Skip to content


एउटा जन्मन नपाएको बालिका भ्रुणलाई डस्टबिनमा फ्याँक्न नपाउँदै उनीहरूलाई घर जाने चटारो परेको छ।
आइरन चक्की राख्दै श्रीमान झोला मिलाइरहेको छ र श्रीमती सारीको सप्को!
सारी अनि कपाल मिलाउँदै गर्दा उसको कान्ति हराएको अनुहारमा देखिन्छ– जिन्दगी डष्टबिनमा फ्याँकिने भु्रणको नियतिभन्दा कम छैन। फ्याँकिएको!
क्याबिनछेउमा बसेर मैले उनीहरूलाई हेरिरहेँ!
ती जोडीको अनुहारमा एउटा सन्तुष्टिको लहर देख्छु– फेरि पनि छोरी जन्माउन नपरेको सन्तुष्टि।
कहालीन्छु!
उसको मेडिकल डकुमेन्ट हेरिसकेकी छु– यो पाठेघरमा बसेको चौथो बच्चा र फ्याँकिएको दोस्रो भ्रुण हो।
त्यो स्वास्नीमान्छेको लोग्नेले अँझै छोरा पाउने आश मारेको छैन भन्ने मलाई थाहा छ।
ऊ फेरि यो अस्पतालमा बच्चा जन्माउन वा भ्रुण फ्याँक्न अवश्य आउने छ, आफ्नी श्रीमती लिएर।
उनीहरूको अनुहार हेरेर तनावग्रस्त जीवनको अनुमान लगाउँछु र आफैँ तनावमा पर्छु।
फेरि उनीहरूमा त्यस्तो आशाको दियो पनि देखिरहेकी छु जसले संसारको सभ्यतालाई उज्यालो होइन, अँध्यारो दिने छ।
हो यही बेला अकस्मात मेरो हात आफ्नो पेटमा पुग्छ। यहाँ हुर्किँदै छ, मेरो जिन्दगीको घामको एक टुक्रा। यसैले मेरो संसारलाई÷जिन्दगीलाई उज्यालो दिने छ खुसीको!
यति मिठो अनुभूति, यस्तो गौरवको भावना जगाउने त्यो कलिलो टुक्रालाई किन आत्मा मारेर फ्याँकिदिन्छन् स्वास्नी मान्छेहरू? किन छोरा भन्ने अहम्को लागि मारिदिन्छन् आफ्नो मन लोग्ने मान्छेहरू?
यो सदरमुकामको सबैभन्दा ठूलो अस्पताल हो। यहाँ दिनहुँ कयौँ यस्ता बालिका भ्रुणहरू डस्टबिनमा फ्याँकिन्छन्, जायज र नाजायज भनिएर। ती भ्रुणहरूको यस्तो लेबल मलाई पटक्कै चित्त बुझ्दैन। रिसले
राँकिन्छु यत्तिकै। के हुन्छ र मेरो रिसले?
ओहो यी अबोध भ्रुणहरू आफ्नो तात्विक स्वरुप लिन नपाउँदै सामााजिक लेबल लगाइएर नष्ट हुन्छन्। कति निर्मम छन् हाम्रा व्यवहारहरू?
संवेदना बिर्सेको मान्छेलाई विज्ञान प्रविधिले झन राक्षस बनाएको छ भन्ने सोचेर म आत्तिएँ, उनीहरू त ओझेल परिसके।
उनीहरूको कृत्यको छाप भने मेरो दिमागमा छापियो, एउटा पछुतो भएर।
पहेँलो अनुहार बनाएर गएकी अभागी आमाको सम्झनाले मलाई आफू पनि आमा भएको याद दिलाइरह्यो।
त्यो आइमाईले यो भ्रुणका लागि आफनो जिन्दगीमा कस्तो ठाउँ बनाएकी होली सम्झनलाई?
मासिकश्रावको जस्तो नियति लिएर आएको त्यो भ्रुणको यादले कहिल्यै दुख्ला कि नदुख्ला उसको मन?
के त्यसलाई यो घाउ बनेर नबिझाउला?
म प्रश्नैप्रश्नको जंगलमा हराएँ।
म पनि निर्दोष कहाँ छु र? आमाको न्यानो पाठेघरबाट भ्रुणको क्युरेट त मैले पनि गर्नुपर्छ।
छाती पोलेर आउँछ। टाउको भारी भएको छ। ड्युटी पनि सकिएछ। मेरो रित्तो क्वाटरले कुरिरहेको होला।

डस्टबिनका डस्टबिन भ्रुणहरू एकैचोटि मुमिन कार्टुन भएर उठे।
उनीहरू मेरो वरिपरि उभिए। मन थरर्र भयो। कुनै नौलो संसारमा आइपुग्दाको डरले थिचिएँ। वरिपरि आँखा डुलाएँ, लौ यो त हाम्रै अस्पताल रैछ! बिरामीहरूको उस्तै घुइँचो छ। कोही रोइरहेका छन,कोही चिच्याइरहेका! लास उठाइदैँछ, आफन्तहरू रोइरहेका छन्। यी आँसु जति धेरै खस्ने छन्, त्यति छिटो मृतकको सम्झना पनि पखालिने छ उनीहरूको मनबाट– यस्तो सोच्दै म फिस्स हाँस्छु। रुनेहरू पनि एकदिन जानै पर्छ। कोही सन्चो भएर फर्किँदै छन्। अस्पतालको दृष्य कति उराठलाग्दो छ। अवाक भएँ– आजसम्म मैले कसरी सहेँ होला यो ठाउँ? अस्पतालतिर आइरहेका एक युगल जोडी देखेर फेरि मलाई सिरिङ्ग भयो… अर्को मुमिन कार्टुन उफ!
सहन सकिँदैन अब। म भागेँ अस्पतालबाट।
गेटबाहिर आइपुग्दा त्यो कार्टुनको समुह मेरो पछिपछि लाग्यो। डरले डम्फुझैँ बजिरहेको मुटु थामेर म भागिरहेँ। भाग्दाभाग्दै भिरालो ठाउँ आइपुगेँ। फर्केर हेर्दा देखेँ– मुमिन कार्टुनहरू सलहझैँ आइरहेका छन्। केही मुमिन कार्टुनहरू भिरबाट गुल्टिएर कहाँ हो कहाँ पातालमा गएर पछारिन थाले। उनीहरू तल खस्छन्, एकैछिन छटपटाउँछन् र शान्त हुन्छन्। मेरो आतंकित मनमा मायाको एउटा मसिनो धार बग्छ।
एउटा मुमिन कार्टुन मेरै छेउमा आयो र आफ्नो हात बढायो। त्यो फूलको थुँगाजस्तो मुमिन कार्टुनलाई समातेकी मात्र के थिएँ– दुवैजना भिरबाट खस्यौँ। मुटु फुल्यो र सासै रोकियो तर म अड्किएँ रुखमा। गुलाबी हात भएको मुमिन मेरो हातबाट छुट्यो, उसको मसिनो चित्कारमा आमा भन्ने आवाज आयो… ।
मेरो मुटु चिरा परेजस्तो चरक्क गर्‍यो। आँखा खुले। मध्यरात भैसकेछ। म क्वार्टरमा एक्लै थिएँ, पसिनाले भिजेकी!
मुमिन कार्टुन भएको सपनाले कहालीएकी मैले सिरक बेस्सरी च्यापेँ। बिस्तराबाटै झ्यालको पर्दा खोलेँ, बाहिर जुन टहटह छ। मेरो पेटमा सानो मुमिन कार्टुन छ भन्ने यादले मलाई केही शान्त बनायो। चन्द्रमा हेर्न छोडेको धेरै भएको थियो। त्यहाँ मैले कसैको अनुहार देख्छु। अकस्मात त्यही अनुहार याद आयो।
उफ! के म सपनासँग होइन, विपनासँग पनि डराएँ?
यस्तो दुखमा यसरी किन याद आयो त्यो अनुहार? त्यति कमजोर भएँ म?
मलाई आफैँसँग चित्त दुख्यो! आफ्नो कमजोरीसँग रिस उठ्यो।

रानीवन घुम्न जाँदा बाँदरले लखेटेपछि म डरले भागेकी थिएँ।
‘जंगलमा घुम्न रुचाउनु अनि फेरि जनावरसँग डराउनु?’ उसले मलाई जिस्काएको थियो।
‘मान्छे यस्तै विरोधी जस्ता लाग्ने कुराहरूले लखेटिइरहन्छ जिन्दगीमा,’ शान्त भएपछि मैले उत्तर दिएँ।
मलाई थाहा थिएन, त्यो उत्तर दिनुपर्ने थियो या थिएन। मिलेको थियो या थिएन। नहुनुपर्ने ठाउँमा गम्भीर भैदिइहाल्ने स्वभावले म ग्रसित हुन्थेँ कहिलेकाहिँ। ऊ अ्वाक भएजस्तो लाग्यो।
चुपचाप केहीबेर हिँडेपछि म थचक्कै बस्दिएँ।
‘तिम्रो कति पसिना आको?’ उसले सेतो रुमालले मेरो अनुहारको पसिना पुछिदियो।
पसिना पुछिदिनु के ठूलो कुरा थियो र मेरो मन भरिन पर्ने?
रुखो हुन खोजेँ आफैँसँग।
शायद दिमागले सोध्यो मनलाई, ‘ऊ को हो र मेरो पसिना पुछिदिनुपर्ने?’
‘सरी!’ उसले के मेरो मनको कुरा सुनेको थियो?
अरुलाई पछुतोमा देख्न मलाई खुब गाह्रो हुन्छ, खास गरी आफूलाई मनपर्ने मान्छेलाई!
जिस्काइदिएँ, ‘तिमी मलाई माया गर्न थाल्यौ कि के हो?’
ऊ केही बोलेन। त्यो प्रश्न जिस्केर मात्रै आएको होइन भन्ने उसले अनुभव गरेको हुनुपर्छ। उसलाई यो पनि थाहा हुनुपर्छ, म फुर्किएको बेलामात्रै यस्तो प्रश्न सोधिदिन्छु।
गम्भीर भएर यस्तो प्रश्न गरे पनि उसले जवाफ दिने छैन भन्ने मलाई पहिल्यै थाहा थियो।
तर, जब म आफैँसँग मात्रै हुन्छु मलाई त्यो प्रश्नको जवाफ चाहिन्थ्यो शब्दमा।
उसले बोलिदिनुपर्ने एउटा दुईवटा शब्दमा मात्रै अड्किएको छझैँ लाग्थ्यो मेरो जिन्दगी।

बिहानै अस्पतालको भीडभाडमा पसेँ। सपनाको ह्याङ्ओभर अँझै थियो। सुत्केरी वार्डमा गएर भर्खरै आमा बनेका स्वास्नीमान्छेहरूको अनुहार हेर्न मन लाग्यो। त्यही सुत्केरी वार्डमा लोग्नेहरूले स्वास्नीलाई गरेको झर्कोफर्को सुनेर÷देखेर दिक्दार हुनुपर्छ कहिले।
अस्पतालमा त्यो वार्डमात्र एउटा त्यस्तो वार्ड हो जहाँ उज्यालोको आशा हुन्छ। बिरामीको पीडामा पनि कतै आनन्दको एउटा झिल्को भेट्छु। सुत्केरीको अनुहार, आफन्तका मुस्कुराहट देखेर मलाई शान्ति मिल्ने छ।
‘सिस्टर?’ बीचैमा डक्टर मलिकले बोलाए। उनको छुद्र अनुहार देखेर दिक्क लाग्यो।
उनी एउटा जोडीको भीडियो एक्सरे गर्दै थिए।
त्यसपछि गर्नुपर्ने कामको बारेमा उनले मलाई सुनाए। मलाई सिरिङ्ग भयो। तैपनि म चुपचाप उभिनुपर्ने छ, मलाई थाहा छ– म उनको विरोधमा बोल्न सक्ने छैन। म सरासर, ती जोडीको छेउमा पुगेँ।
डक्टर मलिक एकैछिनमा आउनेछन्।
‘तपाईँहरू के काम गर्नुहुन्छ?’ मैले उनीहरूको अनुहारमा पालैपालो हेरेँ। चिटिक्क सेभिङ गरेर आएको चिल्लो अनुहार, चिम्सा आँखा र चुच्चो नाक भएको लोग्नेमान्छे मुसुक्क हास्यो।
उसकी स्वास्नीका ठूलाठूला आँखा र ओठ एकैचोटि मुस्कुराए, ‘हामी दुवै पढाउँछौँ।’ उसको आवाजमा घमण्डको गन्ध आयो।
दुवैका घमण्डमिश्रित मुस्कान देखेर मलाई घिन लाग्यो।
कुन्नि कस्तो आवेग हो मेरो, मैले उनीहरूलाई झपारेँ। डक्टर मलिक आइपुग्यो। उसको छुद्र अनुहार देखेर मेरो नाक खुम्चियो आफैँ। मेरो खुम्चिएको अनुहार देखेर एकछिन त डक्टर मलिक पनि अत्तालिएको हुनुपर्छ, उसको अनुहार रातो भयो।
ती मास्टरमास्टर्नी गैसकेपछि डक्टर मलिकले मलाई झपार्ने छ भन्ने सोचेकी थिएँ तर, उसले वास्ता गरेन। मलाई झन चर्को घिन लाग्यो।
दिउँसो क्यान्टिनमा मैले डक्टर मलिकले भनेको सुनेँ, ‘आदर्श कुराले कहिले खान पुग्दैन र नखाई बाँच्न सकिदैन। अस्पतालमा भावनाले भरिएको दार्शनिक होइन, डक्टर हुनुपर्छ।’
म दार्शनिक भएछु भन्ठानेर फिस्स हासेँ। मेरो हाँसो देखेर मलिकको अनुहार बिग्रियो। मलाई आनन्द भयो।

आज त पूर्णिमाको रात हो। मुमिन कार्टुनको डरले सुत्न नसकेर बसेकी छु। चन्द्रमालाई एकोहोरो हेर्दा पनि मुमिन कार्टुन देख्न थालेँ भने के होला?
पूर्णिमाको रात कौसीमा बसेर गीत सुन्नुको मज्जै बेग्लै हुन्थ्यो। यस्तो बेला आफैँलाई पनि बिर्सिएर त्यही मज्जामा हराउन मनपर्ने म।
रानीवन घुम्दाघुम्दै हामीलाई थाहै भएन, जुन लागिसकेको। हामीले बास खोज्न थाल्यौँ।
‘नेताज्यू, खोज्नुस् अब बास,’ मैले जिस्काएँ।
‘म जंगलको नेता होइन।’
उसको कुृराले म हाँसेको चाल पाएछ, थोरै फन्कियो।
नखरा!
धेरै बेर हिँडेपछि, बस्ती भेटियो। बस्तीको पिँढीमा हामीलाई बास मिल्यो।
त्यो घरमा भोटे कुकुर थियो। जनावरसँग मलाई डर लाग्थ्यो, तर त्यो दिन आफैँलाई मनपर्ने मान्छेसँग पनि डर लाग्यो।
डर पनि र भर पनि!
विरोधी भावनाहरूले मलाई कहिल्यै छोड्ने छैनन्, आफैँलाई गाली गर्दै म उसको छेउमा अडेस लागेँ।
भोलिपल्ट,
बस्तीको त्यो पिँढीमा घाम त हिजोअस्तिझैँ रातो हुँदै उदायो।
तर, म अर्कै केटी भएर उठेकी थिएँ। नेताज्यूले मेरो अनुहारबाट हिजोको विरोधाभाष हटेको महसुस गर्नुभयो कि भएन कुन्नि?

अस्पतालमा उसैगरी दिन बित्छ। दिनदिनै यहाँको वातावरण मैले सहनै सकेकी छैन। अस्पतालमै घट्छन् त्यस्ता घटना जसले मान्छेहरूको जीवनमा उथलपुथल ल्याइदिन्छ। तर तिनै घटना हामीलाई घटना लाग्दैनन्। अस्पतालमा मुस्कुराएर मिठो बोल्नुपर्छ।
नमीठो बोलेको एकमात्रै क्षणले गर्दा हाम्रो अनुहार उनीहरूले कहिल्यै बिर्सने छैनन्, यस्तो लाग्छ मलाई।
कसैले आफूलाई कहिल्यै नसम्झियोस्झैँ लाग्न थालेको छ आजकाल।
डस्टबिनमा फ्याँकिन आइपुग्ने निर्जीव केटी भ्रुणहरूको मायाले म दिनदिनै आत्तिदैँ गएँ।
समिरलाई मैले आफूले धेरै दिन काम गर्न नसक्ने बताइरहेकी थिएँ। ऊ मेरो साथी थियो त्यसैले।
उसले थाहा पाइरहेको थियो, म किन आत्तिएकी, झोँकिएकी छु भनेर।
‘यो तिम्रो पेसा हो, यसका चुनौती छन् भने सामना गर,’ उसले मलाई सम्झायो।
हो त नि, मेरो रिसको, मेरो आवेगको र मेरो चिन्ताको मानव सभ्यताको इतिहासमा कुनै माइन्युट हुने छैन। म सजिलै हराउने छु, यसरी भाग्न थालेँ भनेँ। मैले आफूलाई माया गर्नुपर्छ भनेर सम्झाइरहेँ।
ती डस्टबिनका डस्टबिन केटी भ्रुणहरूको मायामा झन्झन् जेलिँदै गएँ। तर मैले के गर्न सक्छु?

‘अरुलाई माया गर्दा मात्रै यस्तो लाग्छ, मैले आफूलाई माया गरिरहेकी छु,’ नेताज्यूलाई सुनाएको डाइलग सम्झेर आफैलाई हासो लाग्यो।
उसले त यस्ता भावनात्मक कुरामा आफूलाई कहिल्यै अल्झाउँदैन। उसको जीवन कति सरल छ?
मलाई उसको सरल जिन्दगीको डाहा लाग्छ।
‘धेरै पागल छौ तिमी, आफैलाई समाल्न सक्दिनौ,’ उसले यसो भन्थ्यो।
एक दिन देखाउने छु, मैले आफूलाई र उसको अंशलाई पनि समालेर।
जिन्दगीमा कतिखेर कस्तो आँधी आउँछ भन्ने केही भर हुँदैन रैछ।
उसको छायाँले पनि नभेट्ने ठाउँमा म चुपचाप आँधीजस्तो जिन्दगी बोकेर आएँ तर बिर्सन सकिन।
मलाई उसले नराम्रो भनोस् या सहानुभूति देओस्, दुवै मञ्जुर छैन। सायद त्यसैले ऊदेखि भागेँ।
अब, उसले मलाई खोज्ला कि नखोज्ला?
मेरी आमा भने खोज्दै आइपुगिन्।
‘तँ कोसँग आएकी यहाँ?’ क्वार्टरमा उनले अरु कसैलाई पनि खोजिन्।
उनलाई कोही लक्का जवान देखाइदिएको भए बरु राहत मिल्थ्यो होला, म एक्लै आएको थाहा पाएर कहालीइन्।
उनको अनुहार रिसले चुर भयो।
‘आमा! मेरो पेटमा बच्चा छ,’ मैले भन्दिएँ।
मेरो अनुहार नहेरी जुरुक्क उठेर गइन्। उनलाई थाहा थियो अब मैले उनले भनेको केही मान्ने छैन।
एउटी परम्परागत तर रवाफिली र इज्जतदार आइमाई हुन् उनी।
उनलाई आफ्नी छोरीको आत्मसम्मानभन्दा ठूलो समाजले तोकिदिएको इज्जत लाग्छ! उनको इज्जत र मेरो आत्मसम्मानको लडाइँमा उनी हार्नुपर्ने छ, एकदिन।

बिहानै तीन दिनदेखि अस्पताल बसेकी एउटी युवतीले छोरी जन्माई।
मैले बच्ची बाबुको हातमा दिएँ, उसको अनुहारमा खुसीको सूर्य उदायो।
हलुका लजाएकी आफ्नी श्रीमतीको नजिकै गएर यसरी हेर्यो, मानौ पहिलोपटक आफूले प्रेम गरेकी केटीलाई भेटेको छ।
आमाछोरीलाई उसले पालैपालो चुम्बन गर्‍यो। त्यही दिन उनीहरू डिस्चार्ज भएर गए।
मेरो मन अकस्मात चंगा भयो।
त्यहीबेला मेरो मोबाइलमा फोन बज्यो अर्चनाको। ऊ पत्रिकामा काम गर्छे।
अर्चनालाई भेटेको रात मेरो सपनामा मुमिन कार्टुनहरू आएनन्।

अस्पतालमा पुलिस! सबै आत्तिए। हामी अस्पताल परिसरमा निस्कियौँ। डाक्टर मलिकलाई पुलिसले भ्यानमा बसायो।
जाने बेला डाक्टर मलिक मलाई घुरेर हेरिरहेको थियो।
म त अहिले पनि फिस्स हाँस्नमात्रै सकेँ।
प्रकाशित मिति: शनिबार, साउन १०, २०७१ १४:४९:५७

Leave a Reply

Your email address will not be published. Required fields are marked *