अस्तित्वविहीन
जीवन यात्रा अनौठो लाग्छ,
अझै पनि
विद्रोहमा जलेको छ मन
थाह छैन किन ?
राणाकालीन शासनको अन्त्यसँगै
पञ्चायतवादी सोचबाट,
परिष्कृत हुदै,
प्रजातन्त्रवादी सोचलाई
पाखा लगाउँदै,
संघीय लोकतन्त्रलाई अंगाल्दै,
आज गणतन्त्र नेपालसम्म आई पुग्दा,
केही परिवर्तन भए होला ।
आन्दोलनमा होमिएका
अनि सहिद बनेका
नेपाली दाजुभाइका
रगतका खोलाहरूले
ती काला सडकलाई रङगाउँदा,
पक्कै केही प्रमाणित गर्छ,
कँही परिवर्तन त भएको छ ।
बषैं देखि सडकमा
आफ्नो अस्तित्वका लागि
सामान्तवादी सोचका विरुद्ध
सुत्रधार बनी
मुर्दावादका नारा लगाउँदै,
ज्यान आहुति दिदैमा
भन्छौं सकियो सामन्तवाद !
तर मलाई लाग्दैन
सकियो,
सामान्तवाद !
नत्र एक छाक खान,
एक सरो लाउन,
झुप्रोमा बस्न,
यति गाहो हुदैन थियो ।
बाध्यताले मन नहुदाँ नहँदै,
जय जयकारको नारा लगाउँदै
एउटा पार्टीको झण्डा बोकी,
अर्को पार्टी विरुद्ध,
ढुङगा मुढा गर्दै,
विभत्स दिनहरू विताउँदै छौं,
सडकमा ।
पहिले, पहिले
जनता भई जुट्थ्यौं
अहिले कार्यकर्ता भई जुट्छौ
परिवर्तनको नाममा,
हो आफ्नै ज्यानको सुरक्षाका लागि,
सामान्तीसोच विरुद्धका व्यक्ति संग
तिनैका गुलाम भई
हो!हो मा हो मिलाउँदै
हिड्दै छौं अझै पनि,
खै कहाँ सकियो त सामन्तवाद !
पहिले मेरी आमा मेलापात गर्थिन् ।
अहिले पनि गर्छिन् ।
पहिले मेरा बा कोदाली खन्थ्ये
अहिले पनि खन्छन् ।
पहिला म गुच्चा खेल्थेँ
अहिले सडकमा,
ढुङगा मुढा खेल्छु ।
जे होस् परिर्वतन त
भएकै छ ।
सामान्तवाद विरुद्धका हाम्रा ठेकेदारहरू,
पहिलै झुप्रोमा बस्थे,
चपल गाँसी लगाउँथे ।
पसिना काटी,
परिर्वतनका नाममा,
क्रान्तिका लागि विगुल फुकिहिड्थे ।
आज महलमा बस्छन्
सुट बुट लगाउँछन्
चिल्ला गाडी चढ्छन्
हुस्की र ब्राण्डीसँग वार्ता गर्छन्
के यो परिवर्तन होईन र ?
पक्कै केही परिवर्तन त भएकै छ ।।……..दर्पण