सम्झना बाढी बढेर आयो
उनकै तस्बिर गडेर आयो ।
बाढुल्की लाग्यो सम्झेछौ भन्थिन
त्यही बेथा मलाई सरेर आयो ।
उनको यादमा जुनलाई हेर्दा
आँखाले आँशु छरेर आयो ।
लौ जान्छु भनी गएको मन
पुगेन अन्त्यै चरेर आयो ।
यो मुटु मेरो अँगेनु भा’थ्यो
खै कस्ले भुंग्रो भरेर आयो ।
निभेन आगो छातीको ज्वाला
घ्यु थप्ने काम पो गरेर आयो ।
तिर्थ”यात्री”पौडेल