Skip to content

प्रेमको झरी

  • by


तिम्रो लागि म प्रेमको झरी हुँ प्रिय ।
चाहे हिउँद होस् या बर्षा,
बर्सिरहन्छु सधैँ सधैँ
तर मनको सफा आकाशमा
बेमेलरुपी काला बादलका धब्बाहरू
मडारिन थाले भने,
मेघ गर्जन सक्छ, पानीसँगै असिना बर्षन सक्छ,
या भनौँ, अप्रत्यासित रुपमा
बर्षेको असिनाले हामीलाई
चुट्न पनि सक्छ है ।

तिम्रा हरेक समस्याको, म समाधान हुँ प्रिय ।
जस्तै जटिल समस्या पनि
सके समाधान गर्छु, नसके
प्रयास गरिरहने छु सधैं सधैं ।
तर तिमीले मलाई समाधानको मुहान सम्झी
चैत बैशाखको खडेरीमा म,
आकुल ब्याकुल भै ढलेको बेला पनि
आफ्ना समस्याका रित्ता प्यालाहरू मात्रै
भर्ने कोशीश गरिरह्यौ भने
मलाई अँझै बोझहरू मात्रै
थोपर्ने कोशीश गरिरह्यौँ भने
म झरेको पात झैं हुन सक्छु
डुबेको घाम झैं हुन सक्छु
या भनौं, तिम्रा समाधानको मुहान सधैको लागि
सुक्न पनि सक्छ है ।

म, पार्दर्शी काँचको गिलासमा भरिएको पानी हुँ प्रिय ।
बिल्कुल सङ्लो छु,
सङ्लिरहनेछु सधैं सधैं ।
तर तिमीले मेरो स्वच्छन्दता माथि अविश्वास गरी
शंकालु नजरले ओल्टाई -पल्टाई
नियालिरहन थाल्यौ भनें
कहीं कतै तिम्रा कोमल हातहरू,
समयको झोंकासँगै ठोकिन सक्छ
सङ्लो पानी पोखिन सक्छ,
या भनौं, पानीसँगै गिलास
फुट्न पनि सक्छ है ।

बसन्त दहाल (सहयोगी)
गोदक – ४, ईलाम
हाल: दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *