Skip to content


कातिकको महिना मौसम पनि निक्कै रमाइलो थियो, बाहिरको कोलाहालले नमिठोसँग चिथोरिंदा म भातको गाँस मुखमै राखी बाहिर कुदेँ । म छाँगाबाट खसे झैं भो जब मेरो लुते कुकुरलाई छिमेकी गाउँको एउटा भुत्ते कुकुरले जमिनमा धसार्दै थियो । हत्त न पत्त मैले त्यो भुत्ते कुकुरलाई ढुंगाली हानेर भगाएँ, केही क्षेणमै मेरो कुकुरको प्राणपखेरु उड्यो ।

मैले मात्रै नभई वल्लोपल्लो घरको सबैले निक्कै माया गर्थे मेरो कुकुरलाई। किनकि अरु कुकुर जसरी अन्त कतै जाने थिएन र घर गाउँमा स्याल पस्न दिने थिएन । कुकुरको मृत्युले म मर्माहत भएँ । त्यो खबरले वल्लोपल्लो घरको सबै जम्मा भो । ती छिमेकीहरू कोही एमालेका थिएँ कोही कांग्रेशका थिए त कोही माऔबादी पार्टीका नेताहरू थिए ।

मेरो त्यो हालत देखेर मलाई सबैले सान्तवना दिए । कांग्रेस पार्टीका नेताहरू भन्दै थिए – ‘अब गाउँ बन्द गरौँ र उक्त गाउँको कुकुर मात्रै होइन कुनै मान्छेलाई हाम्रो गाउँमा पस्न दिन हुन्न ।’ माऔवादी पार्टीका नेताहरू भन्दै थिए ‘होइन होइन आमहड्ताल नै गरौँ’, एमाले भन्दै थियो ‘होइन होइन हड्ताल भन्दा पनि धम्की दिम । त्यो गाउँका कुकुर धनीले हामीलाई गतिलाई फाइदा दिन्छन भने हामी चुप चाप बसौं नत्र बिचार गरौँ ल ।’

यसै बेला एक जोगी पनि त्यहीँ थिए र यो सबै कुरा सुनेर छक्क पर्दै भने – ‘होइन होइन रुम्बाजी यो नेताहरूको कुरा सुन्यो भने यो कुकुरको मासु धरी लुछाचुँडी खान बेर छैन । त्यसैले चुप चाप लगेर कतै पवित्रस्थलमा गाड्नुस जहाँ यी नेताहरूले नदेखोस र नटेकोस ।’

मलाई पार्टीका नेताहरूको कुरा भन्दा पनि त्यही जोगीको कुरा मन पर्यो । त्यसैले चुपचाप कसैको कुरा नसुनी कसैलाई थाहै नदिई लगेर गाडिदिएँ ।

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *