म छु र मेरा छन्
संसार छ र पो गुनासो छ
दिन र रातको नियतिसँगै
लेखा जोखाको तराजुमा
सुखी हाँस्नेहरूसित
उन्माद बाँडिरहेछन
दुखी रुनेहरू सित
बिस्मात पोखिरहेछन
जिन्दगी, घाम छायाको कुरा गर्छन
कथाहरू साझ बिहान बदलिरहन्छन
पानी र आगो झैँ
मुर्त अमुर्त घेराभित्र
गन्तब्यहरू निरन्तरित छन्
कोही दोबाटोमा, कोही गोरेटोमा
गुनासाका झिटी गुन्टा फुकाउँछन्
पछ्याउदै क्षितिजका छायाहरू
रहरका ठुला ठुला भारी बोक्छन
सुस्ताएर चौतारीमा बाँकी बाटो हेर्छन
घामको झुल्कोसँगै अस्तित्व मेटी जाने
शीतको थोपा जस्तै हो जीवन
हाँस्दा हाँस्दै ओइलाई जाने फूलहरू
काँडासित भँवराको गुनासो पोख्छन
नयाँ बिहानीसँगै
नयाँ गन्तब्य, उही नियमितता
नियतिको छायालाई पछ्याउदै
गुनासोको भारी बिसाउन
एउटा सिंगो संसार छ अगाडि
म छु, संसार छ र पो
गुनासा छन्, बहाना छन्
अनिश्चित यात्रा लम्ब्याउन
नत्र त … !