मेरो टाउको दुखे दिमागलाई बोझ हुन्छ ।
मलाई सहन गाह्रो भए मुटुलाई बोझ हुन्छ ।
त्यसैले मैले बोल्नैपर्छ , भन्नलाई अब बाँकी राख्दिन ।
दिमाग र मुटुलाई बोझ पार्न छोडी अब सन्तुलनमा ल्याउँछु ।
दुनियाँ यो यस्तै छ ,
राम्रो चिताउनेलाई कसले दिमाग ठीक छ भनेको छ र !
संसारमा सदियौंदेखि यस्तै चलिरहेको छ ।
झूठको खेती गर्ने पो चलाख हुन्छ यहाँ ,
साँचो कुरा गर्ने त सोझो , निमुखा हुन्छ यहाँ ।
दुनियाँ यो यस्तै छ ,
काम गरी खानेलाई सबैले हेप्छन् यहाँ ,
जसले पनि यो गर त्यो गर अह्राउँछन् मात्रै ।
बसीबसी खानेलाई साहू महाजन भन्छन् यहाँ ,
सलाम , नमस्कार , हजूर टक्र्याउँछन् सधैं ।
दुनियाँ यो यस्तै छ ,
नीति नियम पालन गरे धेरै सोझो भन्छन् यहाँ ,
नियम पालन गर्नेहरु कोही छैनन् यहाँ ।
त्यसैले त देशको यो हविगत छ ,
संबिधान नबनाउने षडयन्त्र हुँदैछ यहाँ ।
संबिधान बन्न सक्दैन भनेर खुशिहुने तिमीहरु ।
संबिधान बन्न नसकेकोमा दुःखी हुने हामीहरु ।
१० वर्षो जनयुद्ध गरी राजतन्त्र फालेको हामीले ।
पुरानो निरंकुश युग फ्याली नयाँ युग ल्याएको हामीले ।
अझै निरंकुशतन्त्र ढलेको छैन , तिमीहरुले गर्दा ।
१४ हजार भए शहीद , पचासौ हजार भए अपाङ्ग ।
अझै जनयुद्ध शब्द बोल्न हुन्न भन्छौ तिमीहरु ।
हामीलाई यो स्वीकार्य छैन ।
यदि तिम्रो बोलि फिर्ता लिँदैनौं भने ,
त्यो हाम्रो बन्दूक क्यान्टोन्मेन्टमा राखेर खिया लगाउनु छैन हामीलाई ।
हामीले त्यो रगतसँग साटेको बन्दूक हो ।
रोएका मुहारलाई खुशि तुल्याउँछु भनेर उठाएको बन्दूक हो ।
तिमीहरुले यो बुझे हुन्छ ।
तिमीहरुको जस्तो न्याय दबाउन प्रयोग गरेको बन्दूक होइन यो ।
न्यायको लागि उठेको बन्दूक हो यो ।
त्यसैले बन्दूकलाई सन्दूकमा राख्न सक्दैनौं हामी ।
नोट :- यो कविता साताको कविता स्तम्भमा २०६८ कार्तिक १५ गते मङ्गलवार क्रान्तिकारी आवाज “जनादेश” राष्ट्रिय साप्ताहिकमा पनि प्रकाशित भैसकेको छ ।