Skip to content

सङ्घर्षकालको पीडा (कवितावाचनको लागि हत्ते हलाइ)

  • by
NirveekRai-06


देवकोटाको सम्झनामा भएको कवितागोष्ठीमा देवकोटाकै बारे लेखिएको (त्यसमा पनि ‘गरिमा’ जस्तो नेपाली साहित्यिक पत्रिकाको सर्वोच्च पत्रिकामा छापिएको) ताजा कविता वाचन गर्ने मौका निस्सै पाइन्छ भन्ने आशाले म सुरिइरहेको ।

चाइनिज जिनको ब्राउन रङको पात्लो ज्याकेटमाथि साङ्लो भिरेँ । हिपहप पत्लुन, बुट आदिमा तयार परेँ । कानमा नीलो पत्थरको इयरङि झुन्ड्याएँ ।

ज्ञानुवाकर पौडेल रुसी सांस्कृतिक केन्द्रको सानो कन्फेरेन्सहलमा भित्रिसकेको । मैले उनीसँग ठ्याप्प हात गाँस्दै कहेँ, “गजलसम्राट भनेमा तपाईँको चित्त दुख्ने होइन त ?” उनले मौनता अप्नाए अनुसार मेरो ठाडो बोली र विनाहैसियत बोल्ने शैलीबाट उनी रिसाएको हुन सक्थे । ‘गरिमा’ मा कविता छापिँदा ठडिएको मेरो घमन्डले गर्दा र नेपाली साहित्यमा उनको स्थान र उनको उमेर मलाई थाहा नहुँदा उनीलाई जौँले हातले प्रणाम जोड्नाको साटो उनीसँग हात गाँस्ने मेरो आँट उब्जिएको हुन सक्थ्यो ।

केही बेरपछि मैले उनलाई बक्स्याएँ, “कवितावाचन गर्ने मौका मिल्ला ?”

“हेर्नु पर्छ ।”उनी झन् के कम्ती ! ‘एउटा कवितावाचन गर्ने मौका जसरी भए नि मिलाइदिनु होस् सर वा दाइ‘ भनेर शिर झुकाउँदै बिन्ती टक्राउनेहरुलाई त समयको पावन्दीले मौका दिएर साद्धे हुँदैन ।

रुसजस्तो ७० वर्ष कम्यनिस्टशासनमा रहेकी लुडभिला साखारोभले देवकोटाको ‘शून्यमा शून्यसरि’ जस्तो चरम असन्तोक पोखिएको र कृष्णलाई सर्वश्रेष्ठ भगवान स्वीकारिएको (जब कि उनले ‘यात्री’ कवितामा मान्छे स्वयम् ईश्वर भएको दाबी गर्छन्) कविताको अनुवाद सुनाउने मन कसरी बनाइन् भन्ने खुलदुली ममा जाग्यो ।

डा. पद्म देवकोटाले मन्तव्य राख्दै, “महाकवि कलकत्तामा उपचार गराएर फर्किँदा नीलो बुशसर्ट लगाएर लट्ठी टेक्दै गौचरनबाट घर आएको याद छ मलाई । जुन बुशसर्ट अझै सुरक्षित छ । उहाँ प्रागकालीन, आधुनिक मात्र नभएर उत्तरआधुनिक कविसमेत हुनुहुन्छ । ‘पागल’ कविता नेपाली कवितामा सबभन्दा पहिलो स्वीकारोक्ति भएको कविता हो । स्वीकारोक्ति एउटा समकालीन विषय वस्तु हो । उहाँको कृति र निजी घर, सामाग्रीको संरक्षण, संवद्र्धनको लागि जनस्तरबाट जे जति चासो, प्रयास भए पनि त्यसको दाँजोमा सरकारी स्तरबाट केही भएको छैन । बिचरो ! सरकार पनि युद्धबाट घाइते अवस्थामा नै छ । महाकवि जति गरिब थिए त्यसअनुसार महान् पनि थिए भन्ने भनाइ गल्ति भइरहेको कुरा म प्रष्ट्याउनु चाहन्छु । आजसम्म पनि महाकविको गरिबीमा महानता देख्ने धेरै छन् । उहाँले आर्थिक रुपमा दुःख नपाएको होइन । उहाँले प्रशस्त दुःख पाएको हो । उहाँजस्तो त्यस जमानामा प्राध्यापक, वकिल र मन्त्रीसम्म भएको मान्छेले नकमाएको भन्न मिल्दैन ।”

मेरो कवितावाचन गर्ने अनुरोधलाई नमान्ने छाँट बुझी ‘गरिमा’ मा छापिएको कविता देखाउँदै मैले ज्ञानुवाकरलाई बिन्ती चढाएँ, “देवकोटासम्बन्धी नै कविता हो । ई यहाँ छापिएको छ । यो भन्ने मौका मिलाउनु होस् न ।”

“मैले पनि पढेको छु, त्यो कविता । थाहा छ ।” कवितातिर हेर्दै उनले भने । उनीजस्तो परिस्कृत स्रष्टाले मजस्तो सिकारुको कविता पिएको मात्र खबर पनि ठूलो कुरा मान्नु पर्छ जब कि ‘गरिमा’ मा छापिएको भए पनि अरुको कविता पिउनु म गार्हो मान्छु ।

मेरो दोहोरो अनुरोधपछि ज्ञानुवाकरले कामना दीक्षितलाई औँल्याउँदै बोले, “उहाँलाई भन्नु होस् ।” उहाँ आफू पन्छिने रुप बुझी मैले अनुरोध तेहेर्याएँ, “तपाईँले नभनी उहाँले नाम राख्नु हुन्न । एक चोटि भनिदिनु पर्यो ।” कवितावाचन गर्दा के लछरपाटो लाग्ने र ! भन्ने झोकलाई थुमथुम्याउँदै अन्तिम पुकारा गर्दै गिडगिडाएँ । मेरो हत्ते हलाइबाट आजित भएर मेरो नाम लेख्ने आदेश ज्ञानुवाकरबाट कामना दीक्षितलाई भयो ।

माइकमै थुतुना जोतेर म गर्जिने थालेँ, “महाकवि लक्ष्मीप्रसाद देवकोटा बौलाउनु भा’को नै हो । त्यसमा म पनि सहमत छु । तर उहाँ यसरी बौलाउनु भो, यसरी बौलाउनु भो, यसरी बौलाउनु भो कि साहित्यसिर्जनामा लाग्दा घरव्यवहार बिग्रेको पनि पत्ता पाउनु भएन । रामप्रसाद ज्ञवालीको भनाइअनुसार उहाँ अहिलेको हिसाबमा हो भने एकडेढ लाख रुपियाँ ट्युसनबाट नै कमाउनु हुन्थ्यो । तर सधैँ आर्थिक अभावमा उहाँले छटपटिनु पर्यो । हुन त कल्पनाशील उहाँको शक्तिलाई अझ शक्तिशाली बनाउनको लागि ती कष्टपूर्ण क्षणहरुको अहम्भूमिका भएको हुनु पर्छ । अनिदो हुँदा मलाई पनि कविताको प्लटहरु फुर्ने गरेको छ । सम्पन्नताले हुने भए देवकोटामा भन्दा बालकृष्ण सममा सिर्जनाको मुहान फुट्नु पर्ने हो ।”

“लामो कुरा होइन,” ज्ञानुवाकरले मलाई सचेत गराए । उनले मलाई त्यसो गर्नु ठीकै थियो । दुई मिनटको कविताको लागि चार मिनट भूमिका (भाषण) छाट्नु थाल्दा (विनाहैसियतको मान्छेले) श्रोताहरुलाई झिजो र पट्यार स्वतः लाग्ने भयो ।

“सरी ! देवकोटाजस्तो हुदुङ्र्गे नहुनु तर साहित्यसिर्जनाको लागि समर्पित हुनु उहाँ रोयल मोडेल (रोल मोडेल भन्नु पर्नेमा) को रुपमा मेरो मानसपटलमा छापिइसक्नु भएको छ ।”

देवकोटाको बारे कविता हुँदासमेत चौहर्याएर बिन्ती चढाउनु परेको कारणले मच्चिएको रिसमा त्यसैमाथि माइकमै मुख जोती वाचन गर्दा लिलामणि पोखरेल राजनीतिक भाषणमा गर्जिएजस्तो खरो स्वरमा म गर्जिँदै थिएँ । स्वाभाविक रुपमा फीलिङमा डुबेर वाचन गर्दा बेग्लै मजा दियो । जीवनमा सबभन्दा पहिलो चोटि गतिलो माइकबाट गतिलो हलमा गतिलो स्रष्टाहरुको सामु कविता भन्ने अवसर मिलेकोमा सन्तोषले बाँचिरहेको थिएँ ।

कार्यक्रम टुङ्गिएर सहभागी र श्रोताहरु हुलुलु निस्किरहेको हूललाई चिर्दै डा. गोविन्दराज भट्टराईसामु पुगी आफ्नो हत्केलाहरु जोड्दै बोलेँ, “दाजु नमस्कार है । फोटोमा हेर्ने गरेको र अस्ति सोल्टीहोटलको कार्यक्रममा प्रत्यक्ष हेरेको भए पनि आज झट्ट चिन्न सकिएन । पद्म देवकोटासँग कुरा गरिरहेकोमा हाँसिरहनु भा’को देख्दा तपाईँ हो कि भन्ने शङ्का लाग्यो ।”

”अनि कता हुनु हुन्थ्यो भाइ ? ठीकै छ चिनाजाना भो । के गर्नु हुन्छ ?”

”देवकोटाको बाटो लागेको वर्षी पुग्न लाग्यो । साहित्यसाधनामा होलटाइमरवाला छु ।”

उनीजस्तो चालु र चर्चित समीक्षक तथा स्रष्टालाई नमस्कार जोड्ने र उनीसँग कुरा गर्न चाहनेहरुको धुइरो लाग्यो ।

एक जना अधबैँसे मान्छेले नास्तामा पाँजिएको हूलबाट निस्किएर बोले, “कविता भन्नु भन्दाअघिको तपाईँको भूमिकाले कविताको भावलाई खुब राम्ररी प्रष्ट्याएको थियो ।” मेरो लामो भूमिका बुनाइले हरेक श्रोतालाई झिजो नलागेको पाएँ ।

”कविताभन्दा लामो भूमिका भनेकोले श्रोतालाई दिक्दार भयो कि भन्ने मलाई डर थियो । त्यसो भए राम्रै भएछ ह कि । तपाईँको मूल्याङ्कनप्रति म कृतज्ञ छु । यति भनि दिनुु भा’कोमा मलाई धेर खुसी लाग्यो ।”

मैले उनको परिचय चाहँे, ”तपाईँको नाम के पर्यो ?”

“वीरेन्द्र्र लोहनी ।”

“घर कता ?”

“डिल्लीबजार ।”

ज्ञानुवाकर पौडेलको मुखबाट यो भनाइ निस्कियो, “बुद्धिसागर चपाईलाई मैले यसै मञ्चमा कवितावाचन गर्ने मौका दिएर कवि बनाएँ तर अहिले निम्तो दिँदा पनि आउन छाड्यो ।” त्यसरी कसैको निगाहले मञ्चबाट कविता फुकी कवि हुन बल गर्नु पनि मलाई बित्थामा लाग्यो । कथम्कदाचित भविष्यमा म कवि दरिए पनि अरुको योगदानको प्रसङ्ग जोडिनाले मजस्तो स्वाभिमानी र आत्मनिर्भतावादीको स्वाभिमानमा ठेस लाग्नेछ । तर भाउ खोजिरहे पछाडि छाडिने सम्भावना छ । त्यसैले आवश्यक मात्रामा तँछाडमछाड गर्दै मैले सार्वजनिक हुने र चिनिने कोसिस गर्नु परेको छ ।

फेरि गोविन्दराज भट्टराईसँग भएभरको बातचित निर्खान म तम्सिएँ । उनको पुस्तकहरु ‘पश्चिमी बलेसीको बाछिटा’, ‘काव्यिक आन्दोलनको परिचय’ र ‘उत्तरआधुनिक ऐना’ पिउँदा रोचक लागेको जनाएँ ।

“तपाईँको काव्यिक आन्दोलन पढ्दा मलाई त्यस्तो पट्यार लागेन जस्तो इन्द्रविलास अधिकारीको ‘पश्चिमी साहित्यसिद्धान्त’ ।” अर्कालाई नराम्रो देखाई उनलाई राम्रो देखाएँ । मलाई लागेको सत्यता त्यस्तै थियो त ।

“हुन त उहाँ मेरो गुरु हुनुहुन्छ । आआफ्नो भिन्न लेखन शैली हुन्छ । भाइलाई मेरो मन परेको मात्र हो ।” त्यस्तै अर्को कुरौटे बेहोरा देखाएँ, “ताना शर्माले त उत्तरआधुनिक पक्षधरलाई ‘ढेडु’ नै भनी हाले । प्रदीप नेपाल र खगेन्द्र संग्रौलाजस्ता प्रगतिशील लेखकहरुले समेत उत्तरआधुनिकता पनि पछ्याएको उदाहरण तपाईँले दिइसकेपछि ‘त्यसको प्रमुख लक्ष्य नै माक्सवार्दको विरोध गर्नु हो’ भनेर निनु चापागाईँले दाबी गर्नुमा तुक छैन ।”

“बिरोध गर्नेले गर्दै गर्छ । समय आफ्नो गतिमा बगिरहन्छ भाइ ।”

मजस्तो सिकारुले उमेरमा मात्र पाको नभई साहित्यिक यात्रामा पनि चुली टेकिसकेका उनीजस्ता आदर्णीय स्रष्टाको कमजोर पक्ष हाकाहाकी औँल्याउने दुस्साहस मैले गरेँ, “‘उत्तरआधुनिक ऐनामा’ भारेभुरे कविहरुलाई पनि तपाईँले अनावश्यक बढाइचढाइ गर्नु भए छ ।”

“त्यसो होइन भाइ । ती कविहरु सबै गतिला छन् ।” उनी लगत्तै प्रतिवादमा उत्रिए ।

“समालोचना गर्दा कमजोर पक्ष पनि खुट्ट्याइ दिएको भए समालोचकसँग कविले चित्त दुखाए पनि उसले सुधार्ने मौका पाउँछ । त्यसो गर्दा कवि टेढिने सम्भावनाले समालोचकलाई घाटा पनि छ भने अर्कोतर्फ समालोचनामाथि पाठकले विश्वास गर्ने सम्भावना भई नाफा पनि । हुन त समालोचकले देखाएको त्रुटिमा कवि सहमत हुनै पर्छ भन्ने अनिवार्य छैन । तर समालोचकले कृतिको नकारात्मक पक्ष पनि केलाई दिएको पाठकले हेर्न पाए ‘लगातार गुलियो मात्र खाइरहनाले मोनोटोनस भइरहँदा अमिलो, तीतो र टर्रो पनि खाँदा स्वादिलो भए वा स्वाद फेरिए जस्तो’ मजा लाग्नेछ । त्यसो गर्दा कवि रिसाउँछ कि भन्ने तपाईँलाई डर लाग्छ ? भ्वाक्कै प्रश्न ठड्याएँ ।

“किन म डराउने ? नराम्रो कुरा औँल्याउने अरुको काम हो । म राम्रो कुरा मात्र औँल्याउन उचित ठान्छु । नराम्रो त नराम्रो नै भइहाल्यो नि । त्यसलाई कोट्याएर अर्थ छैन ।” उनी खरो प्रतिवादमा उभिए । चिनापर्ची साटेकै दिन यस्तो पाराले म उनीसँग बोल्ने आँट र इच्छा गर्नुको कारणहरुमा मेरो पचमुखे बानी मात्र जिम्मेवार नभएर मैले अन्दाज गरेको भन्दा विपरीत उनमा सरलता पाउनु समेत हो । विद्यावारिधि उपाधि धारी, कीर्तिपुर क्याम्पसको असिसटेन्ट डिन, व्यस्त समालोचक र धेरै कृतिहरु चाङ लगाइसकेका उनीजस्ता प्रतिष्ठित स्रष्टा गजक्क परी कुरा गर्लान् भन्ने मेरो अनुमान र डरले फिस्सु खायो ।

सबै जना रुसी सांस्कृतिक केन्द्रको परिसरबाट बाहिरि सकेको । हामी दुई जना मात्र साहित्यिक भलाकुसारी गरिरहेको अवस्था मेरो लागि खुब महत्वपूर्ण र गौरवशाली थियो कि उनको लागि जे भए पनि । आफू ननफिक्सन राइटर बन्ने लक्ष्यले सुरिएअनुसार कविताको बाहेक संस्मरणात्मक निबन्धको पाठक भएको बताएँ । पढ्नु माफिक लेखकको नामावली उनले भट्याउँदा ध्रुवचन्द्र गौतम, अमर नेम्बाङ, अम्बर गुरुङ, गणेश रसिक आदि पारे ।

“आघुङतिर दाजुलाई भूमिका लेख्ने लेठा लाउने विचारमा छु तर मेरो कृतिको कमजोर पक्ष पनि नखुट्टयाई दिए तपाईँको भूमिका राख्दिनँ नि ।” ‘कस्तो अकटिलो मान्छे फेला पर्यो’ भन्ने उनलाई लागेको हुन सक्थ्यो ।

२०६४ साल मार्ग १३, नोबेम्बर २००७

Leave a Reply

Your email address will not be published. Required fields are marked *