Skip to content


काठमाडौ, वैशाख ३० –

भनिन्छ, मान्छेको लेखाइको लिपिबाट पनि उसका बारेमा धेरै कुराहरू थाहा हुन्छ रे । आजकल त कम्प्युटरको सहज पहुँचले गर्दा लौ त भन्ने हो भने मानिसहरूले हातले लेख्न बिर्सेजस्तो भइसक्यो । तर, हातले लेखिएका अक्षरहरूको महत्त्व अर्कै हुन्छ । त्यस्ता अक्षरहरूसँग भावना बढी जोडिएको हुन्छ । कम्प्युटरका अक्षरहरू बढी यान्त्रिक हुन्छन् र तिनमा विरक्तलाग्दो एकरूपता हुन्छ । हातले लेखिएकामा एउटै मान्छेको एउटै अक्षर पनि कुनै न कुनै रूपमा भिन्न हुन्छन् । अलि लामो, अलि छोटो, अलि बाङ्गो हुँदा पनि तिनमा त्यही नै सौन्दर्य देख्छन् पढ्ने मान्छेहरूले । हातले लेखिएका अक्षरहरू सजीव हुन्छन् र तिनमा आत्मा हुन्छ पनि भनिन्छ । त्यसैले होला चर्चित व्यक्तित्वहरूका हस्तलेखको छुट्टै महत्त्व हुने गर्छ ।

केही समयअघि आसाम गुवाहटीबाट राजधानीमा हुने एउटा साङ्गीतिक कार्यक्रमका लागि आएकी नेपालीभाषी गायिका अञ्जुदेवीसँग भेट भएको थियो । कार्यक्रममा गाउन गीत छान्ने क्रममा उनी गीत छान्दै थिइन् । आसामकी पुरानी गायिका भएको हुनाले उनको गीतकार हरिभक्त कटुवालसँग सहकार्य भएको थियो । अञ्जुदेवीसँग पुराना गीतहरूको एउटा डायरी थियो । त्यही डायरी पल्टाएर उनी गीतहरू खोज्दै थिइन् । अचानक मेरो आँखा डायरीको बीचमा जतनसाथ घुसारेर राखिएको एउटा पुरानो पन्नामा पर्न गयो । लामो समयले सेतोपन उडेर पहेंलोपहेंलो भइसकेको त्यो कागजमा एउटा गीत हातले लेखिएको थियो । पन्नाको माथि आँखाको चित्र पेनले कोरिएको थियो । डायरीको अर्को पल्टिएको पन्नाले त्यसलाई थिच्नुअघि मैले त्यति कुरा हेक्का गर्न भ्याइसकेको थिएँ । मैले उनीसँग त्यो कुन गीत हो भन्ने जिज्ञासासहित त्यो पन्ना हेर्न मागें । त्यो हरिभक्त कटुवालको अत्यन्तै चर्चित र नारायणगोपालले गाएको गीत रहेछ ।

‘पोखिएर घामको झुल्का, भरी संघारैमा,
तिम्रो जिन्दगीको ढोका खोलूँखोलूँ लाग्छ है !
सयपत्री फूलसँगै फक्री आँगनैमा,
बतासको भाका टिपी बोलूँबोलूँ लाग्छ है !’

इतिहास रचिसकेको त्यति चर्चित गीत हरिभक्त कटुवालको हस्तलेखमा देख्दा मलाई माथि भनिएझैं त्यसको आत्मा देखेको भान भयो । अञ्जुदेवीले त्यति लामो समय जतन गरेर राखेको त्यो पन्नाको फोटो खिच्न मैले अनुमति लिएँ । तर दुर्भाग्यको कुरा मसँग त्यतिबेला गतिलो क्यामरा थिएन । प्रविधिको विकासलाई धन्यवाद दिंदै मैले मोबाइल फोनमा भएको ३ मेगापिक्सेलको कामचलाउ क्यामराले त्यसलाई कैद गर्न भ्याएँ ।

कटुवालले पहिले त्यतिबेला ‘सयपत्री फूलसँगै फक्री सङ्घारैमा’ लेखेर सङ्घारैमालाई काटेर आँगनैमा बनाएका रहेछन् । गीतको पहिलो अन्तरा आँखामाथि लेखिएको छ ।

‘कतिकति आँखाहरू बाटो छेक्न आउँछन्,
परेलीमा वास माग्न कति आँखा धाउँछन्
यति धेरै मानिसका यति धेरै आँखाहरू,
मलाई भने तिम्रै आँखा रोजूँरोजूँ लाग्छ है ।’

कटुवाललाई त्यतिबेला नजिकबाट चिनेका र उनको संगत गरेकाहरूको एउटा भनाइ छ । यो गीत लेख्ने बेलाताका कटुवाललाई एकजना परिचित युवतीका आँखा साह्रै राम्रो लागेका थिए रे । तर, ती युवतीको एउटा आँखा अर्कोभन्दा फरक थियो रे । गीतमा उनले तिनै युवतीका आँखाको वर्णन गरेका हुन् रे । के थाहा, गीतको माथि उनले एउटा मात्र सुन्दर आँखाको चित्र बनाउनुको कारण पनि त्यही पो हो कि !

प्रकाशित मिति: २०६८ वैशाख ३१ ११:५४

Leave a Reply

Your email address will not be published. Required fields are marked *