Skip to content

घर बनाउने साइत


“भोलि मेरो गृहप्रवेशको घरपैँचो कार्यक्रम छ । सपरिवार पाल्नुहोला है, उपसचिवज्यू !”

“घर बनाउन कति खर्च लाग्दो रहेछ खर्दारसाव् ?”

“मेरो तीनतले घर बनाउन बीस लाख लाग्यो । एकतले घर बनाउन उपसचिवज्यूलाई त्यही दशलाख जति मात्र लाग्छ ।”

खरिदारले सुन्नेगरी त उपसचिवले मुख फोरेन । उसले मनमनै सोच्यो – “बाफ् रे ! कहिले जम्मा गर्ने त्यत्रो दशलाख र मैले घर बनाउने ! होस् बरु यही काठको भुइँकटेरोमै बस्छु ।”

हिंजो मात्र लेखापालको गृहप्रवेशको भोज खाएर आएको उपसचिवको टोपी नै खसेको थियो लेखापालको पाँचतले घरको माथितिर हेर्दा । उपसचिवको सामाजिक प्रतिष्ठा नुहेको थियो र आफन्तहरू पराई भएका थिए । सबै सम्बन्धहरू सम्बन्धहीन भएका थिए । यी सबैको एउटै कारण थियो कटेरो अर्थात् उसको घर ।

घरपीडाले उपसचिवको निद्रा आँखाबाट पर पर भाग्दै गएर सिङ्गै रात काँचै हुन थाल्यो । उसको मस्तिष्कमा खालि दशलाख र नयाँ घरले डेरा जमाइरह्यो । मुश्किलले झकाउँदा पनि तन्द्रामा ऊ बर्बराउँथ्यो – “क–कसरी जम्मा गर्ने दशलाख !”साथीभाइ र इष्टमित्रसित ऋणको याचना गर्न थाल्यो । उपसचिवलाई दिन्छु भन्ने आश्वासन मात्र दिए उनीहरूले ।

दुई वर्षमा सातलाख ऋण सिलो गरेर जम्मा पार्यो उसले । सञ्चय कोषमा जम्मा भएको आफ्नो तीनलाख रुपैयाँ आफैँले ऋण सापटी लियो उपसचिवले । यसरी दशलाख रुपैयाँ जम्मा पारेर खुशीले फुरुङ्ग पर्दै ठेकेदारकोमा गयो ऊ । एकघण्टा हिसाव गरेर ठेकेदारले घोषणा गर्यो – “तीनकोठाको एकतले घर बनाउन बीसलाख लाग्छ, उपसचिवज्यू !”

दुई वर्षको महङ्गी वृद्धिको यो हिसाव ठेकेदारबाट सुन्दा उपसचिव छाँगाबाट खस्यो । उपसचिवको घर बनाउने साइत कहिल्यै जुरेन ।

रामविक्रम थापा
फाक्टाङ– २ कृष्णगर्त, खोटाङ
मो.नं. ९७५३००४३६०

Leave a Reply

Your email address will not be published. Required fields are marked *