Skip to content

जहाँ पुरानो युग अन्त्य भएर नयाँ युगको थालनी हुनेछ

  • by


नूतन र पुरातन युगको संक्रमणमा उभिएर
मैले बिजयको हात हल्लाएको त्यो दिन
तिमी आफैं भन्नेछौ
हाम्री छोरी महान छे !!!

मैले कुनै गहन विषय उठाउन खोजेको होइन
महान बन्न खोज्नु मेरो सपना होइन
यति मात्र हो कि,
छोरीलाई तोरीको सागसँग दाँज्ने
तिम्रो मनस्थितिलाई मैले बदल्नै पर्छ
युग-युगसम्म कँज्याउन बनाएको पिंजडाको बार भत्काउनै पर्छ
तर कहाँ त्यति सजिलो छ र ?
मेरा यी जन्मै घाम-पानी नभोगेका
कलिला नङ्ग्राहरूले यो रंगीन फलामे बार भत्काउन
मैले आफ्नो चुच्चो भांचेर भए पनि
हात-खुट्टाका औंला गुमाएर भए पनि
आफूलाई खुल्ला आकशमा उडाउनै पर्छ
युगीन चेतनाको झिल्कोबाट आगो लगाएर भए पनि
दासताको घरलाई डडाउनै पर्छ

जन्म र मृत्यु अपरिहार्य छ –
“सामाजिक संरचनाका लागि
पारम्परिक सम्मानित जीवन जिउनका लागि
बा-आमा अनि हजुरबुबाको लहरमा
आफूलाई उभ्याउनु पर्छ,
नत्र जीवन पूर्ण हुन सक्दैन ” भन्ने
तिम्रो धारणाको प्रत्युत्तरमा
के संतान उत्पादान मात्र जीवनको लक्ष भए, जिन्दगीको अर्थ संकीर्ण हुन्न र ?

तिमी त आधुनिक, विवेकी, शिक्षित मान्छे
कार्यालयमा बर्षौं थुप्रिने पुराना खाताका ढड्डीमा
छोरीलाई तुलना गर्दै हिंड्दैछौ
जो समय बित्दै जाँदा माउ लाग्न सक्छे
तिम्रो सामाजिक प्रतिष्ठामा घाउ लाग्न सक्छे
मैले जस्तै तिमिले पनि ढुंगा र माटोसंग
जीवनको मूल्य खोज्न जानेका थियौ भने
तिमी आफैं भन्ने थियौ –
प्रकृति अजर छ
उर्बर र शक्तिवान छ
त्यसैले त मैले तिम्रो त्यो माउले तर्साएको आँखालाई
तिमीले भन्ने गरेको सामाजिक घाउलाई
स्वतन्त्रताको मलम पट्टीले बाँधेर
समानताको फूल फुलाउनै पर्छ

म तिम्रो कार्यालयको ढड्डीमा च्यातिएको पाना हैन
आगो र पानीको बेमेलमा कच्पचिएको खाना हैन
म त दुई युगलाई समान्जस्य गर्ने पुल हुँ
इज्जतिलो बाटोमा फुलेको सुगन्धित फूल हुँ
तिमीले उपहासको पात्रमा गने पनि
पाइलै पिच्छे भड्खालाहरू खने पनि
मैले आफूलाई त्यो मुक्तीको चुचुरोमा उकाल्नै पर्छ
समाज उत्सर्गको बाटोमा हिंडाउनै पर्छ
बांगा, टिंगा र ढुंगे बाटाको यात्रामा
ठेस लागेर रगताम्मे हुँदा निस्केको संघर्षको मसीले
बिजयको इतिहास लेखाउनै पर्छ
त्यहाँ म इतिहास बनेको दिन
तिमीले अवश्य पनि पद्नेछौ मलाई
स्वतन्त्रता र परिबर्तनका पाना भरि भरि

त्यो दिन मेरी हजुरआमा र आमाले भोगेको
निष्पट्ट कालो रातको बादल निचोरिएर
धर्ती सिंचित हुँदै गर्दा
तिम्रो, उसको अनि मेरो आगनको डीलमा
नयाँ बिहानीको किरणले छाइसकेको हुनेछ
जहाँ,
भोली मेरी छोरीले मलाई माया र सम्मानले सानो उपहार चढाउन खोज्दा
समाजले उसलाई बन्दकीमा गन्ने छैन
सृस्टिलाई निरन्तरता दिने मेशीनको रुप हो भन्ने छैन
अनि उसले तिम्रो दयाको दुई सिता भातको बलमा
बिरह गीत गाउने कठैबरी हुनु पर्ने छैन
किनकि,
त्यस दिन पिंजडाका बारहरू भत्किसकेका हुनेछन्
परम्परित परिभाषा परिस्कृत भएर
छोरी ‘छोरी’ भएर बाँच्न पाउनेछे
जहाँ पुरानो युगको अन्त भएर
नयाँ युगको थालनी भैसकेको हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *