Skip to content


(प्रेम, रोमान्स र वियोगको कथा)

‘ओहो ! रेबु तिमी यहाँ ?’

काम विशेषले चक्रपथ पुगेको म एकछिन टोल्हाउन शंखपार्क उद्यान के पस्न लागेको थिएँ, छेऊमै उभिएकी एक अपरीचित लाग्ने युवतीले म तिर गौर गरी । शिर देखि पाउ सम्म नियालीसकेपछि पुरापुर चिनजानको भाषामा आश्चर्य मान्दै प्रश्न हुत्याई ।

‘हो म यहाँ । तर तपाईँलाई चिन्न सकिन नि ?’ अलमलमा पर्दै सोधेँ ।

‘ल ! मलाई चिनेनौ ?’ उसले झन् आश्चर्य व्यक्त गरी ।

‘हुन त तिमी केटा मानिसहरु राम्री केटी, राम्री स्वास्नी पाएपछि सवै थोक विर्सिहाल्छौ नि ।’ उसले एकै पटक सवै शव्द बाण प्रहार गरी ।

यस पटक पनि म चिनजानको नजिक पुग्न सकेको थिइनँ । चिन्दिन भनुँ, अर्को शव्द बाँण व्यहोर्नुपर्ने चिन्ता, चिने भनौँ को हो छुट्याउन सकिनँ । अझै अलमलमा थिएँ म ।

‘के क्वारक्वार्ती हेरी रा ? जाउँ हिड पार्क भित्र, उतै गएर सवै कुरा गरौँला ।’ उसले हातै तानेर भित्र लागि ।

‘रेवु तिमी साँच्चिकै बदलिएछौँ ।’ उसले कोट्याउन थाली । ‘यसरी बदलिएछौँ कि तिमीले विगतका स्मृतिका पानाहरुलाई एकमुष्ट च्यातेर फालिदिएछौ । छुट्टै वर्तमान निर्माण गरेछौँ, सायद तिम्रो यो संसारमा हामी अटाउदैनौँ होला ।’ ऊ झन् अघि बढी । धाराप्रवाह बोलीरही ।

मेरो मथिङ्गलमा उसका शव्द, लवज फनफनी घुम्न थाल्यो र यसपटक भनेँ म चिनजानको नजिक पुगेँ ।

‘ए ! तिमी अस्मिता होइनौँ ।’

‘तिमी पनि त बदलिएछौँ नि ।’ अव म भने म विश्वस्त भै सकेको थिएँ, ऊ अस्मितानै हो भनेर ।

‘बल्ल चिन्यौ मलाई, मलाई चिनाउन पनि यति भूमिका बाँध्न पर्यो ।’ आँखी भौँ खुम्च्याउँदै नाक गालामा पुर्याई र जवाफ फर्काइ । यसबाट म झन् प्रष्ट भएँ ।

सलक्क परेको जिऊडाल, आँखी भौँ पनि मिलाएर चिटिक्क पारी छ, उसलाई सुहाउने रातो सर्ट, अनि टिपिक्क पिडुँलामा टाँसिएको पाइन्टले उसको रुप र यौवनतालाई झनै निखार ल्याइरहेको थियो ।

पुष्ट नितम्व, चौँडा छाती र सलक्क मिलेको कपाल, वेलावेलामा ओठ फट्याएर देखाउने लहरै मिलेको दन्त लहरले पहिलेझैँ अहिले पनि उसको सुन्दरतामा कुनै कमि आएको देखिँदैनथ्यो । यसपटक मलाई ऊ साँचिकै पूर्ण लागेकी थिई ।

उसको यौवनताको माधूर्यले धेरै पछि मलाई मदहोसी बनायो ।

विस्तारै तन्द्राबाट विउँझिएर सोधेँ, ‘साँचि अस्मु के गर्दै छौ आजकाल तिमी ?’

‘उही जिऊ पाल्ने मेसो, सानो तिनो जागिर गर्दैछु ।’ अनुहार मुजा पारेर बोली ।

‘अनी तिमी नि ?’ उसले म तिर प्रश्न फाली ।

‘म त केही गर्दिन अस्मु, खासै केही छैन त्यस्तै सामान्य काममा अल्झिएको छु, जीवन निर्बाह गर्ने बाटो ।’ वेली विस्तार लगाउनु उचित ठानिन, सामान्य जवाफमा टार्ने कोशिस गरेँ ।

‘कलेजमा त तिमी पढाईमा चम्मु थियौ, पढाई कहाँ पुर्यायौ त ?’ उसले पुरै खोतल्न थाली ।

‘मास्टर्स सकेँ, बाहिर जाने प्रयत्नमा छु ।’ यस पटक पनि औपचारिकता मात्र पुरा गरेँ ।

वर्षौ पछि उनको सामिप्तामा पुगेको थिएँ । मन बेचैन थियो, नहोस् पनि कसरी, धक फुकाएर बोल्न मन लागेको थिएन । पार्कमा मान्छेहरु आ–आफ्नै धुनमा थिए । त्यहाँ अरु युगल जोडीहरु पनि थिए । सायद तिनैहरु आफ्नै संसारमा मस्त थिए । चरचुरुङ्गीहरु पनि आफ्नै लयमा बाताबरणमा धुन मिसाइरहेका थिए । अनायसै पार्क अघिल्तिर टोल्हाएकोमा मलाई पश्चाताप लाग्यो । पार्क अघिल्तिर नउभिएको भए उसलाई त भेट्न पर्दैनथ्यो । यस्तै सोच्दै थिएँ ।

ऊ वर्षौ पछि उर्लिएको खहरे झैँ गडगडाएर बग्न भयातुर देखिन्थी । चञ्चले र जिज्ञाँसु बन्दै बचपना देखाएर मेरो बारेमा लगातार बुझ्ने कोशिस गरिहेकी थिई । मानौ वषौँदेखी उ मेरो बारेमा खोज अन्वेषण गर्दै थिई ।

‘के तिमीले अझै विर्सिका छैनौ त्यो घटनालाई ?’ उसले खाटा बसेर स्मृतिको चाङमा थन्किएको घाऊ उदिन्न थाली ।

‘हेर छाडिदेऊ त्यो सव, केही कमजोरी तिम्रा पनि थिए, केही मेरा पनि थिए, अव त्यसैलाई सम्झिएर बस्ने हो भने नयाँ बाटो कसरी बन्छ ?’ उसले सम्झाउने प्रयत्न गरी ।

म चुपचाप थिएँ, सायद म रित्तिसकेको थिएँ । पीडा, बेदना र दुःखले आहात मलाई उसका क्षणिक र सामान्य शव्दले कहाँ राहत महसुस गथ्र्यो र ।

मसँग व्यथाका पाहाड छन् । दुःख र बेदनाका सागर छन् । ति तरेर म कहाँ खुसिको संसार पुग्न सक्छु र । मेरो मथिङ्गलमा यिनै कुराहरु घुमिरहेको थियो । र त मलाई उसका शव्दले खासै प्रभाव पार्न सकेन ।

‘रेवु मलाई थाहा छ, तिमी मेरो कारणले धेरै दुःखी छौँ, तर यसबीचमा मैले धेरै कुरा रियलाईज गरेकी छु । मेरो जीवनमा तिम्रो कमि भएको थियो त्यसकारण मैले कुनै नयाँ बाटो भेटिन र खोज्न पनि चाहिन ।’ उसले नजिकै आएर मायालू पारामा भनी ।

विस्तारै भावनामा बग्न थाली । तर पनि मलाई उसका करुणा मिसिएका धोद्रो श्वरले पगाल्न सकेको थिएन । विगतको उसको व्यवहारले मेरो मन अमिल्लिन छोडेको थिएन ।

‘हो रेवु त्यतीवेला म काँचो थिएँ । मैले प्रेम प्राप्ति हो मात्र ठान्दथेँ । समर्पणको भाव ममा थिएन । त्याग, समर्पण र प्राप्तिको तिमूर्ती प्रेम भगवान होइन मेरा लागि ख्याल ख्यालैको विषय बनेको थियो । मैले बुझेको संसार र बास्तविक संसार जमिन–आसमानको फरक रहेछ, त्यो आज बुझ्दैछु ।’ उसले भावुक हुँदै भनी ।

‘त्यसो भए मैले के गर्नु पर्यो ?’ म अधर्य भएँ । धेरै मौनता साँध्नु मेरो लागि जायज थिएन । उसले धेरै बोलेपछि त्यसको जवाफ दिनु मेरो अर्को बाध्यता थियो ।

‘तिमी रिसाएका छौ मलाई थाहा छ । तर मलाई यो पनि थाहा छ तिमी महान छौ । धेरै दिन देखि यही समयको प्रतिक्षारत थिएँ । हुन सक्छ मेरो पुकार भगवानले सुनी दिनुभएको छ । त्यसकारण म तिमीसँग यो स्वर्णीम क्षण तिम्रो हृदयको कुनाको थोरै ‘स्पेस’ खोजेकी छु ।’ उ झन भावनामा नदी जस्तै सलल बगी र मेरो छेऊमा आएर रोकिइ ।

‘म यस्ता नौटंकी कुरामा विश्वास गर्दिन, मैले चिनेको र अनुभव गरेको अस्मी अव मेरो मानसपटलमा दोहोर्याएर प्रवेश गर्न सक्तिन, सुन्यौ तिमीले । अव म जाउँ ?’ म पन्छिन खोजेँ

यो शव्दले उसलाई निकै घोचेछ, आँखाबाट आँशु चुहाउँदै उसले थपी, ‘ रेवु तिमी मेरो कारणले यति दुःखी छौ भन्ने ठानेको भए, मैले प्रायश्चित गर्थेँ होला, तर मलाई थाहा छ तिमीले पनि मलाई विर्सन सकेका छैनौँ र अझै मनका कुन्तरमा मेरा लागि ठाउँ सुरक्षित गरेका छौ ।’ उ भक्कानिइ ।

‘हुन सक्तैन यो, समय निकै अघि बढी सक्यो, तिमीले जहाँ मलाई छोड्यौ त्यहाँबाट म निकै अघि बढी सकेँ । त्यो क्षण मलाई संसारकै नामर्द पुरुषको उपमा भिराएकी थियौ र शहरको गल्लीमा डुल्ने कुकुर बनाइदिएकी थियौ । त्यही दिन देखि म तिम्रो लायक रहिन र हुन सकिन । राम्रोसँग बुझ्यौ हैन तिमीले ।’ मैले भए भरको बोलिदिएँ ।

अहिले भने उसको आँखामा समुद्र उर्लिसकेका थिए । रुमालको फेरले आँखाको कोष पुछ्दै मधुरो आवाजमा बोली, ‘हो मबाट गल्ति भएकै हो, यसमा मलाई पश्चाताप छ, आवेगमा आएर त्यो दिन मैले जुन व्यवहार गरेँ त्यो प्रायश्चित गर्न चाहन्छु । मलाई माफ गर । ’ ऊ एकै श्वासमा बोली ।

‘ठिक छ, उसो भए म के गरु ?’ ‘मलाई मायाँ गर ।’ उसको मुहारमा रुमानी प्रेम झल्कियो । अनायसै मुहार धम्प बलेर आयो । अनुहारमा कान्ति छायो । आँखामा पुनः समुद्र भरियो । सायद हश्राँशु हुनपर्दछ ।

‘आँखा चिम्लिएर हात फिँजाउ त रेवु ।’ उ अनायसै मात्तिई ।

‘ल !’ मैले पनि उसै गरिदिएँ ।

‘आँखा खोल त अव ।’

उसले हातमा भर्खर फक्रिएका ‘सुन्दर ह्वाईट’ रोज थमार्ई । सुन्यौ रेवु यो मेरो विश्वासको गुलाव हो जसलाई म कहिल्यै ओइलाउन दिने छैन । उ पुलकित भई र मायालु पारामा फुत्त मुस्कान छोडिदिई म भए तिर । हातमा थमाएको ‘ह्वाइट रोज’ले उसको विश्वासको प्रेम अभिव्यक्त गर्यो गरेन तर मेरो हृदयमा प्रेमधारा निश्चल भएर बगन थाल्यो शरिरको कुनाकुनामा । उनी विस्तारै अघि बढिन्, मेरो हात चुमिन् र भनिन् ‘आई लभ यू रेवु वन्स मोर ।’

यो भन्दा दृष्य अघि बढ्न पाएन ।

कस्तो ऐठन ।

मध्यरातमा उसको र मेरो रुमानी प्रेमको सुश्वप्नले निद्रा विथोलियो ।

दृष्यमा कैँची लाग्यो वषौँ अघि मेटिएका विपनाहरु चलिचित्र झैँ मथिङ्गलमा घुम्न थालेँ मल्टिप्लेक्सका पर्दाहरुमा क्रमशः तर यसको के अर्थ त्यो कथाको त वियोगान्त अन्त्य भैसकेको थियो । छ । अस्तु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *