Skip to content


वनभोज शब्दले मलाई आफू वनमान्छे पो हुँ कि भन्ने कुरा सम्झना भयो। ईश्वरको सिर्जना मानिएको मान्छेलाई विज्ञानले बाँदरको सन्तान देखाइदियो। हाम्रा पुर्खाहरू त बाँदर हुन्, वनमै खान्थे, खेल्थे र वनमै रम्थे। तिनै विशेष प्रजातिका बाँदर विकसित हुँदै मानवजातिको प्रादुर्भाव भयो। अनि, विस्तारै मानवलाई उसको सभ्यताले जंगलबाट गाउँ र सहरसम्म पुर्‍यायो। आजको मान्छे जंगलबाट हिँडेर सहरमा रमेको छ। गुफा, ओडार, झुप्रा हुँदै गगनचुम्बी महलमा बस्न उसको सभ्यताले उसलाई कर लगायो। निकैवटा सभ्यताको यात्री मानव आज किन वनभोज रुचाउँछ त ?
आजको सहरी सभ्यतामा भौतिक भव्यताले जुन उचाइ लिएको छ र लिँदो छ, त्यति नै प्रकृतिबाट टाढा बन्दैछ। भौतिक भव्यताको सभ्यतासामु मानवीय आदर्श र नैतिक सभ्यता तथा प्राकृतिक शान्ति टाढा भाग्दो छ। प्रकृति नै धर्तीका लागि सर्वेसर्वा हो। प्रकृतिबिना न कुनै जीव बाँच्न सम्भव छ, न त मानवीय सभ्यता नै बाँच्ने छ। यसरी सहरको उकुसमुकुस वातावरणबाट वाक्क भएर एकैदिन, एकैछिन भए पनि प्रकृतिको शीतल काखमा लामो निश्वास फेर्न चाहन्छ मान्छे। वनभोजलाई यसैको उपलब्धि मान्न सकिन्छ। प्राकृतिक हरियाली, स्वच्छ वातावरण र मनोरम हावापानी प्राणीका लागि साँच्चै स्वर्ग हो। आजको सहरी परिवेशमा मानव अशान्तिले निकै प्रताडित छ। सभ्यतासँगै मान्छे क्रूर र स्वार्थी बन्दै गएका छन्। भ्रातृत्व र मानवता ह्रास हुँदो छ। यसरी पट्यारलाग्दो परिवेशबाट मुक्ति खोज्न र मानव-मानवबीच माया र बन्धुत्वको भावना जगाउन वनभोजले निकै महत्त्व राख्छ। सबै साथीभाइको बीच जमघट गरी हाँस-खेल तथा मनोरञ्जन गर्न चाहनु र प्रकृतिदेवीको सुधाजन्य शीतल काखमा आनन्दको श्वास फेर्न चाहनुको परिणाम नै वनभोज हो।
अचेल सहरतिर वनभोजको चलन बढ्दो छ। वनभोजको चलन पुरानो भए पनि गाउँतिर भन्दा सहरतिर बढी मात्रामा वनभोजको चलन बढ्दै गएको छ। फुर्सदको समयमा प्रायः सहरका विभिन्न व्यक्तिहरू आ-आफ्नो समूहमा ‘पिकनिक’को आनन्द लिइरहेका हुन्छन्। विद्यार्थी, कर्मचारी, राजनेता, अभिनेता र बालक, वृद्ध सबै शान्ति, सुन्दरता, आनन्दका भोका हुन्छन्। वास्तवमा वनभोज केवल एकदिनको रमाइलो मात्र नभएर लामो समयको सम्झना तथा मित्रता पनि हो। सहरी पट्यारलाग्दो वातावरणबाट एकदिन भिन्न प्रकृतिको काखमा पुग्दा मानवआत्माले एउटा रमाइलो सुखको अनुभूति प्राप्त गर्छ। घाम-तीर्खा छलेर शीतल छहारीमा माम खाँदा र शान्त वातावरणमा आफन्तजन, साथी-मित्रहरूसँग भावना तथा माया-मित्रता साटासाट गर्दा त्यसले दिगो आत्मीयता धारण गर्छ। यसरी हेर्दा वनभोजमा साथीभाइबीच रमाइलो त हुन्छ नै उनीहरूको आत्मामा शान्ति र भ्रातृत्वको भावना पनि जागेर आउँछ।
संसारको जन्मदाता र पालनकर्ता केवल प्रकृति मात्र हो। प्रकृति विशाल छ, सर्वशक्तिमान छ, शाश्वत छ र उत्तिकै विचित्र मनोरम पनि। संसारबिना प्रकृति बाँच्छ तर प्रकृतिबिना संसार बाँच्नै सक्दैन। प्राणीको मोह प्रकृतिमा छ, प्रकृतिको मोहनी प्राणीमा छ। कतै स्वर्गीय मेनका बनेर त कतै धर्तीकी हेलेन अनि कतै झुल्ने बगैँचा त कतै सहारा बनेर प्रकृति प्रस्तुत छ। त्यस्तै कतै वनकाली र चारकोसे त कतै सगरमाथा र अन्टार्कटिका अनि कतै फेवा र प्रशान्त बनेर प्रकृति आफ्नो अथाह विचित्रता प्रदर्शन गरिरहेकी हुन्छ। धर्तीको कुनै पुरुषले वेश्यागमन गरेर केवल एकबारको आनन्द लिन सक्छ तर प्रकृतिगमन गरेर आजन्म आनन्द लिन सक्छ। मान्छेले विश्व-सुन्दरी प्रतियोगिता गरेर कोमल-सलील युवतीको सौन्दर्यपान गर्न खोज्छ तर प्रकृति आफँै ब्रह्मान्ड सुन्दरी बनेर सदा नाचिरहेकी हुन्छ। मान्छे प्रकृतिबाट अलग हुनै सक्दैन, प्रकृतिबिनाको जीवन पनि सम्भव छैन। कृत्रिमताले दीपेन्द्रलाई केवल तीन दिनको नक्कली राजा बनाउन सक्छ तर प्रकृतिलाई जित्न कदापि सक्दैन। आजको विज्ञानले धर्तीमा १६ आश्चर्य पनि सिर्जियो, अन्ततः ऊ प्रकृतिसामु झुकेकै छ। धर्तीभरकिो नौरंगी रबिन र नौरंगी प्राणीको जीवन बनेकी प्रकृति आफ्ना अनेक ऋतुहरूमा नयाँ-नयाँ सिर्जना लिएर संसार सिँगारिरहेकी हुन्छ।
मान्छे प्रकृतिको पुड्के छोरा हो तापनि ऊ बुद्धिमान र विवेकशील प्राणी भएर सिंगै ब्रह्मान्डमाथि आफ्नो हैकम जमाइरहेछ। वाग्नर हुन् कि सेक्सपियर, देवकोटा हुन् कि क्राइस्ट यी सबै प्रकृतिका पुड्के छोरा हुन्। विश्व-शान्तिका दूत बुद्ध र सामाजिक क्रान्तिका नायक मार्क्स, आखिर ब्रह्मा-विष्णु नै किन नहून् ! विकासवादका पिता डार्बिन, जसले मान्छेको पुर्खा बाँदर देखाउन सके, बाँदरको पुर्खा प्रकृति देखाउन सके तर प्रकृतिको पुर्खा देखाउन सकेनन्, कम्प्युटरका पिता चार्ल्स बाबेजदेखि मोनालिसाको अनुपम सौन्दर्यमा लठि्ठएर आफ्नो क्यानभासमा कैद गर्न खोज्ने भिन्चीहरू सबले प्रकृतिसँग हारेर गए। आखिर कसले कहाँ पो जित्न सक्यो र प्रकृतिलाई ? मान्छेले एकबारका लागि प्रकृतिलाई जित्न सक्छ तर सधैँको विजेता बन्न सक्दैन।
अनि, प्रकृतिको विजेता को हो त ? प्रकृतिको विजेता प्रकृति स्वयं हो। सप्तरंगी गुराँस फुलाएर हराभरा वसन्तमा धर्तीका भमराहरूलाई गुलाबी मोहनी लगाइरहेकै बेला अचानक ज्वालामुखी भई खरानी बनाइदिन्छ। गौरवका यात्री नक्कली चरा बनेर आकाशमा उडिरहेकै बेला अचानक रौरवको बाटोमा गुडाइदिन्छ। इतिहासका निसानाको सान जितेर ठिंग उभिएका गगनचुम्बी सहरलाई भूकम्पको एक झोँक्कासँगै गल्र्याम्म ढालिदिन्छ। पवित्र पवन प्राण बनेर धर्ती बचाइरहेकै बेला ह्वात्तै आँधीको भयंकर रूप बनी धर्ती उडाइदिन्छ। साँच्चै प्रकृतिलाई कहाँ पो चिन्न र बुझ्न सकिन्छ र ? यो प्रकृति आफ्ना विचित्र-विकराल रूपहरू लिएर कहिले मीत र कहिले जित बनेर हैरान पारिरहेको हुन्छ। आगोले हरेक चीजबस्तुलाई डढाउन सक्छ, भष्म पार्न सक्छ तर एउटा चीजलाई खान सक्दैन, त्यो हो- आगो स्वयंलाई। त्यस्तै, प्रकृतिले सिंगो संसार जित्न सक्छ, आफूलाई पनि आफैँ जितेर एक्लो विजेता बनिदिन्छ। देशको सरकारले प्रजामाथि शासन गर्छ, विश्वको शक्तिले संसार थर्काउँछ, इन्द्रले स्वर्गको आसन जमाउँछ, प्रकृतिले यी सबैमाथि शासन गर्ने सर्वाेच्च आसन पाएको हुन्छ। रौरवदेखि स्वर्गको गौरव सबै प्रकृतिको देन हो।
यहीँ प्रकृतिप्रतिको चर्को मोह आज बाल-वृद्ध सबैको तिर्सना बनेको छ। फलस्वरूप राजधानीमा पनि वनभोज निकै प्रिय र महत्त्वको विषय बन्दो छ। त्यही भएर होला, काठमाडौँ बहिरा संघले पनि आफ्नो ३१औँ वनभोज कार्यक्रम पनि सफल तुल्यायो। म पनि एक बहिरा भएकै कारण बहिरा संघको महलमा एउटा इँटा बन्नपुगेँ। ‘बहिरा’ भन्नेबित्तिकै ‘कठै, विचरा !’ भन्ने हृदयहरूले यो बुझ्नु जरुरी छ कि बहिरा कुनै दयाको पात्र होइन। यो लाटो-बहिरो, सुन्न-बोल्न सक्दैन, यसले के पो गर्न सक्छ र ? विचरा ! भनेर दुई पैसा दिने हातहरू आफूलाई निकै दानी ठान्छन्। तर, ती बुद्धु भएका ज्ञानीहरूले ती विचराहरूलाई केवल माया, सद्भाव र सहयोगका साथै अवसर दिन र उनीहरूको हृदयमा साहसको शक्ति थपिदिएर समान धरातलमा उभ्याउन जान्दैनन्। दुनियाँ स्वर्थी, पाखण्डी र चेतनशील भएर पनि जड छ। प्रत्येकले आफूलाई माथि ठान्छ, सुन्दर ठान्छ, ज्ञानी ठान्छ र आफ्नो महिमा आफैँ गाएर हिँड्छ। जहाँ हृदय हार्छ, त्यहाँ संसारले हार्छ।
म समाजलाई सम्झाउन चाहन्छु, सिंगो संसार अपांग छ। अपांग केवल मानवअंगको भंगता मात्र होइन। अपूर्णता नै अपांगता हो ! संसारमा दरदि्रता, गरबिी र समग्रमा अपूर्णता व्याप्त छ, कसैको जीवन पनि कहिल्यै पूर्ण छैन। कोही पनि सदा सुखी छैन। संसारमा जति सुख छ, त्यति नै दुःख छ, जति पूर्णता छ, त्यति नै अपूर्णता छ। प्रत्येक मान्छे नियतिले बहिरो, लाटो, लंगडो र अन्धो हुन्छ। चन्द्र चढ्ने व्यक्ति पनि त अपांग हो, जसले आफूमा रकेट (यान) जोडेर मात्र गन्तव्यमा पुग्न सफल भयो। संसार अपूर्णताको जँघार हो, जहाँ जुनसुकै बेला पनि जुनै व्यक्तिमाथि आँधी-हूरी र प्रलयहरू आइपर्छन्। के त्यसलाई मान्छेले रोक्न सकेको छ ? त्यसैले यो नै उसको अपांगपन हो।
बिहानको चिसो भूमिमा खचाखच भरएिका दुईवटा यात्रुबस आफ्नै रफ्तारमा कुदिरहेका थिए। कर्मनशा पुगिएछ ! कर्मनशा जो ललितपुरको दक्षिणबाट उत्तरतिर बग्ने नदी हो, प्रायः नेपालका अन्य नदी उत्तरबाट दक्षिणतिर बगेका हुन्छन्। केहीछिनपछि ललितपुरको ठैवस्थित रमणीय जंगलमा पुगियो। झन्डै दुई घन्टाको बसयात्रापछि म हरयिोवनको धनसँग मित्रता गाँस्न पुगेछु। मेरा सयौँ साथीहरू पनि आ-आफ्नै उमंगमा थिए। त्यहाँ साथी भन्नुको मतलब, केटाकेटी, बूढाबूढी, युवकयुवती, विद्यार्थी, गृहिणी, कर्मचारी आदि सबै थिए। म यिनीहरूलाई साथीको घेरा तोडेर दाजुभाइ, दिदीबहिनी र समकक्षी भन्न रुचाउँछु। हामी सबैकी जननी धर्ती हुन् र धर्ती प्रकृतिकी छोरी हुन्। त्यसैले यहाँका प्रत्येक प्राणीसँगको मेरो नाता र मित्रता एकै घरको परविारजस्तै छ। त्यही भएर त मैले दिदीसँग गफ गरेँ, बहिनीसँग ठट्टा गरेँ, दाजुसँग खाना खाएँ, भाइसँग गुच्छा खेलेँ, यस्तै केही समकक्षीसँग गरेँ। त्यो दिन एकै ठाउँमा चारवटा वनभोज थियो। वरपिरि तीनवटा सुन्नेहरूको समूह छुट्टै आनन्दमा रमिरहेका बेला सबैभन्दा बढी संख्यामा हामी बहिराहरू पनि रमिरहेका थियौँ। दुनियाँले देख्ने वास्तविक बहिरापन हामीमा थियो तर दिव्यचक्षुले मात्र देख्ने अवास्तविक बहिरापन संसारैमा व्याप्त छ।
अब वास्तविक बहिराका बारेमा केही बताऊँ ! बहिरा पनि त्यही मान्छे हो, जस्तो सुन्ने सवलांग मान्छे हो। बहिरासँग पनि सुन्दरता हुन्छ, हृदय हुन्छ र मस्तिष्क हुन्छ। आफूले पनि केही नयाँ र महत्त्वपूर्ण काम गर्ने सामर्थ्य राख्छ। ऊभित्र पनि जीवन जिउनुको उमंग हुन्छ। हृदय खोलेर प्रेम गर्न सक्छन्, माया दिन र लिन चाहन्छन्। शक्ति, भक्ति र उन्मुक्तिको चाहना हुन्छ। आफ्नो कर्तव्य र अधिकार भुल्न सक्दैनन्। भावनाको सागर हुन्छ, प्रतिभाको प्रतिमा हुन्छ। के हँुदैन बहिरामा ? केवल श्रवणशक्ति हँुदैन, लबज हुँदैन। तर पनि उनीहरू आँखाले सुन्छन्, मस्तिष्कले देख्छन् र हृदयले बोल्छन्। सबै काममा उत्तिकै सरकि र सफल हुन्छन्। आफ्नो छुट्टै भाषा-सञ्चारको संसार हुन्छ। आफ्नो छुट्टै रंग र उमंगको स्वाद हुन्छ। र, समान अवसर र अधिकार पाउने हो भने प्रतिभा र सीपले कोही पनि अपांग रहँदैन। यो सवलांग भनाउँदा अपांगहरूले बुझ्नुपर्ने गाँठी कुरा हो।
हामीले वनमा भोज मात्र गरेनौँ, वनको शीतल छहारीमा जीवनको मनोरञ्जन पनि प्राप्त गर्‍यौँ। विभिन्न खेलहरू र मनोरञ्जनका कार्यक्रमहरू भए। लामो समयपछि थरीथरी साथीमित्रहरूको भेटघाट पनि भयो। खाइयो, खेलियो, हाँसियो, रमियो। म ती दिदीबैनीहरूलाई सम्झन चाहन्छु, जोसँग मैले जीवनदर्शनका कुरासमेत गरेको थिएँ। उनीहरू कोही सामान्य साक्षर, कोही अर्धशिक्षित त कोही पढ्दै गरेका शिक्षित थिए। स्वावलम्बी बन्न्ा भनी सिलाइकटाइको तालिम लिइरहेका रहेछन्। उनीहरूको भविष्य र जीवन-जगत्प्रतिका धारणा एवं आफ्नो उत्साहमा ऊर्जा थपिने खालका केही रमाइला कुराहरू मैले संकेतमै बुझाइदिएको थिएँ। सुरुमा अपरििचत भए पनि मेरो सहिष्णुतापूर्ण व्यवहारले सबै मप्रति आकषिर्त भएर आफ्नो आत्मीयता दर्शाइरहेका थिए। जन्म नै जित हो र जीवन नै संघर्ष हो। संसारमा दुःख छ, दुःख जहाँ पनि हुन्छ। हामी बहिरा-अपांग छौँ तर हार भन्नु पर्दैन, हार नै जितको सँघार हो। केवल विचार स्वस्थ-बलियो र हृदय उदार छ भने संसार जित्न सकिन्छ। प्रकृतिका उपहार फूल र शूल दुवै सहर्ष स्वीकार गर्न सक्नुपर्छ। यस्तै खालका अनेक कुराहरू मैले गरेँ, एकप्रकारको रोमाञ्च, उत्साह र हर्ष त्यहाँ देखियो। उनीहरू पनि कम्ती त छैनन्, सँगै मिलीजुली बस्दा रहेछन्, सँगै सीपमूलक तालिमहरू सिकी समाजमा अघि बढ्ने प्रतिज्ञा रहेछ ! भविष्यप्रति मोह छ, वर्तमानमा हाँसेर जिउने उत्साह छ र केही नयाँ सिकेर नयाँ गर्ने अठोट छ। उनीहरूको भावना, चेतना र स्वावलम्बीपना देखेर पनि म थप आनन्दित भएँ। दिनभरकिो रमाइलोपछि साँझतिर हामी छुट्टनि पुग्यौँ। एकदिनको आत्मीयता र आनन्द सबैको आत्माले धेरै पछिसम्म पनि भुल्न सक्ने छैन। प्रकृतिको मनोरम छाप हृदयमा टाँसिएर बसिरहन्छ, यो सबै प्रकृतिको कला हो। हामीहरूको जित र आनन्द पनि हाम्रो होइन, सबै समय-प्रकृतिको हो।
त्यसैले जो शारीरकि अंग अपूर्णताका कारण कसैलाई अपांग भन्छ भने त्यसको सोच अपांग हो र त्यो स्वयं अपांग हो। मानिस अंग अभावले होइन, चिन्तनले अपांग हुन्छ, जसलाई हामीहरूले नजिकबाट अनुभव गरिरहेका छौँ। यिनीहरू शरीरले सवलांग होलान् तर यथार्थमा मानसिक अपांग हुन्।

नेपाल साप्ताहिक ४२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *