Skip to content


मेरो जिजुबुबाको ल्याइतेपट्टिकी फुपू जुलियानासँग दशरथ चन्दको मायापिरती बसेको कुरा सुनेको थिएँ । तर, त्यतिबेला सबै थाहा पाउने कुरै भएन । किनभने, म नौ-दस वर्षको केटाकेटी नै थिएँ । दशरथ चन्दले रामनगरबाट वन विभागमा जागिर खाएको कुरा उल्लेख गर्दै मेरो बुबालाई चिट्ठी लेखेपछि भने उहाँले सबै कुरा खुलस्त पारिदिनुभयो । त्यसपछि मात्र हामी सबैले उनको मायापिरतीका बारेमा औपचारिक थाहा पायौँ ।

बुबाका अनुसार, उनको चिट्ठीको आशय ‘अब म सक्षम भएँ, आफ्नै खुट्टामा उभिन सक्ने भएँ’ भन्ने थियो । त्यसको अर्थ, जुलियानालाई सुखसँग पाल्न सक्छु भन्ने पनि थियो । त्यस पत्रसँगै मलाई पनि उनले छुट्टै पत्र लेखेका थिए । साथै, एउटा पुरानो तस्बिर पनि पठाएका थिए । तर, दुर्भाग्य ! दशरथ चन्दका नातेदार ललित चन्दले ‘फिर्ता गर्छु’ भनेर लगेको चिट्ठी र तस्बिर दुवै गायब पारे । जिउँदो छउन्जेल छोराले फिर्ता गर्छ भन्थे । अब त उनी बिती पनि सके । चिट्ठी र तस्बिरको प्रसंग नै हरायो । के कुरा गर्ने ?

तर पनि अहिले आएर ती चिट्ठी र तस्बिर सम्झदा बडो पछुतो लाग्छ, किन दिएँ हुँला भनेर । मलाई लेखेको चिट्ठी अर्तिमूलक थियो, ‘पढ्नुपर्छ, धेरै पढ्नू, प्रजातन्त्रका पक्षमा लाग्नू आदि, आदि ।’

रुद्रशमशेरको जेठो नाति भएकाले पनि होला, दशरथ चन्द मलाई खुबै माया गर्थे । हाम्रो परिवारसँग उनको आफ्नै किसिमको सम्बन्ध थियो । हामी दरबारभित्र एक किसिमको बन्धनयुक्त जीवन बिताउँथ्यौँ । बाहिरको चीज हेर्न र खान पाउँदा ज्यादै नै रमाइलो लाग्थ्यो । दशरथ चन्द कहिले लाखामरी त कहिले ग्वारमरी ल्याएर हामीलाई ख्वाउँथे । बडो माया गरेजस्तो लाग्थ्यो ।

मेरो बुबा पनि दशरथ चन्द र धर्मभक्तलाई ज्यादै माया गर्नुहुन्थ्यो । चारबुर्जा दरबारबाहिरको एउटा बंगलाको माथिल्लो पटांगिनीमा दुई कोठा थिए । दशरथ चन्दहरू लामो समयसम्म त्यहीँ बसे । सायद त्यसैले पनि होला, हाम्रो परिवारसँग उनीहरूको भावनात्मक सम्बन्ध थियो । मेरी बहिनी मीनाक्षी त्यतिबेला त्यस्तै पाँच-छ वर्षकी हुँदी हुन् । उनी फुपूको चिट्ठी दशरथ चन्दकहाँ र दशरथ चन्दको चिट्ठी फुपूकहाँ पुर्‍याउने गर्थिन् । उनले बडो होसियारीपूर्वक त्यो काम गरेको देख्दा छक्क पर्थें, म । अहिले त उनी पनि बितिसकिन् ।

दशरथ चन्दको कुरा गर्दा सिंहदरबारभित्र काम गर्ने राममाया पोडेनी छुटाउनै नहुने नाम हो । “राममाया, मेरा साथीहरू मारिएपछि उनीहरूका निम्ति रुने आफन्तहरू धेरै छन् तर मेरा निम्ति रुने यस संसारमा कोही छैन । मलाई मारेपछि तिमी रोइदेऊ है !” मृत्युदण्डको सजाय सुनाएको भोलिपल्ट अर्थात् १९९७ सालको माघ ७ गते दशरथ चन्दले राममायालाई सम्बोधन गर्दै भनेको सबैलाई थाहा छ । उनको त्यो भनाइ के कुरासँग जोडिएको थियो भन्ने कुराको मेसोचाहिँ कमै मान्छेलाई मात्र थाहा होला । विसं १९९६ सालमा क्षयरोगका कारण पाल्पामा बितेकी मेरी फुपू जुलियानालाई सम्झँदै चन्दले राममायालाई त्यसो भनेका थिए । मृत्युवरण गर्दा पनि उनले मेरै फुपूले चिनोस्वरूप दिएको खास्टो ओढेका थिए रे !

विष्णुमति र भाचाखुसीको दोभानमा रहेको शोभाभगवतीमा एकै ठाउँमा गाडिएका बाँसमा उत्तरतिर फर्काएर दशरथ चन्दलाई बाँधिएको थियो भने गंगालाललाई पश्चिमतिर । दशरथ चन्दलाई अन्तिम इच्छा सोधियो । उनले भनेछन्, “राणाशासनको अन्त्य र प्रजातन्त्र कायम भएको हेर्ने इच्छा छ ।”

ती दुई होनहार सपुतको संवाद पनि ज्यादै हृदस्पर्शी थियो । गंगालाल र दशरथ चन्दबीच पहिले गोली कसले खाने भन्नेबारे सल्लाह भयो । दशरथ चन्द उमेरका कारण पनि पहिले आफूलाई हानियोस् भन्ने चाहन्थे । यद्यपि, दशरथ चन्दलाई आफूलाई छटपटाई छटपटाई मारेको दर्दनाक दृश्य देखेर कलिला गंगालालले माफी माग्छन् कि भन्ने आशंका पनि थियो । नरशमशेरको त्यस्तो योजना पनि हुँदो हो । तर, गंगालालले उल्टै जब दशरथ चन्दलाई भने, “दाइ, म तपाईंको मनको कुरा बुझ्छु । तपाईं निश्चिन्त हुनुहोस् ।”

दुई बलिष्ठलाई कयौँ दिनदेखि गंगालाल र दशरथ चन्दलाई गोली हान्न भनी पेस्तोल चलाउन सिकाइएको थियो रे ! त्यस दिन पनि उनीहरूलाई निकै रक्सी खुवाएर ल्याइएको थियो । पहिलो गोली दशरथ चन्दलाई खुट्टामा लाग्दा उनले कड्केर ‘राणाशाही मुर्दावाद’को नारा लगाए । अर्को गोली चन्दको तिघ्रामा हानिदा ‘सक्छस् भने एउटै गोली हानेर मार’ भन्दै गंगालाल चिच्चाए । उता नरशमशेर पनि रिसले चूर भए । उनले पेस्तोल खोसेर गंगालाललाई आफैँ गोली हानेर घाइते बनाए । दशरथ चन्दलाई तेस्रो गोली हान्न नरशमशेरले पुनः आदेश दिए । दशरथ चन्द केही तड्पिए । खासमा नरशमशेर दशरथ चन्दलाई तड्पाएर गंगालाललाई माफी मगाउने ध्येयमा नै थिए । तर, गंगालालले उल्टै झन् उत्तेजित हुँदै गाली गर्न थालेपछि आगो बनेका नरशमशेरले उनीमाथि दोस्रो गोली दागे । उता दशरथ चन्दको छातीमा चौथो गोली हानियो । यसरी राणाशासनलाई ललकारी ललकारी गोली खाएर दुवै जना सहिद भए ।

दशरथ चन्दका नजिकका कोही आफन्त थिएनन् । टाढाकाहरू सबै लुकेर बसे । आखिरमा उनकी माइजू जो तिलकराज शाहीकी आमा थिइन्, ले मानिसहरू पठाइ उनको अन्तिम संस्कार गरिन् । यसरी सहिद हुनुको आफ्नै महत्त्व छ । माफी माग्दा मृत्युदण्ड मिनाह हुने अवस्थामा हाँसीहाँसी मृत्युवरण गर्ने सहिद वास्तवमै महान् हुन् । नेपालको इतिहासमा चार सहिदको आफ्नै महत्त्व र गरिमा छ ।

नेपाल साप्ताहिक ३२९

1 thought on “हाँसीहाँसी मृत्युवरण”

Leave a Reply

Your email address will not be published. Required fields are marked *