य जुटाइदिएको छ ।

हाम्रो झण्डा छ र हामी चिनिएका छौँ । झण्डाकै फर्फरसँग हामी सबैको जीवनले आनन्दपूर्वक श्वासप्रश्वास फेरेको छ । हामीले गतिशीलताको अनुभूति ग्रहण गर्न पाएको पनि त्यही झण्डाकै सामीप्यले गर्दा भएको हो । हामी झण्डा नभई चिनिन सक्दैनौँ । हामी झण्डा नबोकी आवाज बुलन्द गर्न जान्दैनौँ । त्यसैले झण्डा हाम्रो माटोको सुवास बनेको छ किनभने झण्डा राष्ट्रको चिनारी हो । झण्डा पहिचानको पाटो हो । झण्डा पुर्खाको गौरव हो । झण्डा त्यसैले राष्ट्रकै स्वाभिमानको सुगन्ध पनि हो । यस्तो झण्डा हाम्रो जीवनसँग गाँसिएको छ । यस्तो झण्डा हाम्रा प्रत्येक यात्रामा सामेल भएको छ । यस्तो झण्डा हाम्रा प्रत्येक पाइलामा चिनिने प्रतीक भएर उपस्थित भएको छ । वास्तवमा झण्डा हाम्रो राष्ट्रिय चिन्ह पनि हो त्यसैले । यही झण्डा फर्फराएर कुनै विदेशी अतिथिको स्वागत र बिदाइ गरिन्छ । यही झण्डा उठाएर राष्ट्रिय भावको जयगान गाइन्छ । यही झण्डा बोकेर गौरवगाथाको शान दर्शाइन्छ । यही झण्डा ठड्याएर पहिचानको नाम राखिन्छ । यति भएपछि झण्डाको महत्त्व र मूल्य सानो हुनै सक्दैन ।

अनि त राष्ट्रिय उत्सवमा यही राष्ट्रिय झण्डा फर्फराइन्छ । राष्ट्रिय शोकमा यही राष्ट्रिय झण्डा आधा झुकाइन्छ । राष्ट्रिय व्यक्तित्वको मृत्युमा यही राष्ट्रिय झण्डा ओढाइन्छ । झण्डाको ठूलो महत्व छ । झण्डाको धेरै भूमिका छ । झण्डाको अखण्डित अस्तित्व छ । झण्डाका किसिम र प्रकार पनि त्यत्तिकै छन् । जस्तो कि राष्ट्रको राष्ट्रिय झण्डा, पार्टीका झण्डा, सङ्घ, संस्था र कार्यालयका झण्डा । यिनैले बोकेका हुन्छन् प्रत्येकका आ-आफ्नै परिचय र पहिचान । झण्डा हेरेपछि राष्ट्रको नाम सोधिरहनु पर्दैन । झण्डा देखेपछि पार्टीको नाम खोज्नु पर्दैन । झण्डा हेरेपछि सङ्घ, संस्था वा कार्यालयको परिचय नपाएर झुक्किनु पर्दैन ।

त्यसैले झण्डा एउटैले कति धेरै काम र नामको प्रतिनिधित्व गरिरहेको हुन्छ । भनिरहनु पर्दैन कि सङ्घ, संस्था र कार्यालयका झण्डा हामी सबैको ज्यान-प्राण नै त हो । सुखमा झण्डा, दुःखमा झण्डा । अर्थात् शोकमा झण्डा । झोकमा पनि झण्डा । जिन्दावादमा झण्डा । मूर्दावादमा पनि झण्डा । झण्डै झण्डाको झकास ! झण्डाको कति धेरै माग । झण्डाको कति धेरै भाग । झण्डाको झोक देखाउनेहरू यहीँ छन् । झण्डाको झङ्कार सुसेल्नेहरू पनि त्यत्तिकै छन् । झण्डालाई मागी खाने भाँडो बनाउनेहरू पनि उत्तिकै छन् । झण्डालाई आफ्नै अस्तित्वको खाका बनाउने र झण्डालाई राष्ट्रिय अखण्डताको प्रतीक बनाउनेहरू यहीँ छन् ।

अरू त अरू झण्डा बोक्नेहरू छन् । झण्डा बोकेरै बलिदान दिने र बनिबुतो गर्ने पुस्ता पनि छन् । तिनैको उन्नति भएको छ । झण्डा उठाएर जिन्दावादको नारा घन्काउनेहरू छन् । तिनैले परिवर्तन गरेका छन् । झण्डा छ त सम्पूर्ण छ । झण्डा छैन त कुनै परिचय नै छैन । आज सबैका झण्डा छन् । सबैका आफ्नै परिचय र प्रभाव बोकेका झण्डाका आकार-प्रकारहरू छन् । झण्डा छ र नै तिनको अस्तित्व छ । झण्डा छ र नै राष्ट्रको चिनारी छ । झण्डा छैन त तिनले कुनै नारामा भाग लिन सक्दैनन् । कुनै जुलुसमा आफ्नो छुट्टै उपस्थिति देखाउन सक्दैनन् । कुनै सभामा, कुनै विरोधमा झण्डा उचालेर आवाज घन्काउन सक्दैनन् । कुनै उत्सवमा वा कसैको मृत्युमा झण्डालाई अघि सार्न पनि कदापि सक्दैनन् । त्यसैले झण्डा छ र नै सबै थोक छ । फूर्तिफार्ती र धम्कीघुर्की सबै छ । झण्डा छैन त केही पनि छैन । झण्डाबिना कोही पनि केही होइन । झण्डाले बनाएको छ सबैलाई । झण्डाकै आवश्यकता छ । झण्डाकै आडभरोसा छ । जे छ झण्डाकै योगदानले फलिफाप छँदै छ ।

सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम पाइला टेक्ने तेञ्जिङ र हिलारीले हामै्र राष्ट्रिय झण्डा सगौरव गाडेका थिए । विश्वभरि उच्च सगरमाथा र राष्ट्रिय झण्डाको गुणगान गाइएको क्षण थियो त्यो । हिमाल चढेर होस् कि, सम्मान समारोह अथवा अन्तर्राष्ट्रिय सभा-सम्मेलनमा राष्ट्रको प्रतिनिधित्व अगाडि राष्ट्रिय झण्डा राखेर नै हुन्छ । राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलकुदमा पनि झण्डाकै अगुवाइमा मार्चपास गरिन्छ । अङ्ग्रेजसँग हाम्रा वीर पुर्खाहरूले रक्तिम झण्डालाई नै अघि राखेर युद्ध लडेका थिए । प्रत्येक आन्दोलनका क्रममा अनेकौँ झण्डाहरू उचाल्दै, फर्फराउँदै विरोधलाई निणर्ायक मोडमा पुर्याइन्छ । कसैको विरोध गर्नु पर्यो भने कालो झण्डा देखाएर तर्साउने प्रवृत्ति पनि हामीकहाँ विकसित हुन थालेको छ ।

विदेशी र विदेशमा बस्ने नेपालीबीच पनि अझ मूल्यवान् र लोकप्रिय छ हाम्रो राष्ट्रिय झण्डा । संसारमा हाम्रै त्रिकोणाकार अनौठो झण्डाको पृथक अस्तित्व स्थापित छ । स्वदेशलाई सम्झिने एउटा माध्यम बन्दै आएको छ झण्डा । त्यसैले विदेशमा बस्ने नेपालीहरूले आफ्ना घर, कोठामा झण्डालाई अत्यन्त श्रद्धापूर्वक सजाएर राख्ने गरेका छन् किनभने झण्डासँग हाम्रो नाता जन्मसँगै भएको छ । अझ परदेश बसाइमा त आफूलाई पराइवासी नठानी झण्डाले ठूलै साहस, सन्तोष र धैर्य अनि सामाजिक बन्न प्रेरित गर्ने गर्दछ ।

इतिहासका पाना पल्टाउने हो भने झण्डाको प्रयोग र प्रभावका अनेक आयामहरू भेटिन्छन् । अनेकौँ अध्यायहरू पाइन्छन् । हाम्रै गाउँघरमा साँधसिमाना छुट्याउन पनि किलामा कपडा राखेर झण्डाको स्वरूपमा फर्फराएर आफ्नो निजी अस्तित्व स्थापित गर्ने चेष्टा गरिन्छ । रोमनहरूले बेलायत, फ्रान्स, मिश्रलगायतका मुलुकमा आफ्ना झण्डालाई गाडेर साम्राज्य कायम गरेको इतिहास पाइन्छ । पछि बेलायतले आफ्नो अधीनमा ल्याएका विश्वका धेरै राष्ट्रमा आफ्नै झण्डा शान र मानका साथ फर्फराएको थियो । भनाइअनुसार १११२ ईशापूर्व चीनमा सर्वप्रथम झण्डाको प्रयोग प्रचलनमा आएको थियो । हामीकहाँ पनि यसको प्रयोग र प्रचलनको सन्दर्भ निकै पुरानै छ । हजारौँ वर्ष अगाडिबाटै नेपालमा झण्डाको प्रयोग कुनै न कुनै रूपमा हुँदै आएको छ । हाम्रा प्राचीन मठमन्दिरमा झण्डाको प्रयोग अत्यन्त कलात्मक र आकर्षक रूपमा हुँदै आएको पाइन्छ । मानाङ्क मुद्रामा पनि सर्वप्रथम झण्डाको आकार अङ्कति भएको भेटिन्छ । लिच्छविकालीन मुद्राहरूमा पनि झण्डाको आकृति बनाइने परम्परा रहेको पाइन्छ । यसप्रकार तत्कालीन झण्डाका प्रयोग र तिनको प्रतिबिम्ब वास्तवमा आजको त्रि-आयामिक झण्डाकै रूप हुनु पर्दछ । आजको हाम्रो राष्ट्रिय झण्डा पनि त्यही विगतकै विकसित रूप हो ।

यद्यपि झण्डालाई धार्मिक मान्यतासँग मन भाँड्नु सुहाउँदैन । झण्डालाई राजनीतिक मोर्चासँग तुलना गर्नु उचित होइन । झण्डाप्रतिको शताब्दिऔँ पुरानो पवित्र आस्था र विश्वासलाई बिर्सिदिनु हुँदैन । शान्त, सुन्दर नेपाललाई चिनाउने हाम्रो झण्डा विश्वमै अद्वितीय प्रतीक बनेर रहेको छ । वास्तवमा झण्डा हाम्रो प्रकृतिको प्रतिविम्ब हो । झण्डा हाम्रो संस्कृतिको आधार हो । झण्डा हाम्रै जीवनको एक अभिन्न अङ्ग हो । अनि त प्रकाशमान छ झण्डा । शीतलता प्रदायक छ झण्डा । झण्डाले स्वच्छताको भाव जागृत गर्दछ । झण्डाले गतिशीलताको सन्देश सम्प्रेषित गर्दछ । झण्डाले आत्मीयताको संवेदना जगाउँछ । झण्डाले आत्मबलको भाव जागृत गर्दछ । झण्डाले सर्वत्र सुख, शान्ति, मैत्री र करुणाको भाव सञ्चार गर्दछ । त्यसैले शान्तिपूर्वक निर्धक्क आफू बाँच र अरूलाई पनि बाँच्न देऊ भन्ने शाश्वत सन्देश झण्डाको मूल अभिप्राय हो र हुनु पर्दछ । सायद यही कारण झण्डाको प्रयोग हुँदै आएको छ । झण्डा बोकेर जिन्दावाद घन्काउनुको अर्थ शान्ति र भ्रातृत्व स्थापनाको माग हो । झण्डा बोकेर मूर्दावादको स्वर उराल्नुको अर्थ अन्याय, अत्याचार र अमानवीय संस्कारको अन्त्यको सामूहिक आवाज हो ।

त्यसैले झण्डा चाहे राष्ट्रको होस् या पार्टीको वा अन्य सङ्घ, संस्थाहरूका ती सबैको एउटै उद्देश्य शान्ति, समानता र सद्भाव कायम गर्नु नै हो । यसरी झण्डाले हाम्रो अखण्ड परिचय बोकेको छ । झण्डाले शान्ति र प्रगतिको हाम्रो भावनालाई अभिव्यक्त गरेको छ । नवीन जोश र जाँगरको पक्ष उद्घाटित गरिदिएको छ । यस्तो झण्डालाई हामीले किन सङ्कीर्ण स्वार्थमा पार्ने ? तर बेलाबखत झण्डालाई व्यर्थ झमेलामा प”mसाउने काम गरिन्छ । सार्वभौम झण्डाको झगडा सुरु हुन्छ । खासगरी कसैको मृत्युमा उसको लाशमाथि पार्टीगत झण्डा ओढाइने हानाथापले विवादका रूप लिने गरेको छ । झण्डालाई हामीले कुनै दलीय विचारको प्रकोपमा प्रताडित पार्नु उचित होइन । झण्डाले त उदार भावको उद्घाटन गर्न सक्नु पर्दछ । झण्डाले सर्वत्र सधैँ सुकिलो बिहान उदाउने अवसर दिनु पर्दछ ।

जसले जीवनभरि कुनै पार्टीमा लागेर कसैको कहिल्यै झण्डा बोकेन, जो कहिल्यै कुनै राजनीतिमा लागेन तर आफूले सकेजति सिर्जनात्मक कार्यमा सधैँभरि समर्पित राख्यो । बाँचुन्जेल कतै कसैबाट कुनै मानसम्मान केही पाएन । उसको योगदानको कुनै कदर गरिएन भने मरेपछि पार्टीबीचको हानाथापले एउटा स्वतन्त्र व्यक्तिलाई अनेक पार्टीमा रूपान्तरण गर्ने काम हुन थालेको छ । जो सधैँ एउटा पार्टीको हुनुभन्दा राष्ट्रकै भइरहन चाहृयो । जो सधैँ मृत्युपर्यन्त स्वतन्त्र रहृयो भने उसको मृत्युमा पार्टीको झण्डा ओढाउनुको के अर्थ ? के सद्भाव, के सहानुभूति ? त्यस्तो स्वनामधन्य व्यक्तिलाई त ओढाउने नै हो भने राष्ट्रिय झण्डा ओढाउनु पर्दछ । राष्ट्रिय सम्मान दिन सक्नु पर्दछ । हिजोआज राजनीतिक भागबण्डाको विकृत खेलले स्वतन्त्र व्यक्तिको अस्तित्व नामेट पार्ने अभ्यास हुँदैछ । यसरी झण्डाको अनावश्यक प्रयोग बढ्दैछ ।

शान्ति र सुन्दरता समायोजित छ हाम्रो राष्ट्रिय झण्डामा । रङको सन्तुलन र आकारको सुन्दर संरचना छ हाम्रो राष्ट्रिय झण्डामा । यस्तो झण्डा अरूको हुन सक्दैन । यस्तो झण्डा अरूले बनाउन जान्दैन । यो हाम्रै धरतीको मौलिक चिनारी हो । यो हाम्रै धरतीको धरोहर हो । हामीले हाम्रै धरोहरलाई धरापमा पार्न हुन्छ र ? हामै्र बाल्यकाललाई सुखद पार्ने झण्डालाई झापट हान्न सुहाउँछ र ? यस्तो झण्डालाई हामीले सम्मान गर्न सक्नुपर्ने हो । यस्तो झण्डालाई हामीले माया गर्न जान्नुपर्ने हो । त्यसैले यस्तो झण्डामाथि झगडा गरेर झमेला निकाल्नु हुँदैन । झण्डालाई भागबण्डा गरेर टुक्राउनु हुँदैन ।

अखण्डित र पवित्र झण्डालाई आरोप लगाउनु हुँदैन । यस्तो झण्डालाई दुरूपयोग गर्नु हुँदैन । यस्तो झण्डालाई सके जति सदुपयोग गर्न सक्नु पर्दछ । यसैमा हाम्रो पहिचान अरू प्रखर र प्रभावकारी हुने निश्चित छ । परिवर्तनका नाममा परम्परागत र स्थापित पहिचानकै अस्तित्व मेटाउनु कदापि पनि स्वीकार्य र सजिलो हुन सक्दैन । झण्डाको कति ठूलो शान छ, बुझौँ न । झण्डाको कति ठूलो इज्जत छ, बुझौँ न । शोभायमान शान विद्यमान छ झण्डाको । झण्डासँगै मान्छेको शान र मान पनि कायम छ । राष्ट्र, समाज र व्यक्तिमा समेत झण्डाको अहं अस्तित्व सर्वस्वीकार्य छ । चन्द्र र सूर्य अङ्कति राष्ट्रिय झण्डा हाम्रो निशान पनि हो । झगडा गरेर झण्डाको हविगत र हर्कत लिनु हुँदैन । झण्डाको महत्व र आवश्यकता मनन गर्न सक्नु पर्दछ । झगडाको बीउ हुनु हुँदैन झण्डा । झण्डालाई झोकको झमेलामा पार्नु हुँदैन । झण्डा त हाम्रै परिचयको पाटो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *