Skip to content

चुरोट : केही झिलिमिली संस्मरण


एकातिर बैँशदार मायालुको ओठ, अर्कोतिर गैँडामार एक कित्ता नोट, माझमा एक बुट्टा मोटरमार चुरोट- यी तीनै थोक अहिले अगाडि परे भने पहिले म कुनचाहिँ टिपुँला ? निद्राविहीन एक रात बाह्र-एक बजेतिर मेरो दिमागमा एउटा प्रश्न गुजुल्टयो । निकैबेर झ्यालको डँडाल्नीमा ट्वालट्वालती हेरेर तरङ्गिएपछि एक्लै खिसिक्क ओठ फुस्क्यो- कहाँ पालिसदार हीरा, कहाँ झुसिलकीरा ! जाबो दुईपैसे चुरोटको पनि कहीँ बैँसदार ओठ र गैँडामार नोटसँग तुलना हुन सक्छ ?

धत्, बहुला कहाँको !! मैले आफैँलाई हप्काएँ, तर हप्काउँदाहप्काउँदै मानौँ नाइटैदेखि तुलबुलीको एउटा कस्तो मुस्लो उठयो भने बसेको ठाउँमा बस्नै नसकी जुरुक्क उठेँ, भननन्न एक पटक कोठामा भौँतारिएँ । झुन्डिएजति कोट, पैन्ट, कमिज, बुससर्ट सबका खल्तीखल्ती छामेँ, एउटा टफी कताबाट अड्केको रहेछ क्वाप्प मुखमा हालेर मर्मरी चपाएँ । तैपनि तुलबुलीको रन्को छुटेन । अनि दराज, तखता, खोपा, मेच, बाकस, झ्याल, ढोका सबका अन्तरकुन्तरतिर हात घुसारेँ अस्ति नै हरायो भनेको एउटा काँगियो पाइयो, ककसले खसालेर नभेट्टाएका दुई-तीनओटा दुईपैसे, चारपैसे र पाँचपैसे ढयाक भेटिए । टेबुल र खाट सारेर मुन्तिरका घुरान केलाएँ- एउटा भाँच्चिएको होल्डर, दुई-चारओटा गोरखापत्र, समीक्षा र नयाँ समाजको पत्र, साँचो हराएको एउटा ताल्चा, दुइटा बेजोडा मोजा, एउटा कालो रिबन यस्तैयस्तै अर्थ न बर्थका सत्र थोक फेला परे, तर खोजेको जे हो सोचाहिँ हात लागेन । हैरान भएर एक गिलास पानी तन्न पिइदिएँ र तन्द्रङ्ग पल्टिएँ त्यही भताभुङ्ग ओछयानमाथि । प्रश्न फेरि दोहोरीयो- हँ, अहिले मलाई के चाहिएको त ? सुर्केस खोलेँ भने गैँडामार नोट कसो ननिस्केला, जे भए पनि महिनाको पहिलै साताको जागिरदार पो त ! बैँसदार मायालुकै कुरा गरुँ भने कमसेकम आफ्नी पर्मानेन्ट त तुरुन्तै एभाइलेबल । यी दुई थोक पाएर पनि यो तुलबुली किन, यो छटपटी किन ? किन भनूँ ? दानापानीको, सेक्सपानीको र अहंपानीको प्यासभन्दा बेग्लै (?) त्यस बेला मलाई सताएको थियो अर्कै प्यासले, माने- एक सर्को चुरोटको प्यासले । त्यसकारण ओठ न नोट, म धुइँधुइँती खोज्दै थिएँ चुरोटको एउटा ठुटै भए पनि कतै अलमलिएको छ कि भनेर ।

प्रत्येक वर्षझैँ- त्यो वर्ष पनि वैशाख १ गतेदेखि चुरोट छाड्ने माघ १ गतेदेखिकै संकल्प थियो । चुरोट खान छाड्नु आवश्यक मात्र होइन, मेरा निम्ति अनिवार्य पनि थियो । यो अनिवार्यता मैले नबुझेको होइन, बुझ्दाबुझ्दाबुझ्दा कति बुझिसकेको थिएँ भने प्रत्यक चुरोट सल्काउँदा यही नै अन्तिम हो भनी आफ्नो तालिमी मनले संकल्प पढिसक्थ्यो । तर तलतलै न हो, मेरो संकल्प सारालाई तलतलै पुर्‍याएर आफू तेलझैँ मास्तिर तहरिहाल्थ्यो । अनि ‘तैतै आज एक दिनलाई भैगो, भोलिदेखि खाए के ?’ म दृढतासाथ संकल्प दोहोर्‍याउँथेँ । यसै गरी आज एक दिनबाट यो एक महिना, यो एक महिनाबाट यो बाँकी वर्ष हुँदाहुँदै चुरोट छोड्नलाई नयाँ वर्षको प्रारम्भ पर्खने लुत्रे र झुत्रे तालले कहिल्यै छाडेन । संकल्पशक्तिको यो हीनता जिन्दगीकै क्षीणता हो भनी म नबुझ्ने त होइन, तर बुझ्दैमा त्यो दह्रो भइहाल्ने पनि त होइन । चुरोट र क्यानसरका सम्बन्धमा कति चर्चा सुनिए, पर्चा पढिए, तैपनि चुरोट छोड्न सकिँदैन । अजित भएर २०१९ साल चैत मसान्तको दिन बेलुका मैले आफ्नो लाइटर फोरफार पारी फ्याँकिदिएँ, आस्ट्रे किचकाच पारी मिल्काइदिएँ, बाँकी बचेका दुई-चार खिलीसहित बट्टा च्यातचुत पारी आफल्दिएँ । “ए, लाइटर त नफालौँ” भनी बराबर सलाई नपाएर भोगेका कतिपय संकटको सम्झना उनी दिँदै थिइन्, तर मैले भीष्मको आवजमा सगर्व उडाइदिएँ- “अब पनि मैले चुरोट खाला भन्ने ठानेको कि ?”

१ गतेदेखि नखाएको ४ गते बेलुका यो दसा ! मलाई आफ्नो कमजोरीदेखि रिस, घृणा, ग्लानि सबथोक उठे, तर सबैभन्दा अग्लो भएर उठयो फेरि उही तलतल । हो, म साँच्चै तलतलाएँ, तर उपाय केही थिएन, गाउँको घर भएकोले पसल नजिक थिएन, आधा रातमा आधा कोस पर कसलाई उठाउन जाने ? बरु काकाकहाँ माग्न पठाऊँ- एउटा मसिनो आशा उदायो । तर यति जाबो कुरामा पनि आफ्नो दृढ प्रतिज्ञा अहिल्यै उनको अगाडि कसरी भंग गर्ने ? मेरो पौरुष अनकनायो ।

अम्बलले न पौरुष भन्छ, न प्रेस्टिज ! तत्कालै एउटा घटनाको सम्झना आयो । एकताका पोखराको एउटा गाउँले स्कुलमा म शिक्षक थिएँ । एक दिन यसै गरी चुरोट खान पाइएन । दिनभर पुग्ला भनियो, बेलुका त ठन्डाराम ! भोलिपल्ट तलतलले सबेरै तल ओरालिहाल्यो । आँगनमा आफू बसेको घरको हली हल्लँदै रहेछ । आफ्नो मास्टरी प्रेस्टिजलाई दाह्राले सकेसम्म थिचेर त्यही ग्वाङ्ग्रो खालको हलीसित मैले दीन पुकार गरेँ- “रामेदाइ, तिमीसित एउटा चुरोट छैन ?”

रामेले असजिलो मानेर भन्यो- “चुरोट बनाउँदै छु, मास्टरसाहेब !”

नभन्दै ऊ बेलौती (अम्बा)का सुकेका पात टिपेर माड्दै रहेछ । म केटाकेटीहरूलाई पसल पठाउने धुनमा थिएँ, रामेले भुसा ल्याएर टक्रयायो । बूढी औँलाजत्रो कलात्मक चिलिममा अम्बाको पात माडेको धूलो हालेर निकालेको धूवाँ- न तमाखु, न कक्कड साँच्चै भुसाहा नै थियो त्यो !

“तानूँ त ?” मैले लजाउँदै सोधेँ ।

“यति सानो चिलिम उचाल्न सक्नुहुन्न र तान्नै पर्‍यो, तान्नलाई डोरी पनि चाहिन्छ कि ?”

रामे हल्ल हाँस्यो, मैले सुइँसुइँ भुसाहा तानेँ । झ्यालबाट केटाकेटीले गिज्याए- “जात फाल्नु गहता’ झोलमा !”

तर के लाग्छ, क्याकक्याक गरेर पनि तलतलले मूतको न्यानो तापिछाड्यो । त्यसरी त लाज पचाइयो भने उनलाई उठाएर काकाकहाँ चुरोट माग्न पठाउन के गाह्रो ! तर काका पनि त चुरोटपीडित रहेछन् भने ? फेरि अर्को सम्झना आयो ।

एक दिन केटाकेटीमै काका (बलराम अर्याल) र म पढेर घर फर्कंदै थियौँ । तलबी हुँदा त तीन दिनभरि भए तेह्र दिन पन्चट रहने आफ्नो खल्तीको कुलाङ्गार बानी, त्यसबेला बिलकुल ढाक्रे विद्यार्थी । एकातिर बाबुबाजेको अघिल्तिर चुरोट नखाने हामी आदर्श छोरा, अर्कातिर एकान्तमा ठुटा बेरेर भए पनि मुख नधुवाँई नहुने हामी अम्बली मोरा ! अनि पैसा पनि सधैँ कहाँबाट पुगोस्, दुवै जना हरिकंगाल । टंगाल हुँदै कमलपोखरीबाट गौशालातिरको सडकमा लुखुरलुखुर हिँड्दै थियौँ । हुन त भोकले पनि कम सताएको थिएन, तर भोकभन्दा मापाको थियो उही तलतल ! रातो पुलनिर पुगेपछि तिनताकाका पुड्कापुड्का हाम्रा काकाले मायालाग्दो गरी प्वाक्क भन्नुभयो- “बाटामा राम्रोसित हेर्दै हिँड् है, त्यतिका पशुपतिभक्तहरू हिड्दा यो सडकमा एउटा दुईपैसे ढ्याक कसो नपाइएला !” यो ठट्टा भइदिएको भए बरु त्यति हाँसो उठ्तैनृयो तर कुरो थियो मर्मान्तकै ! अहिले पनि त्यो बाटो हिड्दा बुक वन र बिगिनर्स ट्रान्स्लेसनका किताप च्यापेर बाटामा ढ्याक पाइन्छ कि भन्दै हिँडेका पैसाविहीन काका-भतिजाका तलतलग्रस्त तुलबुले मुद्रा झलझली सम्झन्छु ।

चुरोट नपाउँदाका, सलाई नजुट्दाका, बाआमाले थाहा पाउलान् भन्ने डरले लुक्ता-लुकाउँदाका चाखलाग्दा काण्ड कति छन् कति- घरतिर, छात्रावासतिर, स्कुलकलेजतिर, अड्डाअफिसतिर अनि सबैतिर । जतिसुकै प्रेस्टिज र नैतिकता राख्नुपर्ने मान्छे छ भने पनि चुरोटमा उसको केही लाग्दैन । कहिलेकाहीँ चिन्दै नचिनेका मान्छेसित पनि एकोटा अप्ठ्यारो जनाउँदै चुरोट मागिएको छ, चुरोट नभएको बेलामा चिनेको मान्छे भेट भयो भने त ‘के खोज्छस् काना आँखाँ’ भइहाल्छ । माग्नै किन पर्‍यो र ! आफ्नो रित्तो खल्ती छामछुम पार्‍यो, चुरोट खाने मित्र रहेछ भने यसले चुरोट खोज्यो भनी बुझिहाल्छ । यो त मामुली नै भयो, सुटुक्क भनिदिऊँ भने कहिलेकाहीँ मैले बाबुको खल्तीबाट चुरोट चोरेको पनि छु, कहिलेकाहीँ मेरो चुरोट चोरिएको पनि छ ।

यस्तै कुराहरू सोचेर आत्मग्लानि मेट्तै मैले उनलाई उठाएँ र भनेँ- “म त चुरोट छोड्न नसक्ने भएँ बा ! के गर्ने ?”

आफूले गरेको भविष्यवाणी सत्य निस्कदाँ उनी गर्वले गजक्क फुलेर नाक नेप्ट्याउन थालिन्- “मैले सक्नुहुन्न भनेकै थिएँ, अब यस बेला के गर्ने ? तमाखु खाने ?”

प्रस्ताव त गजबै हो, तर मध्यरातमा ट्वार्रट्वार्र हुक्का बजेको सुन्दा ख्याक आयो भनेर भाइबहिनीहरू कतै नझस्कून्, त्यो त छोडदिऔँ, बाले सुन्नुभयो भने, ‘चुरोटसुरोट खाँदैन भनेको छोरो त आधा रातमा हुक्का पो टुर्टुराउँदो रहेछ ए !’ त्यसो भए पानीसानी मिल्काएर स्वाइँस्वाइँ तान्ने त ! कुरो योचाहिँ लम्बरी ! अगरनो तलै भएकोले त्यो अकबरी तलतल मार्न तलै ओर्लिएर तमाखु हालियो । पानी रित्तिएको हुक्कामा नाली नहाली स्वाइँस्वाइँ-स्वाइँस्वाइँ एकनास शोषले झैँ तानेर मैले तमाखु सिद्धयाउनै आँटेको थिएँ, आमाले आफ्नै कोठाबाट बोलाइदिनुभयो- “बाबु !”

तलैबाट आवाज दिऊँ, यस बेला तल किन ? ‘हजुर’ भन्नको लागि कोठामा पुगूँ, त्यति छिटो बिरालाचालले कसरी भर्‍याङ उक्लने ? आफूलाई फेरि रिङटा लागेर छुट्टी ! तर छोराबुहारी कसैबाट आवाज नआएकोले उहाँले फेरि दोहोर्‍याउनुभएन र मात्रै, नत्र प्रतिज्ञा तोडेको अपराधको फल तुरुन्तै फलेजस्तो हुन्थ्यो आफूलाई ।

चुरोट त खाँदैखान्न भन्दाभन्दै तमाखु र बिँडी दुई थोक नया अम्मल समातिए । घरमा तमाखु, बाहिर बिँडी, कति सजिलो ! तैपनि चुरोट नै चाहिँ नखाएकोले जे भए पनि गर्वै थियो । तर एक साँझ सिनेमाको माध्यान्तरमा रोचकले झसांग पार्दै भने- “ए चुरोट छाडेको होइन के ?”

नभन्दै म त मजासित गोल्डफ्लेक उडाउँदै पो रहेछु । रमेश विकलले कुन बेला चुरोट दिएछन्, आफूले सुइँक्याइएछ, कस्तो मजा बेहोसी !

आफू चुरोट नखाने मान्छे, त्यसै पनि हामीले खाएको मन पराउँदैनन्, झन् म त छाड्नै पर्ने र छोडिसकेको मान्छे, त्यसैले कति दिन अरुको अगाडि मैले चुरोट, बिँडी केही पनि खाँदै खाइनँ । एक दिन राति म एक जना साथीकहाँ थिएँ, मलाई आफ्नो कोठामा छोडेर उनी अर्कै घरतिर गइसकेपछि मैले लुसुक्क चुरोट सल्काउन खोजेको, सलाई पाइनँ । ताल्चा नमारेका ठाउँजति सबैतिर खानतलासी गर्दा पनि एक छेस्को सलाई पाइएन । आखिर कताकताबाट खाटमुनि एउटा थोत्रो फेला पार्न पुगेँ म । तार तानतुन पारी टुपिन जोडेको मात्र के थिएँ- बिजुली झ्याप्पै । अब भएन के ? चन्द्रावतीले भात खान लागेको जस्तो पो भयो आफूलाई । चुरोट खाने चाँजो मिल्दै मिलेन । तिनताका मेरो डेरा थियो बांगेमोहडानिर, बाङ्गेमोहडानिर डेरा भए पनि म त मान्छे सोझै थिएँ । भोलिपल्ट बेलुकी नौ-दस बजेतिर अफिसको काम र होटेलको माम सकी कोठामा पस्ता त आस्ट्रे, लाइटरसहित एक बट्टा क्याप्टेन सिरानमा सजिइराखेको ! छक्कै परेर सूचना पढेँ- “हिजो सलाई नपाएर जिल्लिएको बुझिएकोले सबथोक हाजिर छ, भोलि सबेरै एउटा हास्यव्याङ्ग्यलेख प्रेसमा हाजिर गराउनू !” यो थियो रचनाका लहडकान्त सम्पादकज्यूको आदेश ।

हुन त महाकवि देवकोटाको चुरोटखुवाइ सम्झँदा हाम्रो चुरोटखुवाइ के हो र, प्रशस्त खाएको दिन सालाखाला दुई बट्टा खाइएला, त्यसमा पनि म त सिंहमारदेखि बिरालोमारसम्म जे पनि सरासर चल्ने क्लासविहीन भलादमी । तैपनि बढ्दै थियो- आफ्नो स्थिति हेरी । त्यसैले छोड्नै नसके पनि घटाउने प्रयत्नमा मैले बट्टाको सट्टा खुद्रा खरिदको नीति लिएँ । तर आफूले नलिँदैमा खान घट्छ भन्ने आशा पनि बेकार ! बरु आफूले चुरोट तानिरहेको बखत मान्नुपर्ने मान्छेले ‘खोइ, एउटा यता पनि’ भनिदिए भने उल्टो आफैँले हिन्नेत्याइँ अनुभव गर्नुपर्छ । कवि सिद्धिचरणज्यू र रामराजज्यूसित कसोकसो प्राय: यस्तै परेको छ धेरै पटक । आफूलाई खान छ, अरुले माग्दा छैन, छैन, चुरोट पनि छैन, सलाई पनि छैन साथमा, कहिल्यै पनि । चुरोट छोड्नै सकेको पनि होइन कहिल्यै पनि- कस्तो दरिद्र चाल !

त्यसैले एक दिन मैले अरु विभिन्न प्रतिज्ञाहरूको साथ ‘चुरोट खानु र मान्छे पोलेको धूवाँ खानु बराबर’ हो भनी किरिया खाएर कागत लेखेँ, सही गरेँ, हुक्काले अलमल्याउला भनी त्यो पनि फोरिदिएँ र सान्त भएर ती दिन गावैँमा काटेँ तर पनि केही लागेन । मैले तीन-चार वर्ष मासु छोडेँ, कति दिन नून छोडेँ, कति लामालामा अवधिसम्म आफ्ना अति प्रिय वस्तु र प्रियतमहरू छाडेँ, तर एक साता पनि धूम्रपानलाई बिल्कुलै छाड्न सकिनँ । मेरो यो चुरोट समस्यामा सबै साथीहरूको सहानुभूति उब्जन्छ र अफिसमा एकछिन चुपो लागेको देख्ता हाम्रा केदारज्यू सोध्छन्- “दाजुको ट्रान्जिस्टरलाई ब्याट्री चाहिएको जस्तो छ नि !” हो, निकोटिनको क्यानसर हुन्छ, तर सेलाएका बखत स्नायविक तारहरू तताउन निकोटिनको निकै आवश्यकता पर्दो रहेछ क्यारे हामीलाई ।

साँच्ची नै शिथिलतामा सुर्तीले ग्लुकोजको काम दिई फुर्ती निकालिदिन्छ भने सुर्तीका क्षणको सबभन्दा ठूलो संगाती पनि सुर्तीको धूवाँसिवाय केही छैन । यी दुवै कुरा मैले आफ्नो एक महिनाजतिको दिल्लीप्रवासको बखत राम्रैसित अनुभव गरेको छु । त्यहाँ पनि मैले चुरोट छोडेँ, पपाँच मिनेटमा एउटाएउटा ट्याप लगाएको बात नलागोस् नत्र बाबुराम पौड्याल साक्षी छन्, मैले प्रत्येक दिन चुरोट छाडेँ, प्रत्येक रात चुरोट छाडेँ । त्यसै बेलादेखि मार्कट्‍विनको यो भनाइ साह्रै घतलाग्दो गरी म सम्झन्छु- “चुरोट छोड्नु कुनै गाह्रो काम होइन, मैले एक सातामा कैयौँ पटक चुरोट छोडिसकेँ (उसैको वाक्य आएन) ।”

त, व्यापारीले बातैपिच्छे धरोधर्म भन्नु र मैले सासैपिच्छे चुरोट खान्नँ भन्नु एकै भयो । तैपनि जमुनाको किनारमा बसेर अर्को संकल्प गरेँ- अब गंगाजीको किनारमा उभिएर पानी छुँदै किरिया हालौँला । तर बनारसमा पुगेपछि भेट्नेबित्तिकै चारमिनारका बट्टा तेर्स्याउँदै शिव भट्टराईज्यूले भने- “विश्वनाथ बाबाको नगरमा सके गाँजाकै चिलिमले स्वागत गर्नुपर्थ्यो !”

म पनि पशुपतिनाथ बाबाकै प्रजा हुँ नि ! चारमिनारको कुहिरीमण्डलमा हाम्रो ठट्टाध्याय गुरु वाक्क भएर घरबार राजीनामा गर्ने त्यागी, महात्यगीले त चुरोट छोड्नुको सट्टा गाँजासमेत उडाउन थाल्छन् भने मैले चुरोट किन छाड्ने ? स्वास्थ्यको निम्ति भनूँ भने अब चुरोट छोडेर स्वास्थ्य सुधार्छु भन्नु बुढी वेश्याले आर्यघाट नुहाएर जीवन पवित्र पार्छु भनेजस्तै त हो नि ! यस्ता कुरा सोच्तासोच्तै पनि काठमाडौँ पुगेर चुरोट छाड्ने धोको ठ्याम्मै बिसाएको त थिइनँ । तर शुभसाइतमा चाहिँ कहिल्यै परेको होइन ।

चुरोट छाड्ने अर्को प्रयास मैले पोहोर रावलपिण्डीमा पनि गरेँ । त्यस बेला साथी हुनुहुन्थ्यो- रुपरेखाका सम्पादक बालमुकुन्ददेव पाण्डे र मदरल्याण्डका सम्पादक मणिन्द्रज्यू । काठमाडौँ-त्रिशूली सडकजस्तै (ठिक उस्तै र उत्रै) एउटा पहाडी यात्रामा उहाँहरूले मलाई धेरै सम्झाउनुभयो, तर मैले पो चुरोट छाड्नुपर्छ भन्ने कुरो बिर्सेको कहाँ थिएँ र ! मोटरैबाट चुरोटको बट्टा मिल्काएर भनेँ- “लौ त लौ, म चुरोट खान्नँ ।”
तर साँझ एउटा पार्टीमा भने उनीहरूको आँखा छलेर पनि चुरोट तानिछाडेँ ।

म कहिलेकाहीँ त्यसै पनि व्रत बसिदिन्छु । साथीहरू भन्छन्- खाना पनि छाड्न सक्छ कस्तो मान्छे यो ! फेरि जब चुरोट सल्काउन थाल्छु उनीहरू दोहोर्‍याउँछन्- जाबो चुरोट पनि छाड्न सक्तैन कस्तो मान्छे यो ! अब म यस्तै मान्छे ! के गर्ने ? चुरोट त म खान्नँ भन्दै छु, तर चुरोटले चोरेर भए पनि मलाई खाइहाल्छ । हो, सल्य भन्छु- मलाई चुरोटदेखि डर लाग्छ, घृणा लाग्छ तर म आत्मसमर्पित हुँदै आएको छु- यही छुसी चुरोटसँग । यो क्रम कतिसम्म चल्ने हो, म हजुरले कति पटक चुरोट छाड्ने हुँ त्यो त भन्न सक्तिनँ, तर फेरि नयाँ वर्ष लाग्दै छ, म चुरोट छोड्दै छु- योचाहिँ पक्का हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *