Skip to content


म, म नै हुँ
त्यसैले पो त
मैले मलाई पुग्ने अर्थोआर्जन गरेँ
अपराधी ठहरिएँ
अपराधमा थोरै लगानी गरेँ
अहिले चोखो शरीर बोकेर
यो निर्दोष सडकलाई कुल्चिरहेछु
र अर्को अपराधको दौडानमा छु
किनकि अझै मैले जननेता हुनुछ,
एकपटक मंत्री हुँदा छोराका लागि कमाएँ
अब सोझा जनताको टाउको कुल्चेर
नातीका लागि नकमाई भएको छैन,
जति परिवर्तन भए पनि
आखिरमा जनता, तिनै जनता हुन्
मीठो बोलीमा नै तीतो कार्य बिर्सने गर्छन्
म अझै अघि बढ्नु छ, भेडा बाख्रा बटुल्नु छ ।
जनताको सेवा पदीय भूमिकामा गर्छु
जनसेवा मेरो परम कर्तव्य हो
यही र यस्तै सपथ खाएर पर्दा बाहिर आएँ
जनसेवाको कुर्सीमा बसेर घाम तापेँ
ताप्दा ताप्दै पक्राउ परेँ
रंगेहात पक्राउमा पर्दा पनि ठूलो केही भएन
किनकि पैसाको अगाडि
कानुनी पानाहरू पल्टदै सफाइ दिँदै गए
भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य भए पनि
वर्तमानमा जति कमाएँ, भविष्यका लागि योग्य भएँ ।

म त पहिले पनि जनताको पक्षमा थिएँ
अहिले पनि मेरो अडान कायमै छ,
मौकामा चौका हान्नुपर्यो भनी
जसले कुर्सी देखाएर डाक्यो उत्तै गएँ
‘प्रतिगामी’ र ‘अग्रगामी’ मेरा शब्दकोशमा छैनन्
किनकि मेरा लागि वर्तमान फुल्नुपर्छ
म मेरो बारे जान्दछु, अरुको मतलब छैन
म जनताको ढाडलाई सिढीं बनाएर आए पनि
जनता कुन चरो हो मैले बिसी सकें
अब भने चुनावी वातावरण बनेको छ
छेपारे रङ फेरेर पुनः जनतालाई भ्रम छर्नुछ ।
त्यसैले जनताहरू ! म आउँदैछु,
स्वागतमा तयार होओ ।

भ्रम चिर्न नसक्ने जनताहरू
१० वर्षे लामो द्वन्दले सिकाउँदा पनि
सिक्न नसक्ने र नखोज्ने
को प्रतिगामी को अग्रगामी चिन्न नखोज्ने
धन्य जनता
त्यसैले होसियार बन्नु पनि छैन !
विगतमा लठ्ठ भए पुगिगो
अहिलेका लठ्ठकहरू विर्से पुगिगो
अब भ्रमको बिऊ चिन्ने कोशिस नगर
किनकि नेपाल पूरानो नेपाल नै हो
नेपाल मुठ्ठीभर व्यक्तिको मागी खाने भाँडो नै हो
यो त, विश्व जनमानसलाई
अग्रगति देखाउने मुलुक भएन
प्रगतिपथमा लम्केको श्रद्धाको सिरानी पनि भएन ।

नन्दलाल आचार्य, तपेश्वरी १, उदयपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *