मानिसहरूले आफ्ना भनाइलाई रोचक बनाउन वा आफूले बोल्दा कुनै कुरा भुलियो अथवा सम्झिन समय लाग्ने भयो भने अनेक किसिमका थेगोहरू प्रयोग गर्छन् । कसैले “के भने देखिन्” भन्छन्, कसैले “हेरी यहाँ देखि” भन्छन्, कसैले “के भन्छन् त्यसलाई” भन्छन्, कसैले ‘चाहिने जो” भन्छन् । खोमदत्त बाजेले पनि बोल्दा प्राय: “घाँस खाने” भन्ने थेगो प्रयोग गर्थे । उनी त्यस इलाकाको नाम चलेको पुरेत हुन् । उनले न्वारन गरेका शिशुहरू जिल्लाका नेता, अभिनेता, कलाकार, शिक्षक, के भएका छैनन र ? भन्न त आफूलाई ब्यासमा बसेर पुराण भन्ने पण्डित नै हुँ भन्न खोज्छन् । तर खासमा भन्ने हो भने क्त्र्याक कुत्रुक न्वारन, पूजा-सुजा, चण्डी-रुद्रीसम्म चलाउँछन् । उनको अर्को नाम समाज सेवी पनि हो । गाउँमा कुनै झैँ झगडा भयो, कसैको शुभकार्य गर्नु पर्यो, मुद्धा मामिला हेर्नु पर्यो भने खोमदत्त बाजे नै चाहिन्छन् । उनी बोल्दा बडो भाका पारेर तार्किक कुराहरू गर्छन् । सही न्याय निसाफ दिने उनी त्यस भेगका न्यायधिश नै हुन् भन्दा पनि हुन्छ ।
उनको जीउ डाल निकै बान्की परेको छ । कपडा पनि सुकिलै लगाउँछन् । कमिज सुरुवाल, ढाकाको टोपी, जरिकोट, गलामा रातो र सेतो मिसिएको मसिना बुट्टा भएको गम्छा, राता लेस बाँध्ने कपडाका जुत्ता, निधारमा श्रीखण्डको चन्दन र सिन्दूरको रातो टीको, कानका लोतीमा पनि सिन्दुर घस्छन् । उनको कमजोरी पक्ष भनेको चाहिँ दाँत औंसी पूर्णिमामा माझ्ने र हात गोडाका नङ काट्न उधौली उभौली पर्खिने गर्छन् । उनले प्रयोग गर्ने थेगो “घाँस खाने” शब्दले बेला बखत निकै अफ्ट्यारोमा पारेको छ । एक पटक गाउँमा नागरिता वितरण गर्ने टोली आयो । छर-छिमेकीहरूको नागरिकता बनाउन हुद्दा कसेर टोली प्रमुख कहाँ पुगे । टोली प्रमुख सहायक सि डी ओ थियो ।
उसका अगाडि नमस्ते गर्दै भने, “हाकिम साब ! काम अलिक छिटो गरी दिनु पर्यो नि ! यति टाढा देखि मान्छे लिएर आएको छु”…..घाँस खाने भनेपछि टोली प्रमुखको कन्सिरी तातेर आयो र तैले मलाई घाँस खाने देखिस् भन्दै एकै चोटी गालामा इन्द्रेणी पार्यो । सहायक सि डी ओका अगाडि कसैले पनि बाजेको घाँस खाने भन्ने थेगो हो भनेर बोल्न सकेनन् । बोल्यो कि पोल्यो हुन्थ्यो, त्यसैले तै चूप मै चूप गरे । अर्को पटक गाउँको चुनावमा दुई पक्ष बिच झगडा भएर छिमेकी केटाहरूलाई पुलिसले समातेर लग्यो । केटाहरू उकास्न बाजे नै जानु पर्यो । थानाको इन्चार्ज गोबिन्द हवल्दार समक्ष बिन्ति गर्दै बाजेले भने, ”हवल्दार साब ! यी मेरा गाउँका केटाहरू हुन्, केही तल माथि परेमा म जिम्मेवारी बस्छु छोडी दिनु पर्यो …..घाँस खाने भने । हवल्दारले राता आँखा पार्दै भन्यो “ए ख्याउटे बूढा ! म तेरो घाँस खाने रे” भन्दै तीन चार लात्ती भकुर्यो । बाजे मणी झिकेको सर्प जस्तै भएर फर्के । अर्को पटक गाउँमा एउटा भारतीय सैनिकमा कार्यरत मान्छेका अगाडि पनि घाँस खाने भनेर बोलेछन् । उसले पनि “तँ सुलिफ्याँट बूढालाई भलौ कि जान्छस्” भनेर त्यहाँबाट लघारी दियो । बाजेले निकै हण्डर खाएपछि चित्त बुझाउँदै भने, “यो सबै कलि बलेको हो” भुईफुट्टाहरूसँग अब नसकिने भइयो भन्दै घरबाट गाउँतिर निस्किन छोडे ।
एल एन सुवेदी “हस्ती”