Skip to content

चार आश्चर्यको रहस्योद्घाटन

  • by


‘उनको कविता कसरी त्यत्रो पत्रिकामा एकाएक छापियो? त्यो पत्रिकाको स्तर धान्ने त होइन त्यो कविता !’ महिला भएर होला – कसैले तर्क तेर्स्यायो । महिला त अरु पनि छन् नि– अर्कोले मुख फोर्यो । स्थानीय साहित्यकर्मीहरू आश्चर्यचकित हुँदै रहस्यको गर्तभित्र हराए । वर्षभरि प्रकाशित पत्रिकाका कविताहरूमध्ये उनको कविता सर्वोत्कृष्ट भएर पुरस्कार पाइन् । स्थानीय साहित्यकर्मीहरू दोस्रोपटक अझ ठूलो आश्चर्यमा परे । त्यो पुरस्कार र सम्मानप्रति नै अमिलो वितृष्णा जागेर आयो । एक वर्षपछि त्यही पत्रिका निकाल्ने प्रकाशन संस्थाले उनको कवितासङ्ग्रह छापेर बजारमा ल्यायो ।

‘ए बाबा नि ! के जादु भयो ? त्यत्रो गरिमामय प्रकाशन संस्थाले पनि यस्तो गर्दो रहेछ ।’ अब भने स्थानीय साहित्यकर्मीहरूको त्यो प्रकाशन संस्था (राष्ट्रिय) प्रति मोहभङ्ग भयो । तेस्रोपटक सबैजना कञ्चनजङ्घा हिमालजत्रै आश्चर्यमा परे ।

फेरि एकवर्षपछि, वर्षभरिमा त्यो प्रकाशन संस्थाबाट प्रकाशित पुस्तकहरूमध्ये एउटा सर्वोत्कृष्ट पुस्तकले पाउने पुरस्कार पनि उनकै भागमा पर्यो । यो चौथो आश्चर्य त सगरमाथाजत्रै भएर आममान्छेलाई सपनातुल्यै लाग्यो ।

साहित्यिक बजारमा यी चार क्रमिक कार्यहरू पाच्य भएनन् । भगीरथ प्रयत्नमा यी चार आश्चर्यको कारण खोजियो । अन्तमा रहस्योद्घाटन भएरै छाड्यो– कविता छाप्ने सम्पादक कवयित्रीका भिनाजु रहेछन् भने प्रकाशन संस्थाका प्रमुखचाहिँ मामा !

रामविक्रम थापा
फाक्टाङ–२, खोटाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *