Skip to content


मेरो र मधुपर्कको साहित्य यात्रा उही दशक सुरू भयो । म अलि जेठो हुन पुगेँ । किनभने मधुपर्क जन्मिनुभन्दा केही वर्ष अघिदेखि मेरा रचनाहरू गोरखापत्र तथा रचना र रूपरेखाजस्ता त्यसबेलामा प्रतिष्ठित साहित्यिक पत्रिकाहरू छापिन लागेका थिए ।

मधुपर्कमा छापिएका मेरा कथा, नाम्चे-थ्याङबुचेका यात्रा संस्मरण र कविताहरूलाई पारखीहरूले मैले लेखेका सर्वोकृष्ट रचनामध्ये दरेका छन् । मलाई पनि तेस्तै लाग्छ । यो लेख लेख्ने सन्दर्भमा मेरा कुन कुन रचनाहरू हालसालै प्रकाशित रोज्जा रचनाका सङ्कलनहरू-‘अग्निसूत्र’ (कवितासङ्ग्रह), ‘बर्दी’ (कथासङ्ग्रह), ‘स्थान काल पात्र’ (विविध) मा परेका रहेछन् भनेर हेरेँ । सुखद आश्चर्य-मेरा मधुपर्कमा छापिएका सबै कृतिहरू तिनमा सङ्कलित रहेछन् । यो संयोग मात्र होइन ।

बीस-तीसको दशकमा मधुपर्कमा छापिएका मेरा ‘चील’, ‘जड्याहा, ‘ ‘पटना-७३’ जस्ता कथाहरू र नाम्चे-थ्याङबुचेका यात्रा संस्मरणहरू उल्लेखनीय छन् । यी कथाहरू प्रतिष्ठत संस्थाले प्रतिनिधि भनेका सङ्कलनहरूमा समावेश गरेका छन् ।

लोकतन्त्रको पुनः स्थापनाभन्दा छ महिनाअघि मेरो ‘अग्निसूत्र’ कविता मधुपर्क २०४६ असोज अङ्कमा छापिनु अपवाद हो ।

त्यसका केही पङ्क्तिहरू यस्ता थिए–

अब आगो बर्सन्छ
तिमीहरूले अग्नि-स्नान गर्नु पर्नेछ
अब रगत बर्सन्छ
तिमीहरू रगतमा मुछिने छौँ
रगतका छिटा पर्दा झस्केका अवसरहरू सम्झिँदै
तिमीहरू रगतको नदीमा पौडी खेल्नु पर्नेछ

समग्र कविताको स्वर यस्तै छ । पञ्चायतकालमा सरकारी प्रकाशनबाट यस्तो स्वरको कविता छाप्न कृष्णभक्त श्रेष्ठजस्तो स्वयं उत्कृष्ट कवि र आँटिलो सम्पादकले नै सक्थो । उनले सके । यी अग्रजको म सदा प्रशंसक छु ।

मधुपर्कमा २०४५ सालमा छापिएको मेरो ‘रुख’ कविता प्रज्ञा प्रतिष्ठानको सङ्ग्रहमा सङ्कलित छ ।

वि.सं. २०५१ सालमा काठमाडौँका कुचिकारहरूलाई राम्रैसँग लोकतन्त्र आइसकेको थियो । उनीहरूले लामो हडताल गरेका थिए । सडक र गल्लीहरूमा थुप्रिएका फोहोरका डङ्गुरहरूले काठमाडौँ दुर्गन्धित थियो । म भर्खरै चोभार आदिनाथ उपवनछेउ स्वच्छ वातावरणमा घर बनाएर बस्न लागेको थिएँ । त्यहाँ पनि बागमतीबाट आउने हावाको झोक्काले ल्याउने दुर्गन्धले बसिसक्नु भएन । मलाई असहृय भयो । ‘गु’ शीर्षकमा काठमाडौँको फोहोर वातावरणसम्बन्धी लामो कविता लेखेँ । मधुपर्कका तात्कालीन सम्पादकलाई देखाएँ । उनले भने, “दाइ कविता राम्रो छ तर मधुपर्कमा छाप्न असमर्थ छु ।”

अनि त्यो कविता मदनमणि दीक्षितलाई सुझाव दिनुस् भनेर हेर्न दिएँ । उनले २०५१ सालको अन्तर्राष्ट्रिय वातावरण दिवस ५ मईको अवसर पारेर समीक्षामा छापे ।

केहीपछि हिमाल पत्रिकाबाट काठमाडौँको वातावरणीय फोहोर मैलाबारे आयोजित तीन दर्जनभन्दा बढी फोटोहरूको प्रदर्शनीसँग त्यसै कविताका अंशहरू टाँगियो । र, त्यस कविताका टुक्राहरूबारे नेपाल बाहेक भारतबाट प्रकाशित हुने ‘एसियन एज’ नामक प्रसिद्ध अङ्ग्रेजी पत्रिकामा पनि सप्रसङ्ग छापियो ।

मदनमणि दीक्षित कुलपति भएको बेला अन्तर्राष्ट्रिय वातावरण दिवसका अवसरमा मलाई प्रज्ञा प्रतिष्ठानमा बोलाएर त्यही कविता वाचन गर्न अनुरोध गरेँ । त्यो एकल वाचन थियो ।

मैले त मधुपर्कमा पनि लोकतन्त्र आयो होला भनेर त्यो कविता छाप्न दिने विचार गरेको थिएँ । आएको रहेनछ । कुनै सम्पादकले छाप्न असमर्थता देखाएको त्यो मेरो एक मात्र रचना होला । मेरो त्यो चर्चित कविता मधुपर्कमा छापिएन । त्यसबेला मात्र होइन आज पनि मधुपर्कमा छापिन सम्भव छैन होला । ती सम्पादकको दोष छैन ।

बीस-तीसको दशकमा म निकै लेख्थेँ । मधुपर्क, रूपरेखा, रचना, भानु र अभिव्यक्तिले विशेष आग्रह गरेर माग्थे । स्तरीय पनि तिनै थिए । मेरा तिनताकाका चर्चित रचनाहरू यिनै पत्रिकामा छापिएका छन् । त्यसबेला कुनै पनि रचना सिर्जना गरेपछि कुन पत्रिकालाई दिनु उपयुक्त हुन्छ भनेर सोच्नु पथ्र्यो ।

मधुपर्क बाहेक ती सबै पत्रिका निजी निष्ठा र लगानीमा चलेका थिए । उनीहरू कडा अर्थात् तात्कालीन व्यवस्थालाई बिझाउने खालका रचनाहरू पनि छाप्ने खतरा लिन्थे । मधुपर्कलाई त्यो खतरा लिन संभव थिएन, जुन स्वाभाविक थियो । मधुपर्कलाई निरापद वा अलि प्रतीकात्मक किसिममा रचनाहरू दिने गरेको थिएँ । तापनि नारायणबहादुर सिंहले मेरो ‘चील’ जस्तो कथा सटिप्पणी छाप्ने आँट गरेका थिए ।

मधुपर्क सम्झिँदा म एउटा घटना बारम्बार सम्झन्छु । मैले २०२५(२०२६ सालमा जनकपुरदेखि रामेछाप, दोलखा, नाम्चे, थ्याङबुचे र ओखलढुङ्गाका क्षेत्रहरूमा गरेको एक महिने पदयात्राको विभिन्न प्रसङ्गका संस्मरण लेखेँ । मधुपर्कमा एक दुईटा छापिएर मनपराइएपछि मैले भैरव अर्याललाई एकै पटक अरू दुइटा निरापद किसिममा संस्मरणहरू दिएँ । उनले केही फरक पारेर छापिदिन्छु भने ।

केही महिनासम्म छापिएन । मैले उनलाई कि छापिदिनुस्ा् कि फिर्ता दिनुस्ा् भनेँ । अरू केही महिनासम्म त छाप्छुछाप्छु भने तर पछि हरायो भनेर दुःख व्यक्त गरे । त्यसबेला फोटोकपी गरेर राख्ने चलन थिएन । म किंकर्तव्य विमूढ भएँ । निकै दिन सोचेँ । अनि मैले भैरव अर्याल रातिको सत्रमा ड्युटीमा भएको बेला गोर्खापत्रको कार्यालयमा गएर उनीसँग ‘छिनोफानो’ गर्ने विचार गरेँ । नछापेकोमा होइन, हराइदिएकोमा म क्रुद्ध थिएँ । एक साँझ गोरखापत्रतिर लम्कँदै थिएँ । अकस्मात रोचक घिमिरेसँग भेट भयो । उनलाई मैले मेरो मनसाय र कारण भनेँ ।

“अब के गर्नु हुन्छ त ?” उनले सोधे ।

के गर्थेँ वा गर्दिनथेँ, त्यो अर्कै कुरा हो । रातिको सत्रमा त्यहाँ धेरै मान्छे हुँदैनन् । त्यै मौका पारेर एक पटक झगडा भने अवश्य गर्थें । त्यो कति पर पुग्थ्यो, भन्न गाहारो थियो । भनेँ, “भैरव अर्याललाई ठेगान लाइदिन्छु !”

रोचकले भने, “हा ! तेसो गर्नु हुँदैन । भैरव हाम्रा मित्र हुन् । उनी नयाँ लेखकहरूलाई प्रोत्साहित गर्छन् । कतिका रचनाहरू सच्याएर छापिदिएका छन् । कतिलाई लेखक बनाएका छन् । म सकेसम्म खोज्न लाउँछु । पाइन्छ ।”

तर मेरा ती संस्मरणहरू हराएको हरायै भए । मैले यात्राका तिनै प्रसङ्गहरू फेरि लेखिन । म तातेको थिएँ । रोचकले मलाई मथ्थर पारे । जति चित्त दुखे पनि भैरव अर्यालसँग कटुताभाव राखिन । उनी मेरा अग्रज मित्र नै भई रहे । उनको आत्महत्यापछि मैले उनलाई सम्झेर श्रद्धापूर्वक लेखेको ‘कुकर्मचारी’ कविता ‘रचना’ पुस-माघ २०३८ को ‘भैरव अर्याल विशेषाङ्क’ मा छापिको छ । मेरो हालै प्रकाशित ‘अग्निसूत्र’ कवितासङ्ग्रहमा पनि सङ्कलित छ ।

समग्रमा मेरो मधुपर्क यात्रा अविस्मरणीय रहृयो । मेरो प्रारम्भिक साहित्यिक यात्रामा मधुपर्कको विशेष योगदान छ । ती दिनहरूमा मलाई प्रोत्साहित गर्ने र मेरा ‘लिलाम’ र ‘साविती’ को गहकिलो समीक्षा गरेर मलाई बाटो देखाउने अग्रजद्वय नारायणबहादुर सिंह र भैरव अर्यालको सदा आभारी छु ।

सबैका आफनै सीमा हुन्छन् । मधुपर्कको आफनै सीमा थिए । छन् । हुनेछन् । ती सबै सीमाहरू हुँदाहुँदै पनि यसले नेपाली साहित्यको अभिवृद्धिमा गरेको योगदान स्तुत्य छ । अनेक उपापोहबीच ५०० अङ्क निकालेर प्रतिमान कायम गरेको यस अवसरमा म मधुपर्क परिवारका सुरूदेखिका सबै निष्ठावान् सदस्यहरू प्रति हार्दिक साधुवाद ज्ञापन गर्छु । आगामी दिनहरू अझ बढी फलदायी हुन् । शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *