मामाले दसैमा दिएको नयाँ जिन्स,
गला तन्केको, नाभिभन्दा थोरै तल सानो प्वाल परेको टि-सर्ट,
परार साल आमाले खसी बेचेर किनिदिएको
कटन पेन्ट घुँडाबाट फाटेपछि बनाएको हाफ पेन्ट,
बाबुले जन्मदिनमा किनिदिएको हातको बाहुलामा
बटम नभएको कमिज,
दुई वटा फिता भएको सानो झोलामा
पोको पारेर ।
फर्कँदा ठूलो सुटकेसमा
बच्चालाई खेलौना, जहानलाई मोबाईल
आमालाई धोती, बाबुलाई भित्ते टि.भी.
र छिमेकीलाई खजुर भरेर
ल्याइदिने आश्वासन सहित,
भर्खर दलाललाई दिएर बचेको पैसाले
भृकुटीमन्डपबाट किनेको
पोलो टि-सर्ट र स्ट्रेचेबल पेन्टमा
ठाँटिएर हिड्यो ऊ झोलाभन्दा ठूलो सपना बोकेर
सधैँ घरमाथिबाट आधारातमा
गाउँनै थर्काउने गरी
उड्ने बिमानमा चढ्न पाएकोमा
आफूँलाई भाग्यमानी ठान्दै
एयरपोर्टमा झर्ने बित्तिकैको
तातो हावासँगै मन गरुङ्गो भयो
कतै टाढा टाढा अनकन्टार मरुभूमिमा
आफू आउँदाको बाटो हेर्यो, चारैतिर सम्मै देखेर सोच्यो
आफै अनुमान लगायो मेरो देश उ….. उता होला
उसको घरमा बाख्रा थुन्ने खोरभन्दा
बिजोक सुत्ने ठाउँ,
गोठमा कुँडो बनाउनेभन्दा फोहोर भान्छा,
पाल्स्टिकमा पोको पारेको खाना
गाउँमा पिएको
लोकल झोलभन्दा पनि कम पानीसँग निल्दै गर्दा,
पहिले चोटी धिकार्यो आफूलाई आफैसँग ।।
दिनभरिको तालु पग्लिने चर्को घाम,
रातभरिको रगत जमाउने चिसो ए.सी,
आफ्नै छेउमासँगै सुतेको साथी,
बिहान चिसाको चिसै भएको देखेर,
उसले फेरि धिक्कार्यो आफूँलाई आफैँसँग
एक एक गरी सपनामा खाडी को घामले,
आगो लागेपछि
आजकल त ऊ धिक्कारलाई धरी धिक्कार्छ ।
-आर्.पी. सृजन
बास्तबिकताकेा नजिकबाट
बास्तबिकताकेा नजिकबाट उब्जिएकेा एउटा कबिता । बधाइछ ,कबिलाइ ।