Skip to content

उपन्यासमा शीर्षकको पुनरावृत्ति

  • by


१. विषयप्रवेश

शीर्षक जुनुसुकै साहित्यिक कृतिको पहिलो परिचायक हो । शीर्षक कृतिको नामकरण मात्र नभई कृतिको मूल भाव विचारको सङ्केतक पनि हो । शीर्षकबाटै कृतिमा वणिर्त विषयवस्तुको अनुमान गर्न सकिन्छ । शीर्षक अभिधात्मक सङ्केतात्मक, प्रतीकात्मक आदि विभिन्न ढङ्गले राख्न सकिन्छ । अभिधात्मक शीर्षकले सोझो वा शाब्दिक अर्थ बुझाउँछ भने सङ्केतात्मक एवं प्रतीकात्मक शीर्षकले सोझो वा शाब्दिक अर्थ नभएर घुमाउरो वा अन्यार्थ बोध गराउँछ । शीर्षक अभिधात्मक, सङ्केतात्मक वा प्रतीकात्मक जुनसुकै ढङ्गबाट राखिए पनि त्यो कृतिको पहिलो सर्वप्रमुख परिचायक अभिलक्षण भएकाले सामञ्जस्यमूलक, औचित्यपूर्ण र सार्थक हुनुपर्छ अर्थात् कृतिको मूल भाव र शीर्षकका बीच आन्तरिक वा वाह्य सङ्गतिचाहिँ हुनै पर्छ । यसलाई कसैकसैले साहित्यको विधागत तत्त्वको रूपमा उल्लेख गरेको पाइए पनि यो विधाको तत्त्वचाहिँ होइन । शीर्षक रखाइबाटै लेखकको पहिलो परिचय प्राप्त हुने हुँदा यो कार्य निकै सुझबुझका साथ गरिनुपर्छ ।

शीर्षक नयाँ, मौलिक र कसैसँग नमिल्ने खालको हुनुपर्छ । थुप्रै कृतिहरू सिर्जना गर्दै जाँदा कतिपय कृतिका शीर्षकहरू एकअर्कासँग मिल्न गएको पनि देखिन्छ । विधाविशेषका अत्यधिक कृतिहरू सिर्जना हुँदा अध्ययनको कमीका कारण पूर्ववर्ती शीर्षकहरूका बारेमा ज्ञान नभएर शीर्षक पुनरावृत्ति हुनसक्छ । कुनै पनि कृतिको शीर्षक राख्दा विषयवस्तु वा भाव, मुख्य पात्रका नामका आधारमा शीर्षक राख्ने प्रचलन नेपालीमा अत्यधिक रहेको देखिन्छ । यसका साथै ठाउँ वा परिवेश तथा साहित्यिक कृतिको उद्देश्यका आधारमा पनि कतिपय शीर्षकको कृति राखिएको पाइन्छ ।

२. नेपाली उपन्यासमा शीर्षकको पुनरावृत्ति

नेपाली उपन्यासको प्राथमिक कालमा विधागत स्पष्ट स्वरूपयुक्त उपन्यास लेखन नभए पनि गद्याख्यानको अनुवाद-रूपान्तरणका माध्यमबाट उपन्यास लेखनको पृष्ठभूमि निर्माण भएको पाइन्छ । माध्यमिक कालमा अनुवाद-रूपान्तरणका साथै औपन्यासिक ढाँचाका कतिपय मौलिक कृतिको सिर्जना गरी उपन्यास लेखन क्रमशः अगि बढेको देखिन्छ । नेपालीमा मौलिक उपन्यास लेखनको थालनी गिरीशबल्लभ जोशीको वीरचरित्र (१९६०) बाट भएको हो । नेपाली उपन्यासमा रूद्रराज पाण्डेको आदर्शोन्मुख यथार्थवादी उपन्यास रूपमती (१९९१) प्रकाशित भएपछि आधुनिकता सुरू हुन्छ । यसपछि क्रमशः रूपनारायण सिंहको स्वच्छन्दतावादी उपन्यास भ्रमर (१९९३) हुँदै लैनसिंह बाङ्देलको मुलुकबाहिर (२००४) सम्म पुग्दा नेपाली उपन्यासले स्पष्ट आधुनिक स्वरूप प्राप्त गर्छ ।

एक शताब्दी पार गरिसकेको नेपाली उपन्यासका क्षेत्रमा हालसम्म नेपालभित्र र बाहिरका थुप्रै उपन्यासकारका औपन्यासिक कृति प्रकाशित छन् । यस सन्दर्भमा बेग्लाबेग्लै विभिन्न लेखकका उपन्यासमा शीर्षकको पुनरावृत्ति भएको स्थिति प्रशस्त मात्रामा देखापरेको छ । यसरी शीर्षकको पुनरावृत्ति भएका नेपाली उपन्यासलाई वर्णानुक्रममा तल प्रस्तुत गरिन्छ ः

अधुरो सपना
वासुदेव ‘लहर’ अधुरो सपना (२०२४)
काजी प्रधान अधुरो सपना (२०२९)
सिन्धु शर्मा अधुरो सपना (२०६१)

अनुराग
नरप्रसाद थापा अनुराग (२०३०),
दावा छिरिङ लेप्चा अनुराग (२०३४)

अन्तर्द्वन्द्व
सुशीलचन्द्र श्रेष्ठ अन्तर्द्वन्द्व (२०५४)
सीता पाण्डे अन्तर्द्वन्द्व (२०५६)

अभिषेक
दीपक सुवास अभिषेक (सन् १९८०)
निरूपा प्रसून अभिषेक (२०६६)

अर्ध-विराम
सानु अर्ध-विराम (२०६२)
जयनारायण लुइँटेल अर्द्ध-विराम (सन् २००६)

अस्मिता
केदारनाथ आचार्य अस्मिता (२०५७)
उर्मिला सापकोटा अस्मिता (२०६५)

आँसु
एकदेव उपाध्याय ढकाल आँसु (२०११)
ललिता देवान आँसु (सन् १९७७)

आमाको माया
केसु विरही गिरी आमाको माया (२०५७)
विजय सापकोटा आमाको माया (२०६०, बालउपन्यास)

उन्माद
महेश्वर शर्मा उन्माद (२०५१)
ललिता दोषी उन्माद (२०६६)

उपहार
अनिल गुरुङ उपहार (सन् १९८३)
विश्वराज ढुङ्गाना उपहार (२०६६)

उषा
काशीबहादुर श्रेष्ठ उषा -१९९५)
गजेन्द्रप्रसाद आचार्य उषा (२०१९)

कर्तव्य
मोहन दुखुन कर्तव्य (सन् १९७८)
नरेन्द्र श्रेष्ठ ‘केशर’ कर्तव्य

कसिंगर
गीता केशरी कसिंगर (२०३४),
श्रेष्ठ, प्रिया ‘पत्थर’ कसिंगर (२०५३),

कालखण्ड
महेश्वर शर्मा कालखण्ड (२०५१),
सुशीलचन्द्र श्रेष्ठ कालखण्ड (२०५६),

कुमारी आमा
भारती खरेल कुमारी आमा (२०५१)
अनुपम रोशी कुमारी आमा (२०६८)

कोसेली
दुर्गाप्रसाद श्रेष्ठ ‘उपेन्द्र’ कोसेली (२०३१)
प्रसाद कोसेली

जीवनज्योति
सविता श्रेष्ठ ‘बेहोशी’ जीवनज्योति (२०५२)
रुकु कार्की जीवनज्योति (२०६५)

ज्वाला
चन्द्रकान्त आचार्य ज्वाला (२०५७)
रामचन्द्र भट्टराई ज्वाला (२०६४)

दाइजो
आशासिंह दाइजो (२०२६)
प्रसाद दाइजो

नियति
इन्द्र सुन्दास नियति (२०३९)
सदानन्द अभागी नियति (२०६१)

विसङ्गति
असीत राई विसङ्गति (२०३७)
चतुर्भुज तिमिल्सिना विसङ्गति (२०५२)

समर्पण
के.बी. नेपाली समर्पण (२०२३)
भाष्कर/भवानीप्रसाद पाण्डे समर्पण (२०५७)
विश्वगोपाल लम्साल समर्पण

परिवर्तन
खगेन्द्र के.सी. परिवर्तन (२०५१)
अर्जुनकुमार कार्की परिवर्तन (२०५५)

पर्खाल
गोविन्द शर्मा पर्खाल (२०३१)
भीमचरण थापा पर्खाल (२०४१)

पश्चाताप
मायादेवी सुब्बा पश्चाताप (२०२०)
युधीर थापा पश्चाताप (२०४४)
बलराम दाहाल पश्चात्ताप (२०६८, बाल उपन्यास)

पुनर्मिलन
योगेन्द्र तिमिल्सिना पुनर्मिलन (२०२४)
मिला ईङनाम ‘इक्सा’ पुनर्मिलन (२०५९)

पूणिर्मा
माधव भँडारी पूणिर्मा (२०२८)
टीकाराम उपाध्याय ‘निर्भीक’ पूणिर्मा (सन् १९७६)
राजेश्वर देवकोटा पूणिर्मा (२०५४)

प्रतिशोध
विश्वगोपाल लम्साल प्रतिशोध (२०२९)
गणेश प्याकुर्‍याल प्रतिशोध (२०२९)

प्रतीक्षा
अच्युत मल्ल ‘तारा’ प्रतीक्षा (२०२७)
भीमचरण थापा प्रतीक्षा (२०३८)
मुकुन्दहरि ज्ञवाली प्रतीक्षा (२०४४)

प्रायश्चित्त
रुद्रराज पाण्डे प्रायश्चित (१९९५)
मदन खत्री प्रायश्चित्त (२०४१)
गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ प्रायश्चित्त १-२(२०६३/२०६४)
गुनु घर्ती प्रायश्चित्त

प्रतिज्ञा
पवनकुमारी देवी प्रतिज्ञा (२०१७)
बी.बी. के.सी. प्रतिज्ञा (२०२७)

बदला
योगनाथ प्याकुर्‍याल बदला (२०२४)
नारायणप्रसाद पथिक बदला (२०६०)

बन्धन
गोविन्द शर्मा बन्धन (२०२७)
सुजात बन्धन (२०५८)

भाग्यरेखा
कुमार श्रेष्ठ भाग्यरेखा (२०४७)
दुर्गाप्रसाद श्रेष्ठ भाग्यरेखा (२०३०)

भावना
तोयनिधि पौडेल भावना (२०३२)
ऋषिराज बराल भावना (२०३४)
विद्याबहादुर बज्राचार्य भावना (२०६४)

मालती
भागीरथी श्रेष्ठ मालती (२०३४)
के.श्रेष्ठ मालती (२०४३)

माया
भीमचरण थापा माया (२०३१)
चित्र सिकारु माया (२०३९)

मुक्ति
सञ्जय थापा/प्रदीप नेपाल मुक्ति (२०३९)
गीता केशरी मुक्ति (२०४८)

लाहुरे
भारती खरेल लाहुरे (२०५२)
भुसाल राई लाहुरे (२०६९)

प्रतीक्षा
भीमचरण थापा प्रतीक्षा (२०३८)
मुकुन्दहरि ज्ञवाली प्रतीक्षा (२०४४)

लक्ष्य
प्रेम पाख्रिन लक्ष्य (२०४१)
उदय पाख्रिन लक्ष्य (२०६१)

विद्रोह
खड्गबहादुर सिंह विद्रोह-१ (२०११) विद्रोह-२ (२०१३)
भीष्मभूषण सङ्ग्रौला विद्रोह (२०३६)
भीम दाहाल विद्रोह (सन् २००५)
चन्द्रमान कन्दङ्वा विद्रोह

विश्वामित्र

इन्दिरा पसाईं विश्वामित्र (२०५४)
जङ्गबहादुर शाह विश्वामित्र (२०५८)

विश्वास
सुवास घिसिङ विश्वास (२०३३)
गीता केशरी विश्वास (२०५२)

शीला
शङ्कर कोइराला शीला (२०४७)
गुरुप्रसाद शर्मा रेग्मी शीला (२०६१)

संयोग

रामबहादुर राई संयोग (सन् १९७७)
विष्णुबहादुर खडका संयोग (२०३६)
तुलसीराम कुँवर संयोग (२०४५)
नारायण कट्टेल संयोग (२०५२)
छविकिरण वली संयोग (२०५९)

सङ्कल्प
रमेश थापा सङ्कल्प (२०४३)
तुलसीराम शर्मा ‘कश्यप’ सङ्कल्प (२०४५)
ईशा शाह संकल्प (२०४९)

सङ्घर्ष
तुलसीराम कुँवर सङ्घर्ष (२०२४)
श्रीदेव सापकोटा सङ्घर्ष (२०२५)

सपना
गोविन्द शर्मा सपना (२०३२)
लेखनाथ काफ्ले सपना (२०४६)
भक्तराज जोशी सपना (२०५७)

सम्झना
कविराज अर्याल सम्झना (२०४७)
शिवबहादुर श्रेष्ठ सम्झना

सम्झौता
गणेशबहादुर जिसी सम्झौता (२०५०)
भाषा भण्डारी सम्झौता (२०६०)

सीमा
रत्न सुनचेउरी सीमा (२०६०)
प्रकाश कोविद सीमा

३. उपसंहार

कुनै पनि लेखकका कृतिको शीर्षक अर्काे लेखकका कृतिको शीर्षकसँग मिल्नु अधिकांश स्थितिमा संयोग हो । नेपाली उपन्यासमा विभिन्न उपन्यासकारका औपन्यासिक कृतिका शीर्षकको पुनरावृत्ति प्रशस्त मात्रामा भएको देखिन्छ । यसरी शीर्षक एउटै हुनुमा कतिपय स्थितिमा लेखकलाई जानकारी भएको हुन पनि सक्छ र नहुन पनि सक्छ । कतिपय लेखकहरू पूर्ववर्ती वा अग्रज लेखकका कृति पढ्ने काम नगरी आफ्नै धुनमा मस्त हुन्छन् । शीर्षक पुनरावृत्ति हुनुको मूल कारणचाहिँ यही नै हो । जेजसरी भए पनि उही विधाका कृतिमा शीर्षक पुनरावृत्ति हुनु राम्रो मानिन्न । यसका लागि समय, साधन र स्रोतले भ्याएसम्म पूर्वप्रकाशित कृतिहरू पढ्नु अत्यन्त जरूरी हुन्छ । आजको व्यस्त समयमा प्रकाशित सबै पढ्न नभ्याए पनि कुनै पनि साहित्यकारले कम्तीमा पूर्वप्रकाशित कृतिहरूका बारेमा जानकारी राख्नुचाहिँ अत्यावश्यक देखिन्छ ।

आधुनिक नेपाली उपन्यासको अगिल्लो समयमा आदर्शोन्मुख यथार्थवादी, स्वच्छन्दतावादी, ऐतिहासिक यथार्थवादी, सामाजिक यथार्थवादी, आलोचनात्मक यथार्थवादी, समाजवादी यथार्थवादी, मनोविश्लेषणात्मक यथार्थवादी आदि विभिन्न प्रवृत्तिका उपन्यास लेखिएका छन् । पछिल्लो समयका उपन्यासमा गरिबी, महँगी, शैक्षिक बेरोजगारीबाट उत्पन्न युवाहरूका निराशा तथा विदेसिनु पर्दाका पीडाको प्रस्तुति, परम्परा र निरङ्कुशता तथा समसामयिकतासँग गाँसिएका विविध नकारात्मक पक्षको विरोध, विभिन्न समयका राजनीतिक व्यवस्था तथा सशस्त्र युद्धको समर्थन र विरोधको भावाभिव्यक्ति, ह्रासोन्मुख मानवीयता र विघटित मानवीय मूल्यमान्यताको चित्रण, नारी हकअधिकारको पक्षमा वकालत गरी नारीवादी चिन्तनको प्रस्तुतिका साथै नारीप्रति सद्भाव र सहानुभूति प्रकट, भय, त्रास, करुणाजन्य युगीन त्रासद परिस्थितिको चित्रण, दलित, निम्न, हेय र अन्य ठानिएकालाई नायकत्व प्रदान, भूमण्डलीकरण, अत्याधुनिक विद्युतीय सञ्चार तथा साइबर संस्कृतिको प्रयोग, आत्मसंस्मरणात्मक ढाँचाका अनुभवन्यास र सूत्रउपन्यासको सिर्जना, कथ्य र शिल्प दुवैमा विविध खाले प्रयोगका साथ पुनर्लेखनको प्रयत्न, विधाभञ्जन र विधामिश्रणको निरर्थक प्रयोगका साथै कतिपय प्रचारमुखी उपन्यास लेखन, विविध खाले वर्गीय सहभागीको प्रयोग, वर्गीय चेतनाको प्रस्तुति, द्वन्द्वात्मकताका साथै बहुलवादी दृष्टिकोण प्रस्तुत, सामाजिक, राजनीतिक आदिका साथै राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेश चित्रण गरी विविध सन्दर्भबाट युगीन यथार्थको प्रकटीकरण, घटनाप्रधान र चरित्रप्रधान दुवै खाले उपन्यासको सिर्जना, प्रथम र तृतीय पुरुष तथा मिश्रति दृष्टिविन्दुमा विविध खाले वैचारिक उपन्यासको सिर्जना, विभिन्न विम्ब, प्रतीक, मीथ, स्वैरकल्पना, श्यामव्यङ्ग्य आदिको प्रयो भाषा शैली विन्यासगत विविधता, प्रयोगशीलता तथा चेतनप्रवाह शैलीको प्रयोग आदि नेपाली उपन्यासको आधुनिककालको चौथो/पछिल्लो चरणका प्रमुख प्रवृत्ति हुन् ।

मधुपर्क जेठ, २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *