Skip to content

लुटिएको अस्मिता


शहर कुनाको दुई तले घरको तल्लो तला ! माथिपट्टि सेतो बोर्डमा निलो अक्षरले लेखिएको थियो– “मेरी स्टप सेन्टर” । प्रायः ओहर दोहर गर्ने क्रममा देखिराखेकै परिचित ठाउँ भए पनि नियालेर खासै वास्ता गरिएको थिएन । तर आफ्नो गन्तव्य त्यहीसम्मको हुने निश्चित भएपछि नियालेर हेर्न बाध्य भए म । एकै छिनमा मेरा आँखा त्यही बोर्डमा ढोक्किन पुग्छन् । ठिक त्यही अगाडि बस रोकाउँछु र ओर्लिन्छु गाडीबाट । मसँगै एक जोडी अर्को पनि ओर्लियो । मैले अडकल गरे उनीहरू पनि मेरै जस्तो विखलबन्दमा थिए शायद र त हतार हतार त्यही बोर्डमा आँखा दौडाउँदै हानिन्छन उतै । म पनि उनीहरूकै पद्चाप पछ्याउँदै पछि–पछि लाग्छु ।

अपराधीको जस्तो भारी मन लिएर ढोकामा प्रवेश गरे । त्यो क्षण आफै भित्र निकै डर लागिरहेको थियो । सोच्न थाले “कतै परिचित अनुहार पो भेटिन्छ कि ?”

निकै बेर आँखा दोडाएँ मैले यताउता । तर सुदुर गाउँबाट शहरमा अवतरण भएकी म । यो विरानो शहरमा मैले चिनेका अनुहार कति नै पो थिए होलान् र ? सबै नौला नै थिए । सबैका आफ्नै समस्या । कसैलाई कसैको अनुहार हेर्न फुर्सद नै थिएन् । म पनि मिसिएँ, त्यही व्यस्त जमातमा ।

अघि भर्खर सँगै गाडीबाट ओर्लिने जोडी दर्ता कक्षबाट बाहिरियो । मेरो पालो थियो । म भित्र दर्ता कक्षमा छिरे । त्यहाँ एउटी २४, २५ बर्ष जत्तिकी लाग्ने सुन्दर नर्स थिइन् । उनले मलाई सामनेको कुर्सीमा बस्न आग्रह गरिन् । म थचक्क बसे ।

उनले सोधिन् –“तपाईको नाम ?”

“सुस्मिता”

“उमेर ?”

“अठार वर्ष ।”

“म्यारिड हो ?”

“होइन, अनम्यारिड ।”

“कोसँग आउनु भएको छ ?”

“कोही छैन, म एक्लै नै आएको ।”

“सरी बहिनी, अभिभावकको अनुमति बिना हामी तपाईलाई एड्मिट गर्न सक्तैनौँ ।”

नर्सको कुरा सुन्दा मन खग्रङ्ग भयो । ओठ मुख नै सुक्यो एकछिन त । कत्रो ठूलो हिम्मत बटुलेर एकल निर्णय गरी त्यहाँसम्म पुगेकी थिए म । मैले मेरो समस्या नर्सलाई बुझिदिन अनुरोध गरे ।

पहिले त सुन्न मान्दै मानिनन् । हुन त स्वभाविकै थियो । म जस्ता परिस्थितिले चिथोरेको महिला त पचासौँ आउँछन होला । सबैका कुरा सुनेर साध्य पनि हुदैन थियो होला । तर मैले निकै अनुनय गरे । अन्तमा सुन्न मन्जुर भइन् । मन खोलेर बक्न सुरु गरे मैले मेरो यर्थात सबै । एउटी महिलाको पीडा पहिलाले नै बुझ्न सक्छिन् । “सरिता सिस्टर” जसले बहिनी सम्झेर मलाई त्यो दलदलबाट उम्काएर जिन्दगीभर तिर्न नसक्ने गुन लगाईन, उनै नै थिइन् मेरो साक्षात भगवान ।

दर्ताको प्रक्रिया पूरा गरेर मलाई सरिता सिस्टरले अर्को कक्षमा लगेर गइन् । एक छिनपछि औषधि खान दिइयो । मैले खाएँ । त्यही क्युरेड कक्षको बाहिर पालोमा बस्न लगाएर आफू दर्ता कक्षमा फिर्ता भईन् । पालोको प्रतिक्षामा बस्दा एक्लै मनका तर्कनासँग निकै नै रुमाल्लिए म । युद्धमा जान थालेको फौजीको जस्तो भारी मानसिकता बोक्दै छटपटिए एकछिन त । मलाई त्यहाँ प्रवेश हुँदाको डर अर्कै थियो भने एडमिट भई सकेर त्यो पालोमा बस्दाको डर भिन्दै किसिमको थियो । एकातिर आमा बन्न पाउने सौभाग्यलाई गुमाउँदै थिएँ । अर्कोतिर शिशुको जन्म सिद्ध अधिकारलाई खोसिराखेकी थिए । अझैँ आफ्नो स्वास्थ्यमा पर्न जाने प्रतिकुल प्रभाव बढी विकरात भएर ठगिएको थियो मेरो अगाडि । न त कानुनसम्मत नै थियो मैले चालेको कदम । उफ ! कस्तो परिस्थितिको सिकार भएछु म ? हात खुट्टा त त्यसै गलेर पानी पानी भएका थिए ।

जसको कारण म त्यो परिस्थितिको कठ्घरामा उभिएकी थिए । अचानक उसैको हुलिया सम्झिन पुगे र सम्झिन पुगे, त्यो दिनको दृश्यलाई अनि उसको त्यो राक्षसी प्रवृत्तिलाई । थुक्न मन लाग्यो उसको अनुहार सम्झिदा र निचोर्न मन लाग्यो उसको नासोलाई । मनमा विद्रोहको भाव उत्पन्न भएपछि डर हराएर जाँदो रहेछ । हो, त्यतिवेला मलाई त्यस्तै भयो । मनमा पलाएको डर त उसको सम्झाइले विद्रोहमा परिणत भयो । मानसिकता कठोर भएर आयो । सोच्दा सोच्दै पर्खाईको घडी समाप्त भएको संकेत सरिता सिस्टरले दिएपछि झस्किए म । सिस्टरले मलाई क्युरेट कक्षमा लगेर गइन् । मेरो गार्जेन बनि दिएकी थिइन् तिनै ‘सरिता सिस्टर’ ।

भयले गिजोलेको थकित शरीरलाई हस्पिटलको बेडमा ओछ्याएँ । जे जे डाक्टरले गर्न भने मैले त्यस्तै गरे । पीडा त खप्नै नसकिने गाह्रो भयो । तर पनि आँखा बन्द गरी बेजोडले दाँत बाँध्दै दुखाईलाई सहे । पन्ध बीस मिनेटपछि काम सकियो । सरिता सिस्टरले मलाई अर्कै कोठामा लगेर गइन् । रेष्ट गरे केही समय । त्यो समयावधिमा मलाई मेरो स्वास्थ्यको बारेमा उचित परामर्श दिइन् सिस्टरले । छुट्टिने बेला आयो । उनको मोवाईल नम्बर मागे मैले । भन्दै थिइन, “बेला बेलामा भेट गर्दै गर्नु है सुस्मिता ! केही पर्यो भने कल गर्नु । आफ्नो स्वास्थ्यको ख्याल गर्नु ।”

सिस्टरले यति भनिरहँदा मेरो आँखा रसाएर आए । मन थाम्न सकिन । क्वा क्वा रुन मन लाग्यो । उनी भन्दै थिईन, “नचाहेरै पनि हामी महिलाहरूले यस्तो परिस्थितिको सिकार हुनु पर्दछ । डटेर सामना गर्नुपर्छ र सम्झौता गर्नुपर्छ हर चुनौतिहरूसँग । काँतर मानसिकता कहिले नपाल्नु मनमा । लल्जावती जस्तो लरक्क नपरि यी समाजका जंगली काँडाहरूसँग पौठेंजोरी खेल्ने शाहस आँट र बटुल्नु पर्छ हामीले ।”

यस्तै गरी सम्झाउदै मलाई डोर्याएर ट्याक्सीसम्म छोडिदिइन् उनले । छुट्टीने बेलामा मायालु अंगालोमा कसेको अहिले नै हो कि जस्तो लाग्छ । बिदाइका हात हल्लायौ हामीले । हेर्दाहेर्दै छिनभर मैं म बसेको ट्याक्सी ओझेल पर्यो । फर्किए म पहिले देखि बस्दै गरेको होस्टेलमा, जुन क्याम्पस नजिकै थियो ।

निकै नै ठूलो विश्वास गरेर बाबा आमाले मलाई सुदुर गाउँबाट शहरको भीडमा पढ्न पठाउनु भएको थियो । प्राइभेट गर्ल्स होस्टलमा साथीहरूसँगै बस्थ्ये म । घरकी एक्ली छोरी र खुबै लाड प्यारमा हुर्किएकी पनि । अहिले पनि बाबा आमा मलाई त्यत्ति नै माया गर्नुहुन्छ । जति पहिला सानोमा गर्नुहुन्थ्यो । गाउँमा अरुको भन्दा बाबाको परिचान छुट्टै थियो । बाबा हाईस्कुलको प्र.अ. हुनुहुन्थ्यो । त्यसैले हाम्रो परिवार अरु गाउँका छिमेकी भन्दा सबै कुरामा फरक नै थियो । खानपिन लवाई खवाई देखि लिएर सेवा सुविधा मेरा दौतरी भन्दा मलाई गुणस्तरीय नै थियो । हरेक बिहान विद्यालयको दैलो कुल्चिदासम्म सँगैका साथीहरूले जंगल चहारेर एक भारी घाँस घरमा बिसाएर आउनु पर्थ्यो । तर मलाई मेरो बाबाले कहिले अराउनु भएन त्यो सबै । मेरो एउटै काम थियो, पढ्ने मात्रै । मेरो लगनशीलता र बाबाले सृजना गराई दिनु भएको घरको बातावरणले मैले प्रबेशिका परीक्षा डिस्टिन्क्सनले पास गरे । बाबाको मलाई ईन्जिनियर बनाउने धोको थियो । त्यसैले ठूलै सपना सँगालेर राजधानीको नाम चलेको कलेजमा चर्को शुल्क तिरेर मलाई भर्ना गर्नु भएको थियो । बसाई प्राइभेट गर्ल्स होस्टेलमा थियो मेरो ।

कलेजमा पनि मेरो पढाई राम्रै चलिराखेको थियो । मेरो लगनशीलता र पढाईकै कारण छोटो समयमा धेरै साथीले मलाई चिन्थ्ये पनि । कलेजमा प्नि शिक्षकहरू माया गर्नुहुन्थ्यो मलाई ।

१२ कक्षाको बोर्ड परिक्षा नजिकिदै थियो । कलेजमा कोर्स सकिसकेको थियो । धेरै साथीहरू ट्युसन पढ्न जान्थे । बाँकी घरमै बसेर बोर्डको तयारी गरिराखेका थिए । म पनि कोठा मै बसेर पढ्थे । पढ्दै जाँदा साईन्स न्युमेरिकलमा मलाई समस्या भयो । साथीहरूकोमा जानु भन्दा कलेज मै सरसँग सोध्न जाँदा उचित होला जस्तो लाग्यो मलाई । त्यसैले कलेजमा नै गएँ । फिजिक्स पढाउने सरसँग भेट भयो । जो हामीलाई दुई बर्ष देखि पढाउँदै आइरहेका थियो । हेर्दा सभ्य व्यक्तित्व लाग्ने अविवाहित थिए उनी । मैले मेरो समस्या बारे कुरा गरे तर आफू व्यस्त भएको र साँझतिर मात्रै फुर्सद हुने कुरा गरी मलाई आफ्नै कोठामा आउन भने । म खुशी भएर फर्के । अलि धेरै समस्या बोकी दुई तीन दिन बिराएर पढ्न जान थाले ।

दुई बर्षसम्म पढाएको शिक्षक मलाई त्यसैले धक लाज केही पनि लाग्दैन थियो । विद्यार्थीले पथ प्रदर्शक शिक्षकमाथि निकै भरोसा र बिश्वास राखेका हुन्छन् । हो, मैले पनि एउटा विद्यार्थीको नाताले विद्यार्थीले शिक्षकलाई गर्नु पर्नेसम्मान र माया गरेथें । तर कुरा अर्कै भयो । ‘म ताक्छु मुढा बन्चरो ताक्छ घुँडा’ भने झैं भयो । समाजमा सभ्यको पदक विभुषित शिक्षक भनाउँदो शिक्षक नामको कलंकले त ममाथि गिद्दे दृष्टि बर्साएको रहेछ । जसको परिणाम स्वरुप मैले मेरो अस्मिता गुमाउनु पर्यो । मेरो किशोरीपनाको फाइदा उठाउँदै मनपरी मलाई बलत्कार गर्न पुग्यो ।

म प्रतिकार गर्न असमर्थ भए त्यतिवेला । धेरै कुराले रोक्यो मलाई । बाबाको प्रतिष्ठा आमाको नाक, म स्वयंमको ईज्जत अनि म माथिको विश्वास र भरोसा । यस्तै–यस्तै थुप्रै कुराहरू बने बाधक । मेरो बदनामीका खातिर आवाज उठाउन नमिल्ने म छोरी मान्छेलाई । ईज्जतको तरलता बग्न दिनु हुन्नथ्यो, त्यसैले हल्लिन पनि दिइन् मैले । सोच्न थाले “कतै पोखिई पो हाल्छ कि !”

बर्षभरिको अथक मेहनत अनि भविष्यका बारेमा सजाईएका सुन्दर सपनाहरू सबै चकनाचूर भई मेरै वरिपरि छरपस्टिएर पोखिए । म असमर्थ थिए ती टुक्रा टुक्रीलाई बटुलेर जोड्न र सक्तिन थिएँ त्यो हर्कत सबैका सामु उदाङ्गो पार्न । बोर्ड परिक्षाको मुखमा थिलथिलाएको बलित्कृत शरीर अनि बिग्रिएको मानसिकता पालेर धेरै दिनसम्म होस्टेलको बेडमा थला परें म । मेरो व्यथा न साथीहरूसँग बाड्न सक्थे न त घरमा सुनाउन नै सकें । त्यो होस्टेलको मेरो बेड अनि त्यही तकिया मात्रै साक्षी छन् । धेरै दिनसम्म त्यति दृष्यले पछ्यायो मलाई । कति दिन त राती सपनामा समेत अत्तालिएर कराउँदै बेडबाट लड्न पुगें ।

शारीरिक र मानसिक असक्तताले गाँजेको कमजोर शरीर लिएर परीक्षामा उपस्थित् भएँ र सबै सकाएँ पनि । तर चाहे जस्तो राम्रो गर्न सकिन । केही दिनमा परीक्षा सकियो । म पनि अलि फ्रेस हुदै गएँ । त्यो दृष्यलाई बिर्सिन प्रयत्न गर्न थाले बिस्तारै । महिनावारीको दिन नजिक आयो । तर हुने केही लक्षण पनि देखिएन । मनमा फेरि चिन्ता थपियो । डेट क्रस भएको पनि एक हप्ता भई सकेको थियो । के गर्ने गर्ने ? रातीभरि निन्द्रा लाग्दैन दिउँसो पनि छट्पट् मात्रै हुन्छ । केही सोच्न नै सक्तिन । एक दिन निक्कै सोच विचार गरी आफूले पढेको अनुसार प्रेगनेन्सी टेष्टका लागि युरिन टेष्ट गर्न दिने निर्णय गरे । आफैँले लगेर नजिकैको हस्पिटलको ल्यावमा टेष्टका लागि दिएँ । बेलुकी रिपोर्ट आयो, “प्रेगनेन्सी पोजेटिभ” भनेर । म त छांगाबाट खसे झै भए त्यो क्षण । एउटा घाउ राम्रोसँग निको हुन नपाउदै फेरि त्यसैमाथि अर्को बज्रपात थपिन पुग्यो । रन्थनिदै सरासर होस्टेलमा फर्किए । पटक्कै खाना खान मन पनि लागेन् त्यो दिन । रातैभरि खुब सोचें एक्लैले । अँध्यारो तुरिदै जब बिहानको सिरेटो झ्यालबाट छिर्दै कोठाभरि पोखियो । अल्छि मान्दै उठें । छिप्पिदो उषासँगै एकल निर्णयलाई काखि च्याप्दै हानिएँ मेरी स्टप सेन्टरतिर ।

यो निर्णय नै मेरो अन्तिम निर्णय थियो । यदि त्यहाँ मैले सफलता नपाएको भए मेरो बाँच्ने सम्भावनाका सबै ढोका बन्द भई सकेका थिए । खाली अन्तिम विकल्प बाँकी थियो । त्यो हो ‘आत्महत्या’ । तर म सफल भएँ मेरो मिसनमा । मुत्युको मुखबाट फर्केर फेरी मैले बाँच्ने जिन्दगीकोे पुरानै गोरेटोलाई निरन्तरता दिएँ ।

बुझ्दै जाँदापछि मात्रै थाहा पाएँ मैले । यो शहरको भीडमा दिनहुँ बिभिन्न परिवन्धमा परेर पचासौं सुस्मिताहरूको अस्मिता लुटिदो रहेछ । कतिपय निर्दोष सुस्मिताहरूको आत्महत्याको कारण तथा कतिपय सुस्मिताहरूको भर्खर फक्रिन थालेको यौवन र सिङ्गो जीवनमाथि नै प्रश्नबाचक बन्छ उसैको आफ्नै अस्मिता ।

त्यसपछि फेरि कहिले पनि देखिन मैले त्यो यौन पिपासु राक्षशलाई । धेरै दिन अप्रत्यक्ष रुपमा उसको कोठा चियाएँ । तर ढोकामा बडेमा ताल्चा कहिले खुलेको देखिन । उसको मोवाईलमा कन्ट्रयाक्ट गर्न नखोजेको पनि होइन मैले तर उसले त्यही बेलुकी देखि त्यो सीमकार्ड नै फालि सकेछ । उसको सम्पर्कमा रहेका ब्यक्तिसँग उसको बारेमा बुझे मैले । “ऊ त काठमाण्डांै नै छोडेर हिड्यो अरे,” भन्ने थाहा पाएँ ।

उफफ ! कतिसम्मका स्वार्थी हुँदारैछन यी पुरुष नामका कलंकहरू ।

बल्ल बुझे थोरै भए पनि जिन्दगीलाई र स्वार्थको हदलाई । सरी बाबा ! म हजुरको सपना पूरा गर्न सक्तिन । इन्जिनियर छोरीको बाबा बन्ने हजुरको सपना तुहियो । नयाँ गोरेटोका लागि आजैबाट मेरा साहशिला पाईलाहरू उचाल्दै छु । घरको नक्सा कोरी घरलाई सिंगारपटार गर्ने इन्जिनियर होइन । म जस्तै हजारौ सुस्मिताको जिन्दगीलाई सिगार्ने कर्तब्यनिष्ठ असल छोरी हुन चाहन्छु म । परिस्थितिले विश्वासबाट चुके पनि सम्झौता गरिसके मैले जिन्दगीसँग । जे भयो सो भयो अन्यथा नबुझिदिनु । हो, यो कुरो पनि साँचो हो । जिन्दगीको कुनै मोडमा म माथिको अत्याचारको बदला लिएरै छोड्नेछु ।

– पार्वती शाही
काठमाण्डौ

(यहाँहरूको अमूल्य सल्लाह, सुझाब र प्रतिकृयाको को अपेक्ष्या गरेको छु ।)

2 thoughts on “लुटिएको अस्मिता”

  1. नेपाली नारीहरु को समस्याको
    नेपाली नारीहरु को समस्याको वास्तविक चित्रण गरियको यो सामाजिक कथाको लागि कथाकारलाई सलाम । आगामी दिनमा यस्तै वेजोड रचनाहरु लिएर आउनु होला ।

  2. उफफ ! कतिसम्मका स्वार्थी
    उफफ ! कतिसम्मका स्वार्थी हुँदारैछन यी पुरुष नामका कलंकहरू . Do you think all men are same? Don’t forget ram, jesus,allah,buddha all are man. The content has nothing new and presentation is really bad.

Leave a Reply

Your email address will not be published. Required fields are marked *