Skip to content
JitendraTuladhar-02


म भाग्दै छु आज भोलि पर पर
डराएर भाग्दैछु म कालोसँग
कालोको घेराबन्दीमा पर्ला भनेर
म सडक सुनसान पार्छु,
दिउँसै कफ्र्यू लगाउँछु
र कही कोही नभएको बेला
म विस्तारै सुटुक्क निस्कन्छु
वरीपरी बाक्लो सुरक्षा घेरा बीच
जनता नामका कार्यकर्ता बीच
लोकतन्त्र र सुशासनको रट लगाउँछु
शान्ति र सुरक्षाको खोक्रो आश्वासन दिन्छु
राहात र योजनाको दिवास्वप्ना बाँड्छु
अनि रोष प्रकट गर्छु
आन्दोलन र विरोधका नाममा
कालो रङ्ग सडकमा पोट्नेहरूका विरुद्घ
खबरदारका स्वरहरू गुञ्जाउनेहरूका विरुद्घ

म कालो देख्ने डरले आँखा चिम्लन्छु
र झन् सर्वत्र कालो देख्छु
अनि भाग्छु, आफैदेखि टाढा टाढा
जनतालाई भेट्ने नाममा
गाँऊ बस्ती चाहार्छु
मुसहरको छाप्रोमा बास बस्छु
तर त्यहाँ पनि म कालोकै आतंक पाउँछु
टुक्कीको उज्यालोले चिर्न नसकेको
गरिबीको त्यो कालो-अध्याँरो यथार्थ
मलाई लखेट्न थाल्छ जताततै
छाँया सरी त्यो कालो आतंक
र त म भाग्दै छु आज भोलि
त्यो कालो यथार्थदेखि
त्यो कालो आतंकदेखि
अनि कालो बस्त्रधारी मनुवादेखि
र त हजारौं पाठकहरूलाई बाहिरै नजरबन्द गरेर
पुस्तकको थुप्रो बीच म एक्लै डुल्छु
तर अफसोच,
पुस्तक भित्रको अक्षर पनि म कालै पाउँछु
प्रत्येक पुस्तक, प्रत्येक पानाका
काला अक्षरहरूले मलाई लखेट्न थाल्छ
र त म भाग्दै छु आज भोलि
त्यो अक्षरको कालो आतंकदेखि

हो म डराउँछु कालोदेखि
आज भोलि म एकदम डराउँछु
र त कालो चिज म केही पनि राख्दिन
कालो कोट म कहिल्यै लाउँदिन
कालो धन भएता पनि,
म कहिल्यै आफुसँग राख्दिन
हो म डराउँछु आज भोलि
त्यो बिरोधको कालो झण्डादेखि
त्यो कालो आतंकदेखि ।

जितेन्द्र तुलाधर
बुंगमती, ललितपुर

समर्पण : कालो झण्डादेखि डराएर भाग्ने नेताहरूप्रति

Leave a Reply

Your email address will not be published. Required fields are marked *