Skip to content

ज्योतिषीका ब्याख्याहरू


अलग अलग ठाउँमा, अलग अलग जातमा, अलग अलग समुदायमा, अलग अलग संस्कार, संस्कृति र मनोविज्ञानका स्वरुपहरू निर्माण हुदाँरहेछन् । त्यसै अनुरुप मानिसका अन्त:करणहरू कोरिँदा रहेछन् । हरेक कुरालाई अर्थ लाउने अलग आँखाहरू बनिँदारहेछन् । अँझ उत्पादनका साधनहरूको असमान वितरणले समाजलाई दुईधारमा बाढेँपछि एउटै ठाउँ, एउटै जात र एउटै समुदायमा पनि दुईखाले चिन्तन, सोचाइ, संस्कृति र मनोविज्ञानको अविर्भाव हुँदोर’छ । आर्थिक असमानताले विभाजित समानमा स्वार्थ अनुकूलका नजरहरू बढी चल्बलाउने रहेछन् । वस्तुलाई हेर्ने, घटनालाई हेर्ने र बाहिरी यथार्थका आयामहरूलाई आत्मासात गर्ने बिषयमा पनि जात पिच्छे, वर्गपिच्छे, समुदाय पिच्छे अलग दृष्टिकोणको निर्माण हुँदोरहेछ ।

मेरो गाउँदेखि पारी एकजना खगडान ज्योतिषी छन् । उनी वेद, पुराण र उपनिषदको ब्याख्या विश्लेषणमा पनि राम्ररी नै कहलिएका व्यक्ति हुन् । नवजात शिशुहरूको चिनासुतिका वनाउने देखि लिएर बुढापाकाहरूको ग्रहदशा, आयु र भाग्यभविष्य बताउनमा उनी एकदमै माहिर छन् । त्यो खोलाटोलमा उनको ख्याति राम्ररी नै फिँजिएको छ । जब उनी कुनै जजमान र श्रद्धालुको घरमा चिना हेर्न ग्रहदशाको स्थिति बताउन र कुनै धार्मिक अनुष्ठान संचालन गर्न जान्छन् । मान्छेको भाग्यभबिष्य बताउने उनको शैली निक्कै गजबको छ । धेरै ठाउँमा धेरै मान्छेको चिना हेर्दा म उनको नजिकबाट स्रोता बनेको छु । मैले थाहा पाएसम्म जब आर्थिक रुपले निम्न बर्गका घरमा उनी चिनाहेर्न जान्छन्, उनको अर्थ लाउने शैली गजबको छ । आर्थिक रुपले यो मानिस गरिब छ भन्ने बुझेपछि उसका छोराछोरी चिना हेर्दै उनी भट्याउन थाल्छन् “ यिनीहरूको ग्रहमा विद्या छैन, फलानो भाइलाई भैसीं फाप्छ, फलानोलाई गाई र गोरु पालेमा अतिलाभ हुन्छ । फलानी छोरीलाई बाख्राले असाध्य फलिफाप दिन्छ, फलानो छोरलाई भैसींले सुब्यफाब्य दिन्छ ।” यसो भनेर खालि खेतीपाती, पशुपालन र कृषिकर्मका कामकुराहरूसँग मात्र उनीहरूको भाग्यभबिष्य जोडिदिन्छन् । उनी धनी हुनेखाने घरमा चिनाहेर्न गएभने धनीका छोरा छोरीहरूका चिना राम्ररी फुकाउन नभ्याई बर्बराउन थाल्छन् ’ हजुरको फलाना छोराको अमेरिका पढ्न जाने योग छ । फलानो छोरो ठुलो हाकिम बन्छ, अर्को ठुलो नेता बन्छ र ठुलै पद प्राप्त गर्छ, छोरीले डाक्टर या इन्जिनियर पाउने योग छ, यसरी आदि आदि कुरा गरेर जजमानलाई मख्ख पारी दानदक्षिणा कमाउँछन । यसरी चिना हेर्दा जातले पनि निक्कै निक्कै अर्थ राख्छ । राई, मगरको घरमा ग्रहदशा हेर्न जाँदा यदि बाबुबाजे लाहुरे छन् भने छोरानाति पनि हङ्गकङ्ग इन्डियाको लाहुरे बन्ने कुरा आफसे आफ उनीहरूको भाग्यसँग गाँसिएर आउँछ । कामीको छोराछोरीका भाग्य हेर्दा उसको भबिष्यलाई फलामका हातहतियार र सुनका गरगहना बनाउने सिपसँग गाँसिदिन्छन् । दमाईका छोराका चिना हेनुपर्यो भने ऊ पढाइ लेखाइमा बिछट्टै राम्रो भए पनि एउटा सुचिकार मात्र बन्ने कुरा संकेत गर्छन ।

उनको चिना हेर्ने र भबिष्य वताउने कुरामा ठाउँले पनि प्रभाव पारेको हुन्छ । लेकको मान्छेको चिना हेर्नुपर्यो भने यसलाई आलु खेती फाप्छ, भेडापालनले फाईदा दिने र भैंसीले सुव्यफाब्य दिने कुरा बताउछन् । शहरतिरको धनीमान्छेको घरमा चिना हेर्न पाए भने ‘हजुर या हजुरको छोरा त राजग्रह परेको छ फेरि चन्द्रमा दाहिने भएकोले ठूलो पदप्राप्ति गर्ने र करोडपति हुने, शहरमा अरु विल्डिङ्ग थपिने, बैंक व्यालेन्स वढ्ने, जागिरमा प्रमोशन हुने, विदेश जाने …” यस्तै यस्तै योग परेको छ भनी सजिलै बताइदिन्छन् । यसरी यी ज्योतिषी ठाउँ, बर्ग, कुलघरान, जात र संस्कृति हेरी हेरी चिना टिपनको अर्थ लाउँछन् । अँझ जजमानले थालीमा राख्ने चामल र पैशाको आधारबाट पनि उनको मुखबाट शुभ र अशुभ कुरा कति निस्कने हो, त्यसको निक्र्योल हुन्छ ।

एकचोटि तिनै कोसीपारीका खगडान ज्योतिषीलाई चिना हेराउन पिताजीले हाम्रो घरमा ल्याउनु भयो, त्यतिखेर म कक्षा सातमा पढ्थेँ । हामीलाई गरिबीको बिकराल नंग्राले चिथोरिरहेको थियो । गच्छेअनुसारको दुईपाँच रुपैंया थालमा राखेर चिना हेराइयो । चिना हेर्दै गएपछि दाइ दिदी पछि मेरो पालो आयो । ज्योतिषीले ठोकुवा नै गरेर यो नानीको भागमा विद्या छदैंछैन । यो सात कक्षासम्म कसरी पुग्यो, अचम्म छ तर यो नानीलाई खेतीपाती र भैंसी भने विछट्टै फाप्छन् । यसलाई भैंसी पाल्दा लाभैलाभ मिल्छ । … यस्तै यस्तै कुरा भट्याएर चिनालाई विट मारे । केही दिनसम्म म निकै रन्थनिएँ । तर पछिपछि त्यो कुरा विर्सेर पढाईमै केन्द्रित भएँ । पढ्दै जाँदा कहि कुनै तह र कक्षामा पनि असफल नभै एम.ए., बि.एड.,वि.एल. सम्मको अध्ययन पूरा गरेँ । यसरी मैले ज्यातिषीको ब्याख्या र चिनालाई गलत साबित गरीदिएँ र मेरो भागमा विद्या नै नभएको कंजुस चिना किन राखिराख्नु भनेर उहिले नै त्यसलाई पनि फालिदिएँ । बि.ए. पास गरेपछि एकचोटि ती ज्योतिषीसँग भेट्ने रहर लाग्यो । संयोग उनी मेरै गाउँमा आएका रहेछन् । त्यो समय बहुदल आएपछि पचास सालतिर थियो होला । मैले भेट्दा त उनी खगडान माक्र्सवादी पण्डा भैसकेका रहेछन् । कम्युनिष्टहरूका घरमा द्वान्दात्मक भौतिकवादलाई जोडेर चिनाको ब्याख्या गर्दा रहेछन् । काँग्रेस र अन्यहरूका घरमा उनीहरूको जीवनदर्शन के छ ? त्यही अनुसार चल्दा रहेछन् । बहुदल अगाडिभन्दा बहुदलपछि पो उनलाई बढी फलिफाप भएछ । खोटाङ्गभरी नै कम्युनिष्टकरुका कामरेड ज्योतिषीको नाममा चर्चित भैसकेका रहेछन् । त्यतिखेर मेरो जीवनको पुरानो सन्दर्भ कोट्याउन उचित ठानिनँ । सामान्य भलाकुसारी गरेर बाटो लागेँ । उनले पहिलेको कुरा सम्झे सम्झेनन् त्यो थाहा भएन ।

मेरो गाउँदेखि अलिपर एकजना गुरु हुनुहुन्छ । उहाँले पनि आफ्नो जीवनकालमा जजमानी कर्मकाण्ड र शिक्षणपेशालाई साथसाथैं हिँडाउनु भयो । अहिले त बृद्ध भएको कारण शिक्षण पेशाबाट अवकाश पाइसक्नुभएको छ । उहाँ जवान हुँदाको कुरा हो त्यतिखेर घरदेखि निक्कै टाढाको स्कुलमा उहाँ पढाउनुहुन्थ्यो । घरमा श्रीमती र छोराछोरीको वगाल थियो, उता उहाँको पढाउने ठाउँमा एक षोडसी ब्राह्मण कन्यासँग प्रेमलाप चलेछ । उनलाई पत्नीको रुपमा अंगिकार नगरी नछाड्ने मनसुवा भएपछि कुराको तारतम्य मिलाउन घरमा त्यस्लै खगडान एक ज्योतिषी झिकाए । उनले शुरुमै गोप्य मन्त्रणा गरिसकेका थिए । श्रीमती घच्याक घुचुक बिरामी भैरहने भएकोले ग्रहदशाको स्थिति के छ त्यो हेराउने वहानामा ज्योतिषीलाई घरमा डाकिएको थियो । ज्यातिषीको पालो पनि चिना हेरेर – ‘ नानीलाई निकै अप्ठ्यारो ग्रहले समातेको रहेछ । ज्यानै लिने खालको स्थिति छ, यो साल त हम्मे हम्मे पर्ला है । ’ वाहुनी खङ्रङ्ग भइन् उनको ओठमुख सुक्यो, बूढा चैँ यो कुराले भित्र गद्गद् भएर बाँहिर निन्याउँरो रुन्चे मुख लाएर ज्यातिषीको अनुहार ट्वाँ परेर हेरेकाछन् । दुवैले ज्यातिषी सामु एकैचोटि याचना गरे – “ त्यो ग्रह काट्ने के उपाय छ त ? हजुर ।” यो याचनामा मानौं उनीहरू जीवनदान मागिरहेका थिए । ज्योतिषीले पनि फलाम तातेको बेला बेस्सरी ठोक्नु मनासिब ठाँने । जुँगामा ताउ दिएर भन्न सुरु गरे – “ नानीलाई सौतेनी ग्रहले यस्तो खेल खेलिरहेको छ । एउटा सौता हालेमा समस्या टर्छ, नत्र यसले ल्याउने अनिष्ट भोग्नै पर्छ ।” गुरुले पिर्लिक्क स्वास्नी तर्फ आँखा कड्काए । गुरुमाको आँखामा थोरै जीवनको चमक उदायो । आशाको लहरले शिथिल नौनारीमा प्राणको संचार गर्यो । अकालमा मर्नुभन्दा त सौता व्याहोर्नु उचित ठानिन्, तुरुन्तै बुढालाई बिहे गर्ने सहमती दिइन् । केही दिनसम्म बुढा म तिमीमाथि सौता कसरी हालुँ भनेर ततर्किए । त्यो बुढाको बहाना र श्रीमतीको मन जाँच्ने मेलो गरेका थिए । श्रीमतीले हत्ते हालेपछि ठिक छ त तिमीले नै कर गरेपछि मेरो के लाग्छ र ? भनेर लागे स्कुलतिर ।

केही महिनामै बुढाले बकाइदा आफ्नी प्रेमीकालाई मागी बिहे गरे । यसरी ज्योतिषी र पण्डितहरूले असम्भब कुराहरू पनि संभव तुल्याएको थुप्रै दृष्टान्त हाम्रो सामु छन् । पछि कान्छीतिर पनि ग्यालग्याल्ती छोराछारी भए । त्यसपछि घाईंघुईं एकान दुईकान सबैतिर बूढाले गरेको षडयन्त्रको पोल खुल्यो । जेठी श्रीमती चित खाइन्, कान्छी बूढाको अक्कलदेखि अवाक् वनिन् । उनलाई चिन्ने उदयपुरबासीले गुरुको बुद्धिलाई भित्रैदेखि पत्याए । उहिले त्रेतायुगमा राजा दशरथले जेठी कौशल्याबाट छोराछोरी नजन्मेपछि माइली कैकेयी ल्याए, कैकेयीबाट पनि छोराछारी नभएपछि कान्छी सुमित्रा ल्याए । सुमित्राबाट पनि सन्तान नभएकोले उनलाई दिनमा भोक र रातमा निद दुवै थिएन । उमेरले पनि डाँडा काटिसकेका थिए । तीनतीनवटी ल्याउँदा पनि सन्तान नभएपछि सिधै प्रमाणित भैसकेको थियो कि राजा दशरथ नपुंसक नै हुन् । त्यो उपायलाई हल गर्न उनले आफ्नो चतुर पुरोहित बशिष्ठ ऋषिलाई बोलाएर गोप्य मन्त्रणा गरे । ऋषिको बुद्धि अनुसार पुत्रेष्टि यज्ञ ( पुत्र प्राप्ति हुने यज्ञ ) को आयोजना गरियो । यज्ञको प्रसादी स्वरुप तीनवटै रानीलाई खिर बाँडियो । खिर खाएको भोलिपल्टै खिरले गर्भ रहेको अचम्मको हल्ला चलाइयो र तीनवटै रानीले भकाभकी चारभाइ छोरा जन्माए । सत्य चाहिँ के थियो भने सबै रानीले वशिष्ठबाट ऋतुदान (त्यतिखेर विर्यदान लिनु सामान्य कुरा थियो) प्राप्त गरेर गर्भवती भएकाथिए । यसरी गुरु, पुरोहित, ज्योतिषी र पण्डितले जजमानहरूसँग नानाबिधि खेल खेल्ने चलन उहिले देखि नै चलिआएको थियो । अहिले म गम खान्छु – मलाई विद्या छैन भन्ने ज्योतिषी र गुरुलाई बिहेको तारतम्य मिलाइदिने ज्योतिषी तिनै गुरु बशिष्टका सक्कली सन्तान हुन् कि जस्तो लाग्छ । हुन त द्वापर युगमा पनि ब्यासजीले भाइ बुहारी र दासीलाई विर्यदान गरेर पाण्डु, धृतराष्ट्र र विदुरलाई जन्म दिएकै हुन् । कुन्ती र माद्रीलाई धर्मराज, वायु, इन्द्र र अश्विनी कुमारले गर्भाधान गरेर युधिष्ठिर, भीम, अर्जुन, नकुल, सहदेव जन्मिएकै हुन् । तर महाभारतमा यी कुरा नढाँटी लेखियो तर रामायणमा खिरले गर्भ रहेको कुप्रचार किन गरियो होला । खिरले गर्भ रहने भए, यज्ञ गरेर छोरा जन्मिने भए अहिले किन लाखौं निसन्तान दम्पत्ती फर्टिलिटी क्लिनिक र गाइनाक्लोजिष्ट कहाँ धाउनु पर्थ्यो । थपक्क पुत्रेष्टि यज्ञ आयोजना गरेर श्रीमतीहरूलाई खिर बाँड्दा भैहाल्थ्यो नि । द्वापर त्रेता युगका यी सबै कृत्यहरू प्रायोजनामात्र थिए । जनका आँखाहरूमा छारो हालिएका नाटक थिए । सायद यी नाटकहरूबाटै प्रभाव प्रेरणा ग्रहण गरेर आधुनिक दशरथहरू जन्मिरहेकाछन् । वशिष्ठ र विश्वामित्र उम्रिरहेका छन् ।

वडे वडे पण्डित र ज्योतिषीमात्र किन ? गाउँको सामन्य जजमाने पुरेतले गाउँमा विभिन्न वाहानामा सर्बसाधारणलाई ठग्न भ्याएकाछन् । गरुण पुरानको हवाला दिएर सुतक, क्रिया र वर्खन्तामा समेत जजमान चुस्न भ्याएकाछन् । अहिले एक्काइसौं शताब्दीको समृद्ध मानव चेतनालाई गोलघरमा थुनेर उही बाह्रौं शताब्दीको अन्धविश्वास, अचेतना र रुढिलाई घरघरमा टीकाउन पुरेत सुरक्षाकर्मीहरूको भेषमा हातमा लाठोबन्दुकको ठाउँमा गरुडपुराण, मनुस्मृति र श्राद्धको पोस्तक चेपेर खडा छन् । तर अहिले केही सुखद कुरा पनि थपिएकाछन् । संस्कार र परम्पराको नाममा शताब्दीयौंदेखि थोपरिएका कुसंस्कार र कुरीतिहरूलाई तोड्ने वागीहरू जन्मिंदै छन । त्यस्ता वागीहरूको संख्या दिनानुदिन बढ्दै गएको छ । परम्परा र संस्कृतिभित्रका कुन कुन कुरा कामकाजी छन् कुन कुन कुरा त्याज्य छन् । त्यसको लेखा जोखा गरेर समाजलाई अगाडि बढाउने पुस्ता हाम्रो सामु खडा भैसकेको छ । पुरातन परिपाटीका नकार मूल्यहरू इतिहासको चिहान घरमा बिश्रान्ति लिने क्रममा छन् भने सकार मूल्यहरू सगौरब जनका घटघटमा बास गर्दै गएका छन् ।

एउटा साँच्चैको घट्ना हो कि काल्पनिक घट्ना हो, मैले भर्खरै सुन्न भ्याएको छु । सायद यो साँच्चैको घट्ना हुनुपर्छ र यसलाई अनुशरण गरेर यस्ता अरु घटनाहरू बग्रेल्ती घटाउदै पनि जानुपर्छ । कुनै गाउँमा एउटा रामै्र खान लाउन पुग्ने मानिस बिरामी भयो । बृद्धाबस्था भएकोले उसलाई अरु बाँच्ने आशा थिएन, मर्ने बेलामा छोरालाई अराउ पराउ गर्यो – मरेपछि क्रियाकाज राम्ररी गरिदिनु । वाउनलाई दानदक्षिणाबाट खुशी पार्नु । सारै आपतबिपत र केही समस्या आयो भने पारी मितवाउ छन्, मितवाउ कहाँ जानू । बूढो यति भनेर मरेको थियो । छोराले बाउको चाहना अनुसार राम्रैसँग क्रियाकाज उतार्यो । बर्खन्ता आउने बेलासम्म महिनै पिच्छे मासिक गर्नुपर्थ्यो । पुरेतले पहिलो महिना मासिक गर्न आँउदा छोरालाई भन्यो – हेर केटा तेरो बाउ उहाँमाथि (स्वर्गमा) निस्तो भात खाएर बसेको रहेछ । छोराले एउटा लैनो गाई दान गरिदिए त म यहाँ दूध र भात खान्थेँ भनेर सपनामा मलाई भनेको छ के गर्छस् ? पुरेतको कुरा छोरालाई मनासिब लाग्यो, एउटा जाबो गाई दान गर्दा वाउलाई सुख हुन्छ भने किन नगर्ने त भनी दान गर्यो । अर्को मासिक आयो – उसैगरी पुरेतले छोरालाई भन्यो – हेर केटा तेरो वाउ पुसको ठण्डीमा गतिलो सिरक ओड्न नपाएर ठुकठुक कामेको रहेछ । छोराले ८/१० किलो रुवाको सिरक छापेर दान गरिदिए, तातो गरेर सुत्थेँ भनेर सपनामा मलाई भनेको छ के गर्छस् ? छोराले होला भनेर पत्यायो र सोही अनुसारको सिरक पनि दान गर्यो । यसैगरी अर्को मासिकमा बाबु मकैको भात मात्रखाएर मर्न लागेको रहेछ । गैरीखेत भए त यहाँ म धानको भात खान पाँउथे भनेको छ भनेर खेत पनि दान गरायो । अनि हिँड्न नसक्ने भएको छु, एउटा तगडा घोडा छोराले दान गरिदिए मलाई यहाँ सजिलो हुन्थ्यो भनेको छ भनेर घोडा पनि दान गरायो । एवं म रीतले पुरेतले जजमानलाई कंगाल बनाई दियो । जजमान पनि बडो सिधा र इमान्दार थियो । पिताजीले आर्जेको सम्पत्ति हो । पितालाई दु:खमा राखेर यो सिम्पत्ति हामीले भोग गर्नु भनेको नर्कमा पर्नु हो भन्ने ठानेर उसले भने वमोजिमको दान गरिदियो ।

वर्षदिन पछि बर्खन्ताको कार्य (वार्षिकी) आयो सो कार्य सम्पन्न गर्न उसको सबै श्रीसम्पत्ति सकिसकेको थियो । उसलाई ठूलो आपत आईलागेपछि मित वाउको घरमा गयो । मितवाउले सम्पति कसरी सकियो सोधनी गर्दा सब बेलिबिस्तार लगायो । उसको पालो बर्खन्ता सम्पन्न गर्ने एउटा बुद्धि सिकाइदिन्छु । तैंले केही गर्नै पर्दैन । भोलि बर्खन्ता गर्न पुरेत आउने बेलामा अरु केही नगर्नू बाहिर आगो बालेर ठूलो भतेरेपुन्यू तताएर, रातो पारी राख्नु । पुरेत आएपछि भन्नु – ‘ वाजे आज सपनामा पिताजीलाई देखें । चीसो गाडिएर भुक्भुक्ती सुन्निएका रहेछन् । के भो बाभन्दा ठण्डी गाडिएर साह्रो पार्यो । बर्खन्तामा अरु केही गर्नुपर्दैन । त्यहाँ पुरेतलाई फलामे पुन्यू तताएर गालै गालामा डाम्नु यहाँ मेरो ठण्डी निको भैहाल्छ । यति भनेपछि तेरो सबै समस्या ठिक हुन्छ,’ मितबाउले उपाय सिकाए उसले मितबाउले भने वमोजिम बर्खन्ताको दिन बिहानै पुन्यू ततायो । पुरेत निकै दान कुम्ल्याउने आशामा त्यस घरमा प्रबेश गरेको थियो । जजमानले बर्खन्ताको अरु केही तयार नगरेर बाहिर आँगनमा पुन्यू तताएको देखेपछि सोधे – ‘ होइन के गर्न लागिस् केटा ।’

जजमान – आज राति सपनामा पिताजीलाई देखेँ । पिताजीले भने वमोजिम पुन्यू तताएको ।

पुरेत– होइन तेरो वाउले सपनामा के भन्यो हँ ?

जजमान– अर्थोक केही होइन, बाउ त माथि ठण्डी लागेर सुन्निएका रहेछन् । के भो बा भनेर सोद्दा यहाँ मलाई चीसोले भेट्यो । अब मेरो बर्खन्ता आउन लाग्यो । अरु सबै चिज तैले पठाइदिएको छँदैछस् । यसपालि दानसान गर्नु पर्दैन । बरु फलामे ठूलो पुन्यू तताएर त्यहाँ पुरेतका गालामा सेकिदिइस् भने यहाँ मलाई सन्चो हुन्छ भन्नुभएको छ ।

यति भनेर रातो भएको पुन्यूले पुरेतलाई डाम्न आँट्यो । पुरेतको डरले सातो पुत्लो उड्यो । अनि अचानक चिच्यायो– सपनामा देखेको कुरा कहाँ सत्य हुन्छ लाटा । त्यही पाइतो उसले कुराको गाँठी समात्यो । तिमीले सपनामा वाउले यस्तो मागेको छ, उस्तो मागेको छ भनेर गाइर्, घोडा सिरक, खेत लगेका है कि होइनौ । आज तिमीलाई नडामी छोडिदिन भनेर कस्सियो ।

पुरेतले धोती मुत्दै कायल भयो – यो सबै मैले ढाँटेको हुँ । सबै चिज फिर्ता गर्छु आज मेरो ज्यान चैँ बचाइदे । तँसँग दसऔंली जोडेर माफी माग्छु भनेपछि, मात्र उसले पुरेतलाई छुट्कारा दियो ।
यस्ता उपकारी मित वाउको संख्या समाजमा बढदै गए ठगीका घट्नाहरू कम हुँदाहुन् । लाटो, सोझो र अन्जानहरूका दिमाग भुट्नलाई छट्टुहरूले अनेक किम्बदन्ती बनाएका छन् । डर त्रास र आतंकका मनोविज्ञानहरू सिर्जना गरेका छन् । अहिले पनि मृतात्माको बार्षिकी नगर्दा उनीहरूले सन्तानलाई सराप दिन्छन् भनेर गरिन्छ ।

एक ठाउँमा मैले भर्खर साक्षात्कार गरेको घटना हो त्यहाँ पुरेतबाट पितृलाई चढाइने पिण्ड (खिरको डल्लो ) र त्यो पिण्ड पितृले सेवन गर्ने कुराको महिमा गान भैराखेको थियो । श्राद्धमा पितृ सन्तुष्ट भएनन् भने पितृ वारम्वार व्युँझिएर सन्तानलाई दु:ख दिन्छन् भनेर भन्न मात्र के भ्याएका थिए । एक जना अठार बीसको भाइले प्वाक्क जवाफ दिईहाल्यो “ त्यसो भए पिण्डमा फाईकम (बिषको धुलो) मुछेर दिनु पर्छ । त्यसबाट लन्ठै साफ फाईकम सहितको पिण्ड खुवाए पछि बार बार दु:ख दिने पितृ एकैचोटि खरानी हुन्छन् । छोरानातिलाई पनि ढुक्क, पितृ पनि वेरी न वेरी आउनु नपर्ने, स्वर्ग देखि नाथे एक डल्ली खिर खान पृथ्वीसम्म दु:ख पाउनु नपर्ने कि कसो पुरेत वा ?

यो कुराले पुरेत एक भन्नु न दुई भन्नु भए । सबै सुन्नेलाई ती युवाको भनाई चित्त बुझ्यो क्यारे सबै गलल हाँसे । पुरेतको पक्षमा बचाउ गरिदिने नभएपछि उनी सरक्क बाटो लागे ।
पुरातन संस्कार संस्कृति भित्रको परपिडनकारी चरित्रको विषयमा प्रशस्त आलोचना, टीकाटिप्पणी र समीक्षा हुन थालेको छ आजकाल । परम्परा भित्रका राम्रा पक्ष के हुन् नराम्रा पक्ष के हुन् ? यसका बिषयमा बिशद चर्चा, परिचर्चा र बहश चल्न थालेको छ । यो एकदमै स्वागतयोग्य कदम हो ।

एक्काइसौं शताब्दीको समृद्ध मानव सभ्यता र चेतनाको कुरा गर्छौं अनि कुसंस्कृतिको भारी बोक्छौं । सभ्यताको नाममा असभ्यताको अखेटा खोप्छै्र । रीतिको ठाउँमा कुरीति पाल्छौं । आचारको नाममा अनाचार र मानवीयताको नाममा पाशविकतालाई बढवा दिइरहेका छौं । यी सबै कुराहरूमा इन्चइन्चबाट धक्का दिन जन्मिनुपर्छ आधुनिक मितबाउहरू र पिण्डमा फाईकम मुछ्ने भाइहरू । अनि केलाइनँ थालिन्छन् ज्योतिषीका ब्याख्याहरू ।

पुन्य कार्की
२०६१।३।२८

Leave a Reply

Your email address will not be published. Required fields are marked *